वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

Rabindra-Adhikari_20140411121759रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रारम्भ भएको उनको राजनीति त्रिभुवन विश्वविद्यालय हुँदै अहिले संविधानसभा सदस्यका रूपमा सक्रिय छ। अधिकारी नेकपा (एमाले) बाट संविधानसभा सदस्य भए पनि आवश्यकता परेका बेला पार्टीभन्दा फरक धारणा व्यक्त गर्न पनि हिचकिचाउँदैनन्। सबै विषय अध्ययन गर्ने भएकाले अधिकारीको ज्ञान सबै युवाका लागि लोभलाग्दो विषय पनि हो। खट्न सक्ने क्षमता, मिलनसार र सबैको कुरा सुन्न सक्ने संस्कार भएका कारण उनी संविधानसभामा एउटै स्थानबाट दुई पटक विजयी भए।

समग्र वर्ष २०७० को विश्लेषण गर्न साप्ताहिकले यिनै लोकप्रिय नेतासँग आग्रह गरेको थियो। गएको वर्ष घटेका प्रत्येक घटनालाई सूक्ष्म रूपले हेरेका रवीन्द्रले साप्ताहिकसँग ती घटनाको विस्तारमा चर्चा गरे। साप्ताहिकले गएको वर्ष देशले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक एवं वैदेशिक रोजागारीको अवस्था तथा त्यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा प्रश्न गरेको थियो, जसलाई रवीन्द्रले सहज र सरल भाषामा बुझाउने प्रयास गरे।

वर्ष २०७० लाई तपाईं कस्तो वर्षका रूपमा हेर्नुहुन्छ ? धेरै राम्रो, ठीकै कि नराम्रो ?

संविधानसभाको निर्वाचन सम्पन्न हुनु वर्ष ७० को महत्त्वपपूर्ण उपलब्धि हो। राजनीतिको तहमा हेर्ने हो भने यही एउटा घटनाले ७० सालको महत्व स्थापित गर्छ। ड्यास माओवादीको डर, त्रास एवं धम्कीका बीच पनि पहिलेको तुलनामा बढीले मत हाल्नुलाई जनतामा जागरण आइसकेको राम्रो संकेतका रूपमा बुझ्न सकिन्छ। म यी र यस्ता धेरै परिवर्तनका कारण वर्ष ७० लाई धेरै राम्रो वर्षका रूपमा लिन्छु।

यसअघि पनि संविधानसभाको निर्वाचन भएको थियो। निर्वाचन हुनु नै उपलब्धि हो र ?

यसअघि पनि संविधानसभाको निर्वाचन भएको थियो। त्यसलाई हामीले यसैगरी स्वागत गरेका थियौं। त्यही काम दोहोर्‍याएर गर्नु उपलब्धिपूर्ण हो भन्दा राम्रो सुनिँदैन पनि। तैपनि एउटा कुरा त के मान्नुपर्छ भने पहिलो संविधानसभामा हामी यति महत्त्वकांक्षी भएका थियौं कि हामी जात-जातिमा, क्षेत्र र वर्गमा विभाजित भयौं। मिलाउने कुरा पनि मिलाउन नसक्ने अवस्थामा पुग्यौं। यसपटकको निर्वाचनले हामीलाई यथार्थको नजिक पुर्‍याएको छ। त्यो भनेको के भने हाम्रो आवश्यकता के हो ? हामीलाई कस्तो संविधान, किन चाहिएको हो ? हामीले मिलेर देशको भलाई गर्ने कि फुटेर ? यस्ता कुरा हामीलाई बोध हुन थालेको छ। नेतृत्व तहमा यो कुराको बोध हुनु सामान्य कुरा होइन। नयाँ संविधानसभा र त्यसको परिणामले त्यो सोचको विकास गराएको छ।

निश्चय नै संविधानसभाको निर्वाचन यो वर्षको टर्निङ प्वाइन्ट हो। त्यसबाहेक वर्ष ०७० को राजनीतिलाई हेर्ने हो भने के-कस्ता सकारात्मक कुरा पाउनुहुन्छ ?

