नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न राजनीतिक दलहरू लागिरहेका वेला नयाँ शक्तिको बहस पनि चलिरहेको छ । भूकम्पको पीडा, त्यसपछिको पुनर्निर्माणका लागि गठन गर्ने भनिएको पुनर्निर्माण प्राधिकरणको नेतृत्व नबनेको र नाकाबन्दीले मुलुक असहज परिस्थितिमा गुज्रिरहेका वेला मुलुकलाई नयाँ ढंगबाट अघि बढाउन नयाँ शक्तिको बहस हुनु स्वाभाविक हो । मुलुकलाई नयाँ ढंगबाट अघि बढाउन नयाँ शक्तिको बहस आउनु, नयाँ नेतृत्वको खोजी गर्नु, नयाँ पुस्ताको खोजी गर्नुलाई अन्यथा ठान्नु हुँदैन । यो एउटा आवश्यक र महत्त्वपूर्ण विषय हो ।
तर, नयाँ शक्तिको बहस यस्तो वेलामा आएको छ, जतिवेला मुलुकमा संकट छ । स्वतन्त्रताको लडाइँ लडिरहेको छ । स्वाभिमानको लडाइँ लडिरहेको छ । आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ । यस्तो अवस्थामा मुलुकमा विभाजन नल्याई एकताबद्ध भएर संकटको सामना गर्नुपर्ने वेला अनेकौँ नयाँ शक्तिको रडाको मच्चाएर मुलुकलाई कमजोर बनाउने काम त्यति राम्रो होइन । अहिलेको अवस्थामा त सबै मिलेर सामूहिक रूपमा मुलुकमा देखिएको संकटको सामना गर्ने हो । नयाँ शक्तिबारे कुनै एक व्यक्तिलाई महसुस हुँदैमा, किताबमा लेख्दैमा, पत्रिकामा लेख्दैमा र एउटा समूह निर्माण गर्दैमा सफल हुन सकिँदैन ।
त्यसमाथि पुरानै र आफ्नो इमेज बिगारेका मानिसले नयाँ शक्ति निर्माण गर्छु भन्नु नयाँ बोतलमा पुरानै रक्सी, नयाँ बोरामा पुरानै चामल, नयाँ नाममा पुरानै कुरा दोहोरिन जान्छ । अहिले हामीले मुलुकमा जुन संकट सामना गरिरहेका छौँ, त्यसको सबै मिलेर सामना गर्नुपर्ने हो । के युवा, के वृद्ध, के ‘लेफ्ट’, के ‘राइट’ सबै एक हुनुपर्छ । सबैभन्दा ठूलो विषय त मुलुकको रक्षा हो । देश बचाउन सबै लाग्नुपर्छ । यो विषयमा हामीले एकता प्रदर्शन गर्न सकिरहेका छैनौँ । त्यसैले, नयाँ शक्तिको नाममा निश्चित स्वार्थ पूरा गर्ने काम भइरहेको त छैन भन्ने प्रश्न खडा भएको छ ।
वैचारिक हिसाबबाट नयाँ शक्तिको आवश्यकता हो कि होइन ? आज हामी पुरातन कम्युनिस्टका हिसाबबाट पनि जान सक्दैनौँ । पुरातन साम्यवादी मान्यताबाट पनि हिँड्न सक्दैनौँ । न सोभियत रुस र जनगणतन्त्र चीनको हुबहु अनुसरण गर्न सक्छौँ । त्यस्तै उत्तर कोरियाका कम्युनिस्टका हिसाबले त झन् अघि बढ्न सक्दै सक्दैनौँ । यस विषयमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद अगाडि सारेर एउटा नयाँ सन्दर्भमा आफ्ना विचार दिइसक्नुभएको छ । नयाँ शक्तिको कुरा गर्दा मदन