यो भावना बल्खुले किन बुझ्दैन ?

संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान २०७० लाई देशव्यापी रूपमा प्रभावकारी बनाउन पार्टीले २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ। संविधानसभाको विघटनपछि उत्पन्न संकटले आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धमा क्रमशः नकारात्मक प्रभाव पार्दै गइरहेको र इतिहासमै नेपाल राष्ट्र असाधारण रूपमा कमजोर भएको यस्तो अवस्थामा मुलुकले सामना गर्नुपरेको बहुआयामिक संकट समाधान निर्वाचनबाट मात्र सम्भव छ भन्ने मान्यता नेकपा (एमाले)ले संविधानसभा अवसान हुँदादेखि नै राख्दै आएको हो ।

तर, विगतमा के कारणले संविधान बनेन ? अब बन्ने संविधानसभाबाट संविधान बन्ने सुनिश्चित छ कि छैन ? समाजमा उत्पन्न जातीय र क्षेत्रीय अन्तरविरोधहरू ठीक तरिकाले सम्बोधन गरेर कसरी मुलुकको आर्थिक विकास र समृद्धिको सुनिश्चितता गर्न सकिन्छ? भन्ने जस्ता प्रश्नका जवाफ साथै माओवादीको उग्रवामपन्थी अतिवादबाट दक्षिणपन्थी विसर्जनवादमा पतन भइरहेको र नेपाली कांग्रेसको जडता र यथास्थितिवादी अग्रगमनका लागि अनिच्छुक भइरहेको, जातीय र क्षेत्रीय पार्टीहरू कुनै न कुनै रूपमा आफ्नो स्वार्थका लागि अस्थिरता र अराजकता मच्चाएर मुलुकलाई अनिर्णयको बन्दी बनाउन उद्यत भइरहेका बेला नेकपा (एमाले) अभियानको माध्यमबाट जनताका बीचमा पुगिरहेको छ।

 अहिले पनि आमनागरिक मात्र होइन, पार्टीका कार्यकर्ताहरूमा पनि संविधानसभाको दोस्रो निर्वाचनले आकर्षण पैदा गर्न सकेको छैन। यो निर्वाचनबाट मुलुकले निकास पाउने कुरामा आम रूपमा शंका छ। यस्तो अवस्थामा संविधानसभा निर्वाचनको पक्षमा जनमत निर्माण गर्ने, राष्ट्रिय राजनीतिको वास्तविक यथार्थ जनतामा राख्ने र संविधानसभा निर्वाचनमा नेकपा (एमाले)को पक्षमा लहर सिर्जना गर्नु आजको आवश्यकता हो।

०६२/०६३ को आन्दोलनलाई नेकपा (एमाले) को विचार दिशानिर्देश गरेको थियो। बन्दुकबिना क्रान्ति हुँदैन, सेनाबिनाको कम्युनिस्ट पार्टी हुँदैन, क्रान्तिको एउटा मात्र बाटो हिंसा र युद्धको बाटो हो भनेर १० वर्षसम्म युद्धमा गएको माओवादीलाई शान्तिपूर्ण बाटोमा फर्काउने एमालकै विचार थियो। जनताको बहुदलीय जनवाद जनताभन्दा ठूलो शक्ति अर्को छैन र जनताको शान्तिपूर्ण आन्दोलन धेरै गोला, बारुद र बन्दुकभन्दा शक्तिशाली हुन्छ। आजको दुनियाँमा माओवादी हिंसा र एकदलीय अधिनायकवाद चल्न सक्दैन, त्यसकारण शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट परिवर्तन सम्भव छ भने विचारले विजय प्राप्त गर्‍यो। तर, पार्टीको विचारले जित्ने निर्वाचन पार्टीले हार्ने ! गएको संविधानसभाको निर्वाचनले आन्दोलन जुन विचारले सफल भयो त्यही विचारको प्रतिनिधिलाई हराइदियो, परिणाम संविधान निर्माण हुन सकेन। त्यसकारण अब एमालेको नीति एमालेकै नेतृत्व भन्ने नाराका साथ नेकपा (एमाले)को पार्टी पंक्ति सम्पूर्ण रूपमा परिचालित हुनैपर्दछ, होइन भने पार्टीमात्र असफल हुने होइन, मुलुक नै असफल हुनेछ।

