१. लामो इतिहास
नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी हो । यसले जीवनको पूर्वाद्र्धमा अत्यन्त महत्त्वपूर्ण काम गरेको छ । हिजोका तिनै कामले नै कांग्रेस आजको स्थानमा उभिन सफल भएको हो । यो ००७ साल होस् या त्यसपछिका कैयौँ मोर्चामा निरंकुशताविरुद्ध जुध्न हरहमेसा तयार रहने र नेपालमा लगातार प्रजातन्त्र, प्रजातन्त्र भनेर जुधिरहने पार्टी हो । नेपाली राजनीतिक रंगमञ्चमा कांग्रेस स्थापनाको तीन वर्षपछि नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो । तर, त्यतिखेर कम्युनिस्टभन्दा पनि कांग्रेसकै प्रभाव नेपाली राजनीतिमा बढी थियो । ००७ सालको क्रान्तिको निर्णायक पनि उही हो ।
२. परिवर्तनका लागि संघर्ष
कांग्रेसले परिवर्तनका लागि राजासित मिलेर राणाविरुद्ध लडेको भए पनि पछि राजासितै द्वन्द्व सुरु भयो । कांग्रेस राजासित पूरै लड्न पनि सक्दैनथ्यो र सम्झौता गर्न पनि सक्दैनथ्यो । त्यही संघर्षकै दौरान ०१५ सालको निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । तर, राजा महेन्द्र र बिपी कोइरालाबीचको व्यक्तित्वको द्वन्द्वले ०१७ सालको काण्ड घट्यो । कतिपय घरेलु र कतिपय बाह्य कारणको प्रभावमा महेन्द्रले शक्ति सन्तुलनलाई आफ्नो पक्षमा पारे । ०१७ सालमा कांग्रेस सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गर्नुअघिसम्म राजासित जेनतेन मिल्दै आएको कांग्ेरस ०१७ सालको घटनापछि राजाविरुद्ध लड्ने बिन्दुमा पुग्यो । त्यसको परिणामस्वरूप उसले सशस्त्र संघर्षको बाटोसमेत अँगाल्यो । राजाको गाडीमा बम प्रहार गर्नेसम्मका काम उसले गर्यो । भारत प्रवासमा पुगेका बिपी कोइरालालगायतका कांग्रेस नेता वर्षौंपछि भारतको साथ र सहयोग नपाएपछि जे गर्ने हो, स्वदेशभित्रैबाट गर्नुपर्छ भनेर राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्किए । अहिले पनि कांग्रेसका कतिपय नेताले राष्ट्रिय मेलमिलापको नीति बोकिरहेका छन् भने कतिपयचाहिँ अर्कै धारमा हिँडिरहेका छन् ।
३. परिस्थितिअनुरूप परिवर्तन
०४६ सालको आन्दोलनअघि कांग्रेस एकल संघर्ष, एकल सोचाइ र एकल निर्णयमा हिँडिरहेको थियो । तर, ०४६ को संघर्षदेखि उसमा परिवर्तनका लागि वामपन्थी दलसित पनि मिल्नुको विकल्प छैन भन्ने सोच पलाएको देखिन्छ । यो कांग्रेसमा देखिएको पहिलो महत्त्वपूर्ण परिवर्तन थियो । त्यसपछि माओवादी सशस्त्र द्वन्द्वको मौका छोपेर राजाले गरेको प्रतिगमनविरुद्धको संघर्षका दौरान अन्य कम्युनिस्ट घटकसित मात्र होइन, स्वयं माओवादीसित समेत मिल्न तयार देखियो । यो नेपाली कांग्रेसले लिएको नयाँ र ऐतिहासिक फड्को हो । यदि समयको पदचाप पछ्याउँदै आफूलाई समयानुकूल बदल्न तयार नभएको भए कांग्रेस आजको अवस्थामा रहने थिएन, समयको गतिमा निकै पछाडि छुटिसकेको हुने थियो । परिस्थितिले कांग्रेसलाई छोडिसकेको हुने थियो । नेपालका दुई ऐतिहासिक मोडमा कांग्रेसले लिएको निर्णयको परिणामस्वरूप नै कांग्रेस आजको अवस्थामा छ । यदि ऊ आफ्नो पुरानै धारमा हुन्थ्यो भने आज उसको अवस्था सम्झनलायक पनि नरहन सक्थ्यो ।