भण्डारीले आजभन्दा २२/२५ वर्षअघि नै त्यो शक्ति र विचार बिजारोपण गर्नुभएको थियो । आज पनि विचारको धरातल त्यही हो । किनभने हामी आजको दुनियाँमा समाजवादलाई अस्वीकार गरेर लोकतन्त्रको कुरा गर्दै अघि बढ्न पनि सक्दैनौँ । लोकतन्त्रलाई अस्वीकार गरेर समाजवादको कुरा गर्न पनि सक्दैनौँ । त्यसकारण लोकतन्त्र र समाजवादलाई साथसाथै लिएर जाने डेमोक्रेसी, लोकतन्त्र र समाज–व्यवस्था आजको आवश्यकता हो । जनताको बहुदलीय जनवादले ती सबै विषयवस्तुलाई समेटेको छ । त्यसकारण आजको सन्दर्भमा त्यो विषयलाई कुनै पनि व्यक्तिले गलत ढंगले व्याख्या गर्छ भने उसले आफ्नो सिद्धिका लागि गलत परिभाषा गरिरहेको छ भन्ने बुझिन्छ । मानव हित, मुलुकको राष्ट्रियताको संवद्र्धन, नेपालको आर्थिक विकास र समृद्धि, सामाजिक न्याय स्थापना आदिका लागि सही रूपमा व्याख्या गरेर अघि बढ्न सके नयाँ शक्ति र विचार यही बन्न सक्छ । त्यसकारण आजको सन्दर्भमा जनताको बहुदलीय जनवादलाई समयसापेक्ष व्याख्या गर्दै तदनुरूपको पार्टी र शक्ति निर्माण गर्नु समयानुकूलको नयाँ शक्ति हो ।
नयाँ शक्ति भन्नेबित्तिकै पुरानोलाई प्रतिस्थापन गर्ने भन्ने हुन्छ । त्यसो भए को हो त पुरानो शक्ति ? जहाँसम्म अहिलेका पार्टीमध्ये परम्परागत विचारलाई ओगटेर बस्ने, नयाँ विचार ल्याउन नदिने परम्परागत शक्ति हुन्, नयाँ विचारका विरोधी हुन् । त्यस्तो विचारलाई परास्त गर्न नयाँ विचार र शक्ति आवश्यक पर्छ । नयाँ हिसाबबाट मुलुक निर्माण गर्न राजनीतिक दलबीच नयाँ विचारको आवश्यकता पनि होला । तर, आफ्ना निश्चित स्वार्थ पूरा गर्न र तथाकथित पार्टी निर्माणका लागि नयाँ शक्तिको नारा दिनुको कुनै औचित्य छैन । आजसम्म नदेखिएका काम, नदेखिएका विषय, प्राकृतिक स्रोत, संस्कृतिलाई आदर्श ठानेका छौँ, राम्रो र ठीक ठानेका छाँै । तर, गर्नसकेका छैनौँ । त्यो विचार र मान्यतालाई बोक्ने हिसाबको नयाँ शक्ति आजको आवश्यकता हो । यस विषयमा हामीले गम्भीर भएर सोच्नु पनि पर्छ ।
नयाँ शक्तिका नाममा आजभोलि डा. बाबुराम भट्टराईले चर्चा चलाइरहनुभएको छ । तर, पुरानै विचार र मानिस बोकेर डा. भट्टराईले कसरी नयाँ शक्ति बनाउनुहुन्छ ? मुलुक संकटमा परेका वेला मुलुकलाई कमजोर बनाउने हिसाबले भागेर कस्तो नयाँ शक्ति बन्छ ? मुलुकलाई संकट परेका वेला भाग्ने मान्छेले निर्माण गरेको नयाँ शक्तिले कसलाई समर्थन गर्छ ? त्यसकारण उहाँको नयाँ शक्तिका विषयमा गम्भीरताका साथ प्रश्न उठेको छ । यो विषयमा गम्भीर बन्नैपर्छ ।
