विगततर्फ फर्किंदा
नेकपा एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा स्थापित पार्टी हो । यो यत्तिकै स्थापित भएको भने पक्कै होइन । विगतको लामो संघर्षमय गौरवपूर्ण इतिहासले यस पार्टीलाई यहाँसम्म पुर्याएको हो । नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न आरोह र अवरोह आए, एकता र विभाजनका घडी पनि आए । त्यस्ता आरोह र अवरोहमा कहिले अगाडि र कहिले पछाडि देखिए पनि मुख्य रूपमा भने एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमै रह्यो ।
पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी बनिसकेपछि एमालेसामु गम्भीर प्रश्न खडा भएको थियो, के एमाले अब पनि नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नै हो त ? तर, समयक्रमले नै त्यसको जवाफ दियो । दोस्रो संविधानसभा निर्वाचनले एमाले नै मूल प्रवाह हो भन्ने प्रस्ट गर्यो । त्यसैले पनि एमालेले आफ्नो धरातलीय यथार्थ के हो भन्ने ठीक ढंगले बुझेर, मनन गरेर मात्र आगामी दिनका लागि पाइला चाल्नुपर्छ । त्यसो गर्न सकेको खण्डमा मात्र पार्टी आफ्नो गन्तव्यमा पुग्न सक्छ । विगतका कैयौँ आन्दोलनमा एमालेले आफूलाई एउटा अब्बल संगठनका रूपमा संघर्षका मोर्चामा उभ्याएको छ । एमाले समयको मागअनुसार जनताको पक्षमा आफूलाई बदल्दै आएको पार्टी हो । यो समयक्रमसँगै कतिपय जडतालाई तोड्दै आरोह र अवरोहलाई चिर्दै अगाडि आएको छ । नेपालका कम्युनिस्ट आन्दोलनमा जजसले जडतालाई समातेर बसे तिनीहरू टाक्सिए । एमालेले जडतालाई छाडेर अघि बढेको हुनाले नै ऊ आज मूल प्रवाहका रूपमा स्थापित हुन सफल भएको हो । यदि एमालेले जडतालाई समातेर बस्थ्यो भने हामी ०४६ को बहुदल ल्याउने आन्दोनलमा किनारामा बसेर हेरिरहेका हुने थियौँ । मदन भण्डारीले जनताको बहुदलीय जनवादको व्याख्यासँगै जनता नै सम्पूर्ण रूपमा निर्णायक शक्ति हुन्, हराए पनि र जिताए पनि जनताभन्दा ठूलो शक्ति अर्को कुनै हुनै सक्दैन, जनताको चाहनाले मात्र कुनै पनि पार्टी अगाडि जाने र पछाडि हट्ने हुन्छ, जबर्जस्ती कोही अघि बढ्न सक्दैन भन्ने पक्षलाई स्थापित गरिदिनुभयो । र, जनताबाट निरन्तर परीक्षण हुने पद्धति स्विकार्नुभयो ।
संसारका कम्युनिस्ट किन असफल भए भने उनीहरूले कहिल्यै जनताबाट जाँचिनै चाहेनन् । उनीहरू परीक्षणका लागि जनतामाझ जानैपरेन, चुनावमा सहभागी हुनैपरेन । उनीहरूले आफूहरूलाई सधैँभरि सम्पूर्ण रूपमा जनताको ठेकेदारका रूपमा उभ्याए । त्यसैले ढल्दा पनि उनीहरू एकैपटक गल्र्यामगुर्लुम ढले । उनीहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्नु आवश्यक नै ठानेनन् । द्वन्द्वात्मक भौतिकवादको अभ्यास गर्दै गरेनन् । विश्व कम्युनिस्ट आन्दोलनमा देखिएका तिनै कमी–कमजोरी पहिल्याएर मदन भण्डारीले पार्टीलाई रूपान्तरण गर्नुभयो । जसले गर्दा नेपालको लोकतान्त्रिक आन्दोलनमा लोकतन्त्रको मसिहा नेपाली कांग्रेसबाहेक अर्को कुनै पार्टी नै छैन भन्ने परिरहेको समयमा एमाले आफूलाई सोही स्थानमा उभ्याउन सफल भयो र उसले त्यो एकपक्षीय बुझाइलाई नै