संसदीय समितिले पाए सभापति : बिकास समितिमा अधिकारी

adhikari-rabindra-300x180बुधबार संसदका १२ वटा समितिले सभापति पाए। निर्वाचनबाट सबै समितिका सभापति निर्विरोध चयन भए। निर्वाचित भए लगत्तै सभापतिहरुले सभामुख सुवासचन्द्र नेम्बाङ समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।

१२ मध्ये ११ समितिमा एकएकजनाको मात्र उम्मेदवारी परेको थियो भने विधायन समितिमा दुईजनाको उम्मेदवारी परेको थियो। विधायनमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र थरुहट तराई पार्टीकी गंगा चौधरी (सत्गौवा) को उम्मेदवारी परेको थियो। प्रेमबहादुरलाई एमाले र गंगालाई कांग्रेसले समर्थन गरेका थिए।

दुई ठूला पार्टीले फरक उम्मेदवारलाई समर्थन दिएपछि एमाओवादीको मत निर्णायक बन्ने स्थिति थियो। तर, एमाओवादी सहित मधेसवादी दलहरुले पनि गंगालाई समर्थन दिएपछि प्रेमबहादुरले उम्मेदवारी छाडे। त्यसपछि गंगा निर्विरोध बनिन्।

प्रतिपक्षी दलका सभासद सभापति बन्ने सार्वजनिक लेखा समितिको सभापति भने दुई साता अघि नै चयन गरिएको थियो। लेखामा एमाओवादीका जनार्दन शर्मा सभापति बनेका छन्। १४ वटा समिति रहेको व्यवस्थापिका संसदमा सुरक्षा विशेष समितिको सभापति भने सभामुख स्वयं हुने व्यवस्था छ।

सभापति चयन भएसँगै अब संसदीय समितिहरुले गति लिने अपेक्षा गरिएको छ। मिनी संसद भनिने संसदका विषयगत समितिहरुले सरकारलाई निर्देशित गर्ने हैसियत राख्छन्। विधायन समितिको भने क्षेत्राधिकार सीमित रहेको छ।

निर्वाचित सभापति नभएकाले संसदीय समितिहरु ज्येष्ठ सदस्यको सभापतित्वमा चल्दै आएका थिए। कतिपय समितिले निर्वाचित सभापति नहुँदा काम गर्न असहज भएको भनेर सभामुखसमक्ष निर्वाचनको माग गर्ने निर्णय समेत गरेका थिए।

सभापति चयनसँगै संसदीय समितिहरुले नयाँ ढंगले काम गर्ने अपेक्षा गरिएको छ। संसदको बैठक अवरुद्ध हुँदा पनि संसदीय समितिहरु पनि निर्वाध चल्ने गरेका छन्। संसदको प्रभावकारीताका लागि समितिहरुको निर्णायक भूमिका रहन्छ।

सम्पूर्ण समितिका सभापति निर्विरोध निर्वाचित हुनाले संसदीय समितिहरु थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

दलीय द्धन्द्ध चरम भए पनि भागवण्डा गरेर सहमति खोज्ने अनौठो राजनीतिक संस्कृतिलाई सकारात्मक भनी टिप्पणी गर्छन् कांग्रेस सभासद धनराज गुरुङ। उनी भन्छन्, ‘अल्पमत बहुमत गरेर हारजित गर्नुभन्दा दलीय सहमति गर्नु राम्रो हो।’ एमाले सभासद चुडामणी जंगली भन्छन्, ‘भागवण्डालाई नकारात्मक काममा प्रयोग गर्ने हो भने बेग्लै कुरा हो तर सबै सहमति भागवण्डा होइन। समिति सभापतिको निर्वाचन प्रक्रियामा अपनाइएको सहमति राम्रो हो तर यही राम्रो कामले दलितलाई पाखा लगाउनु दुःखद हो।’

कुन समितिमा को सभापति ?

विधानयन समिति प्रेमबहादुर सिंह र गंगा चौधरी (सत्गौवा)

अर्थ समिति प्रकाश ज्वाला

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति प्रभु साह

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति भीष्मराज आङदेम्बे

सामाजिक न्याय तथा मानव अधिकार समिति सुशिलकुमार श्रेष्ठ

कृषि तथा जलस्रोत समिति गगनकुमार थापा

विकास समिति रविन्द्र अधिकारी

महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समिति रन्जुकुमारी झा

राज्य व्यवस्था समिति दिलबहादुर घर्ती

वातावरण संरक्षण समिति जनकराज चौधरी

सुशासन तथा अनुगमन समिति शेरधन राई

संसदीय सुनवाई विशेष समिति कुलबहादुर गुरुङ्ग

सार्वजनिक लेखा समिति जनार्दन शर्मा

न्यूज स्रोत : न्यूज भित्ता डट कम