भूकम्पपछिको पर्यटन र पुनरुत्थान

पर्यटकीय क्षेत्रमा भूकम्पका कारण करिब १८ अर्ब ८६ करोड २८ लाख रुपियाँ बराबरको क्षति भएको छ। तुलनात्मकरूपमा योजना आयोगको तथ्यांकमा पर्यटन क्षेत्रमा परेको क्षति कमै देखिन्छ। आर्थिकरूपमा भएको क्षतियो आकलन लगत संकलनको पाटो हो तर पर्यटकीय क्षेत्रमा परेको नकारात्मक असर अहिले संकलित आर्थिक विवरणभन्दा कैयौ गुणा धेरै मूल्य बराबरको छ।

rabinजुन कुरा चिर्दै विश्वभर नेपाल पर्यटकीय गन्तव्यका लागि सुरक्षित छ भन्ने सुनिश्चितता प्रदान गर्नु हाम्रा लागि कडा चुनौती बनेको छ। चुनौतीको सामना गर्नैपर्छ र गरिरहेका पनि छौँ। यो चुनौती चिर्न हामीसँग दीर्घकालीन योजना, रणनीति, साझा संकल्पसँगै इच्छाशक्ति हुनुपर्छ।

वास्तवमा पर्यटकका लागि हाम्रा प्राकृतिक तथा मानव निर्मित सम्पदा दुनियामै लोभलाग्दा छन्। शब्दमा मात्रै सीमित राख्दा नेपालको पर्यटनमाथि अन्याय नै हुन्छ जति खुला आँखाले नेपाल हेर्नुमा मजा छ, आनन्द छ र न्यायपूर्ण हुन्छ। पदयात्रा, जलयात्रा, होमस्टे, प्याराग्लाइडिङ, तलाउ बिहार, स्काइ डाइभिङ, रक क्लाइम्बिङ, धार्मिक तीर्थस्थल, बन्जिजम्पिङ, क्यानोनिङ, साहसिक खेल जिपवायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावरहरु, गाउँका उत्पादनहरु, स्थानीय आतिथ्य सत्कार जस्ता विविध पक्ष नै पर्यटनका मुख्य आधार हुन्। साँच्चिकै भन्ने हो भने हाम्रा हरेक घुम्ती र मोड नै पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने गरेका छन्।

यति धेरै पर्यटकीय सम्पदा रहेको हाम्रो देशमा वैशाख १२ गतेको विनासकारी भूकम्पले पर्यटकीय उपजमा १० प्रतिशतमात्र नोक्सानी हँुदा पनि पर्यटन उद्योगमा ९० प्रतिशतभन्दा बढी घाटा भइरहेको छ। काठमाडौंका ३ वटा दरबार स्क्वायरको आंशिक क्षति तथा लाङटाङ, रोल्वालिङ र मनास्लु पदयात्रा मार्गमा परेको असरका कारण पर्यटन आगमनमा यति नकारात्मक प्रभाव पर्न नहुने हो। आखिर किन यस्तो भयो भने? विश्लेषण आवश्यक छ।

प्राकृतिक विपत्ति जानकारी दिई पृथ्वीको कुनै स्थानमा जाँदैन। हरेक क्षण र स्थानमा जोखिम हुन सक्छ। जोखिम लिन चाहने पर्यटकका लागि हरेक नयाँ कुरा आकर्षण बन्न सक्छ। नेपालमा आउने पर्यटकमध्ये १२ प्रतिशत पदयात्रा र पर्वतारोहण गर्ने जोखिम लिएरै आएका हुन्छन्। नदी हरेक साल उर्लन्छन्, हिमपहिरो हरेक साल जान्छ तर पर्यटकहरु जोखिम मोलेरै यात्रा गर्छन्। त्यसैले पनि नेपालमा भूकम्पले निम्त्याएको भनिएको जोखिम पर्यटकका लागि ठूलो समस्या नबन्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन। नकारात्मक असर परिरहेको छ।

