०५७ साल साउन २३ गते दरबारमार्गमा गाडीको ठक्करबाट गायक प्रवीण गुरुङको मृत्यु भयो । त्यो गाडी तत्कालीन शाहज्यादा पारस शाहले चलाएका थिए भन्ने गाइँगुइँ चल्यो । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले वास्तविकता बाहिर ल्याउन विरोधका कार्यक्रम सुरु गर्यो । राजदरबारका विषयमा बहस हुनुपर्ने र राजपरिवारका सदस्य आमजनतासरह कानुनको दायरामा आउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान चलायो । त्यतिवेला अनेरास्ववियु अध्यक्ष थिए, रवीन्द्र अधिकारी । नयाँ पत्रिकाका उज्वल पहाडीलाई अधिकारीले सुनाए, त्यो संस्मरण :
०५७ साल साउन २३ गते । गायक प्रवीण गुरुङको मृत्यु भएको हल्ला चल्यो । गाइँगुइँ सुनियो, ‘पारस शाहले प्रवीणको हत्या गरेका हुन् । प्रवीणलाई ठक्कर दिएको गाडी पारसले नै चलाएका थिए रे ।’ प्रवीण गुरुङ लोकप्रिय गायक थिए । गुरुङका ‘मायामा नभुल’, ‘माथिबाट को आयो, सालको पात बजाउँदै’लगायतका गीत जनजिब्रोमा थिए । उनलाई म पहिलेदेखि नै चिन्थेँ । कास्कीको लुम्लेका थिए, उनी । त्यतिवेला म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष थिएँ । गाइँगुइँ सुनेबित्तिकै हामीले त्यसबारे सोधखोज गर्न थाल्यौँ । भोलिपल्टै हामी घटनाको नजिक पुग्यौँ । पर्सिपल्ट कान्तिपुर दैनिकमा समाचार आयो । त्यसले हाम्रो अनुसन्धानलाई बल पुग्यो ।
हामीले सही अनुसन्धान गरेका रहेछौँ, पुष्टि भयो । हामी अझ निश्चिन्त हुन खोज्यौँ । जिल्लाका साथीहरू, गुरुङका नातागोता, नेता–कार्यकर्तालगायतका सूत्र प्रयोग गरेँ । दरबारले गुरुङ परिवारलाई फकाइरहेको थाहा भयो । दरबारले त्यो घटनालाई दुर्घटना भनेको रहेछ । दुर्घटना हुनु स्वाभाविक थियो । तर, प्रवीणलाई पारसको गाडीले ठक्कर दिएको घटना स्वाभाविक होइन कि भन्ने प्रश्न उब्जियो । त्यसभन्दा अघि पनि पारसको गाडीले मान्छेलाई ठक्कर दिएको थियो । नारायणगढमा पारसकै गाडीले मान्छे किचेको थियो, कोटेश्वरमा पनि यस्तै घटना भएको थियो । प्रवीणको दुर्घटनाअघि पारसकै कारण दुई/तीनजनाले ज्यान गुमाइसकेका थिए । त्यस्तो नभएको भए प्रवीणको दुर्घटना अस्वाभाविक हो कि भन्ने प्रश्नै जन्मिन्थेन । फेरि, त्यो स्वाभाविक दुर्घटना भएको भए पारसको गाडीमा पनि क्षति पुग्नुपथ्र्यो । उनको गाडी सकुशल छ भन्ने सुनियो । यसले हाम्रो आशंकालाई थप बलियो बनायो । प्रश्न जन्मियो– राजपरिवार सदस्य भएकै कारण पटक–पटक यस्ता दुर्घटना हुने र त्यसबाट उन्मुक्ति पाउने हुन्छ कि हुँदैन ? हामी कानुनी राज्यको पक्षमा थियौँ । आममानिसले न्यायको प्रत्याभूति गर्न पाउनुपर्छ भन्ने हाम्रो धारणा थियो । तर, राजपरिवारका सदस्यले मनपरी गर्दै हिँडिरहेका थिए । संवैधानिक राजा भए पनि अदालतमा, संसद्मा उनीहरूको परिवारबारे कुरा उठाउनै पाइँदैनथ्यो । हामीले सल्लाह गर्यौँ, ‘त्यसो हो भने हामी किन कुरा नउठाउने ? कानुनी राज्यको पक्षमा किन वकालत नगर्ने ?’ भोलि अन्य नागरिकले पनि प्रवीणकै जस्तो नियति भोग्नुनपरोस् भन्ने हाम्रो चाहना थियो । त्यसका लािग अपराधीलाई कठघरामा ल्याउनुपथ्र्यो, उसलाई दण्ड हुनुपथ्र्यो । अपराध पारसले गरेकै हुन् भने उनले पनि छुट्कारा पाउनुहुँदैन भन्ने हाम्रो निष्कर्ष निस्कियो । ००० त्यतिवेला अनेरास्ववियुको कार्यालय रत्नपार्कको रातोघरमा थियो । हामी प्रवीणको दुर्घटनाको विषयमा छलफल गर्न भेला भएका थियौँ । त्यो दिन रत्नपार्कको मूल सडकमा सुतेर विरोध प्रदर्शन गर्ने योजना बनाइसकेका थियौँ । अनेरास्ववियु कार्यालयमा बिहानैदेखि साथीहरू जम्मा हुनुभयो । साउनको महिना । मुसलधारे पानी परिरहेको थियो । तर, न्यायका लागि हामीले त्यसको पर्वाह गरेनौँ । मलाई यो कुरामा गर्व छ– त्यस्तो मुसलधारे पानी परिरहँदा पनि दुई/तीन हजार मान्छे सडकमा लम्पसार पर्यौँ । त्यसपछिको हाम्रो कार्यक्रम थियो– महाराजगन्जस्थित निर्मलनिवास गएर सचेत गराउने । ज्ञानेन्द्र शाहको परिवार निर्मलनिवासमा बस्थ्यो । हाम्रो एउटै माग थियो, ‘घटनाको छानबिन निष्पक्ष गर, दोषीलाई कारबाही गर’ । पानी परिरहेको थियो । हामी निथ्रुक्कै भिजेका थियौँ । तैपनि, निर्मलनिवाससम्म पुग्दा जुलुस ठूलो थियो । पार्टी नेता, सर्वसाधारण, साथीभाइलगायतले ‘दुस्साहसिक काम गर्दै छौँ, अब छोड’ भन्ने खबर पठाइरहेका थिए । तर, हामीले न प्रतिकूल मौसमको पर्वाह गर्यौँ, न ती खबरको नै । निर्मलनिवासअगाडि पुगेर हामीले केही बेर नारा लगायौँ र फर्कियौँ । तर, त्यसको अर्थ थिएन, हामीले आन्दोलनलाई त्यतिमै टुंग्यायौँ । आन्दोलनलाई निष्कर्षमा पुर्याउने खाका बनाउन त्यही दिन साँझ अनेरास्ववियुको सचिवालय बैठक बस्यो । कृष्ण केसी, शिव गुरुङ, शिव डाँगी, ठाकुर गैरे, रामकुमारी झाक्रीलगायत साथीहरू सचिवालयमा हुनुहुन्थ्यो । नवीना लामा, थोमस बास्तोलालगायत साथीहरू पनि अखिलमा हुनुहुन्थ्यो । आन्दोलन अगाडि बढाउने/नबढाउने विषयमा पार्टीमै पनि विवाद थियो । राधाकृष्ण मैनालीलगायत नेताहरू आन्दोलन अगाडि नबढाउने पक्षमा हुनुहुन्थ्यो । कमरेड वामदेव गौतम, कमरेड सिपी मैनालीलगायतले पनि मलाई ‘अब चुप लागौँ, अगाडि नबढ्नुहोस्’ भन्नुभयो । यसको कारण थियो, हामीले त्यसअघि गरेको कालापानी मार्चपास । कालापानी मार्चपास भारतीय विस्तारवादविरुद्ध गरेका थियौँ । त्यसले भारत हामीसँग रिसाएको छ भन्ने थियो । अब दरबारविरुद्ध आन्दोलन अघि बढाउँदा पार्टीलाई पनि अप्ठ्यारो हुन्छ, दरबारविरुद्ध तत्काल सशक्त आन्दोलन गर्न हाम्रो शक्ति पनि सानो छ भन्ने पार्टी नेताहरूको बुझाइ थियो । तर, हामीले नेताहरूको निर्देशन मानेनौँ । राति १० बजेसम्म सचिवालय बैठक बस्यौँ । आन्दोलनका थप कार्यक्रम बनायौँ । साहित्यकार, कलाकारहरूसँग अन्तरक्रिया गर्ने, हस्ताक्षर अभियान चलाउनेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्यौँ । हस्ताक्षर अभियानका लागि हामीले ‘घटनाको छानबिन हुनुपर्ने, प्रवीण गुरुङको परिवारलाई चित बुझ्ने गरी क्षतिपूर्ति दिनुपर्ने, पारसलाई तत्काल शाहज्यादाबाट हटाउनुपर्ने, राजपरिवारबारे अदालत र संसद्मा बहस