भूकम्पीय क्षति र पुनर्निर्माण

नेपालमा १२ वैशाखमा जुन भूकम्प आयो, त्यो संसारकै ठूला र विनाशकारी भूकम्पमध्येकै एक हो । संयोगवश त्यो भूकम्प दिउँसो आयो । यदि राति आएको थियो भने त्यसले कस्तो विनाशलीला मच्चाउँथ्यो, कति मानवीय क्षति निम्त्याउँथ्यो, त्यो अनुमान गर्न पनि कठिन छ । यदि त्यो भूकम्प विद्यालय सञ्चालन हुने दिन आएको भए त्यसबाट हुनसक्ने हताहतीको कल्पना गर्दा पनि कहाली लाग्छ । अर्को कुरा यो भूकम्प बर्खामासमा आएको भए पनि क्षति अहिलेको भन्दा निकै चर्को हुन सक्थ्यो । त्यतिखेर उद्धार र राहत वितरणमै पनि गम्भीर समस्या आउन सक्थ्यो । तर, अहिलेकै अवस्थामा पनि भूकम्पले कम विनाश गर्‍यो, क्षति कम भयो भन्ने होइन, यसले निम्त्याएको विनाश भयावह नै छ । विशेषगरी गोरखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, नुवाकोट, धादिङ, रसुवा, काभ्रेपलान्चोक जस्ता पहाडी जिल्लामा यसले व्यापक जनधनको क्षति गरेको छ ।

rabindra adhikari 123

भूकम्पको पूर्वानुमान र पूर्वतयारी

नेपालमा यस्तो विनाशकारी भूकम्प आउन सक्छ भन्ने पूर्वानुमान नै नभएको चाहिँ होइन । भूकम्प कुन दिन, कति बजे आउँछ भन्न नसकिए पनि नेपाल भूकम्पीय जोखिममा रहेको देश हुनाले यहाँ कुनै पनि दिन, कुनै पनि वेला यस्तै विनाशकारी भूकम्प आउँछ भन्ने पूर्वानुमान गरिएकै थियो । विगतका विनाशकारी महाभूकम्पको विश्लेषणका आधारमा प्राविधिकले यस्तै विनाशकारी भूकम्प आउन सक्ने सम्भावनाबारे विगतदेखि नै सचेत गराउँदै आएका पनि हुन् । तर, यस्तो पूर्वानुमान गरिँदा गरिँदै पनि हामीले सम्भावित विपत्तिका लागि अपनाउनुपर्ने पर्याप्त सावधानी र गर्नुपर्ने पूर्वतयारी भने खासै गर्न सकेनौँ । हाम्रो सबैभन्दा कमजोर पक्ष यही रह्यो । आफूसित भएका स्रोत–साधनको अधिकतम उपयोग गर्न सक्ने गरी तयार रहनुपर्नेमा पक्कै पनि हामी धेरै कुरामा चुक्यौँ । यसअघि पनि नेपालमा निकै ठूला भूकम्प आएका र तिनले निकै ठूलो विनाश गरेको इतिहास छ । चौधौँ शताब्दीतिरको महाभूकम्पबाट कुल जनसंख्यामध्ये झन्डै एकतिहाइको मृत्यु भएको र ठूलो भौतिक विनाश गरेको चर्चा इतिहासमा पढ्न पाइन्छ । त्यसैगरी वि.सं. १९९० को महाभूकम्पले गरेको विनाशको चर्चा त हामीले बूढापाकाबाट पनि सुन्दै आएकै हौँ र इतिहासमा पनि पढेकै हौँ । त्यही स्तरको विनाशकारी महाभूकम्प अहिले फेरि एकपटक दोहोरिएको छ ।

भूकम्पको विनाश

१२ वैशाखमा आएको भूकम्पका कारण सहरी क्षेत्रका हजारौँ पक्कीसहित अधिकांश कच्ची घर ढलेका छन् भने ग्रामीण क्षेत्रका कच्ची घर लगभग सबैजसो ध्वस्त भएका छन् । ग्रामीण क्षेत्रमा त अलिअलि बाँकी रहेका घर पनि बस्नलायक छैनन् । भूकम्पकै कारण लाखौँ परिवारले आफ्नो घरवास गुमाएका छन् । यतिखेर मृतकको संख्या साढे आठ हजार नाघिसकेको छ । अझै पनि भग्नावशेषको पूर्ण उत्खनन भइनसकेको हुनाले यो संख्या अझ धेरै बढ्न सक्ने अनुमान गर्न सकिन्छ । घाइतेको संख्या पनि लगभग १५ हजार पुगिसकेको छ । यसले पनि अनुमान गर्न सकिन्छ, जुन भूकम्प आयो, त्यो अत्यन्तै विनाशकारी थियो । तर, यो जति विनाशकारी थियो, त्यसअनुरूप अनुमान गरिएभन्दा कमै मानवीय तथा भौतिक क्षति भएकोमा भने हामीले आफूलाई भाग्यमानी नै ठान्नुपर्ने हुन्छ ।