प्रतिस्थापित गरिदियो । एमालेले लोकतान्त्रिक हिसाबले पनि कांग्रेसलाई प्रतिस्थापित गरिदियो र समाजवाद तथा परिवर्तनका हिसाबले पनि आफूलाई स्थापित गर्न पूर्णत: सफल भयो । त्यसैले नेपालका कम्युनिस्ट आन्दोलनमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको झन्डा बोक्न एमाले सफल भयो । त्यही विगतको गौरवपूर्ण इतिहासले नै एमालेलाई आजको मूल प्रवाहमा ल्याएको हो । माओवादीको उग्रवामपन्थसितको लडाइँमा एकछिन पराजितजस्तो देखिए पनि एमालेले आफूलाई मूल प्रवाहको एक मात्र कम्युनिस्ट पार्टीका रूपमा स्थापित गरेको छ ।
वर्तमानको मूल्यांकन गर्दा
एमालेको इतिहास गौरवपूर्ण छ । तर, इतिहासको गाथा गाएको भरमा सधैँभरि पार्टी चल्न सक्दैन । हिजो हाम्रा अग्रजले राम्रा काम गरेर एउटा इतिहास रचे । आज हामी अर्को इतिहास बनाउने स्थानमा उभिएका छौँ । अब हामीले पनि त्यस्तै राम्रा र असल काम गर्न सक्यौँ भने मात्र भोलिका लागि गौरवलायक इतिहास कोरिने हो । हिजो पञ्चायतविरुद्ध लड्दा पुग्थ्यो । पछिल्लो कालखण्डमा कांग्रेससित मात्र लड्दा हुन्थ्यो । त्यसपछिका दिनमा माओवादीको उग्रवामपन्थसित लड्दा हुन्थ्यो । आज हामीले गरिबीविरुद्ध लड्नुपर्ने समय आएको छ । अव्यवस्था र बेथितिसित पनि हाम्रो आजकै पुस्ताले लड्नुपर्ने भएको छ । भ्रष्टाचारविरुद्ध पनि हामीले नै नलडी नहुने भएको छ । अब हामीले आफैँभित्र हुर्केका गलत सोच र प्रवृत्तिविरुद्ध पनि लड्नुपर्ने भएको छ । हाम्रो देशले प्रगति गर्न नसक्नुका कारणसित हाम्रो आजको लडाइँलाई जोड्न सक्नुपर्छ । अर्थात्, सामाजिक न्यायसहितको जनताको उच्चस्तरीय जीवनमूल्य रहेको विकास र आर्थिक समृद्धि आज हाम्रा लक्ष्य र उद्देश्य बन्नुपर्ने समय आएको छ । हिजोका उद्देश्य परिवर्तन गर्नु थियो, देशमा लोकतन्त्र ल्याउनु थियो, गणतन्त्र ल्याउनु थियो भने आजको उद्देश्य देशमा आर्थिक समृद्धि हासिल गर्नु छ, सामाजिक न्याय र समानतामा आधारित समाज निर्माण गर्नु छ । त्यसैले यदि आज हाम्रा उद्देश्य बदलिएका छन् भने ती उद्देश्य प्राप्त गर्ने साधन पनि बदलिनुपर्छ । हाम्रा ती उद्देश्य प्राप्त गर्ने साधन भनेका पार्टीहरू हुन् । पार्टीका नीति तथा कार्यक्रम तिनै उद्देश्य प्राप्तिको दिशामा केन्द्रित हुनुपर्छ । पार्टी नेता र कार्यकर्ता पनि तिनै उद्देश्य प्राप्तिका लागि समर्पित, तत्पर र प्रशिक्षित हुनु जरुरी छ । त्यसैले हिजो र आज निकै ठूलो अन्तर छ ।
जनताको बहुदलीय जनवादमाथिको बहस
जहाँसम्म जनताको बहुदलीय जनवादको प्रश्न छ, यस विषयमा हामीले पार्टीपंक्तिबाट निकै बहस, विमर्श र वादविवाद गरेका छौँ । आज मदन भण्डारी हुनुभएको भए के गर्नुहुन्थ्यो भन्ने प्रश्न पनि यदाकदा सुन्ने गरिन्छ । यदि मदन भण्डारी आज हुनुभएको भएको भए उहाँले झनै नयाँ सिर्जनात्मक ढंगले सोच्नुहुने थियो होला । तर, यस प्रश्नमाथिको बहस हामीले ५० सालअघिको जमिनमाथि उभिएर गर्ने होइन, ७२ सालमा उभिएर गर्नुपर्ने हुन्छ । के २०–२२ वर्षपछि पनि मदन भण्डारीले उस्तै गर्नुहुन्थ्यो त ? साँच्चै भन्ने हो भने