गर्न पाउनुपर्ने, राजपरिवारको संख्या सानो बनाउनुपर्ने, अन्यलाई सर्वसाधारणलाई जस्तै फौजदारी अभियोग लगाउन पाउनुपर्ने व्यवस्था कायम गर’ भन्ने नारा उठाएका थियौँ । हस्ताक्षर गरिने ब्यानरमै यी नारा लेखिने र हस्ताक्षरपछि दरबारलाई बुझाउने हाम्रो निर्णय थियो । बैठक सकिएलगत्तै हामीले निर्णयहरू सञ्चारमाध्यममा फ्याक्स गरिदियौँ । भोलिपल्टका पत्रपत्रिकामा आन्दोलनबारे हाम्रा निर्णय प्राथमिकताका साथ छापिए । त्यसपछि फेरि हंगामा भयो । नेताहरूको तारन्तार फोन आयो । उहाँहरूले आन्दोलन फिर्ता लिन दबाब दिनुभयो । सुरक्षा निकायका अधिकारीहरूले पनि फोन गरे । आन्दोलन फिर्ता होस् भन्ने उनीहरूको चाहना थियो । तर, हामी टसको मस भएनौँ । पत्रपत्रिकामा समाचार आएपछि मलाई ‘थ्रेट’ पनि आयो । सुरक्षा निकायका साथीहरूले सचेत रहन अनुरोध गर्नुभयो । रातबिहान एक्लै नहिँड्न सुझाब दिनुभयो । मोटरसाइकलको नम्बर प्लेट पनि दुईपटक फेर्यौँ । त्यतिवेला म कमलपोखरीमा बस्थेँ । तर, हामी डराएनौँ । आन्दोलन सुरु भयो । विरोधका कार्यक्रमलाई आममानिसले मन पराए । सहभागिता भव्य हुन थाल्यो । संसद्मा पनि आन्दोलनबारे छलफल चल्यो । हस्ताक्षर अभियानमा डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता भयो । आन्दोलनको विपक्षमा रहेका पार्टीका नेताहरू हस्ताक्षर गर्न आउनुभयो । अन्य पार्टीका नेताहरू पनि आउनुभयो । हामीले कसैलाई पनि विशेष निम्तो गर्नुपरेन । हस्ताक्षर अभियानले ‘मास सेन्टिमेन्ट’ पक्रिसकेको थियो । कांग्रेसले हस्ताक्षर अभियानमा सहभागी भएकै आधारमा नरहरि आचार्यलाई पार्टी प्रवक्ताबाट हटायो । ‘पारसले इतिहास दोहोर्याएका छन्, सुरेन्द्र शाहको जस्तै ज्यादती गरेका छन् । त्यो ज्यादतीको अब अनेरास्ववियुले खुलेआम विरोध गरेको छ,’ भन्ने आशयका साथ कमरेड मोदनाथ प्रश्रितले लेख्नुभयो । आन्दोलन सफल भएकोमा हामी खुसी थियौँ । थप जोस जन्मिएको थियो । तर अचम्म, एकाएक प्रवीणकै श्रीमती शान्तिले ‘अब यो घटनालाई नतन्काइदिनु’ भन्नुभयो । ‘हामीले यो सब गरेको तपाईंकै लागि हो । तर, एउटा शान्तिका लागि मात्र होइन, आउने दिनमा अरू शान्ति विधवा हुनुनपरोस् र आममानिसको जीवन असुरक्षित नहोस् भनेर हो,’ हामीले शान्तिलाई सम्झायौँ । आन्दोलन थप बलियो हुँदै थियो । ‘थ्रेट’ पनि आइरहेका थिए । कमरेड योगेश भट्टराई, कमरेड रूपनारायण श्रेष्ठलगायत साथीहरूले हाम्रो मनोबल बढाउनुभयो । हस्ताक्षर अभियानलाई हामीले निरन्तरता दियौँ । हामीलाई साथ दिन मान्छेहरू थानका थान कपडा लिएर आए । एक साता चलेको थियो, हस्ताक्षर अभियान । पाँच लाख २७ हजार हस्ताक्षर पुगे । त्यसपछि हामीले त्यसलाई दरबारमा बुझाउने मिति निक्र्यौल गर्यौँ । अनि हल्ला चल्यो, ‘अब सबैलाई प्रहरीले भुट्छ ।’ यो हल्लाले बजार सुनसान बनायो । सन्नाटा व्याप्त भयो, काठमाडौंका गल्ली–गल्लीमा र चोक–चोकमा । गाडीहरू चलेनन् । मानिसहरू बाहिर निस्किएनन् । तर, हस्ताक्षर दरबारलाई बुझाएरै छाड्ने हाम्रो अडान थियो । जुलुसका लागि रातोघरमा भेला भयौँ । बिस्तारै मानिसहरू जम्मा हुने क्रम बढ्यो । हामी चार/पाँच हजार मानिस जम्मा गर्ने र जुलुस गर्ने सोचमा थियौँ । तर, केही बेरमै रत्नपार्क भरियो । ४०/५० हजार मानिस जम्मा भए । मैले राजाका नाममा चिठी लेखेँ । चिठी र हस्ताक्षर सँगै बुझाउने हाम्रो कार्यक्रम बन्यो । हस्ताक्षर गरिएको कपडा लिएर जुलुस अगाडि बढ्यो । जमलमा हामीलाई प्रहरीले रोक्न खोज्यो । तर, जुलुस देखेपछि आफैँ पछाडि हट्यो । निर्वाचन आयोगको कार्यालयअगाडि ठूलो संख्यामा प्रहरी तैनाथ थियो । त्यहाँ पनि हामीलाई रोक्न खोजियो । तर, हामी हजारौँ थियौँ । प्रहरीको केही लागेन । उनीहरू पछाडि हटे । हामी अगाडि बढ्यौँ । हामीसँग करिब २७ सय मिटर कपडामा हस्ताक्षर थियो । हस्ताक्षर भएको कपडा सडकको दुवै ‘साइड’बाट रत्नपार्क, भद्रकाली, जमल हुँदै लैजाँदा दरबारको गेटसम्मै पुग्यो । हस्ताक्षर भएको त्यो कपडा हजारौँले बोकेका थिए । हामी दरबारको झ्यालमा रोकियौँ । पछि ज्ञानेन्द्रले प्रधानमन्त्रीका लािग दरखास्त आह्वान गर्दा त्यही झ्यालबाट निवेदन दिइएको थियो । हामीले त्यहीँ कार्यक्रम गर्ने भयौँ । मैले राजाका नाममा लेखेको चिठी वाचन गरेँ । भाषण गरेँ । त्यतिवेला दरबारका मुख्यसचिव थिए, पशुपतिभक्त महर्जन । उनी आफैँ हाम्रो हस्ताक्षर बुझ्न आए । हामीले त्यो चिठी र हस्ताक्षर उनको हातमा थमायौँ र जुलुस गर्दै फर्कियौँ । केही समयपछि राजा वीरेन्द्रले त्यो हस्ताक्षर र चिठीको ‘रेस्पोन्स’ गरे । उनले प्रधानमन्त्रीलाई घटनाबारे छानबिन गर्न पत्र पठाए । त्यो पत्र अनेरास्ववियुका अध्यक्षलाई पनि बोधार्थका रूपमा आयो । हामीले दोषी ठहर्याएका पारसलाई कारबाही त भएन, तर हामीले उठाएका माग सम्बोधन भए । संसद्मा राजपरिवारबारे पनि छलफल हुन थाल्यो । ००० एक वर्ष पुग्दा/नपुग्दै ०५८ साल जेठमा दरबार हत्याकाण्ड भयो । वीरेन्द्रको परिवारको नामोनिशाना रहेन । त्यसमा पनि पारस सन्देहको घेरामा परे । दरबारविरुद्ध जनमत बढ्यो । दरबार हत्याकाण्डको वास्तविकता बाहिर ल्याऊ, पारसलाई युवराज नबनाऊ, ज्ञानेन्द्रलाई राजा नबनाऊ, बरु वीरेन्द्रकी छोरीकी छोरीलाई उत्तराधिकारी देऊ, राजगद्धीमै राख्नुपर्छ भने राजगद्धी उत्तराधिकारी नियम परिवर्तन गरलगायतका माग राख्दै दरबारविरुद्ध फेरि अनेरास्ववियु सडकमा आयो । त्यो आन्दोलनले पनि उचाइ प्राप्त गर्यो । वीरेन्द्र राजाको सम्पत्ति राष्ट्रियकरण गर, ज्ञानेन्द्रको सम्पत्ति सार्वजनिक गर, राजा पनि करको दायरामा हुनुपर्छलगायतका मुद्दा अनेरास्ववियुले उठायो । यसले आमजनताको समर्थन पायो । तर, ज्ञानेन्द्र राजा भएपछि निरंकुश भए । पारसविरुद्धको आन्दोलनले राजतन्त्रविरुद्ध मजबुत आधार खडा गर्यो । त्यसमा ज्ञानेन्द्रका कदमले आगोमा घिउ थप्ने काम गर्यो । विद्यार्थी संगठनहरूले ‘राजतन्त्रको औचित्य’ विषयक सार्वजनिक बहसका कार्यक्रम गरे । नमुना जनमतसंग्रह गरे । केही समयमा राजनीतिक दलहरू राजतन्त्र हटाउन सहमत भए । नेपाल गणतान्त्रिक मुलुक भयो ।