ट्युनिसियाको सडकमा हामीकहाँ जस्तै नाङ्लो पसल थाप्न खोज्दा प्रहरीले गरेको दमनविरुद्ध आत्मदाह गर्ने ट्युनिसियाली एक युवक जो पूरै अरब विश्वको क्रान्तिको कारक बन्यो । एक व्यक्ति जो राजनीतिमा कहिल्यै सम्बन्धित थिएन र चासो पनि थिएन उसको राज्य संयन्त्रप्रतिको निराशा र आक्रोश ठूलठूला शासक जो आफूलाई भगवान ठान्थे, लाई माटो सुँघाउने कारक बन्यो । युवाको आक्रोशले कुनै पनि बेला नेपालमा असामान्य विस्फोट हुनेछ । साइबर जेनेरेसन अगाडि आइरहेको छ जो कुराभन्दा काम र व्यवहार हेर्न चाहन्छ । संविधान निर्माणमा उसको चासोबाट अनुमान गर्न सकिन्छ । हिजो लोकतन्त्रका कुरा गरेर सबै दोष राजालाई पन्छाउन सकिन्थ्यो तर आज सजिलो छैन । अझै पनि आर्थिक समृद्धि र विकासका कुरा नेताहरूका लागि महत्त्वका छैनन् । तिनीहरू लोकतन्त्रका नाममा सत्ता स्वार्थका चालबाजीमा रमाइरहेका छन् । कुनै पनि बेला राजनीतिको यो क्रियाकलापले विस्फोट निम्त्याउन सक्छ जसलाई टेन्डर र ठेक्काका लागि नेताहरूका अघिपछि लाउने केही जमातको सहाराले बचाउन सकिनेछैन । अहिले नेपाली नेतृत्वले नजरअन्दाज गरेको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो ।
अहिलेसम्म गर्न नसकिएको कुरा हो- हाम्रो युवा पुस्ताको ज्ञान, सीप र क्षमताको पूर्ण उपयोग र उनीहरूको नेतृत्व, उद्यमशीलता, व्यावसायिकताको विकास । उसको नव परिवर्तन, खोज र विज्ञान क्षमताको उपयोग गर्न नसक्नु । पुरानामा भन्दा नयाँमा धेरै मात्रामा ज्ञान र क्षमता छ । तर पुरानाले बुझ्दैन किनभने उसमा त्यो बुझ्ने क्षमताको कमी छ । युवाले देश निर्माण गर्छ भन्ने विश्वास गर्न नसक्नु सबैभन्दा ठूलो दुर्भाग्य हो । वास्तविकता के छ भने पुरानो जहिल्यै उस्तै खोज्छ, नयाँले नयाँ खोज्छ र इतिहासको विकास भनेकै यही हो कि यो लडाइँमा जित सधैं नयाँको हुन्छ । युवाहरूको ज्ञान र सीपको पूर्ण उपयोग भएको आर्थिक संस्कृतिबिना न त लोकतन्त्र बलियो हुन्छ न विकास । विकास र लोकतन्त्रलाई छुट्याएर हेर्न मिल्दैन तर हामीकहाँ विगत ७० वर्षदेखि लोकतन्त्रका कुरा भए, आर्थिक विकास र समृद्धि कहिल्यै प्राथमिक एजेन्डा बनेनन् । हामीले लाखौं युवालाई स्वतन्त्रताको लडाइँमा अगाडि लगायौं र सत्ता प्राप्तिपछि सबैलाई बिर्सिदियौं ।
पुरानो पुस्ताले युवामा सपना देख्नै नसक्ने बनायो । समाज विकासको सबैभन्दा ठूलो आधार भविष्यप्रति आशा र सपना देख्न सक्ने बनाउनु हो । अमेरिकामा केन्याको मुसलमानको छोरो कालो केटो आफ्नै पुस्तामा अमेरिकी राष्ट्रपति बन्ने सपना मात्र देख्दैन, परिवर्तनको नाराले राष्ट्रपति बन्न सक्छ किनभने त्यहाँ युवा पुस्ताले फक्रने वातावरण छ । सामाजिक मूल्यमान्यता र लोकतान्त्रिक मूल्य पद्धति छ त्यहाँ । त्यसकारण उनीहरू विकास गर्न सक्षम छन् । तर हामीकहाँ कुनै पनि युवा भविष्यप्रति आश्वस्त हुन सकेको छैन । ४४ वर्षका राष्ट्रपति र ३८ वर्षका प्रधानमन्त्रीमा अमेरिका र बेलायतले विश्वास गरेको छ । हामीकहाँ युवाले त्यो कल्पना पनि गर्न सकेको छैन । यदि हामीले यो सपना देख्ने क्षमता राखेनौं भने यो देशमा न परिवर्तन हुन्छ न विकास ।