यतिबेला नेकपा (एमाले)का ३ लाख संगठित पार्टी सदस्य हजारौं कमिटीहरू, लाखौंलाख सदस्यहरू, जनसंगठनहरू एकैचोटी यो अभियानमा परिचालित हुनुपर्दछ। विभिन्न जिल्ला र गाउँ सहरमा पुग्दा नेकपा (एमाले)प्रतिको असाधारण आकर्षण देख्न सकिन्छ। नेताहरू अनावश्यक रूपमा गुटबन्दी गरेको, जनतामा जान सक्रियता घट्दै गइरहेको, प्रतिक्रियावादीहरूका षड्यन्त्रलाई चिर्न नसकेको जस्ता गुनासाहरू छन्। अहिले पनि सबैभन्दा धेरै जनताको माया एमालेप्रति नै छ। तर, यो भावना पार्टी नेतृत्वले अर्थात् बल्खुले बुझ्न सकेको छैन।

 जनस्तरमा माओवादी, कांग्रेश छाडेर एमालेमा आउने लहर छ। हजारौं संख्यामा एमालेप्रति विश्वास व्यक्त गरी एमाले प्रवेश भइरहेको छ, तर केन्द्रमा एक दुई नेताको बहिर्गमन चर्चामा छ। व्यक्तिको रूपमा कसैले एमाले छाडेको होला र समुदाय र समूह एमालेमा प्रवेश गरिरहेका छन्। तर दुर्भाग्य, हामीले आफ्नो शक्तिको आफैं ठीक आँकलन गर्न सकेनौं ।

यो अभियानमा एमालेका सबै नेता र कार्यकर्ता सक्रिय हुनु आवश्यक छ। एमालेमा एउटा रोग विकास हुँदैछ। आफूले मेहनत नगर्ने, जनकार्य नगर्ने, जनतामा नजाने, अनि पार्टी कमजोर भयो भन्ने हक कुनै पनि नेता र कार्यकर्तालाई छैन। अर्को कोही आएर एमाले बनाइदिँदैन। नेकपा (एमाले) जनताका बीचमा खुला किताबको पानाजस्तै छ। एमालेका कमजोरी पनि जनतालाई थाहा छ र एमालेको सबल पक्ष पनि। एमालेको मुलुक र जनताप्रतिको समर्पण र इमानदारिता अरू कसैसँग पनि तुलना हुन सक्दैन। मुलुकको विकास र अग्रगतिका लागि एमालेले खेलेको भूमिका कसैले बिर्सनै सक्तैन। तर, एमालेका नेता र कार्यकर्ताहरू जनताको बीचमा पुग्न गाह्रो मान्ने, डराउने हो भने कुरा गरेकै भरमा एमाले पहिलो पार्टी बन्न सक्दैन। यो अभियान र देशव्यापी रूपमा एमालेको क्रियाशीलताले एमाले सबैभन्दा ठूलो र प्रभावकारी पार्टी हो भन्ने सन्देश प्रवाह भएको छ, यति नै काफी छैन।

 जनताले पार्टीलाई कति माया गर्छन् भन्ने कुरा तारे होटलका बहसबाट बुझ्न सकिन्न। काठमाडौं र बल्खुबाट सुँघ्न सकिँदैन। विभिन्न कार्यक्रममा जाने र भाषण गरेर फर्कंदामात्र पनि बुझिन्न। पार्टीप्रति जनताका गुनासा छन्, अझ हुन सक्दछ, धेरै गुनासा छन् किनकि सबैभन्दा बढी अपेक्षा पनि एमालेसँग नै छ। जुन पार्टीसँग अपेक्षा नै छैन त्योसँग कसले र किन गुनासो गर्ने? एमालेसँग जनताको ठूलो अपेक्षा पनि छ र गुनासो पनि। यदि जनगुनासोलाई सकारात्मक रूपमा लिएर सम्बोधन गर्न सकेमा नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिको मुख्य नेतृत्व गर्ने अवस्थाबाट कसैले रोक्न सक्दैन।

उक्त लेख बुधबार साप्ताहिकमा २०७०-जेष्ठ-२२ गते प्रकाशित छ |