निश्चित रूपमा राजनीतिक चलखेल, जोडघटाउ आदि मुलुकको राजनीतिक विकासका लागि हुनुपर्छ । राष्ट्रको समृद्धिका लागि हुनुपर्छ । राजनीति जनताको सुखदायी जीवनका लागि हुनुपर्छ । सभ्य समाज निर्माण गर्न हुनुपर्छ । सामाजिक न्यायका लागि हुनुपर्छ । सबैको सहज विकासका लागि हुनुपर्छ । आज त्यही राजनीतिका आधारभूत विषयलाई स्विकार्ने किसिमको संविधान आइरहँदा त्यसको विपक्षमा गएर मुलुकमा विखण्डन ल्याउने र कमजोर बनाउन सहयोग पुर्याउनु कुनै हालतमा नयाँ शक्ति होइन । पुराना व्यक्तिले नयाँ शक्तिको कुरा गर्नु बिल्कुल सुहाउँदैन । यस विषयलाई राजनीतिककर्मीले गम्भीरतापूर्वक बुझ्नु आवश्यक छ ।
अहिले चलेका पार्टी पुराना भएर नयाँ पार्टी चाहियो भन्नु स्वाभाविक हो । पार्टी पुराना हुन सक्छन् । तर, ती पार्टीले आफूलाई समयानुकूल परिवर्तन गरेर नयाँ बनाउन सके कि सकेनन् भन्ने मुख्य विषय हो । हामीलाई पुराना पार्टीभित्र नयाँ एजेन्डा चाहिएको हो । राजनीतिक पार्टीमा आजको लोकतन्त्रलाई बुझ्ने मूल्य–मान्यताको आवश्यकता छ । सबै पार्टीमा नयाँ नारा आवश्यक छ । त्यस विषयमा खोजी गर्नु आवश्यक छ । विचारमा नयाँपन नल्याउने नेता र कार्यकर्ता जन्माएर आजका चुनौतीको सामना गर्न सकिँदैन ।
नेपाल दुई ढुंगाबीचको तरुलको अवस्थामा छ । हाम्रा छिमेकीमध्ये एउटा आर्थिक समृद्धिमा विश्वको नम्बर एकमा छ । अर्को प्रजातान्त्रिक मुलुक दाबी गर्छ । अहिले हामीलाई उनीहरूलाई कन्भिन्स गर्नसक्ने क्षमता भएको राजनीतिक नेतृत्वको आवश्यकता छ । त्यस्तो राजनीतिक नेतृत्व नेपालमा भयो भने हामी यी दुई छिमेकी मुलुकबाट राजनीतिक, आर्थिक र सामाजिक सहयोग ल्याउन सक्छौँ । त्यसनिम्ति नेतृत्वले उत्तर र दक्षिणलाई पनि मिलाउन सक्नुपर्छ । छिमेकीलाई कन्भिन्स गर्न आफ्नो क्षमता पनि त्यहीअनुसारले वृद्धि गर्न आवश्यक छ ।
हामीले आर्थिक विकास गर्न दुई देशबीचको ‘ट्रान्जिट हव’ बनाउनुपर्छ । त्यसका लागि त्यसै किसिमको आर्थिक सोच र चिन्तन भएको राजनीतिक नेतृत्वको आवश्यकता छ । त्यसकारण अहिले राजनीतिक दलको नेतृत्व गरिरहेका नेताहरूको कार्यक्षमता, कार्यशैली र दक्षताले राजनीतिक आवश्यकता परिपूर्ति हुन सक्दैनन् । यो नेताहरूले स्वीकार गर्न सक्नुपर्छ । तर, अहिले बन्न लागेको नयाँ शक्तिले पनि त्यो परिपूर्ति गर्नसक्ने अवस्था छैन । अब नयाँ विचारबाट छिमेकी राष्ट्रलाई मिलाएर मुलुकको विकास गर्ने नेतृत्व आवश्यक छ ।
– See more at: http://www.enayapatrika.com/2015/12/42765#sthash.4KKLA1f3.dpuf