४. संघर्ष गर्ने संस्कृति
कांग्रेसले आफ्ना नेता–कार्यकर्तालाई जेल बस्ने संस्कृति सिकायो । निरंकुशताविरुद्धको संघर्ष गर्दा जेल बस्नुपरे पनि त्यसलाई गौरव वा आनन्दको विषय ठान्ने संस्कृति कांग्रेसले सिकाएको हो । कांग्रेसले त्यसलाई एउटा संस्कृतिकै रूपमा घरघरसम्म पुर्याएको थियो । आज पनि कांग्ेरस नेता म यति वर्ष वा उति वर्ष जेल बसेको, यति वर्ष निर्वासनमा बसेको भन्नुलाई गौरवको विषय बनाइरहेका देखिन्छन् । सत्याग्रह, अनशन, आन्दोलन, सशस्त्र संघर्ष, जेल, नेललाई कांग्रेसका नेता–कार्यकर्ताले जतिखेर पनि सहज रूपमा स्विकारे । यसलाई पनि उसको सबल पक्षकै रूपमा लिनुपर्ने हुन्छ । भलै आज कांग्रेससित हिजोको त्यो बिरासत बाँकी छैन, धेरै कुरा भद्रगोल भइसकेको छ । तर, हिजोको त्यो संघर्षको संस्कृतिले उसका निम्ति आज पनि पुँजीको काम भने गरिरहेको छ । अनेक उतारचढाबबीच अनेकखाले घामपानी व्यहोरेको कांग्रेसले परिस्थितिअनुरूप कहिले कोसित, कहिले कोसित सम्झौता गर्यो होला, तर प्रजातन्त्र, प्रजातन्त्र भन्न भने उसले कहिल्यै नछाडेकै हो । उसले प्रजातन्त्रका लागि पटक–पटक संघर्षको मोर्चामा आफूलाई उभ्याएकै हो ।
५. प्रतिबद्ध कार्यकर्ता
कांग्रेसका कार्यकर्ताले आज अर्कै बाटो समातिसकेका भए पनि हिजोका उसका कार्यकर्ता पार्टीनीतिप्रति प्रतिबद्ध थिए । संघर्षको मोर्चामा कत्ति पनि विचलित नभई उभिन सक्थे । पार्टीका नाममा जतिसुकै दु:ख पाए पनि तिनले संघर्षको मोर्चा छाडेनन् । लगातार कांग्रेस बनेरै हिँडिरहे । उनीहरूले पार्टीलाई धोका दिएनन् । जीवनको घामपानीमा ती प्रतिबद्ध कार्यकर्ता छिन्नभिन्न पनि बने होलान् । केही निष्ठावान् कार्यकर्ता भने लगातार पार्टीमै रहेर पार्टीलाई गति दिइरहे ।
६. बिपीको व्यक्तित्व र सुधारवाद
बिपी कोइराला ठूला विचारक थिएनन् । यो कुरा प्रदीप गिरीले पनि पटक–पटक उल्लेख गरेका छन्, त्यो पनि प्रामाणिक हिसाबले । उनी आधारभूत रूपमा राम्रा साहित्यकार हुन् । तत्कालीन परिवेशमा राम्रो प्रतिभा भएका व्यक्ति पनि हुन् । त्यही प्रतिभाको बलमा माथिल्लो तहमा पुगेका हुन् । संसारभर एकपटक समाजवादको हावा आयो । त्यतिखेर पुँजीवाद वा प्रजातन्त्र मात्र भनेर हुने अवस्था थिएन । त्यसैले उनले प्रजातान्त्रिक समाजवाद भनेर फरक नीति ल्याए । त्यसको उनले जेजस्तो व्याख्या गरे र आफू प्रधानमन्त्री हुँदा जेजस्ता काम गरे त्यसलाई सकारात्मक नै मान्नुपर्ने हुन्छ । उनले परिवर्तन वा समाज सुधारका पक्षमा केही राम्रा काम पनि गरे । उनले अन्धविश्वास र कुरीति हटाउन पनि केही कदम चालेकै हुन् । भलै, पछि त्यही अन्धविश्वास र कुरीति हटाउने आफ्नै प्रयासको जालोमा स्वयं बिपी र कांग्रेस जेलिए ।
