एमाले महाधिवेशनमा यसरी हुँदैछ प्रविधिको प्रयोग

असार १९ देखि २५ गतेसम्म काठमाडौमा हुने नेकपा एमालेको नवौ महाधिवेशन उच्च प्रविधियुक्त हुने भएको छ ।
एमालेले त्यसको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । विद्युतीय मेसिनबाट मतदान गर्नेदेखि नेता, प्रतिनिधि र पत्रकार लगायतलाई भित्र बाहिर आउने जाने परिचयपत्र र खाना खाने कुपन लगायतमा प्रविधिको प्रयोग गर्न लागिएको हो । विद्युतीय मेसिनबाट यसअघि पनि पटक पटक मतदान गरिएको भए पनि एमाले महाधिवेशनमा केही प्रविधि पहिलो पटक प्रयोग हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा समूह छलफल लगायतका लागि १८ वटा कक्ष बनाइएको छ । विशिष्ठ अतिथिका लागि छुट्टै कक्ष हुनेछ भने पत्रकार कक्ष, सूचना प्रविधि कक्ष उच्च प्रविधियुक्त हुनेछ । सबै ठाउँमा वाइफाइको व्यवस्था गर्न लागिएको छ । इन्जिनियरिङ पृष्ठभूमिका नेता एवं मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालका अनुसार सबैका लागि ‘बार कोर्ड’ सहितको कार्ड हुनेछ । जसले खाना, खाजा खाने, भित्र बाहिर गर्ने कामको कम्प्यूटरबाटै नियन्त्रण गर्नेछ । कसैले कार्ड बिर्सिएमा महाधिवेशन स्थलमा प्रवेश गर्न पाउने छैन ।

रिमालका अनुसार सबै कार्डमा फोटो हुन्छ । कार्डमा जसको फोटो छ त्यही व्यक्तिलाई मात्र मेसिनले चिन्छ र त्यो व्यक्तिको फोटो स्क्रिनमा देखिन्छ । जसले गर्दा एउटाको कार्ड देखाएर अर्को व्यक्तिले प्रवेश पाउँदैन । यसले को कति पटक भित्र बाहिर गर्यो, उसले कत्तिको ध्यान दिइरहेको छ वा डुल्ने काम मात्र भनेर पहिचान गर्न सजिलो हुने एमालेको विश्वास छ । यसको फाइदा त्यत्ति मात्र होइन, कार्डकै माध्यमबाट चिया, खाजा, खाना  खाने भएकाले कति व्यक्तिले खाए त्यसको हिसाव क्याटरिङ सञ्चालकलाई बुझाउन सजिलो हुनेछ र प्लेटका आधारमा खाना खाजाको पैसा तिर्न पर्दैन । अनि क्याटरिङवालाले ठग्न पनि पाउँदैन । कार्ड प्रणालीका कारण भोट हाल्न त सजिलो हुने नै भयो  । कसैले दोहोर्‍याएर भोट हाल्न पाउँदैन अनि को छुट्यो भन्ने जानकारी राख्न पनि सजिलो हुने एमालेले जनाएको छ ।

कार्डको पछाडि रंगिन भाग हुनेछ र कुन रंग टेक्दै कहाँ पुगिन्छ भन्ने संकेत पनि त्यसैले गर्नेछ । रिमाल भन्नुहुन्छ, ‘यदि पहेंलो रंग ट्वाइलेटको हो भने पहेलो रंग टेक्दै जाँदा ट्वाइलेटमा पुगिन्छ, जसले गर्दा ट्वाइलेट कता हो भनेर कसैले कसैलाई सोध्नु पर्ने आवश्यकता हुँदैन ।’CPN UML(1)

उच्च गतिको इन्टरनेट जडान गरिने र महाधिवेशनको हरेक क्रियाकपालको आफ्नो वेबसाइट www.cpnuml.org मार्फत  प्रत्यक्ष प्रशारण गर्ने एमालेले बताएको छ । सबै प्रतिनिधिहरुको मोवाइल नम्बर संकलन गरिएको छ । कुनै सूचना तथा जानकारी दिन परेमा सबै प्रतिनिधिको मोवाइल नम्बरमा एसएमएस गरिने व्यवस्था गरिएको मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिनिधिहरुको ट्वीटर र फेसबुक एकाउण्ट पनि संकलन गरिएको अभिलेख समितिले जनाएको छ । कार्ड नभएमा रिपोटिङ गर्न नपाउने भएकाले एमालेले पत्रकारहरुलाई पनि कार्ड लिन अनुरोध गरेको छ । एउटा मिडिया हाउसबाट दुई जनालाई कार्डको व्यवस्था गरिएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

विद्युतीय भोटिङ मेसिन यसअघि संविधानसभाको चुनाव, उपचुनाव र संसदीय दलको चुनावमा समेत प्रयोग भइसकेको हो । जुन एमालेको महाधिवेशनमा पनि प्रयोग हुनेछ । नेपाली बैज्ञानिक राम–लक्ष्मणले बनाएको भोटिङ मेशिनबाट महाधिवेशनमा १० घण्टाभित्रै प्रस्तावित १४९ सदस्यीय केन्द्रीय कमिटी र पदाधिकारीको निर्वाचन सम्पन्न हुने एमालेले जनाएको छ ।

एक पटकमा ६० जनाले भोट हाल्न पाउने र त्यसका लागि १० घण्टाको समय निर्धारण गरिएको छ । पार्टी महाधिवशेन भएको नो भोटको व्यवस्था भने छैन । त्यसैले अनिवार्य भोट हाल्नैपर्नेछ । ज्ञवालीका अनुसार चुनाव भएको एक घण्टाभित्रै सबै परिणाम सार्वजनिक भइसक्नेछ ।

न्यूज स्रोत : उज्यालो