वाम गठबन्धनविरुद्ध लागेका आठ आरोपमा रवीन्द्र अधिकारीको ‘काउन्टर अट्याक’

नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको पहलले नेपाली राजनीतिमा ठूलो सैद्वान्तिक बहस पैदा गरेको छ । कतिपयले यस निर्णयको स्वागत गरेका छन् भने, केहीले विरोध । आ–आफ्नो कोणबाट बहस र व्याख्या जारी छ । तर मुलुकको प्रमुख राजनीति पार्टी नेपाली काँग्रेस भने वाम गठबन्धन विरुद्व जोडदार रुपले खनिएको छ । उसले यो गठबन्धनलाई औचित्यहीन र व्यवस्थामा नै खतरा पैदा गर्ने घटनाको रुपमा चित्रित गर्ने भरमग्दुर प्रयास गरिरहेको छ । काँग्रेस निकट बुद्धिजीविहरुले वाम गठबन्धन र विषेश गरी एमाले अध्यक्ष केपी शर्मा ओली एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई खुइल्याउन ‘पोलिटिकल डिक्स्नेरी’मा फेला पर्ने र नयाँ थप्न मिल्ने ‘जार्गन’ शब्दहरुको खोजी कार्य जारी राखेका छन् ।

वाम गठबन्धनलाई विभिन्न कोणबाट लगाइएका ८ आरोपको जवाफ न्यूजसेवाले एमाले नेता रवीन्द्र अधिकारीबाट खोजेको छ । अधिकारीले यसरी गरेका छन् आरोपको ‘काउन्टर अट्याक’ :

आरोप १ :  वाम गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई धरापमा पार्छ 
अस्ति भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाले अब शान्तिप्रक्रिया सबै टुंगियो भन्नु भएको छ । आज बाधा पु-याउँछ भन्दै हुनुहुन्छ । हाम्रो गठबन्धनले शान्ति प्रक्रियालाई टुंग्याउन बाधा हैन कि, झन सहज बनाउँछ । किनभने शान्तिप्रक्रिया एउटा ‘कोर्ष’ हो । गठबन्धन छुट्टै विषय हो । हाम्रो व्यवस्थामा गठबन्धन बनेन भने स्थायी बहुमत कसैको पनि आउन सक्दैन । अव अस्थिरता र अन्यौलबाट मुलुक अगाडि जान सक्दैन । त्यसकारण यो बेकारको कुरा हो ।

आरोप २ : गठबन्धन सत्ता कब्जाको प्रयास हो, यसले अधिनायकवाद जन्माउँछ 
काँग्रेस र माओवादी मिल्दा सत्ता कब्जा नहुने, अनि माओवादी र एमालेको गठबन्धन बन्दा सत्ता कब्जा हुने ? यस्ता गलत तर्क गरेर जनतालाई तर्साउने काम कहिल्यै नगर्नुहोस् । अब मुलुक शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढ्छ । यहाँ कसैको पनि सत्ता कब्जा चल्दैन । संविधानअनुसार शासन व्यवस्था अगाडि जान्छ ।

आरोप ३ : पार्टी एकता भयो भने प्रचण्ड बाहेक माओवादी केन्द्रका अन्य नेताको अस्तित्व धरापमा पर्छ
त्यस्तो भनेर उहाँहरुले तर्साउन खोजिरहनुभएको छ । यो गठबन्धन पछि सबैभन्दा बढि माओवादीका दोस्रो–तेस्रो पुस्ताका नेताहरुको भविष्य सुनिश्चित हुन्छ । यि सब हावादारी तर्क हुन । यो केवल अंगुर अमिलो छ भन्ने तर्क हो । एकतालाई मन नपराईरहेकाहरुले लगाएको आरोप मात्र हो ।