इतिहासको इमानदार समीक्षा गर्ने हो भने कांग्रेस प्रगतिशील पार्टी हो । कांग्रेस छुवाछुतविरोधी पार्टी पनि हो । तर, उसले आफ्नो त्यो परिवर्तनप्रतिको पक्षधरता र प्रगतिशीलता जोगाइरहन भने सकेन । पछिपछि कांग्रेसमा ठुलाठालुकै प्रवेश भयो । राजाका मान्छे र जमिनदार पनि कांग्रेसमा आए । तिनले जो वास्तविक कांग्रेस हो, उसलाई पछाडि पारेर पार्टीभित्र फेरि पुरानै सामन्तवादी संस्कारलाई मलजल गरेर हुर्काइदिए ।
कमजोर पक्ष
१. देश निर्माणमा कमजोर
नेपाली कांग्रेस प्रजातन्त्र प्राप्तिको मोर्चामा जति अगाडि देखियो, देश निर्माणको दिशामा भने उसले कुनै योगदान दिन सकेन । पटक–पटक सत्तामा पुगे पनि उसले देश निर्माणलाई आफ्नो प्राथमिकतामा कहिल्यै राखेन । सत्तामा पुगेपछि सत्तासुखमै रमाउँदैमा उसलाई ठिक्क हुन्छ । देशको चिन्ता उसमा पटक्कै देखिन्न । राजनीति केका लागि भन्ने प्रश्न कहिल्यै कांग्रेसको प्राथमिकतामा पर्दै परेन । उसले प्रजातन्त्रका नाममा राजनीति गरे पनि अन्तत: त्यो सत्तामा पुगेर टुंगियो । कांग्रेसले देश निर्माण, जनताको समृद्धि र समाज परिवर्तनको दिशामा कुनै कार्यक्रम ल्याउनै सकेन वा चाहेन ।
कांग्रेस पटक–पटक सत्तामा पुग्यो । तर, सत्तामा पुगेपछि देश र जनता उसको प्राथमिकतामा कहिल्यै परेनन् । उसमा रोजगारी वृद्धि, औद्योगिक विकास, शिक्षा, स्वास्थ्य, कृषि र जनजीविकाका सवालमा कुनै भिजन नै छैन । सत्तामा पुग्दा उसले कहिल्यै यी विषयलाई गम्भीरतापूर्वक लिँदै लिएन । त्यसैले कांग्रेसले राजनीति भनेकै सत्ता हो भन्ने मात्र बुझ्यो ।
२. विगतमा रमाउने
नेपाली कांग्रेसको इतिहास जति लामो छ, त्यति नै ऊभित्र विगतको गौरव भजाएर खाने प्रवृत्ति मौलाउँदो छ । कांग्रेस हामीले हिजो ००७ सालमा राणाको निरंकुशताविरुद्ध लड्यौँ, पञ्चायतविरुद्ध पनि उसैगरी भिड्यौँ र राजाको निरंकुशताविरुद्धको संघर्षको मोर्चामा पनि हामीले नै नेतृत्व गर्यौँ भनेर विगतको गौरवगान गर्दै हिँडेको छ । ऊ हिजोदेखि आजसम्म विगतकै धङधङीमा रमाइरहेको छ ।
३. भिजनविहीन पार्टी
कांग्रेस अरूका कुरा स्विकार्न तयारै हुँदैन । कांग्रेस भएपछि वा कांग्रेसले भनेपछि त्यो सकियो, त्यसमाथि कसैले प्रश्न उठाउनै सक्दैन भन्ने गलत चिन्तन कांग्रेसभित्र हाबी छ । हामी उदारवादी पार्टी हौँ भन्ने उसको भनाइ छ । तर, जतिसुकै उदारवादी भए पनि निश्चित योजना र कार्यक्रमविना त पार्टी चल्न सक्दैन । यसतर्फ कांग्रेसले कहिल्यै चिन्ता गरेको देखिन्न । उसमा त म भइसकेपछि सबै कुरा हुन्छ भन्ने मानसिकता हाबी छ ।
पटक–पटक सत्ताको नेतृत्व गरेको कांग्रेसमा राज्यका संरचनालाई स्वच्छ बनाउनुपर्छ भन्ने चेत कहिल्यै पलाएको देखिएन । जबसम्म राज्य संरचनालाई आफैँले स्वच्छ बनाइन्न, आफैँले निष्पक्षतापूर्वक काम गरिन्न, त्यसप्रतिको विश्वास कायम रहन सक्दैन ।
४. गफ गरेर खाने