मदन भण्डारीले बताएका ठाउँबाट एमाले निकै अगाडि आइसकेको छ । एमालेले त्यसलाई व्यवहारबाटै प्रमाणित गरेर आइसकेको छ । सैद्धान्तिक हिसाबले मदन भण्डारीले प्रमाणित गर्नुभयो भने व्यवहारबाट भने हामीले प्रमाणित गर्यौँ । जसले गर्दा एउटा भरपर्दो र विश्वासयोग्य सिद्धान्तका रूपमा विकसित भएको छ, जनताको बहुदलीय जनवाद । अब यतिमै मात्र हामी अड्क्यौँ भने अगाडि जान सकिन्न । आज हामीले समाजका अन्तर्विरोधलाई चिन्नुपर्छ । समाजको पछौटेपनलाई चिन्नुपर्छ । देशका आर्थिक सम्भाव्यताका क्षेत्र पहिचान गर्नुपर्छ । देश निर्माणका लागि आवश्यक जनशक्ति हामी आफैँले निर्माण गर्न सक्नुपर्छ । अनि त्यसलाई परिचालन गर्न सक्ने क्षमता एमालेमा हुनुपर्छ । के हामीले त्यसअनुसार काम गर्न सकेका छौँ त ? अवश्य छैनौँ । किन सकेका छैनौँ त भन्दा हाम्रा ढर्रा र परम्परा तिनै भए । हामीले नयाँ ढंगले गर्नैपर्ने काम पहिचान गर्नै सकेका छैनौँ । हामीले ठीक ढंगले कार्ययोजना बनाएर जनतामाझ गएर काम गर्न सकिरहेका छैनौँ । त्यसैले यहाँनिर के बुझ्नैपर्छ भने सिद्धान्त ठीक भएर मात्र हुँदो रहेनछ । जनताको बहुदलीय जनवादको ओठेभक्तिले मात्र केही हुनेवाला छैन । आजको सन्दर्भमा जबज के हो ? आजको सन्दर्भमा सामन्तवादी अवशेषलाई जबजले कसरी निमिट्यान्न पार्छ ? सामाजिक विभेद र असमानतालाई यसले कसरी सम्बोधन गर्छ ? देशको दु्रततर विकास र आर्थिक समृद्धिमा यसले कस्तो भूमिका खेल्छ ? मुलुकको चौतर्फी विकासमा यसको कस्तो योगदान रहन्छ ? विकास भनेर मात्र हुँदैन । त्यसका लागि जबजले क्षमता कसरी निर्माण गर्छ ? आवश्यक जनशक्ति कसरी तयार पार्छ ? यसको जवाफ हामीले अब खोज्नैपर्छ ।
जनशक्ति पलायनको समस्या
यतिखेर दिनको १५ सयदेखि दुई हजारसम्म युवा जनशक्ति बिदेसिइरहेको छ । अनि हामीचाहिँ देश बनाउँछौँ भनेर भाषण छाँटिरहेका छौँ । यस्तो पाराले कुनै हालतमा देश बन्न सक्दैन । त्यसैले पनि देश निर्माणका लागि आवश्यक राम्रो जनशक्ति हामी कसरी निर्माण गर्दै छौँ ? कुन–कुन क्षेत्रमा के–कस्ता जनशक्ति आवश्यक पर्छ ? त्यस्ता जनशक्ति निर्माण गर्दा हामी हाम्रा क्षमतालाई कसरी परिचालित गर्छौं ? यी सबै प्रश्नको एकीकृत जवाफबाटै देशको आर्थिक विकास हुन सक्छ । पूर्वाधार निर्माण सम्भव हुन्छ । देश र जनताको जीवनस्तरमा परिवर्तन आउन सक्छ । अनि मात्र शिक्षा, स्वास्थ्यजस्ता जनताका नैसर्गिक अधिकार राज्यले प्रत्याभूति गराउन सक्छ ।
अब राजनीति गर्ने भनेको पार्टीको कुनै पद धारण गर्ने, मन्त्री हुने, प्रधानमन्त्री हुने मात्र होइन । अबको सन्दर्भमा पदीय जिम्मेवारी भनेको मुलुकको समृद्धिसित जोडिनुपर्छ । जनताको आर्थिक जीवनसित गाँसिनुपर्छ । जनताको दैनिक जीवन र रोजगारीसित पनि जोडिनुपर्छ । हामी सबैलाई रोजगारी दिन्छौँ भन्ने नाराले मात्र जनतालाई रोजगारी दिन सक्दैन । हामीले उद्यमशीलताको विकास गर्न सकेनौँ । हाम्रो संस्कृति उद्यमशील बन्न सकेन । त्यसैले पनि अबका दिनमा हामीले उद्यमशीलताको विकास गरी धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गर्न सक्नुपरेको छ । त्यसका लागि बाहिरी लगानीसमेत भित्र्याएर देशलाई समृद्धिको गोरेटोतिर लग्न सकिन्छ ।
