मलाई नै भन्दिनँ तर ५ वर्ष स्थिर सरकार बन्नेगरी भोट दिनुस्: रवीन्द्र अधिकारी

नेपाल लाइभ,पोखरा- एमाले नेता रवीन्द्र अधिकारीले कला, संस्कृतिलाई बिर्सने हो भने पहिचान नै हराउने बताएका छन्।

 

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं २ का वाम गठबन्धनका उम्मेद्वार अधिकारीले बुधबार गैह्रापाटनमा नवनिर्मित पोखरा थिएटरद्वारा आयोजित पोखरेली कला, साहित्य र संस्कृतिकर्मीसँगको भेटघाटमा यस्तो बताएका हुन्। पोखरालाई माछापुच्छ्रे र फेवातालले दिएको पहिचानलाई रङ भर्ने काम यहाँको कला, संस्कृतिले गरेको उनको भनाइ छ। प्रदेश नं. ४ लाई पर्यटनका अलावा कला, संस्कृतिको केन्द्रका रुपमा विशेष पहिचान दिलाउन लाग्नुपर्नेमा पनि उनले जोड दिए। चुनाव हारे पनि जिते पनि पोखराको कला, संस्कृतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले यो भेटलाई चुनावसँग मात्र नजोड्न आग्रह गरे।

 

आफू पनि साहित्य, कलाकै विद्यार्थी भएको प्रसंग कोट्याउँदै अधिकारीले राजनीतिले किचेको हुनाले यो क्षेत्रमा सक्रिय हुन नसकेको खुलासा गरे।

उनले संसद्मा कला, संस्कृतिका बारेमा सबैभन्दा बढी कुरा उठाउने सांसद आफू नै भएको दाबी गर्दै रोयल्टी व्यवस्थापन र संविधानमा कला, संस्कृतिलाई बौद्धिक सम्पत्तिका रुपमा राख्न आफूले पहल गरेको भनाइ राखे। आफूले कलाकर्मीहरुसँग वाम गठबन्धनका लागि नै भोट दिन आग्रह नगर्ने भन्दै अधिकारीले थपे, ‘जसले स्थिर र सबल सरकार बनाउन सक्छ, जसले राजनीतिक स्थायित्व दिन सक्छ, त्यसैलाई भोट दिनुहोस्। जुनसुकै गठबन्धन होस् तर बुहमत आओस् भन्ने जनताको चाहना छ।’

 

संसद्को विकास समितिका निवर्तनमा सभापतिसमेत रहेका अधिकारीले आफ्नो अनुभव सुनाउँदै भने, ‘एउटाले सर्वे गर्छ, सकिने बेलामा पदमुक्त हुन्छ अनि अर्को आएर डिजाइनिङ गर्छ, मन परेन भने फालिदिन्छ। अर्को मन्त्री आउँछ, ‘ए मेरो ठाउँमा परेन’ भनेर हटाइदिन्छ। त्यतिन्जेलको लगानी खरानी हुन्छ। त्यसैले कम्तिमा ५ वर्ष सरकार चलाउन दिने गरी मतदान गर्नुस्।’