यही असर चिर्न संसद्को विकास समितिले भूकम्प प्रभावित क्षेत्र भनिएको नगरकोटमा जेठ ३१ र ३२ गते गरी २ दिने कार्यशाला सम्पन्न गर्योस जसले पर्यटकलाई सकारात्मक सन्देश दिन सहयोग गर्यो । हाम्रा सम्पदा धुलाम्यै भत्केका हुन् भन्ने संदेश विदेशभर मार्केटिङ भइरहेको सन्दर्भमा त्यसलाई कसरी रोक्ने भन्ने सिलसिलामा हरेक पर्यटन व्यवसायी, सरकार, व्यक्ति, सञ्चारकर्मी सबै जुट्नुपर्ने भएको छ। पर्यटकका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश पुर्यायउनु आज प्रत्येक नागरिकको कर्तव्य पनि हो। हामी हतास र कमजोर भएमा पर्यटक आउँदैनन्। अबका दिनमा हाम्रा संरचना बलियो बनाउनुपर्छ। अझ बलियो हाम्रो विश्वास बनाउनुपर्छ। हामीलाई भूकम्पले थप बलियो बन्ने अवसर दिएको छ। हामी जिम्मेवारीसाथ लागेमा आउँदो पर्यटक सिजनमा भूकम्पको प्रभाव निकै कम पर्नेछ।

मन्दिरै/मन्दिरको देशमा ५ वटा मन्दिर भत्कँदैमा सबै भत्केको सन्देश जान दिनुहुँदैन। भत्केका मठमन्दिर हामी बनाउँछौँ। सयौं वर्षपहिलेका केही सम्पदा एकदिन ढल्नु नै थियो, ढले। बिल्कुल यसको सन्देश यो होइन कि नेपाल भत्केको छ। २ वटा पदमार्ग अवरुद्ध हुन्। नेपाल अवरुद्ध होइन। हामी ति अवरुद्ध मार्ग छिटै खुलाउँछौ। हरेक डाँडाबाट प्याराग्लाइडिङ उडेकै छन्। खुला छ आकास। अनि खुला छ नेपाल। घर भत्केका छन् तर विश्वास ढलेका होइनन्। हाम्रो इच्छाशक्ति भत्केको छैन। अब नेपालको पर्यटनलाई पुनरुत्थान, पुनर्जागरण गर्नेतर्फ हाम्रो ध्यान जान ढिला गर्नुहुँदैन।

सकारात्मकरूपमा हेर्ने हो भने भूकम्पले विश्व पेरिफेरीमा नेपाललाई थप चिनाएको छ। यो चिनिने क्रममा केही गलत सन्देश प्रवाह भयो। यही गलत सन्देश चिर्न पोखरामा सभामुख, मन्त्री र पर्यटन व्यवसायीसँगको बृहत् कार्यशालाले पर्यटन पुनरुत्थानका लागि ५१ बँुदे पोखरा घोषणापत्र जारी गरेको छ। विनासकारी भूकम्पपछि पर्यटन क्षेत्रले भोगेका क्षति, कष्ट पहिचान गरेर त्यस क्षतिको पूर्ति तथा निर्माण कसरी गर्ने सन्दर्भका विषयमा पोखरा घोषणापत्र जारी भएको छ। सँगै गएको हप्ता काठमाडौँमा भएको दाता सम्मेलनले पनि पर्यटकीय क्षेत्रलाई अर्को एउटा सकारात्मक सन्देश दिएको छ।