यो स्तरको महाभूकम्प आएको खण्डमा विशेषगरी काठमाडौं उपत्यकाका भौतिक संरचना तहसनहस हुनेछन्, पुल भत्किनेछन्, भग्नावशेषका कारण बाटोघाटो लामो समयसम्म अवरुद्ध हुनेछन्, एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि उडानयोग्य हुनेछैन, विद्युत् वितरण प्रणाली ध्वस्त हुनेछ, टेलिफोन सम्पर्क पूर्णत: विच्छेद हुनेछ भन्ने अनुमान गरिएको थियो । अनुमानअनुरूपकै साँच्चिकै महाविनाशकारी भूकम्प पनि आयो । तर, काठमाडौं उपत्यकाभित्रका हाम्रा भौतिक संरचना हामीले सोचेजति कमजोर रहेनछन् । हाम्रा पुल कतै पनि भत्केनन् । बाटोघाटो खासै अवरुद्ध भएनन् । मुख्य रूपमा प्रभावित केही जिल्लाका ग्रामीण सडक सञ्जाल आंशिक रूपमा अवरुद्ध भए पनि प्रमुख राजमार्ग एकाध घन्टाबाहेक अवरुद्ध भएनन् । अन्तर्राष्ट्रिय विमानस्थलमा एकछिन पनि उडान रोक्नुपर्ने अवस्था आएन । विद्युत् आपूर्ति पनि पूर्णत: अवरुद्ध भएन र अवरुद्ध भएको स्थानमा पनि निकै छोटो समयमा आपूर्ति व्यवस्था सुचारु गर्न सकियो । टेलिफोन नेटवर्ककै समस्या पनि लामो समय कायम रहेन । समयमै सुचारु हुन सक्यो । त्यसैले यी सबै अनुकूलताले गर्दा पनि यसपटकको भूकम्पमा उद्धार र राहत वितरणमा ठूलो समस्या आउन पाएन । जसले गर्दा भौतिक क्षतिको तुलनामा मानवीय क्षति भने अनुमान गरिएभन्दा कमै भयो भनेर सन्तोष मान्नुपर्ने हुन्छ ।

उद्धार र राहत वितरणको अवस्था

हुन त यति विनाशकारी महाभूकम्प संसारको जुनकुनै विकसित मुलुकमा आएको भए पनि यस्तो महाविनाशपछि उनीहरूले पनि आफ्नै साधन र स्रोतबाट मात्र एकैपटक सम्पूर्ण समस्या समाधान गर्न सक्ने थिएनन् । त्यत्ति हो, यस्तो विपत्तिपछिको व्यवस्थापनमा उनीहरूसित अलि बढी साधन, स्रोत र प्रविधि हुन्थ्यो, अलि बढी प्रभावकारी उद्धार, उपचार र राहत वितरणको व्यवस्था हुन्थ्यो । उनीहरूकहाँ नेतृत्व र व्यवस्थापन प्रभावकारी हुन्थ्यो । भौतिक क्षति हामीकहाँभन्दा केही कम हुने थियो । तर, जनधनको क्षति र अस्तव्यस्तता भने उनीहरूकहाँ पनि देखिन्थ्यो नै । त्यसैले जतिसुकै प्रयास गर्दा पनि हामीकहाँ यति ठूलो प्राकृतिक विपत्तिपछि उद्धार र राहत वितरणमा कतैकतै केही समस्या देखिनु स्वाभाविकै हो । तर, यसो भन्दैमा हामीले प्रयास नै गरेनौँ, सक्दै सकेनौँ भन्नेचाहिँ पटक्कै होइन । हामीसित जे–जस्ता स्रोत, साधन र जनशक्ति थिए, तिनको अधिकतम उपयोगबाट हामीले घाइते तथा भग्नावशेषभित्र पुरिएकाको उद्धार गरेका छौँ । सम्भव भएसम्म सबैको भरपर्दो उपचार व्यवस्था मिलाएका छौँ । अस्थायी नै भए पनि तत्कालका लागि बसोबासको प्रबन्ध गरेका छौँ । सकभर राहत सामग्री पीडितसम्म पुर्‍याइरहेका छौँ । अझै पनि यो प्रयास निरन्तर जारी नै छ ।

