दण्ड र पुरस्कार दुवै जनताले दिन्छन्: रवीन्द्र अधिकारी

दोस्रो संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र ३ बाट एमालेका युवा नेता रवीन्द्र अधिकारी निर्वाचित भएका छन्। अधिकारी यसअघि पनि त्यही क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०२६ वैशाख २२ गते आइतबार कास्कीको भरतपोखरी गाविसमा जन्मेका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।
 
२०४२ सालमा उच्च शिक्षा अध्ययनसँगै उनले राजनीतिक जीवन सुरु गरेका हुन्। २०४५ सालमा उनले पार्टीको संगठित सदस्यता लिएका हुन्। अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस अध्यक्ष, स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, अनेरास्वबियु कास्की जिल्ला अध्यक्ष, गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य, २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र  २०५३ सालमा त्रिभुवन विश्वविद्यायालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए।
उनी २०५६ सालमा अनेरास्ववियुका अध्यक्ष भइसकेका छन्। अधिकारी हाल पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य छन्। अघिल्लो संविधानसभामा उनको भूमिका प्रभावकारी देखियो र उनी चर्चामा आइरहे।
 
अघिल्लो संविधानसभाको चुनाउमा समेत सोही क्षेत्रबाट निर्वाचित अधिकारी बाबुराम भट्टराईले संविधानसभा विघटन गरेपछि अब पनि ६०१ जनाका लागि निर्वाचन हुने हो भने आफू उम्मेदवार नहुने भनेर घोषणा गरी चर्चामा आएका थिए। प्रस्तुत छ संविधानसभा सदस्यमा निर्वाचित भइसकेपछि अधिकारीसँग अन्नपूर्णकर्मीले गरेको कुराकानी:
दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित हुँदा कस्तो अनुभूति भएको छ?
जनताका पक्षमा संविधानसभामा रहेर मैले निर्वाह गरेको भूमिकालाई सकारात्मक रूपमा जनताले अनुमोदन गरेका छन्। हाम्रो पार्टीलाई जनताको जुन अपार समर्थन र विश्वास प्राप्त भएको छ, यसमा हर्षविभोर भएको छु। संविधान निर्माण र राष्ट्र निर्माणका लागि मेरो भूमिका अझ सक्रिय रहनेछ।
एमाओवादीले संविधानसभामा सहभागी नहुने भनेर धम्की दिइरहेको छ। यसलाई कसरी विश्लेषण गर्नुहुन्छ?
यो निकै गम्भीर सवाल हो। हामी संविधानसभामा गइरहँदा हिजो र आज पनि २०६२/६३ को आन्दोलनको जनादेशलाई संस्थागत गर्नेबाहेक हाम्रो अरू केही उद्देश्य हुनेछैन। हामी विगतको आन्दोलन र शान्तिप्रक्रियाको मर्मअनुसार संविधान निर्माण गर्ने र त्यहीअनुसार मुलुकलाई अघि बढाउने कुरामा संवेदनशील छौं।
यतिबेला एमाओवादीलाई के आग्रह गर्न चाहन्छु भने संयमका साथ परिणामलाई स्वीकार गरेर यो प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउन सहभागी हुनुपर्छ। आक्रोशमा यस्ता अभिव्यक्ति नदिन पनि आग्रह गर्छु। हामी एउटा प्रक्रियामा छौं। यो प्रक्रियालाई अघि बढाउन जनताको अभिमत स्वीकार गर्नुको विकल्प छैन। जनताको अभिमत स्वीकार गर्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो पक्ष हो।
