एमालेभित्रको एकता र चुनौती

महाअधिवेशन सकिएको तीन वर्ष पुग्दै गर्दा पनि नेताहरू महाधिवेशनकै मनस्थिति र तुष बोकेर हिँडिरहेको अवस्थामा एमालेभित्रको एकता प्रयासले चर्चा पाउनु अस्वाभाविक होइन । यतिबेला मुख्य तीन वटा पार्टीभित्रको आन्तरिक बेमेलले लोकतन्त्रको भविष्य अन्योलमा पारिदिएको छ । शान्ति र संविधान निर्माण गरी समृद्ध नेपाल निर्माण गर्ने नेपालीको चाहना तुषारापात भएको छ । यस्तो अवस्थामा यो एकता प्रयास सबैका लागि सकारात्मक सन्देश भएको हुनुपर्छ । भनिन्छ, ‘तपस्या गर्दा एक्लै गर्न सकिन्छ तर राजनीति गर्दा सबैलाई लिएर हिँड्न सक्नुपर्छ’ तर नेपालका दल र नेताहरूले सबैलाई लिएर हिँड्ने राजनीति गर्न सकेनन् । मुलुकलाई एकसाथ लिएर हिँड्नुपर्ने बेलामा आफ्नो पार्टीलाई पनि सँगै लिएर हिँड्न नसकेपछि नागरिकमा पार्टी र नेताप्रति निराशा बढेको छ ।

२००७ सालको क्रान्तिपछि नेपालमा पटकपटक प्रजातन्त्र, दल र नेताहरू असफल भएका छन् तर विगतको असफलताबाट हामीले कहिल्यै शिक्षा लिएनौं । राजतन्त्रको समाप्ति अगाडि असफलताको दोष राजालाई दिन सकिन्थ्यो तर आज राजतन्त्र छैन तर दोष कसलाई दिने ? अब दोष अरूमा होइन, आफैंभित्र खोज्नुपर्छ । त्यसका लागि कुनै साइत कुर्नु पर्दैन ।

एमालेभित्रको एकता प्रयास इतिहासबाट लिएको शिक्षा हो या आफ्ना स्वार्थहरूको व्यवस्थापन । यदि यो नयाँ समीकरण बनाउन वा कसैलाई भित्र र बाहिर पार्न वा आफ्ना पदीय आकांक्षा पूर्ति गर्न भएको छ भने एमालेका लागि महँगो सावित हुनेछ । यदि इतिहासबाट शिक्षा लिएर प्रयास भएको हो भने यो महत्त्वपूर्ण घटना हुनेछ । नेताका टाउका मिलाउने र भागबन्डा गर्नेभन्दा माथि उठेर भएको हो भने यसले सर्वहारा श्रमजीवी जनताका पक्षमा पार्टीलाई बामपन्थीकरण गर्दै शान्ति र संविधानको बाटोमा मुलुकलाई डोर्‍याउनुपर्छ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरी समृद्ध नेपाल निर्माणको नेतृत्व गर्नुपर्छ ।