पुनरुत्थान

जानेर या नजानेर हाम्रो बर्बाद भयो, हामी सिद्धियौ भन्यौ। धेरै दुःख पाएको कुरा बताउँदा हामीले भत्केका/लडेका कुरामात्र बतायौँ। जसका कारण नेपाल घुम्न उपयुक्त गन्तव्य छैन, सबै जोखिममा छन् भन्ने सन्देश विश्वव्यापी भइदियो। वास्तविकता यो होइन। त्यही अवास्तविकता चिर्न विकास समितिले नगरकोट र पोखरामा गरेको कार्यक्रममा भन्यौ– हाम्रा सम्पदा, धरोहर र गन्तव्य सुरक्षित छन्। जसले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। अरु बेला पर्यटन क्षेत्रले राज्यलाई साथ दिएकै हो तर यस बेला पर्यटन क्षेत्रले राज्यसँग साथ मागेको छ। यसका लागि राज्यको सहयोग अपरिहार्य छ। राज्यले पर्यटकका लागि घुमफिर वातावरण बनाइदिने, कानुनी बाधा–अड्चन फुकाइदिने, छिमेकी तथा तेस्रो मुलुकसँगको सहकार्यमा सहयोग गर्ने तथा आधारभूत पूर्वाधार निर्माण गरिदिनुपर्छ। अहिलेको विपत्तिलाई अवसरमा बदल्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ।

पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल अझै पनि पछाडि छ। यातायात, पर्यटन क्षेत्रको विकासका लागि पहिलो पूर्वाधार हो। नवनिर्माण र पुनर्निर्माणमा यो विषयलाई ध्यान दिन जरुरी छ। अर्को कुरा भूकम्पको प्रभावसँगै पर्यटन भित्रने महत्वपूर्ण माध्यम हवाई यात्रा हो। हामीसँग जहाज नहुनु एउटा परिस्थिति हो तर नेपाली आकास नै सुरक्षित छैन भन्ने समाचार खतराजन्य छ। यसलाई व्यवस्थित गर्नुपर्छ।

अहिले ६० लाखभन्दा धेरै नेपाली मुलुकबाहिर छन्। विश्वभरि छरिएका गैरआवासीय नेपाली परिचालन गरेर नेपालको पर्यटन विकास गर्न सकिन्छ। यसतर्फ हामीले कदम चाल्नुपर्छ। संस्थागतरूपमा सरकार र निजी क्षेत्रले नीति तथा योजना निर्माण गरी उनीहरुलाई उपयोग गर्न सकिएमा लाखौंको संख्यामा पर्यटक नेपाल भित्र्याउन सकिन्छ। पर्यटन पुनरुत्थानमा गैरआवासीय नेपाली सहयोगी बन्नेछन्। गैरआवासीय नेपालीमा नेपालप्रतिको हार्दिकता अझ बढोत्तरी हुनेछ भने उनीहरुलाई हेर्ने नेपाल दृष्टिकोण थप सकारात्मक बन्नेछ।

अबका दिनमा पनि पर्यटनको उत्तिकै सम्भावना छ तर प्रशस्त सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्र व्यवस्थापनको कमीले अर्थतन्त्रमा खासै योगदान नपुगेको देखिन्छ। दुई दशकअघि विदेशी मु›ा आर्जन गर्ने प्रमुख स्रोत पर्यटन थियो तर अहिले त्यो स्थिति बदलियो। सम्भावनामात्र भएर कुनै पनि क्षेत्रको विकास हुन सक्तैन, त्यसका लागि व्यवस्थित, योजनाबद्ध काम र इच्छाशक्ति आवश्यक हुन्छ।

पर्यटन उद्योग पूर्णरूपमा सेवा र प्रकृतिमा आधारित व्यवसाय भएकाले अन्य उद्योग/व्यवसायको तुलनामा यसको विकास र प्रबर्द्धन बढी चुनौतीपूर्ण र संवेदनशील छ। अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरी बजार प्रबर्द्धनबिना पर्यटन क्षेत्रको पुनरुत्थान र दीर्घकालीनरूपमा विकासले फड्को मार्न नसक्ने हुनाले आजको प्रतिस्पर्धाको समयमा पर्यटन उद्योगको पूर्ण विकास र बिस्तार अपरिहार्य छ। पर्यटन उद्योगको पूर्ण विकास र विस्तारका निम्ति प्रमुख हतियार बजार प्रबर्द्धन नै हो। यसका लागि अन्तर्राष्ट्रिय निकायसँग सहकार्य जरुरी छ। पर्यटन पुनरुत्थानकै लागि संसद्को विकास समितिले गरेको निरन्तर प्रयासले पनि पर्यटन व्यवसायीलाई खुसी तुल्याएको छ। पर्यटन पुनरुत्थानका सवालमा अबका दिनमा केही कदम चाल्न ढिला गर्नुहँुदैन। बँुदागतरूपमा भन्नुपर्दा :