अमूक देशको शक्तिकेन्द्रभन्दा देशको एक युवा बढी शक्तिशाली हुन्छ भन्ने बुझ्नैपर्छ । ट्युनिसियाको ‘स्टि्रट भेन्डर’ त्यहाँका तानाशाहभन्दा शक्तिशाली भएको तथ्य विगत ६ महिनायता संसारले साक्षी बसेको घटना हो । भारतको इतिहासमा ३४ वर्षे वामपन्थीको सरकार ढल्यो । ममता बनर्जीले वामपन्थीको किल्ला ध्वस्त गरिन् । त्यहाँ वामपन्थीको हार भनेर प्रचार गरियो । तर ममताको जितको अन्तरनिहित कारण परिवर्तनको उत्कट अभिलाषालाई कसैले विश्लेषणको आधार बनाएन । उनले परिवर्तनको चाहनालाई एक सूत्रमा बाँधिन् । सामान्यतया वामपन्थीमा एउटा मनोरोग हुन्छ, हामी त नामैले परिवर्तनका पक्षधर तर नाराले मात्र हुँदैन रहेछ त्यो अनुभूति युवामा भयो कि भएन । न्याय, स्वतन्त्रता, समानता, क्षमताजस्ता नाराले केहीलाई केही समय भुलाउन सकिएला तर सबैलाई सधैं भुलाउन सकिँदैन ।
परिवर्तनको कुरा गर्ने तर परिवर्तनको नाम लिन नचाहने दोहोरो मापदण्डको सिकार भएको छ हाम्रो संविधानसभा । माओवादी जनअनुमोदनमा आधारित लोकतान्त्रिक राजनीतिक शक्तिका रूपमा परिवर्तित हुन चाहेको छैन भने अन्य राजनीतिक पार्टी अग्रगामी राजनीतिक शक्तिमा परिवर्तन हुन चाहेका छैनन् । यो वास्तविकतालाई आत्मसात् गर्न केही दिन र हप्ता मात्र पनि ढिलो गर्दा ०६२/६३ को जनआन्दोलनको आदेश र जनताको परिवर्तनको आकांक्षालाई संस्थागत गर्नबाट विमुख हुनेछौं ।
०४६ को परिवर्तनपछि धेरथोर मात्रामा सामाजिक संरचना भत्केका छन् । ०६२/०६३ को परिवर्तनले अझ बढी भत्काइदियो । तर हामीकहाँ पुरानो पुस्ताका नेताहरूले त्यो परिवर्तनलाई आत्मसात् गरेकै छैनन् । उनीहरूका विचारमा लोकतन्त्र आउनुपर्छ, संसदीय व्यवस्था चाहिन्छ तर चालु संरचनामा कुनै किसिमको परिवर्तन गर्न, सुधार गर्न, हिचकिचाउँछन् । हिजो सती प्रथाको अन्त्य गर्दा पुरानो सामाजिक संरचना भत्क्यो । भूमिसुधार गर्दा पुरानो संरचना भत्केको होइन र ? छोरीलाई भत्ता दिँदा, छुवाछुत अन्त्य गर्दा पुरानो संरचना भत्कन्छ ? सामन्तवादलाई समाप्त गर्दा, राजतन्त्र फाल्दा पुराना संरचना भत्कन्छन् । यी भत्काउनैपर्ने कुरा हुन् तर भत्काएर भत्कन्छन् । तर भत्काएर मात्र छाड्ने होइन, नयाँ कसरी निर्माण गर्ने महत्त्वपूर्ण सवाल हो । नयाँ कुराको सिर्जना गर्दा पुराना र थोत्रा कुराको ध्वस्त त हुन्छ नै । सिर्जना र ध्वस्त एक सिक्काका दुई पाटा हुन् । पुरानो र थोत्रो कुरा ध्वस्त नगरिएमा नयाँ राम्रो कुराको सिर्जना कसरी हुन्छ ? के इतिहासमा त्यस्तो कुनै उदाहरण छ जहाँ नयाँ र राम्रो कुरा ल्याउँदा पुरानो र थोत्रो सामाजिक संरचना धेरै वा थोरै नभत्केको होस् । बरु के भत्काउने ? के नभत्काउने ? के ध्वंस गर्ने ? के नगर्ने ? श्रम र बुद्धिको शोषण हुने, मानव मानवमै असमानता र भेदभाव व्याप्त हुने सबै सामाजिक संरचना भत्काउनैपर्छ । मानिसको भौतिक र आत्मिक उत्पादनमा ह्रास हुने कुरा भत्काउनुपर्छ । जहिले मानिसको भौतिक र आत्मिक उत्पादन फस्टाउँछ त्यही बेला समानता र आत्मसम्मान फस्टाउँछ । तिनलाई बचाउनु र विकास गर्नुपर्छ । पुरानो निरंकुश व्यवस्था फालेर नयाँ बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ल्याइयो तर त्यसलाई विकास गर्न हामीले सकेनौं किनभने राजनीतिक परिवर्तनसँगै सामाजिक परिवर्तन हुन्छ भन्ने कुरालाई आत्मसात् गरेनौं । पुरानो पुस्ता राजनीतिक परिवर्तनलाई स्वीकार गर्छ तर नयाँ पुस्ता सामाजिक परिवर्तनसहितको