सबैलाई थाहा छ, एमालेमा केही सैद्धान्तिक विवाद छन् । राज्य पुनःसंरचना, शासकीय स्वरूपलगायत कस्तो पार्टी बनाउने, माओवादीलाई कसरी हेर्ने र बुझ्ने सवालमा देखिने गरी मतमतान्तर छन् । एउटा जीवन्त पार्टीभित्र विचारमा भिन्नता हुनु अस्वाभाविक होइन । कतिपय विवादमा झलनाथ र केपी, कतिपयमा झलनाथ र माधव र कतिपयमा माधव र केपी मिलेका हुन सक्छन् भने कतिमा उनीहरूकै बीचमा विवाद पनि हुन सक्छ । तर बहस र विवाद जे भए पनि कुनै पनि मुद्दामा एमालेको दृष्टिकोण के हो ? माओवादी र कांग्रेसका बीचमा आफ्नो पहिचान दिन सक्ने गरी विचार र व्यवहारमा एमालेको स्थान कहाँ हो ? स्पष्ट हुनैपर्छ । एजेन्डा र पहिचान बिर्सेर आफ्ना स्वार्थका लागि देब्रे र दाहिने तन्किने प्रवृत्तिले पार्टीलाई प्रभावकारी बनाउन सक्तैन । राजनीतिक चरित्र आफैं बनाउनुपर्छ । यथार्थलाई उपेक्षा गरेर कतै पुगिँदैन । कुनै व्यापारको प्रत्येक बिक्रीमा घाटा भयो भने त्यो आखिर डुबेरै छाड्छ । बहस लोकतान्त्रिक पार्टीका लागि आवश्यक अभ्यास हो तर वादविवादले मात्र पार्टी बढ्न सक्तैन । पार्टी निर्माणका लागि स्पष्ट सैद्धान्तिक जग तदनुरूपका व्यवहार चाहिन्छ र त्योभन्दा पनि आफ्ना लक्ष्यमा दृढतापूर्वक बढ्ने साहस र प्रयास चाहिन्छ । अबका दिनमा परिवर्तनलाई नेतृत्व दिएर आफैं परिवर्तन भई समाजलाई परिवर्तन गर्ने आँट भएको भविष्यप्रति विश्वास भएको समृद्ध नेपाल निर्माण गर्ने स्पष्ट दृष्टिकोण भएको नेतृत्व निर्माण गर्ने वातावरण तयार गर्न यो अवसरलाई प्रयोग गर्न सके मात्र पार्टीको भविष्य छ । नत्र जति टाउका मिलाए पनि आशातीत प्रतिफल पाउन सकिँदैन ।

एमाले कुनै सनकी, कामचोर र कमजोर मुटु भएकाले बनाउन सक्दैनन् । न इतिहासबाट विरक्तिएका, थाकेका, आरामदायी जीवनको खोजी गर्नेले नै सक्छन् । एमालेभित्र अहिले जोखिम पटक्कै नरुचाउने मानिसले भरिभराउ छ । विरोधका लागि विरोध गर्ने कुसंस्कार छ, अहंकार छ, हामीले त्यसमाथि विजय पाउनुपर्छ । राजनीति केका

लागि ? पार्टी केका लागि ? राजनीति नेताहरूको मनोरञ्जन गर्ने खेल हो, पार्टीका नेता बन्ने थलो भन्ने मानसिकतालाई परिवर्तन गरेर राजनीति र पार्टी माध्यम हुन् । राजनीतिले सभ्य, स्वतन्त्र र समृद्ध समाज निर्माण गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । जनतासँग अलग्गिएको र नागरिकका आकांक्षालाई सम्बोधन गर्न नसक्ने राजनीतिको भविष्य छैन । त्यसकारण एमालेले विगतको गम्भीर समीक्षा गर्नुपर्छ तर त्यो समीक्षा व्यक्तिलाई केन्द्रमा राखेर होइन । प्रवृत्तिलाई केन्द्रमा राखेर गर्नुपर्छ । समीक्षा आफू चोखिन र अर्कोको टाउकामा दोष थुपार्न होइन, बरु नयाँ बाटो पहिल्याउन र नयाँ संकल्प गर्नका लागि हुनुपर्छ । यदि नेताहरू तयार छन् भने यसले सम्भावनाको नयाँ क्षितिज खोल्नेछ ।