१) राष्ट्रिय अर्थतन्त्रको बलियो जगमा रहेको पर्यटन उद्योगमा भूकम्पले पुर्यातएको क्षति आंशिक हो। नेपालमा थुप्रै आकर्षक भ्रमणयोग्य पर्यटकीय क्षेत्र छन् भन्ने तथ्य र तस्बिर संसारभर प्रचारप्रसार गर्न विद्युतीय र छापा माध्यमसँग सहकार्य गर्नुपर्छ।

२) नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारेको सूचना, सुरक्षा र सुविधालाई अधिकतम बजारीकरण गर्न पर्यटनलाई सार्वजनिक, निजी, स्थानीय निकाय र समुदायको साझा सम्पत्तिका रूपमा स्थापित गर्न विकास कार्यमा संलग्न सबैले पर्यटकीय सुन्दरता थप्न ध्यान दिनुपर्छ।

३) विदेशी कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत नेपाल सुरक्षित रहेको सन्देश विश्व पर्यटन बजारमा पुर्यािई नेपालबारे सकारात्मक भ्रमण (ट्राभल एडभाइजरी) प्रेषित गर्न अनुरोध गर्ने।

४) पदयात्रा अनुमति दिने व्यवस्था झन्झटिलो र दोहोरो व्यवस्था अन्त्य गर्ने। पदयात्रा शुल्क व्यवस्थित गर्ने तथा निषेधित पदयात्रा खुला गर्ने किनकि पर्यटन पुनरुत्थान विकल्पमा वैकल्पिक पदमार्गलाई लिन सकिन्छ। पदयात्राको विकल्पमा सुरु भएको लोमन्थाङ, लुम्बिनी, फेवाताल, राराताल (लोलुफेरा) जस्ता वैकल्पिक मार्गलाई विकास, प्रबर्द्धन र प्रयोगमा ल्याउने। अन्नपूर्ण संरक्षण क्षेत्रलगायतका अन्य स्थानमा लाग्ने अनुमतिपत्रलाई केही समय मान्य हुने गरी बहुप्रवेश र बहुप्रवेशाज्ञाको व्यवस्था मिलाउने।

५) प्राकृतिक तथा धार्मिक उद्देश्यमा आधारित पर्यटकमाझ दामोदर कुण्ड, मुक्तिनाथ, त्रिवेणीधाम, पशुपतिनाथ जस्ता पुण्यधामको धार्मिक महिमाको प्रचारप्रसार गर्ने। यसैगरी पाथीभरा, बराह क्षेत्र, हलेसी, जनकपुर, देवघाट, स्वर्गद्वारी, छायानाथ, खप्तड, बडीमालिकालगायतका धार्मिकस्थलको संरक्षण, सम्बर्द्धन गरी धार्मिक पर्यटन प्रबर्द्धन गर्ने।

६) पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई गन्तव्य विमानस्थल (डेस्टिनेसन एयरपोर्ट) का रूपमा यथाशीघ्र निर्माण सम्पन्न हुने गरी सबै प्रबन्ध गर्ने। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा निर्माण गर्ने गरी शीघ कार्य अघि बढाउने। सँगै पोखरा–डोल्पा–रारा हवाई उडान सुरु गरी पर्यटकीय गन्तव्यमा थप आकर्षण र सुविधा थप्ने।