यो वर्षको सबैभन्दा सकारात्मक पक्ष राजनैतिक तहमा आएको यथार्थता नै हो। यसले आर्थिक एवं सामाजिक दुवै क्षेत्रलाई प्रभाव पारेको छ। नेतृत्व तहले आर्थिक एजेन्डामा बहस गर्न रुचाउनु त्यसको प्रमाण हो। सबै दलका नेताहरू अब तीव्र गतिमा आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने कुरामा सहमत हुन थालेका छन्। यसअघि राजनैतिक स्वतन्त्रताको कुरामा धेरै नेताको समय बित्ने गरेको थियो।

अर्को एउटा परिवर्तन युवा नेताहरूमा देखिएको छ। आफू जुनसुकै दलमा किन नहुन्, जनताको सबालमा एउटै ठाउँमा उभिने क्रम सुरु भएको छ। सरकारी विद्यालयमा पाठ्यपुस्तक नपुगेको विषयमा म, गगन थापा र गणेश पुन एउटै ठाउँमा उभियौं। गगन र म सत्ता पक्ष अनि गणेशजी विपक्षी हुनुहुन्थ्यो। हामीले विपक्षीको भूमिका निर्वाह गर्‍यौं। यो क्रम सामान्य छलफलमा पनि सुरु भएको छ। पहिले विपक्षी दलको नेता जतिसुकै विद्वान् भए पनि उसँग कुरै गर्नु हुँदैन भन्ने संस्कार थियो। आजभोलि त्यस्ता व्यक्तिबाट केही राम्रो कुरा लिन सकिन्छ कि भनेर तार्किक बहस गर्न सकिने भएको छ। यो राजनीतिमा आएको ठूलो परिवर्तन हो। यसमा हामी युवा नेताहरू सक्रिय भएर लागेका छौं।

राजनीतिको यो कोर्समा कुन-कुन दलका युवा नेता हुनुहुन्छ ?

हामीले समूह नै बनाएर यो काम सुरु गरेका होइनौं। यद्यपि देश र जनताका साझा एजेन्डामा एउटाले उठाएको कुरामा अर्कोले सहयोग गर्ने, ईष्र्या नगर्ने बरु हौसला दिने संस्कार विकास भएको छ। शक्ति बस्नेत, देवी खड्का, चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, गगन थापा, गणेशमान पुनजस्ता युवा नेताहरूमा त्यस्तो संस्कार देखिन्छ। यसलाई धेरैले रुचाएका पनि छन् र यो संस्कार अझै बढ्दै जानेछ। यी नेताहरूमा मेरो नेताले यसो भन्यो, त्यसलाई आँखा चिम्लिएर स्वीकार गर्नुपर्छ भन्ने जडता छैन। उनीहरू सत्यको परीक्षण गर्छन्, गहिरो खोजबिन गर्छन्। त्यसको भविष्य के हुन्छ भनेर निष्कर्ष निकाल्छन्। त्यसपछि उचित लाग्यो भने मात्र नेतृत्वको कुरा स्वीकार गर्छन्।

डा. बाबुराम भट्टराईले नयाँ शक्तिको उदय हुन सक्ने कुरा पनि बाहिर ल्याउनुभएको छ। यसलाई राजनीतिमा आएको नयाँ बहस भन्न मिल्दैन ? यसलाई यो वर्षको राजनीतिक उपलब्धि मान्नुहुन्न ?

म यसलाई वर्षको सकारात्मक राजनीतिक बहस भन्न रुचाउँछु। यसले समाजमा राजनीतिक तरंग ल्याएको छ। यद्यपि त्यसको गर्भाधान गर्ने प्रयास जसरी गरिएको छ, त्योचाहिँ धेरैले रुचाएका छन् भन्ने लाग्दैन। यो सोमप्रसादको सातु जस्तो आ-आफ्नो कल्पनामा रमाउने किस्साजस्तो मात्र भएको छ। म पनि यसको गर्भाधानको विषयमा सहमत छैन। नेपालमा नयाँ राजनीतिक शक्तिको आवश्यकता छ, तर यो निश्चित सिद्धान्त, मुलुकलाई कहाँ पुर्‍याउने भन्ने लक्ष्य, राम्रो संगठन एवं सामाजिक वस्तुस्थितिबाट जन्मनुपर्छ। तैपनि म यसलाई यो वर्षको राम्रो वैचारिक बहस मान्छु।

हामीले यो वर्ष राजनैतिक उपलब्धिका केही कुरा गर्‍यौं। के यस्ता उपलब्धि सामाजिक क्षेत्रमा पनि आएका छन् ?