आफ्नो पक्षमा परिणाम आए स्वीकार गर्ने नआए अस्वीकार गर्ने भन्ने हुनै सक्दैन। यसले लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन पनि सकिँदैन। यसकारण यो प्रक्रियामा सामेल भएर सबै मिलेर संविधान बनाउने हो। यसका लागि एमाले र त्यसको प्रतिनिधिको हैसियतले फेरि पनि प्रयास गरिनेछ। बृहत् शान्तिसम्झौता, जनआन्दोलनको मर्म र भावना, अन्तरिम संविधानमा उल्लेख भएअनुसार नै संविधान निर्माण गरेर हामी मुलुकलाई निकास दिने काम गर्नेछौं।
यसका लागि सकारात्मक रूपमा सहभागी हुन म एमाओवादीलाई आग्रह गर्छु।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले दिएका अभिव्यक्ति ले नेपालको राजनीतिमा दूरगामी असर पार्दैन र? कसरी हेर्नुभएको छ?
निर्वाचन यो ठाउँसम्म ल्याउन पनि उहाँहरूको ठूलो भूमिका छ। मतदान सकिएर बाकस आइसकेपछि दाहालले वक्तव्य निकालेर सानदार र भव्य रूपमा चुनाउ सम्पन्न भएको भन्दै धन्यवाद दिनुभएको छ। बाकसबाट मतपत्र निकालेर गन्न थालेपछि आफ्नो पक्षमा परिणाम देखिएन। त्यस्तो हुन्छ।
हिजो हाम्रो पार्टीका वरिष्ठ नेता हार्नुभएको थियो। हामीले अपेक्षा गरेजस्तो परिणाम आएन। महासचिवले नै दुई ठाउँबाट हार्नुभएको थियो। हामी त त्यसबाट बाहिर गएनौं। जनताले दलहरूलाई कसरी बुझिरहेका छन् भन्ने कुरा हेरेर भविष्यको बाटो तय गर्ने हो। त्यसकारण म उहाँहरूलाई के आग्रह गर्छु भने जित्ने र हार्ने निर्वाचनका स्वाभाविक प्रक्रिया हुन्। जनताले गरेको फैसलालाई सहर्ष स्वीकार गरेर संविधान निर्माणप्रक्रियामा सहभागी हुन आग्रह गर्छु।
एमाओवादी संविधानसभामा आएन भने के हुन्छ?
निर्वाचन नै नजितीकन सभासद् बनाउने भन्ने हुँदैन। यो प्रक्रियामा एमाओवादीलाई बाइकट गरेर संविधान बनाउने कुरा पनि सम्भव छैन। उहाँहरूको जे प्रतिनिधित्व हुन्छ, त्यसलाई उच्च सम्मान गर्दै हिजोको बृहत् शान्तिसम्झौता र जनआन्दोलनको मूल्यांकन गर्दै संविधान बनाउनुपर्ने भएकाले कुनै अन्यथा ठान्नुपर्ने छैन। अर्कोपटक पनि चुनाउ हुन्छ। त्यसमा विजय हासिल गर्न सकिन्छ।
हिजो संविधान निर्माणका लागि साँच्चिकै अगुवाइ गरेको भए, भएका सम्झौतालाई पालना गरेर संविधान जारी गर्न खोजेको भए एमाओवादीले यस्तो स्थिति भोग्नु पनि पर्दैनथ्यो होला। जनताले गलत गर्नेलाई त सजाय दिन्छन् नि। कुनै पनि पार्टी जनताको अभिमत स्वीकार गर्न सक्दैन भने ऊ स्थापित पनि हुन सक्दैन।
अब कसरी अघि बढ्नुहुन्छ त?
विगतमा जसरी मैले संविधानसभामा प्रतिनिधित्व गरेको थिएँ, त्यो सक्रियतालाई निरन्तरता दिँदै तोकिएको समयमा संविधान निर्माण गर्नु पहिलो दायित्व हो। प्राप्त उपलब्धि संस्थागत गर्ने यो नै एउटा उपाय हो। अनि अर्को कुरा पार्टीको घोषणापत्र र आफ्नो प्रतिबद्धताअनुसार म काम गर्नेछु। एउटा सभासद्को हैसियतले गर्नुपर्ने काम र जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने काममा म प्रतिबद्ध हुनेछु। कस्केलीको प्रतिनिधि भएकाले पोखरा र समग्र कास्कीको शिर सधैं ठाडो राख्न म प्रयत्नशील रहनेछु।