शैली परिवर्तनको आवश्यकता
अब हाम्रो हिजोको शैली र आजको शैली एकै हुन सम्भव छैन । पार्टीमा लामो समयदेखि काम गर्दै आएका नेता, कार्यकर्ताको एक किसिमको शैली छ । त्यसलाई हामीले सकेसम्म बदल्नुपर्छ । तर, हामी नयाँ पुस्तालाई कस्तो बनाउँदै छौँ वा कस्तो बनाउन खोजिरहेका छौँ, सबैभन्दा महत्त्वपूर्ण सवाल त्यही हो । अब हामीले पुरानो ढर्रा छोडेर नयाँ पुस्ता निर्माण गर्नु अत्यावश्यक छ । हामीले पार्टीमा नयाँ पुस्तालाई क्षमतावान् बनायौँ कि बनाएनौँ ? देश र जनताप्रति समर्पित हुन सक्ने इमानदार पुस्ता बनायौँ कि बनाएनौँ ? जतिवेलासम्म नयाँ पुस्ताको क्षमता, इमानदारी, दक्षता, समर्पण र विश्वसनीयतामाथि समाजले विश्वास गर्न सक्दैन, त्यतिवेलासम्म उसले केही गर्न सक्दैन । त्यसैले पनि हाम्रो नयाँ पुस्ता त्यसरी नै हिँडेको छ कि छैन ? समाजको नजरमा खरो उत्रने सामथ्र्य छ कि छैन नयाँ पुस्तामा ? हाम्रो नयाँ पुस्ता कि त पुराना नेताको अघि–पछि दौडिरहेको छ कि त आफैँ अराजक बन्दै गएको छ । नेतृत्वले जे–जे भन्छ, त्यही–त्यही मानेर टाक्सिएर बसिरहेको छ । अनेक समूह–उपसमूह खडा गर्ने र त्यसैको पछि–पछि दौडिने प्रवृत्ति पनि नयाँ पुस्तामा मौलाएको छ । त्यसैले पनि एमाले अब यही ढर्रा र पारामा चल्न सक्दैन । अब एमालेका नेता, कार्यकता योग्यतम, क्षमतावान्, त्यागी र इमानदार हुनुपर्छ । त्यसैले अब हामीले पुराना नेतालाई सम्मान गर्दै नयाँ पुस्तालाई चाहिँ जिम्मेवारी दिनुपर्छ । आज हामी जबजमाथि बहस गरिरहेका छौँ । तर, हामी स्वयंले चाहिँ त्यसअनुरूप कति जिम्मेवार भूमिका निभाएका छौँ त ? जबजको मार्गदर्शनअनुरूप हामी कति अगाडि बढ्यौँ त ? एकपटक ठन्डा दिमागले हाम्रा नेता, कार्यकर्ता सबैले सोच्ने समय आएको छ ।
नेताको आचरण
पार्टीका नेताको आचरण र इमानदारीबारे बारम्बार प्रश्न उठिरहेको हुन्छ ? आजको सन्दर्भमा हाम्रा नेताले आफ्नो न्यूनतम नैतिक मूल्य र मान्यता के हो भनेर आफैँले बुझ्नुपर्छ । न्यूनतम आचारसंहिता आफैँले निर्माण गर्नुपर्छ, अरू कसैले निर्माण गरिदिएर हुँदैन । आज हाम्रा नेता सुविधामा हुनुहुन्छ, लाभका पदमा हुनुहुन्छ । सम्पूर्ण नेता यो मुलुकका जिम्मेवार नागरिक हुनुहुन्छ । आजको बदलिएको अवस्थाअनुरूप उहाँहरू त्यहाँ हुनु स्वाभाविक हो । तर, त्यो पदमा गइसकेपछि उहाँहरूले कसका लागि काम गर्ने हो ? आफू र आफन्तका लागि मात्र हो ? पार्टी कार्यकर्ताका लागि मात्र हो ? अथवा जनताका लागि हो ? यसको गम्भीर समीक्षा गरी हाम्रा नेताले अब पार्टीभित्रका सामान्य गुट र साँघुरा दायराबाट बाहिर निस्किनुपर्छ । तर, आजको हाम्रो नेतृत्वले आफ्ना स्वार्थ कायमै राख्न, आफ्ना हितलाई खलबल्याउन नदिन देश र जनताको हित बिर्सिरहेको छ । देशलाई विकासको बाटो हिँडाउनुपर्ने दायित्वबाट चुकिरहेको छ । यो नै आजको हाम्रो यथार्थ र गम्भीर चुनौती पनि हो ।
(अधिकारी एमाले केन्द्रीय सदस्य तथा सभासद् हुन्)