नेपालको राजनीतिमा धेरथोर गफ गरेर खाने अपसंस्कृति सबैतिर मौलाएको छ । त्यो प्रवृत्ति कांग्रसभित्र पनि झांगिएको छ । हिजोको कांग्रेस जेजस्तो भए पनि आएको कांग्रेसले मिहिनेत गर्ने, काम गर्ने र र पसिना बगाएर खाने संस्कृतिको विकास गर्नै चाहेन । गफ दिने तर काम नगर्ने अपसंस्कृतिका कारण हामीकहाँ काम गर्ने संस्कृति मेटिँदै गएको छ । नेपालका कम्युनिस्टले एक किसिमको काम गर्ने संस्कृतिको विकास गर्न खोजे । तर, पछिल्लो चरणमा आएर माओवादीले पार्टीका लागि मिहिनेत गर्न सिकाए पनि काम गरेरभन्दा पनि मागेर वा थर्काएर खाने अपसंस्कृतिलाई बढावा दियो । जसले गर्दा हामीकहाँ पराश्रित संस्कृतिको विकास भइरहेको छ । काम गर्नुभन्दा पनि राज्यको माथिल्लो निकाय कब्जा गर्ने र गफ गरेर खाने डफ्फालाई पाल्ने प्रवृत्तिलाई कांग्रेसले मलजल गरिरहेको छ ।
५. सीमित वर्गको कब्जा
महाधिवेशनबाट लोकतान्त्रिक विधि र प्रक्रियाबाट आफ्नो नेतृत्व छान्नुलाई कांग्रेसको सबल पक्ष नै मान्नुपर्छ । तर, कांग्रेसभित्र एककिसिमका वर्ग, समुदाय र व्यक्तिले मात्र अवसर पाइरहेका छन् । कांग्रेस सीमित मान्छे वा परिवारको सेरोफेरोमा चलेको पार्टी हो । स्थापनाकालदेखि कांग्रेस परिवारको साँघुरो घेराबाट बाहिर आउन सकेको देखिन्न । बीचमा एकपटक कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको देखिए पनि त्यतिखेर उनको कमान्डमा पार्टी थियो कि थिएन भन्न सकिन्न । जनताले कांग्रेसलाई आफ्नो पनि पार्टी हो भनेर विश्वास गर्न सक्ने अवस्था अझै बनिसकेको छैन ।
६. कमजोर पार्टी अनुशासन
कांग्ेरसभित्र जसले जे गरे पनि हुन्छ । त्यहाँ न अनुशासनको पालना हुन्छ, न त्यहाँ कुनै नीति, नियम र पद्धतिकै पालना गरिन्छ । पार्टीभित्र तलदेखि माथिसम्म विभिन्न तहका समस्या छन् । ती समस्याले पार्टी जीवनमा गम्भीर असर पुर्याउने निश्चित छ । कांग्ेरसले पार्टी पद्धति र अनुशासनको पक्षमा दृढतापूर्वक उभिने साहसचाहिँ अब देखाउनैपर्छ ।
७. जनशक्ति परिचालनमा कमजोर
कांग्रेसभित्र निकै ठूलो बौद्धिक जनशक्ति पनि छ । पार्टीलाई माया गर्ने नेता, कार्यकर्ता प्रशस्त छन् । तैपनि उसले त्यो पुँजी पार्टी र राष्ट्रहितमा सही ढंगले परिचालन गर्न भने सकेको छैन । यस्ता समस्या कांग्रेसमा मात्र होइन, धेरथोर सबै पार्टीमा छ । भनिन्छ, घनिष्टताले दुर्गुणहरू बढी सिकाउँछ । बाह्रबुँदे सहमतिपछिको माओवादीसितको निकटतासँगै उसका दुर्गुणजति कांग्रेस र एमालले सिके । त्यस्तै कांग्रेसका दुर्गुणजति एमाले र माओवादीले सिकिरहेका छन् । एमालेका पनि गुणभन्दा दुर्गुण नै बढी अरुले सिकिरहेका छन् ।
८. मिलेर काम गर्ने संस्कृतिको अभाव
कांग्रेसमा आफू मात्र सर्वेसर्वा हुँ भन्ने प्रवृत्तिले जरा गाडेको छ । कांग्रेसले बोलेपछि बोल्यो बोल्यो भन्ने सोच उसमा हाबी छ । उसमा मिलेर काम गर्ने संस्कृतिको अझै राम्ररी विकास भइसकेको छैन । ०४६ र ०६२/६३ मा ऊ केही हदसम्म मिलेरै काम गर्न तयार भएको पनि हो । तर, उसले त्यसलाई अझै पनि पूर्णत: कल्चरकै रूपमा विकसित गर्न भने सकेको छैन । यसमा उसले आफूलाई सुधार गर्नैपर्छ ।