हाम्रो पुरानो पुस्ता सधैं चिन्तित बन्छ कि नयाँ पुस्ताले हाम्रो अनुसरण गरेन तर नयाँ पुस्ताले पुरानो पुस्ताले दिएको ज्ञान र क्षमताको मात्र अनुसरण गर्‍यो भने ऊ अगाडि जान सक्दैन । नयाँले नयाँ कुरा खोज्छ । नैतिकता र त्याग पनि समयसापेक्ष हुन्छ । राम आफ्ना बाबु दशरथको एक आदेशमा १४ वर्ष वनवास गए, आज्ञापालक कहलाइए तर आजको छोरो बाबुको आदेशमा वनवास जाँदैन, बरु अधिकार खोज्छ । युवा र अभिभावकका सोचाइमा फरक छ । आभिभावकको धारणा छ अचेलका युवा पहिले जस्तो आदर गर्दैनन् । उनीहरू पहिलाभन्दा स्वार्थी भएका छन् । स्वाभाविक हो युवाहरू स्वार्थी छन् किनकि उनीहरूको काँधमा नयाँ संसार निर्माण गर्नु छ । नयाँ ठाउँमा काम गर्नु छ, नयाँ चिज पढ्नु छ र खासगरी मेहेनत गरेर आम्दानीको नयाँ स्रोत निर्माण गर्नु छ । हाम्रो राजनीतिले तिनीहरूको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्छ । अबको राजनीतिले उद्योग गर्न र उद्यमशीलता सिकाउनुपर्छ । नयाँ कामको संसारमा प्रवेश गर्न सिकाउनुपर्छ । के हाम्रो पार्टी र नेताहरू यसरी सोच्न तयार हुनुहुन्छ ? हुनुहुन्न भने एकता क्षणिक हुन्छन् ।

पार्टीले अंगीकार गरेको जनताको बहुदलीय जनवाद सबैका लागि स्वीकार्य छ । हामीलाई थाहा छ, लोकतन्त्र र बहुदलीय प्रतिस्पर्धाबिनाको सोभियत समाजवाद असफल भयो । सँगसँगै सामाजिक न्याय र समाजवादी चरित्रबिनाको उदार लोकतन्त्र पनि संसारमा असफल भएको छ । हाम्रो १२ वर्षको बहुदल असफल भएको

छ । यस्तो अवस्थामा हामीले आत्मसात् गरेको लोकतन्त्र समाजवादी चरित्रको हुनैपर्छ । अब बन्ने संविधानमा यस कुराको सुनिश्चितता हुनैपर्छ । यो बाटोबाट हामीले मुलुकलाई समृद्धिको बाटामा हिँडाउन सक्छौं । यो कुराको ठीक ढंगले अगुवाइ एमालेले गर्न सक्छ । जनतामा व्यापक आधार बनाएको पार्टीले आफूलाई अग्रगामी रूपमा प्रस्तुत गर्न सकेन भने जनाधार सधैं उस्तै भएर रहिरहँदैन । तेल सकिएपछि बत्ती आफैं निभ्छ । त्यसकारण एमालेलाई चुनौती सामना गर्न सक्ने बनाउन राजनीतिक वैचारिक कामलाई प्राथमिक महत्त्व दिएर बढाउनुपर्छ । यसो गर्न सक्यौं भने नयाँ पुस्ता एमालेको वरपर गोलबन्द हुनेछ । यसका लागि नेतृत्वको एकता, वैचारिक, राजनीतिक र सांगठनिक सक्रियताका माध्यमबाट जनताको बहुदलीय जनवादलाई जीवन्त बनाउन सकिन्छ । जब सिद्धान्त व्यवहारमा सक्रियताका साथ प्रकट हुन्छ, त्यो आफैं एउटा भौत्तिक शक्ति बन्छ र त्यसकै बलमा एमालेले मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको नेतृत्व गर्न सक्छ ।

एकता केन्द्रमा मात्र सीमित भयो वा निश्चित नेताको एकतामा मात्र सीमित भयो भने त्यसले परिणाम दिन सक्तैन । त्यसकारण पार्टीले ठीक ढंगले कार्ययोजना बनाउने, वैज्ञानिक हिसाबले शक्ति विन्यास गरी कार्यविभाजन गर्ने, समग्रमा भन्दा संगठनको सही व्यवस्थापन गर्ने काम गर्नुपर्छ । नयाँ पुस्तालाई कामका विभिन्न क्षेत्रमा समेट्ने कार्यक्रम ल्याउनुपर्छ । एकता भएपछि सबै समस्या हल भए भनी बस्यौं भने हामीले कुनै पनि उपलब्धि हासिल गर्न सक्तैनौं । समस्या छन् तिनको वैज्ञानिक ढंगले समाधान गर्दै आफ्नो गन्तव्यमा अविचलित भएर लागेमा मात्र हामीले सफलता पाउँछौं । एउटा चुनावको मात्र हिसाब नगरेर दीर्घकालीन मुलुकको भविष्यसँग राजनीतिलाई जोड्न सकेमा एमाले सधैं श्रेष्ठ सावित भइरहनेछ ।