आरोप ४ : गठबन्धले खोजेको मुलुकको स्थायित्व चिनियाँ मोडल हो 
अब नेपालको संविधानअनुसार चिनियाँ मोडलको स्थायित्व सभ्भव छ ? त्यसो भए त भारतमा वीजेपीले लगातार जितिरहेको छ । के त्यो चिनियाँ मोडलको स्थायित्व हो ? अमेरिका, ब्रिटेनमा स्थायित्व छ । त्यसलाई चिनियाँ मोडल भन्ने ? तर्क पनि ठिक ढंगले गर्नुहोस् न । तथ्यमा आधारित भएर गर्नुहोस् । भन्न पाएँ बोल्न पाएँ भन्दैमा जे पनि बोल्दा त्यसको विश्वसनीयता हुँदैन । गलत तर्क गरेर आफ्नो कद आँफै होचो नपार्नुहोस ।

आरोप ५ : मधेशी, जनजाती, आदिवासी विरोधी छ गठबन्धन 
यो गबन्धनबाट अत्तालिएकाहरुको डर बोलिरहेको छ । यस्तै, संक्रमणकालबाट फाइदा लिइरहेकाहरु मुलुकको अधोगतिमा रमाइरहेकाहरुको आरोप हो । यो गठबन्धन त उत्पीडित, पछाडि परेका, जनजाति, मधेशी, थारु लगायतकालाई अधिकार सम्पन्न बनाउने पक्षमा छ । आरोप लगाउनेहरु परिवर्तनको विरोधमा छन् । हामी त्यसलाई बदल्न चाहन्छौं । फरक त्यसैमा छ ।

आरोप ६ : गठबन्धन बनाउन उत्तरको हात छ 
यो गठबन्धनमा उत्तरको, दक्षिणको, संसारकै शुभेच्छा छ नि ! तर, बनाएको हामीले हो । राम्रो कुराको लागि त सबैको सद्भाव हुन्छ ।  संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि यो गठबन्धन आवश्यक थियो । स्थायित्व नहुँदा लोकतन्त्र बदनाम भइरहेको छ । ६/६ महिनामा सरकार परिवर्तन हुने, २५ बर्षमा २६ वटा सरकार बन्ने ! यसले जनतामा आक्रोश र निराशा पैदा गरेको छ । पार्टीहरुप्रति जनताको भरोसा टुट्दै गएको थियो । नेताहरु बद्नाम भए ।  विकृति र विसंगति रोक्न नसक्ने गरी बढ्ने खतरा पैदा हुँदै थियो । लोकतन्त्रलाई पारदर्शी, स्वच्छ बनाउन, प्रतिस्पर्धाबाट अगाडि जान, व्यवस्थाप्रतिको विश्वास र आड कायम राख्न हामी एक हुन खोजेको हो । यहाँ त जवाफदेही नै बन्न नखोज्ने अवस्था छ । मेरो सरकारले होइन अर्को सरकारले गरेको हो भन्दै पन्छिन खोज्ने प्रवृति छ । त्यसकारण हामी जवाफदेहितालाई बढाउन एकजुट भएका हौं ।

आरोप ७ : अप्रत्यासित निर्णय भयो 
पहिलादेखि भइरहेका प्रयासहरु थाहा नपाउनेलाई मात्र अप्रत्यासित लागेको हो । माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनका लागि कस्को भूमिका थियो ? एमालेको थियो । एमाले र माओवादीलाई छुटयाउनका लागि धेरै प्रयासहरु भए । तर, अहिले ‘रिअलाइजेशन’ भयो । लामो प्रयास र अभ्यास पछि यो एकता सम्भव भएको छ । थाहा नपाउनेलाई त एकै दिनमा देखेजस्तो भयो । संसारमा कुनै पनि घटना आकस्मिक हुँदैन ।

आरोप ८ : चुनावी एकता सम्भव होला तर पार्टी एकता सम्भव छैन 
पर्खैर हेर्ने हो । हामी पार्टी एकताको पक्षमा छौं । हामी यो प्रक्रियालाई त्यहाँसम्म पु-याउन चाहन्छौ । माले र माक्र्सवादीलाई पनि त्यहि ठाउँबाट पु-याएको हो । र, आज त्यो ‘स्टेवल’ भएको छ । मलाई विश्वास छ हामी त्यहाँ पुग्छौं । त्यो त अभ्यासबाट देखिदै जाने कुरा हो ।

यो बिचार newasewa online मा प्रकाशित छ |