राजनीतिक परिवर्तन । नयाँ आर्थिक विकास सहितको परिवर्तन । पुरानो पुस्ताले वास्तविक परिवर्तनलाई पचाउनै सक्दैन । बाबु र छोराबीचको अन्तरविरोध पनि यही हो । अक्सर छोराले बाबुले भनेजस्तो गर्नै सक्दैन । पुस्तान्तर भनेको पनि यही हो । तर राजनीतिमा यो पुस्तान्तर आत्मसात् भएको छैन । त्यसकारण पनि युवामा निराशा बढेको छ र कुन दिन विद्रोहको रूप लिन्छ भन्न सकिँदैन । वास्तवमा नयाँ पुस्ताको परिवर्तन र रूपान्तरणको चाहनालाई बुझ्न सकिएन भने हामी कसैको राजनीतिक भविष्य रहनेछैन भन्ने बुझ्नु नेतृत्वको प्रमुख दायित्व हो ।
हामी दुई तिहाइ जनसंख्या कृषिमा आधारित भन्छौं तर दुई तिहाइ जनसंख्याको जीविकोपार्जनको स्रोत रहेको कृषि क्षेत्र विगत दशकमा अति मन्द गतिमा वृद्धि भयो । नयाँ पुस्ता कृषिमा गएकै छैन । कृषिलाई विज्ञान र प्रविधिमा आधारित गराएर औद्योगिकीकरण अर्थात् आधुनिकीकरण र व्यावसायीकरण गरिएको छैन । यदि कृषि अगाडि बढेन र औद्योगिक उत्पादन बढ्यो भनौं भने त्यो ९ प्रतिशतबाट ७ प्रतिशतमा झरेको छ । सरकारले न त कृषि न उद्योग कहीँ पनि लगानी बढाएको छैन । सेवा क्षेत्र स्वास्थ्य, शिक्षा, खानेपानीमा २५० प्रतिशतले बढेको छ । यदि सेवा क्षेत्र सरकारको हो भन्ने हो भने निजी क्षेत्र कहाँ छ ? घरजग्गा कारोबार, यातायात, सञ्चार र वित्तीय मध्यस्थता (बैंक) आदिमा निजी क्षेत्र छ जसले सेवा क्षेत्रको उल्लेख्य अभिवृद्धि भएको छ तर कृषिमा न सरकार छ न निजी क्षेत्र । सरकारले ०४७ पछि कृषिको अनुदान रोक्यो जब कि भारतमा अत्यधिक छ । फलस्वरूप भारतीय वस्तुको तुलनामा नेपाली वस्तुहरूको मूल्य प्रतिस्पर्धात्मक क्षमता क्षीण हुन पुग्यो । लोडसेडिङ र लगानीमैत्री वातावरणको अभावमा उत्पादनमा लगानी पनि अपेक्षाकृत विस्तार हुन सकेन जसले गर्दा रोजगारीको अवसरसम्म भएन । आर्थिक वृद्धि त टाढाको कुरा । यदि यी र यस्ता विषय सम्बोधन भएनन् भने मुलुक विकास हुन सक्दैन र लोकतन्त्र पनि संकटमा रहिरहन्छ । नेतृत्वले नबुझेको कुरा यही हो । किन युवाहरू विदेश पलायन भइरहेका छन् । दक्ष, अदक्ष, अर्धदक्ष सबै बाहिर जाँदै छन् । मुलुकका लागि योभन्दा अर्काे दुर्भाग्य के हुन्छ ? के राजनीतिक दल र तिनका अगुवाहरूका लागि यो एजेन्डा कहिल्यै प्राथमिकतामा परेको छ ?
पुरानालाई अयोग्य भनेकै भरमा नयाँ योग्य हुन सक्दैन तर राजनीतिक परिवर्तनले ल्याएको आर्थिक-सामाजिक परिवर्तनलाई बुझ्न र आत्मसात् गर्न नसक्दा यो हबिगत भएको छ । यसकारण पनि नयाँ पुस्ता त्यसैले कम्तीमा दुनियाँको आर्थिक परिवर्तन र हाम्रो सम्भावनाका क्षेत्र र त्यसबाट मुलुकको विकास देख्न सक्छ । कृषि, जलविद्युत्, पर्यटनका नारा र गफ दिने तर त्यसमा कहिल्यै काम नगर्ने मनोवृत्तिले मुलुकलाई क्रमशः उपनिवेश बनाउँदै छ । यो तथ्यलाई आत्मसात् गरेर नयाँ पुस्ताले आफूलाई मेहनती बनाउनैपर्छ । पुरानो पुस्ताले कि गर्न सक्नुपर्छ नत्र बाटो छाड्नुपर्छ । इतिहासका कथा वाचन गरेर मात्र वर्तमानमा बाँच्न र उज्यालो भविष्य देख्न सकिँदैन । युगको चाहनाविपरीत जाने मान्छेहरू रूखबाट सुकेका पातहरूजस्तै अस्तित्वविहीन भएर धूलोमा मिल्छन् चाहे तिनीहरूको राम्रै नियत किन नहोस् ।
(This Article was published by Kantipur Publication On June 7, 2011)