एकताको खबरले लाखौं कार्यकर्ता र शुभचिन्तकहरू खुसी भएका छन् । यसबीचमा दुई पटकसम्म सरकारको नेतृत्व गर्दा पार्टीभित्र जुन तिक्तता देखियो, त्यसले सबैलाई दुःखी बनाएको मात्र होइन, पार्टीको भविष्य पनि धुमिल देखिएको हो । यस्तो अवस्थामा भएको यो प्रयासलाई कुनै पनि नेता वा कार्यकर्ताले यो वा त्यो बहानामा अस्वीकार गर्नु ठूलो भूल हुनेछ । मेलमिलाप र एकता गर्दा सबै नेताहरूलाई जिम्मेवारी र भूमिका

दिनुपर्छ । पदहरूको व्यवस्थापन पनि गर्नुपर्छ तर अमुक पदहरूको लेनदेन भन्ने कुरा जसरी उछालिएको छ, त्यसले एकताको सत्प्रयासमाथि प्रश्नचिह्न खडा गर्छ ।

यति बेला नेताहरूको मन मिलेको छ तर वैचारिक मतभेद कायम छन् भन्ने यथार्थलाई आत्मसात् गर्नुपर्छ । नेताहरूको विभाजन र बेमेलमा मात्र आफ्नो भविष्य देख्ने र सधैं बेमेल सिर्जना गर्न लागिरहने एउटा प्रवृति छ त्यसलाई पहिचान गर्नुपर्छ । नेताहरूलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने कार्यकर्ताको मनोवृत्तिमा परिवर्तन आउनुपर्छ । पार्टीभित्रको विवादको प्रभाव मातहत कमिटी र जनस्तरसम्म पुगेको छ । त्यसलाई समाधान गर्न रेडियो र टिभीका खबर मात्र पर्याप्त हुँदैनन् । पार्टीलाई यो जनअभियानका माध्यमबाट क्रियाशील बनाउन सके पुराना विवाद तितामिठा कुरा आफैं समाप्त भएर जान्छन् । जतिसुकै राम्रा काम र कुरा गरे पनि ती विधिसम्मत भएनन् भने त्यसले कुनै पनि समयमा समस्या खडा गर्न सक्छ । त्यसकारण विधानसम्मत अभ्यासलाई आत्मसात् गरौं । कतिपय भविष्यमा अब कहिल्यै विवाद नै हुनेछैन, जस्ता कुरा गर्छन् तर गतिशील पार्टीमा नयाँनयाँ विवादहरू आउँछन् र तिनलाई समाधान गर्दै जानुपर्छ, यो नै वैज्ञानिक तरिका हो ।

एमाले संसद्को तेस्रो ठूलो पार्टी हो । विगतमा यो पहिलो पार्टी थियो । तेस्रो ठूलो पार्टीबाट मुलुकले पहिलो ठूलो भूमिका खोजेको छ तर हामीले त्यसो गर्न सकेका छैनौं । त्यसकारण नेताहरूको एकताबाटै पार्टीलाई तलसम्म एकताबद्ध बनाउन सकिन्छ, एकले अर्कालाई कमजोर तुल्याउने वा दुई मिलेर अर्कोलाई पछि पार्ने कदम प्रत्युत्पादक हुनेछ । यो प्रयास आफैंमा पूर्ण होइन, सुरुवात हो । यही एकता र मेलमिलापका माध्यमबाट एमालेलाई चुनौती छ, जसको सामना गर्ने र जनआकांक्षालाई सम्बोधन गर्ने पार्टी बनाउन सकिन्छ साथै राष्ट्रिय राजनीतिमा निणर्ायक भूमिका खेल्न सकिनेछ ।

कान्तिपुर दैनिकमा प्रकाशित