अन्तर्राष्ट्रिय सहयोग

नेपालमा विनाशकारी महाभूकम्प आउनासाथै तत्काल विदेशी मित्रराष्ट्रले उद्धार र राहत वितरणमा जुन चासो देखाए, उनीहरूले जे जसरी सहयोग उपलब्ध गराए, त्यो प्रशंसनीय छ । यस्तो महाविपत्तिमा मित्रराष्ट्रले हामीलाई अत्यन्तै ठूलो गुन लगाएर मानवता प्रदर्शन गरेका छन् । तर, यही मानवताको खोलभित्र अनेकखाले अन्य खेल पनि खेलिन सक्छन् भन्ने पक्षलाई पनि हामीले बिर्सन भने मिल्दैन । यस क्रममा हाम्रा विमानस्थलमा पुग्दा कतिपय मित्रराष्ट्रकै कारण हाम्रो उपस्थिति कता छ भनेर खोज्नुपर्ने अवस्था पनि देखियो । केही मित्रराष्ट्रले पीडितलाई सहयोग उपलब्ध गराउनभन्दा पनि नेपालमा आफ्नो प्रभुत्वशाली उपस्थिति देखाउन होडबाजी गरेका हुन् कि जस्तो पनि देखियो । अनि कतिपय अन्तर्राष्ट्रिय मिडियाले यहाँको यथार्थबारे अन्तर्राष्ट्रिय जगत्लाई सुसूचित गर्नुभन्दा पनि यहाँको अवस्थालाई अतिरञ्जित गर्ने प्रयास गरेको पनि देखियो । यस्ता केही कमी–कमजोरीका बाबजुद पनि यो राष्ट्रिय विपत्तिको घडीमा हाम्रा मित्रराष्ट्रबाट प्राप्त भएको हार्दिकतापूर्ण सहयोग अत्यन्त सराहनीय छ ।

उद्धारमा सरकारी र गैरसरकारी प्रयास

भूकम्पपीडितको उद्धार, घाइतेको उपचार, राहत वितरण तथा बसोबासको व्यवस्था मिलाउने कार्यमा सरकारले आफ्ना तर्फबाट सम्पूर्ण शक्ति लगायो । यस क्रममा नेपाली सेना, सशस्त्र र जनपद प्रहरी तथा निजामती कर्मचारीले खेलेको भूमिका अत्यन्त सराहनीय छ । यति हुँदाहुँदै पनि सरकारले जुन स्तरमा जे जसरी आफ्ना मातहतका निकायलाई परिचालन गर्न सक्नुपथ्र्यो, त्यसमा केही कमी–कमजोरी देखिएकै हो । तर, यो कसैको विरोध गर्ने र कमी–कमजोरी औँल्याएर रमिता हेर्ने समय होइन । जसले जति गरेको छ, त्यसलाई पनि गर्दै गरेन भन्नु हुँदैन । हामीकहाँ अर्कालाई गाली गर्ने र आफूचाहिँ केही पनि नगर्ने परिपाटी छ । अर्कालाई गाली गरेर आफूचाहिँ जिम्मेवारीबाट भाग्ने अनि प्रचारका लागि काम गरेजस्तो मात्र देखाउने प्रवृत्ति पनि यसपटक देखियो । मान्छेले भग्नावशेषभित्र च्यापिएको जीवित मान्छेलाई निकाल्ने क्रममा पनि पहिले फोटो खिच्ने अनि मात्र निकाल्ने गरेको पनि देखियो । यस्ता केही सानातिना कमी–कमजोरीका बाबजुद सरकार र निजी क्षेत्रबाट जे–जति तदारुकता देखाइयो, त्यसलाई सन्तोषजनक नै मान्नुपर्छ । उद्धारका क्रममा हाम्रा अनेकौँ गैरसरकारी संस्थाले देखाएको तदारुकता प्रशंसनीय छ । रेडक्रस, स्काउट, लायन्स क्लब, लियो क्लब, रोटरी क्लबजस्ता संस्था र अन्य विभिन्न गैरसरकारी संस्थाको सहयोगको हामीले उच्च मूल्यांकन गर्नैपर्छ ।