अवश्य आएका छन्। यो वर्ष बन्द-हड्ताल, बम र त्रासका बीचमा पनि जसरी जनताले भोट दिए, त्यो सामाजिक चरित्रमा आएको परिवर्तन हो।

यस्ता सामाजिक उपलब्धि के-के हुन्, बुँदागत रूपमा भन्न सकिन्छ ?

केही वर्षयता समाजमा जागरण बढेको कुरा गरिन्थ्यो, तर त्यो चिया गफको माध्यममात्र  थियो। गुदी नभएका राजनैतिक तर्क गर्ने, अरूलाई दोष दिने प्रवृत्ति समाजमा व्याप्त थियो। केही समययता आमजनतामा श्रम र उत्पादनबिनाको फोस्रो राजनीतिक गफले हामीलाई कतै पुर्‍याउँदैन भन्ने बोध हुन थालेको छ। परिवर्तनका लागि राजनीति मुख्य कुरा भए पनि हामी आफैंले श्रम र उत्पादनमा हात हाल्नुपर्छ भन्ने बोध आमजनतामा हुनु समाज परिवर्तनको संकेत हो। यो समाजको सबैभन्दा ठूलो उपलब्धि हो।

यो नयाँ पुस्तामा आएको परिवर्तन हो कि समग्र समाजमा ?  

यो समग्र समाजमा आउन थालेको परिवर्तन हो भनिहाल्न अलि हतार हुन्छ। मुलुकप्रति आशा राख्ने हामी आफैंले केही गर्नुपर्छ भन्ने सोचतिर जान खोज्नेको जमात बढेको छ। पहिलेका सामाजिक विचारहरू एनजीओहरूले निर्धारण गरेअनुसार भएजस्तो देखिन्थे। अहिले विदेशी डोनर एजेन्सीहरूको विचारले हामीलाई गन्तव्यमा पुर्‍याउँदैन भन्ने सोच बढेको छ। आफ्नो वस्तुस्थितिमा गहिरो गरी सोच्ने संस्कारको विकास सुरु भएको चाहिँ पक्कै हो।

नयाँ पुस्तामा आएको मुख्य परिवर्तनचाहिँ के पाउनुभयो ?

नयाँ पुस्तामा इन्टरप्रेनरसिपको विकास भएको छ। धेरै युवा पुराना वर्षहरूमा झैं विदेश पलायन हुन चाहन्छन्। यद्यपि थोरै युवा जो मुलुकबाहिर केही वर्ष बिताएर फर्किएका छन् वा नेपालमै केही गर्न सकिन्छ भनेर विदेश नगै यहीं केही गर्नुपर्छ भन्ने युवाहरू छन्, उनीहरू नयाँ काम गर्न तात्तिएका छन्। उनीहरूलाई राज्यले कुनै पनि आड-भरोसा दिएको छैन। उनीहरूमा आफैं नयाँ-नयाँ कुरामा हात हालेर देशलाई समुन्नत बनाउन सकिन्छ भन्ने विश्वास देखिन्छ।

सामाजिक संस्कार पहिलेजस्तै छ कि केही परिवर्तन भैरहेको छ ?

पहिलो संविधानसभा विघटन भएयता हामीलाई के बोध भयो भने हामी फुटेर, एक-अर्काको अस्तित्व अस्वीकार गरेर कहीँ पुग्दैनौं। त्यसैले अरूको अस्तित्व स्वीकार गर्ने मात्र होइन, त्यसलाई सजिलै ग्रहण गर्न थालिएको छ। चर्च र मस्जिदमा समेत हामी सजिलै गैरहेका छौं। तराईको छठ काठमाडौंमा धुमधामसँग मनाउन थालिएको छ भने मधेसमा दसैं-तिहारलाई पनि महत्व दिन थालिएको छ। यो परिवर्तन यही एक वर्षमा आयो भन्नु गलत हुन्छ तर केही वर्षयता यो क्रम बढिरहेको छ।

समाजमा आएका कुनै नयाँ विकृति पनि छन् कि ?

