हिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा कुरा उठेको छ । जब अप्ठेरो र चुनौतीपूर्ण काम आउँछ, तब हामी यो क्षेत्रका मान्छे चुप बस्छौँ । म प्रश्न गर्न चाहन्छु, के भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट बन्न सक्छ ?
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हब विमानस्थल हुन सक्छ ? सक्दैन । अहिले यो भुटानको बाहेक ट्रान्जिट हुन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको कुरा गर्ने हो भने साँचो अर्थ र स्टान्डर्डको विमानस्थल हामीसँग छैन । त्यसको लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक छ ।
यदि पर्यटनमार्फत देशलाई समृद्धितर्फ लैजाने हो भने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक छ । यदि संसारलाई नेपाल ल्याउने र हामी संसारसम्म पुग्ने हो भने यो परियोजना निकै आवश्यक छ । संसारकै लोभलाग्दो परियोजनाको रुपमा निजगढ विमानस्थल परियोजना हो । कुनै पनि हिसाबबाट त्यो विमानस्थल बनाउने काममा हामीले जति ढिलो गर्छौँ, देशलाई त्यति नै नोक्सानी हुन्छ । त्यसैले ढिलो नगरौँ, वातावरणमा कम भन्दा कम क्षति पुर्याउने गरी विमानस्थल बनाउने हो । वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउने हो । तर वातावरणको नाममा विकासलाई अवरुद्ध गर्न सकिन्न ।
हामीले जति वातावरण क्षति गर्छौँ, त्यो भन्दा धेरै क्षतिपूर्ति हुनेगरी काम अघि बढाउन जरुरी छ । त्यसैले यसमा कुनै पनि अन्योल सिर्जना गर्नुपर्ने आवश्यक नै छैन ।
जब परियोजना अघि बढ्यो, चार किल्ला तोकियो तब धेरै कुरा आएका छन । हामीसँग विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) छ । कोरियाको ल्याण्डमार्क वर्ल्डवाइड कम्पनीले गरेका त्यति ठूलो अध्ययन थन्किएर बसको थियो, हामीले त्यसलाई अपनत्व लियौँ । त्यो एउटा प्रकारको डीपीआर नै हो । यहाँ त कुनै अध्ययन नै गरिएन भनेर हल्ला चलाइयो तर हामीसँग त्यत्रो महत्वपूर्ण अध्ययन छ नि । त्यसैका आधारमा हामीले काम गरिरहेका छौँ ।
हामीले पीपीपी बुट मोडलमा जाने मोडालिटी फिक्स गरिसकेका छौँ । र यति कुरा बुझ्नुपर्छ कि निजगढ विमानस्थल मुम्बईमा भएजस्तो या हङकङमा भएजस्तो सहरको नजिक होइन । त्यहाँ त पाइलट र ट्रान्जिट प्यासेन्जरहरुका लागि भवनहरु बनाउन पर्यो, त्यस्तै नजिकै सहर नभएकाले चाहिने पूर्वाधार त सबै बनाउनुपर्यो नि ।
केवल ३६ सय मिटर लामो रन वेकै लागि त भैरहवा अनि काठमाडौंमा पनि त विमानस्थल छ नि । हामीलाई सबै पूर्वाधार भएको विमानस्थल आवश्यक भएकैले निजगढको परियोजना अघि सारिएको हो । यो कुरालाई हामी सबैले बुझ्नुपर्छ । हामी यसलाई ५-६ वर्षमा पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेका छौँ । सन् २०२० देखि ३० सम्म नेपालको पर्यटनलाई आर्थिक विकासको एक नम्बर इन्जिनको रुपमा अघि बढाउने भएकाले पनि निजगढ आवश्यक छ । यसका लागि हामीलाई लगानी आवश्यक छ ।
भैरहवा धेरै उल्झनमा थियो, तर अब एक वर्षभित्र पूरा हुने गरी काम भैरहेको छ । पोखरा अघि बढेको छ । तर निजगढमा त डेभलपरहरु आउनै डराउने वातावरण बनाउन खोजिएको छ । लगानीकर्ता कसरी यहाँ आउँछ भनेर हामीले त्यो वातावरण बनाउन पर्दैन ?
आज म निर्भिकताका साथ भन्छु, नबिराउनु नडराउनु । म पर्यटन क्षेत्रका आधारभूत पूर्वाधार बनाएरै छाड्छु । त्यसो भन्दैमा वातावरण विनास मात्रै गर्ने भन्ने हुँदैन, वातावरण र अरु सबै कुरालाई सन्तुलित ढंगले अघि बढाउँछौँ ।
हामी धेरै सम्भावनाको बीचमा छौँ, तर मिठो कथा भनेर अनि निबन्ध लेखेर त एक पाइला पनि अघि सर्दैन । त्यसका लागि भौतिक पूर्वाधारदेखि जनशक्ति जोहोको काम गर्नुपर्छ । भाषण, खण्डनमा रमाइरहने हो भने हामी अघि जान सक्दैनौं । सार्वजनिक वृत्तबाट उठेका प्रश्नलाई पनि ध्यान दिनुपर्छ, त्यसलाई सुन्दै र व्यवस्थित गर्दै काम अघि बढाउनुपर्छ ।
–विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेको सम्बोधनको सम्पादित अंश ।