पुनर्निर्माण र पुनस्र्थापनाको बहस

भूकम्पपछिको पुनर्निर्माण र विस्थापितलाई पुनस्र्थापित गर्ने विषयमा संसद्को विकास समितिमा पनि छलफल भइरहेको छ । प्रभावित विभिन्न जिल्लामा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्दा भूकम्पपछि झन्डै चार/पाँच लाख घर बस्न नहुने अवस्थामा छन् । दुई लाखको हाराहारीमा त घर पूर्णत: ध्वस्तै भएका छन् भने तत्काल नभत्के पनि बस्न नहुने अवस्थाका घरहरूको संख्या त्यसको दोब्बरभन्दा बढी छ । बर्खा निकै नजिक छ । त्यसैले पनि यो बर्खालाई धान्न सक्ने गरी अस्थायी घरको व्यवस्था नगरी हुँदैन । सामान्य पालले मात्र बर्खा धान्न सक्दैन । स्थानीयस्तरमै उपलब्ध हुने साधन–स्रोत र जस्तापाता प्रयोग गरी हामीले तत्काल सम्पूर्ण विस्थापितलाई अस्थायी रूपमा पुनस्र्थापित गर्न सकेनौँ भने बर्खामा अहिलेभन्दा पनि ठूलो विपत्ति आइलाग्ने निश्चित छ । त्यसैले हामीले अस्थायी शिविर खडा गर्ने दिशामा तत्काल योजनाबद्ध ढंगले अघि बढ्नु जरुरी छ । यतिखेर सुरक्षित देखिएका भवनको पनि प्राविधिक परीक्षण गरिनु आवश्यक छ भने अबका दिनमा बन्ने कुनै पनि भौतिक संरचना निर्माण गर्दा हाम्रो सम्पूर्ण इन्जिनियरिङ क्षमता प्रयोग गर्नुपर्छ । भौगर्भिक अध्ययनका साथ योजनाबद्ध ढंगबाट अघि बढ्नु जरुरी छ । सरकारी निकायमा रहेका जागिरे प्राविधिकको मात्र बुताले भ्याउने काम होइन यो । त्यसैले एकीकृत रूपमा सम्पूर्ण प्राविधिक जनशक्तिलाई परिचालित गर्न सक्नुपर्छ । यसका लागि एउटा छुट्टै अधिकारसम्पन्न संयन्त्र आवश्यक पर्छ ।

पुनर्निर्माण आयोग या यस्तै कुनै नाम दिएर शक्तिशाली संयन्त्र खडा गरी त्यसैले सम्पूर्ण निर्माण कार्यको नेतृत्व लिनुपर्छ । त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ निकायद्वारा उपलब्ध गराइने सम्पूर्ण पुँजीलाई एकत्रित गरी परिचालित गर्नुपर्छ । यसले दाताहरूको सहयोग सही रूपमा सदुपयोग भइरहेको छ र भविष्यमा पनि दुरुपयोग हुनेछैन भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ । यतिखेर व्यक्तिगत निवासदेखि सरकारी कार्यालय, अस्पताल, स्कुल, कलेज, विश्वविद्यालय, स्वास्थ्य चौकी आदि पनि ध्वस्त भएका छन् । तिनीहरू सबैको पुनर्निर्माण गर्न सम्पूर्ण राजनीतिक शक्तिदेखि राज्यका सम्पूर्ण निकाय एकजुट भई लाग्नुपर्छ । जहाँसम्म नागरिकहरूका व्यक्तिगत आवासको सवाल छ, त्यसका लागि राज्यले निश्चित रकम सहयोगस्वरूप उपलब्ध गराउनुपर्छ । अबका दिनमा मुलुकका जुनसुकै कुनामा बन्ने संरचना यस्तो विनाशकारी भूकम्पको धक्का थेग्न सक्ने गरी भूकम्पप्रतिरोधी बन्नैपर्छ । यसका लागि हामीले देशभरका सम्पूर्ण गाविस तथा नगरपालिकामा स्पष्ट भवन निर्माण आचारसंहिता र मापदण्ड कडाइसाथ लागू गर्नुपर्छ । अब बन्ने हाम्रा निजी, सरकारी तथा व्यावसायिक जुनसुकै भवन भूकम्पप्रतिरोधी बन्नैपर्छ । किनकि, कसैले चाहँदैमा भूकम्पलाई रोक्न सकिँदैन, तर जनतादेखि राज्यसम्म सबै आजैदेखि सचेत हुने हो भने भविष्यमा विनाशकारी भूकम्पबाट हुनसक्ने सम्भावित क्षति अवश्यै कम गराउन सकिन्छ । सम्भव भएसम्म संयुक्त आवास क्षेत्र निर्माण गरी बाटाघाटो, बिजुली, पानी, स्कुल, कलेज, अस्पताल, टेलिफोनजस्ता सम्पूर्ण अत्यावश्यक सुविधा एकीकृत रूपमा उपलब्ध गराउने दिशामा हामीले प्रयत्न गर्नुपर्छ । युद्धस्तरमा हामी सबै लागिपर्ने हो भने यो काम हामी वर्षदिनभित्रै पनि सम्पन्न गर्न सक्छौँ । यदि हामीले समयमै पुनर्निर्माण र पुनस्र्थापनालाई टुंग्याउन सकेनौँ भने त्यसले अर्को महादुर्घटना निम्त्याउन पनि सक्छ भन्नेतर्फ हामी सबै सचेत हुनैपर्छ ।

यो लेख नयाँ पत्रिका दैनिकमा प्रकाशित छ |