राजनीतिको पुच्छर नसमाती हामी कुनै पदमा पनि पुग्न सक्दैनौ भन्ने संस्कार दरो रूपमा गढ्न थालेको छ। यो प्रत्येक वर्ष गहिरिँदै गएको छ। स्वतन्त्र भनिने व्यक्ति भेट्नै मुस्किल पर्छ जसमा म आफ्नै प्रयासमा माथि पुग्न सक्छु भन्ने विश्वास होस्। राजनीतिले समाजलाई दिएको यो गम्भीर कुरा हो। जबसम्म समाजमा यो सोच रहन्छ, तबसम्म समुन्नत समाज निर्माण हुन सक्दैन। एक दिन न एक दिन यो सोच अन्य हुन्छ, तर अहिले त्यो गलत संस्कार झ्याङ्गिँदै गएको छ।

व्ार्ष २०७० ले मुलुकलाई कुनै आर्थिक सोच दियो ? अर्थतन्त्रको दृष्टिकोणबाट हेर्दा हामी कहाँ छौं ?

म २०७० लाई आर्थिक दृष्टिकोणको बीउ मान्छु। सबै दलका शीर्ष नेताहरूले अब देशमा तीव्र आर्थिक क्रान्तिको खाँचो महसुस गरेका छन्। हामीले त पहिलेदेखि नै आर्थिक क्रान्ति नै सबै कुराको मेरुदण्ड हो भनेर वकालत गर्दै आएका हौं।

तैपनि यो वर्षको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने उद्योग-व्यवसायीहरूले पनि समग्र अर्थतन्त्रको चिन्ता गर्न थाल्नुभएको छ। पहिले आफ्नो व्यापारको मात्र चिन्ता गर्नेहरू अहिले देशको नीति-नियम बनाउने कुरामा सहयोग गर्न, त्यसमा बहस गर्न र उत्प्रेरकको भूमिका निर्वाह गर्न थाल्नुभएको छ। देशप्रति राजनीतिज्ञहरूको मात्र होइन, हाम्रो पनि दायित्व छ भनेर जसरी उहाँहरू अगाडि आउन थाल्नुभएको छ, त्यो महत्त्वपूर्ण पक्ष हो।

केही उदाहरण दिन सक्नुहुन्छ, जसले व्यापारीहरूले आफ्नो व्यापारसँगै देशको चिन्ता गरेको पुष्टि होस्।

धेरै व्यापारीहरू पहिले कर छलेर पैसा कमाउनुलाई उपलब्धि मान्थे, अर्थात् उनीहरूको अभीष्ट केवल पैसा कमाउनु थियो। मैले कसरी कमाइरहेको छु, समाजले मलाई कसरी हेरिरहेको छ भन्ने कुरामा उनीहरूको त्यति ध्यान थिएन। आजभोलि देख्छु, उनीहरू आफूले कर तिरेकोमा गर्व गरिरहेका छन्। रोजगारी दिने कुरालाई महत्त्व दिइरहेका छन्। समाजमा आफ्नो सम्मान कसरी हुन्छ भनेर समाज सेवामा लाग्ने, सामाजिक महत्वका विषयमा बहस गर्ने, सकेको सहयोग गर्ने कार्य बढेर गएको छ। यो समुन्नत समाजको लक्षण हो।

तपाईं गएको संविधानसभामा चार वर्ष लेखा समितिमा रहेर काम गर्नुभयो। सुरक्षा निकाय एवं कर्मचारीहरूमा कस्तो संस्कार थियो ? त्यसमा परिवर्तन भएको देख्नुहुन्छ कि उस्तै छ ?

मनकै प्रश्न सोध्नुभयो। नढाँटी भन्दा पहिले सुरक्षा निकायभित्र जति सकिन्छ भष्ट्राचार गर्नु पर्छ भन्ने सोच थियो। इमान्दार मान्छे भेट्न निकै मुस्किल थियो। केही वर्ष यता कसैले आफूलाई भ्रष्टाचारी भन्ला कि भन्ने डर पसेको छ। निजामती सेवामा कुनै काम गरेबापत अतिरिक्त आम्दानी लिनुलाई अति सामान्य रूपमा लिइन्थ्यो। हिजोआज उनीहरूमा शुद्ध तलबमा बाँच्नुपर्छ, सकेसम्म अतिरिक्त आम्दानीको बाटो खोज्नु नपरोस्, त्यस्तो आम्दानी भैहाले पनि कसैलाई थाहा नहोस् भन्ने धारणा बढ्दै गएको छ। समाजमा पैसालाई भन्दा इज्जतलाई महत्त्व दिन थालिएको छ। आजभोलि कसैले पनि हाकाहाकी घूस मागेको भेटिँदैन। भेटिए पनि धेरै कम भएको छ। समाजमा पैसाको भन्दा इज्जतको बढी महत्त्व हुनु धेरै राम्रो लक्षण हो।

वैदेशिक रोजगारी नेपालको प्रमुख आयस्रोत हो। रेमिट्यान्सलाई प्रयोग गर्ने विषयमा हामी कहाँ छौं ?

