सम्झनामा संघर्षमयी सहाना

पढ्न पाइन्छ भने हामी घर पनि छाड्न तयार छौं, आमाबाबु पनि छाड्न तयार छौं, देशका लागि ज्यान दिन तयार छौं’, राणाशासन विरुद्धका सुरुवाती दिनमा सहाना प्रधानले गरेको प्रतिबद्धता थियो यो । १९८४ असार २७ गते काठमाडौंको असनमा जन्मिनुभएकी प्रधानले ८७ वर्षको संघर्षमय जीवनबाट २०७१ असोज ६ गते ११.५ बजे विदा लिनुभयो । १०४ वर्षे क्रूर राणाशासन र ३० वर्षे पञ्चायती शासन तथा राजा ज्ञानेन्द्रको शाही शासनमाथि सधैं विजय प्राप्त गर्नुभएकी सहानाले मस्तिष्क पक्षाघात र छातीको संक्रमणको रोगसँग लड्दालड्दैै यस संसारबाट बिदा लिनुभएको छ ।

 

नेपालमा जन्मे पनि आफ्नो बाल्यकाल बर्मामा बिताउनुभएकी प्रधानले प्रारम्भिक शिक्षा बर्मेली स्कुलमै प्राप्त गर्नुभयो । त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । अमेरिका र जापानको लडाइँको प्रभाव बर्मामा पनि पर्‍यो । मान्छेको टाउकोमाथि हमेशा तरवार झुन्डिएको हुन्थ्यो, हवाइजहाज आउँछ बम खसाल्छ, साइरन बज्छ, भागदौड सुरु हुन्छ । यस्तै थियो उहाँको बाल्यकाल बितेको बर्माको दिनचर्या । त्यसैले सहानाको परिवार नेपाल फिर्ता भयो । तर नेपालमा राणाशासन थियो । राणाहरूले छोरीहरूलाई पढ्ने अनुमति दिएका थिएनन् ।
सहाना, साधना लगायत ४ जना केटीहरूले पढ्न पाउनुपर्छ भन्दै राणाका विरुद्ध आन्दोलन गर्नुभयो, जेल जानुभयो, अनशन बसे र राणाहरूलाई झुक्याएर केटीहरूले पनि पढ्न पाउने माग पुरामात्र गराउनु भएन, उहाँहरूले प्रवेशिका परीक्षा उत्तीर्ण पनि गर्नुभयो । राणा शासनको विरुद्ध महिलाहरूले पढ्ने अधिकार स्थापित गर्ने अग्रणी हुनुुहुन्थ्यो सहाना ।

नेकपा माले र नेकपा माक्र्सवादीको एकता -२०४७) हुनुभन्दा अघि मेरो बुबा माक्र्सवादी पार्टीमा हुनुहुन्थ्यो । म भने अखिल पाँचौंको केन्द्रीय सदस्य थिएँ । मैले सहानाको बारेमा सानो बच्चादेखि नै सुन्दै आएको हो । पञ्चायतकालमा एकपटक उहाँ हाम्रो गाउँमा पनि आउनुभएको थियो । मैले नजिकबाट उहाँलाई त्यहाँ नै देखेको हुँ । २०३२ सालको आन्दोलनमा त्रिवि कीर्तिर्पुरबाट सहाना र केदारभक्त माथेमा लगायत शिक्षकहरूलाई निष्काशन गरेको इतिहास पनि पढेको थिएँ ।

जब २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको अध्यक्षको रूपमा सहाना बाहिर आउनुभयो र त्यो आन्दोलनले सफलता प्राप्त गर्‍यो, सहानाले कमैले नाप्नै नसक्ने उचाइ प्राप्त गर्नुभयो । र मेरा लागि भने नेकपा एमालेको नेता, २०५४ मा नेकपा मालेको अध्यक्ष एमालेको नेता अनेमसंघको अध्यक्षका रूपमा उहाँसँग बढी परिचित हुने अवसर मिल्यो । वास्तवमा सहाना राजनीतिका धेरै खुरापात, घात-अन्तरघातलाई सजिलै पिउन सक्ने, आफ्नो स्वाभिमान र क्षमतामा विश्वास गर्ने एकजना नेता हुनुहुन्थ्यो भन्दा अत्युक्ति हुँदैन । हेर्दा अलि अन्तरमुखी स्वभावजस्तो र घमन्डी लाग्ने तर जति उहाँसँग छलफल र संगत गर्दै गयो, उति नै मूल्यको राजनीति, उच्च प्राज्ञिक, दृढ मनोबल भएकी नेताको रूपमा मैले पाएको छु । राजनीतिमा आएको विकृति, सिद्धान्तहरूको ह्रास, नैतिकताको पतन, वैयक्तिक स्वार्थ नै सर्वाेपरी ठान्ने प्रवृत्तिले बढावा पाइरहेको बेला सहाना एउटा संघर्षशील निष्ठावान नेता हुनुहुन्थ्यो । नेपालको वाम लोकतान्त्रिक आन्दोलनको शिखर हुन सफल प्रधानलाई वर्तमानले कति सम्मान गर्‍यो, त्यो छलफलको विषय हो, तर इतिहासले उच्च मूल्यांकन गर्नेछ ।