७) पर्यटकहरूलाई इ भिसा (इलेक्ट्रोनिक भिसा) दिने व्यवस्था मिलाउने।

८) पर्यटन उद्योगलाई अन्य उद्योगसरह प्राथमिकता प्राप्त उद्योगमा राखी सोहीअनुसारको सहुलियत दिने व्यवस्था मिलाउने। ग्रामीण पर्यटन प्रबर्द्धन गर्न होमस्टे विकास गर्ने।

९) पर्यटक आगमनको प्रमुख मार्ग हवाई हो। हाल विमानस्थलको नाजुक अवस्थाप्रति सबै निकाय जानकार छन्। त्यसैले विमानस्थलहरूको सफाइ, सौन्दर्य, सुविधा र सहयोगपूर्ण सुधार, विस्तार र सञ्चालनमा ल्याउन आवश्यक छ।

१०) क्षतिग्रस्त पुरातात्विक सम्पदा पुनर्निर्माण गर्दा आधुनिक प्रविधिको समेत उपयोग गरी मौलिक स्वरूपमा रूप उस्तै, संरचना दुरुस्तै, बलियो प्रशस्तै हुने गरी भूकम्प प्रतिरोधात्मक ढङ्गले निर्माण गर्ने।

११) उनीहरु खासगरी मनोरञ्जनका लागि नै आउने हुँदा पर्यटकका आकर्षक स्थलमा उपयुक्त कानुनी व्यवस्था, सुरक्षा प्रबन्ध र स्थानीय बासिन्दाको हितलाई मध्यनजर राखी चौबीसै घण्टा मनोरञ्जन सुविधा सञ्चालन गर्न अनुमति दिने।

१२) पर्यटक प्रबर्द्धनमा सामाजिक सञ्जाल पनि निकै सशक्त माध्यम बन्छ, यसको उपयोगमा व्यापकता ल्याउने। अन्तर्राष्ट्रिय स्तरको पर्यटन मेला नेपालमै आयोजना गर्ने। अन्तर्राष्ट्रिय सम्मेलन, चर्चित व्यक्तित्वहरु, सेलेब्रेटीहरु अन्तर्राष्ट्रिय मिडियाको उपयोग गर्न सकेमा पनि पर्यटन क्षेत्रमा सहयोग पुग्नेछ। सरकार तथा सम्बन्धित निकायले यसतर्फ कदम चाल्नुपर्छ।

पर्यटनलाई उद्यमशीलताका रूपमा विकास गर्नैपर्छ। उद्यमशीलताको बलियो आधार पर्यटन क्षेत्र पनि हो। हाम्रा संस्कृतिलाई उद्यमशीलतासँग जोड्नुपर्छ। जसले आर्थिक विकास, रोजगारी अवसरको सिर्जना र सँगै पर्यटनको पुनरुत्थानमा सहयोग पुग्नेछ। पर्यटन पुनरुत्थानकै सवालमा छिमेकी देशहरुलाई पनि व्यापक उपयोग गर्न सक्नुपर्छ। दुई छिमेकी मुलुक भारत र चीन क्षेत्रपÞ्कलमा जति फराकिला छन् त्योसँगै जनसंख्यामा पनि विशाल छन्। तेस्रो मुलुकबाट आउने पर्यटक संख्या यथास्थिति रहे पनि छिमेकी देशका पर्यटकलाई वारको पार गर्न (नेपाल भित्राउन) सक्ने हो भने पनि भूकम्पले थिल्थिलिएको पर्यटन क्षेत्रले राहत महसुस गर्नेछ। पर्यटन उद्योग विकासको एउटा निरन्तर प्रक्रिया हो, विकास एउटै पुस्ताले गर्ने होइन, आज हामीले सुरु गर्न सके आउँदो पुस्ताले त्यसलाई निरन्तरता दिनेछन्। अबको समय भनेको विकाससहितको समृद्ध नेपालको हो।

यो लेख नागरिक दैनिकमा प्रकासित छ |