धेरै ठाउँ चुकिरहेका छौं। सामान्य उदाहरण लिऊ, नेपालमा वाषिर्क ३ खर्ब रुपैयाँ वैधानिक स्रोतबाट भित्रिन्छ। नेपाल विद्युत् प्राधिकरणले १ सय मेगावाट विद्युत् उत्पादन गर्ने र नेपाल भित्रिएको पैसामध्ये केही लगानी गर्नुहोस्, हामी ५ वर्षमा दोब्बर आम्दानी दिन्छौं भन्ने हो भने त्यो पैसाले सय मेगावाट विद्युत् उत्पादन हुन्छ। यस्ता धेरै काम गर्न हामी चुकिरहेका छौं। सरकारका तर्फबाट ठूलो कमजोरी छ। धेरै आम्दानी खान, घर बनाउन र केटाकेटीको शिक्षामै खर्च भैरहेको छ। त्यसलाई देशको ठूला उद्योग, पूर्वाधार एवं ठोस विकासका काममा खर्च गर्न सकिरहेका छैनौं।

तैपनि खुसीको कुरा के छ भने पहिले हुन्डीबाट आउने पैसा अहिले बैंकको च्यानलबाट आउन थालेको छ। त्यसले देशको विदेशी मुद्रा बढाएको छ। हामीसँग विदेशी समान किन्न सक्ने पैसा पुगिरहेको छ। अझै आधा विदेशी मुद्रा नेपाल आउन पाएको छैन। त्यसलाई ल्याउन सके र उक्त पैसा आर्थिक विकासमा लगाउन सके हामी चाँडै समृद्धितर्फ जान्छौं।

वैदेशिक रोजगारीबाट फर्किएका युवाले पैसा मात्र ल्याएका छैनन्, सीप पनि ल्याएका छन्, त्यसको सदुपयोग भएको देख्नुभएको छैन ?

सरकारका तर्फबाट उनीहरूलाई कुनै सहयोग छैन। तैपनि मेरै आँखा अघि कोरियाबाट फर्किएका यामबहादुर थापाले पोखरामा यति ठूलो फार्म खोल्नुभएको छ कि त्यस्तो फार्म १०-२० वटा खुल्ने हो भने मासुको उत्पादनमै फरक पर्छ। जापानबाट फर्किएका केही युवाले माछा फार्म खोलेको, केहीले गोलभेंडा वा अन्य कृषि उत्पादन गर्न थाल्नुभएको छ। इजरायलबाट र्फकनेहरूले तरकारी खेती गरेको पाएको छु। यसरी हेर्दा आफ्नै प्रयासमा केही महत्वपूर्ण काम भएका छन्। सरकारका तर्फबाट सिप सिकेर आएका युवालाई आह्वान गर्दै ऋणको व्यवस्था गर्न हामी चुकिरहेका छौं। आफ्नै प्रयत्नमा उहाँहरूले गरेको प्रगति साँच्चै उपलब्धिमूलक छ।

साहित्य, कला र संगीतमा केही परिवर्तन पाउनुभयो कि ?

साहित्यको प्रकाशन बढेको छ। प्रकाशनअनुसार बिक्री-वितरण बढेजस्तो लाग्दैन। चलचित्रको अवस्था खस्किएको छ। केही नाट्य समूहले राम्रो काम गरेका छन्। ठाउँ-ठाउँमा हुने महोत्सवले स्थानीय कला-संस्कृतिको विकास गर्ने मात्र होइन, त्यो क्षेत्रको आर्थिक विकासमा पनि टेवा पुगेको छ। यसले रोजगारीको सिर्जना गरेको छ। त्यसैले चाहेको जति हुन नसके पनि केही हुन्छ कि भन्ने आशा जागेको छ।

अब गएको वर्षलाई पछाडि फर्केर भन्दा के भन्न मन लाग्छ ?

हामी यहाँ पाइपुग्न ढिला अवश्य भयो तर संकेत राम्रो देखिन्छ। कमजोरीलाई एकछिन बिर्सेर राम्रा कुरामात्र सम्झने हो भने वर्ष २०७० लाई सलाम गर्न मन लाग्छ।

कान्तिपुर साप्ताहिक बाट