राजनीतिको लामो आरोह-अवरोहमा सहाना अविचलित हुनुहुन्थ्यो । दुःखमा नआत्तिने र सुखमा नहौसिने उहाँको चरित्र अनुकरणीय लाग्छ । राजनीतिमा घरभित्र र बाहिरबाट आउने अनेक दबाबलाई उहाँले सामना गर्न नसकेको भए यो निश्चल निरन्तर छवि बन्दैनथ्यो होला । त्यसकारण घरपरिवार र आफन्त कहींबाट पनि उहाँ टाढा हुनुहुन्थ्यो । राजनीतिक मूल्य र मान्यतामा कहिल्यै सम्झौता नगर्ने स्वभावकी सहानाका पछिल्ला दिनहरू ज्यादै पीडादायी थिए भन्ने कुरा उहाँलाई पढ्ने जोसुकैले अनुमान गर्न सक्थे । तर उहाँले यस्तो कुरा कहिल्यै कहीं पनि अभिव्यक्त गर्नुभएन । हामीसँग पनि कहिल्यै असन्तुष्टि व्यक्त गर्नुभएन ।

२०१० माघ १० गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएकी कमरेड सहानाले आफ्नो सिंगो जीवन पुष्पलालको राजनीतिक जीवनको अभिन्न सहयात्री र अन्तरंग सहयोगीको रूपमा व्यतित गर्नुभयो । २०३५ साउन ७ मा पुष्पलालको निधनसँगै राजनीतिक क्रियाशीलतालाई झनै तीव्रता दिएर त्यतिबेला पुष्पलाल समूहको नेतृत्व गर्नुभयो । वास्तवमा सहाना पुष्पलालसँग विवाह गर्नुभन्दा पहिला नै राणाशाही विरुद्धको आन्दोलनको नेता भइसक्नुभएको थियो ।

त्यसैले पनि पुष्पलालका कारणले सहाना हुनुभएको हो भन्नु सहानाप्रतिको घोर अवमूल्यन हो । कतिपय मानिसहरू सहानाको संघर्षमय इतिहासका पानाहरू पढ्न अल्छी गर्छन् र पुष्पलालको श्रीमतीको रूपमा मात्र बुझ्छन्, कतिपय मानिसहरू सहानालाई विभिन्न परिवर्तनमा खेलेको राज्यको भूमिकालाई भुल्छन् र महिला नेतृको रूपमा मात्र बुझ्छन्, तब विडम्बना सुरु हुन्छ । वास्तवमा सहाना ७ दशक लामो राजनीतिक आन्दोलनको अग्रणी हुनुहुन्थ्यो । आज हामीले एउटा लामो इतिहासलाई गुमाएका छौं ।

राजकीय पदका हिसाबले उपप्रधानमन्त्री र दुईपटक काठमाडौंबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । प्रधानमन्त्री, मन्त्री, सांसद हुनु त्यति ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा त जीवनभर एउटा निष्ठा र आदर्शको राजनीतिमा अविचलित भएर अगुवाइ गर्नु हो, जुन सहानाले गर्नुभएको छ । सहाना र जीवन संघर्षले भरिएको एउटा खुल्ला किताब हो, जुन नेपालको राजनीतिको अध्ययन गर्ने नयाँ पुस्ताका लागि अझ उपयोगी हुनेछ भन्ने लाग्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा झन्डै सात दशक लामो योगदान दिनुभएकी सहानाको निधनले नेकपा एमालेले मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनले र मुलुकले नै एक सच्चा देशभक्त क्रान्तिकारी नेता गुमाएको छ । हामीले एउटा असल अभिभावक गुमाएका छौं । नेपाली महिलाले एक प्रेरक व्यक्तित्व गुमाएका छन् । वास्तवमा सहानाको संघर्षशील इतिहासमा सबै पात्रलाई राम्रोसँग उजागर गर्नसके राजनीतिलाई निष्ठा र आदर्श ठानेर हिंड्नेहरूका लागि एउटा ठूलो प्रेरणा हुनेछ ।

अधिकारी एमाले नेता हुन् ।

यो लेख कान्तिपुर दैनिकमा प्रकाशित छ |