उलट–पुलट विकासलाई पोखराले क्यास गर्नुपर्छ : विकास समिति सभापति अधिकारी

पोखरा, २८ आश्विन:संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले प्रदेश नं. ४ मा विस्तार हुँदै गएको कनेक्टिभिटीले सम्भावनाहरुको ढोका खोलेको बताएका छन् । पोखरालाई केन्द्र बनाएर बढेको सडक, हवाई र रेलवेले यस क्षेत्रको उलट–पलट हुने बताए ।

लेकसाइड स्थित होटल स्नोल्यान्डको मासिक कार्यक्रम क्रस दी बोर्डरमा बोल्दै अधिकारीले विकास निर्माणले आउने संभावनालाई क्यास गर्नुपर्ने बताए । अबको राजनीतिले विकाससँगै संवृद्धीका संभावनालाई संवोधन गर्नुपर्नेमा जोड दिँदै उनले भने, यसो गर्न सकिएन भने पद प्राप्ती मात्र हुन्छ, अब अपर्चुनिटी क्रियट गरेर ग्राप्स गर्नुपर्छ ।

 

सडक पुगेको ठाउँमा घडेरी किन्ने पुरानो व्यवसाय अझै जारी रहेको भन्दै उनले अब यसलाई तोड्नु पर्ने बताए । घडेरी खरिद बिक्री भन्दा अरु सम्भावना खोज्नुपर्छ, उनले थपे, आर्थिक चहलपहल देखिनेगरी व्यवसाय गर्न सकिन्छ ।

 

पोखरालाई रेलवे, हवाई र रोड कनेक्टिभिटीको संजालको केन्द्र बन्दै गएको उनको भनाई छ । चीनको केरुङदेखि काठमाडौ–पोखरा हुँदै लुम्बिनी जोड्ने रेलवे, पूर्व पश्चिम रेलवे, तनहुँको आँबुखैरेनी हुँदै जाने गरी सर्भे भइसकेको उनले बताए । यस्तै, हवाई सेवामा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल चीन र भारत जोड्ने कालिगण्डकी करिडोर निर्माण पुरा भएपछि पोखरा र आसपासमा धेरै व्यवसायिक सम्भावना बढ्ने अधिकारीले बताए । पर्यटन क्षेत्रमा धेरै लगानी आवश्यक भइसकेको भन्दै पोखरा केन्द्रित पर्यटक पदयात्रा र अन्य स्थानमा जाँदा समस्यामा पर्ने गरेको अधिकारीले बताए ।

 

उनले पोखरा आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सडक सञ्जाल र त्यहाँका सहरलाई विकास गर्ने गरी अघि बढेको समेत जानकारी दिए । संसदको विकास समितिको सभापति भएपछि आफूले उत्तर दक्षिण जोड्ने राजमार्गलाई पहिलो प्राथमिकता दिएको बताए । मुस्ताङको कोरला नाका, किमाथाङ्का, रसुवागढी लगायतका राजमार्ग निर्माणमा अन्य राष्ट्रिय गौरवका आयोजनामा भन्दा बढी उत्साहजनक काम भएको उनको दाबी छ ।

 

कालिगण्डकी करिडोर छिटो निर्माण गर्न बाग्लुङमा डिभिजन कार्यालय र जोमसोममा अर्को कार्यालय राखेर काम गरेको उनको भनाई छ । अधिकारीले सिद्धार्थ राजमार्ग छाटो बनाउन सुरुङ मार्गको सम्भाव्यता अध्ययन भइरहेको, मुग्लिन–पोखरा सडकमा सइकल लेन सहित ४ लेन बनाउन सर्भे भइसकेको लगायतका जानकारी दिए । उनले विकास निर्माणका आयोजनासँगै उक्त क्षेत्रमा व्यवसायको सम्भावना प्रचुर मात्रामा रहेको जानकारी दिँदै पोखराबाट देखिने डेस्टिनेसनमा सम्भावना खोज्न उद्यमी÷व्यवसायीलाई आग्रह गरे ।

 

प्रदेश नं. ४ मा पर्यटन विकासले धेरै फड्को मार्न सक्ने भन्दै उनले पदमार्गमा सडक बनाउन नहुने बताए । पदमार्ग क्षेत्रमा अझै पनि होटल व्यवसायको अभाव भइरहेको र पर्यटकले गुणस्तरिय सेवा पाउन नसकेको बताए । दीगो विकासका लागि पोखरा केन्द्रित भएर आउने पर्यटकले जुन स्थानमा पनि सुविधा पाउनुपर्नेमा अधिकारीको जोड थियो ।

 

नेपालमा लगानीका वातावरण बनाउन अब बन्ने प्रदेश सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाई छ । नेपालमा पैसा ल्याउन पनि गाह्रो छ, लैजान पनि गाह्रो छ, उनले भने, उल्टो सुल्टो बाटोबाट जे गरे पनि हुने, कानुनी प्रक्रियाबाट गर्न खोजे झण्झट मात्र हुने अवस्था छ । अब विकासका निर्माण सँग–सँगै विजनेश भ्यु हुनुपर्ने भन्दै उनले लगानीका लागि सरकारले सबै बाटो खोल्नुपर्ने बताए ।

 

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी गणेश भट्टराईले अहिले भइरहेका संरचनाका स्तरोन्नति गर्नु पर्ने सुझाव दिए । काठमाडौँ–पोखरा राजमार्गमा यात्रुले धेरै सास्ती खेप्नुपरेको उनको भनाई छ ।यस्तै, पर्यटनकर्मी विजय गुरुङले नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने मान्यता यातायात क्षेत्रमा सरकारले हटाउन खोजेकोमा चिन्ता व्यक्त गरे ।कार्यक्रममा आयोजक होटल स्नोल्यान्डका प्रवन्ध निर्देशक गणेशबहादुर थापाले उद्यमशीलताको विकासका लागि उक्त कार्यक्रम आयोजना गरेको बताए ।