सार्वजनिक यातायातलाई सुधार नगरी देश सभ्य हुदैन

पोखरा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद रविन्द्र अधिकारीले सार्वजनिक यातायातमा सुधार नगरी देशलाई सभ्य बनाउन नसकिने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अञ्चल स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सोमबार उद्घाटन गर्दै अधिकारीले सभ्यता जाच्नको लागि बनाएको सूचकमा सार्वजनिक यातायात दोस्रो या तेस्रो स्थानमा पर्ने बताए । सार्वजनिक यातायातमा सुधारको लागि सवारी चालकको मुख्य भुुमिका हुने उल्लेख गर्दै व्यवस्थापिका संसद विकास समितिका सभापति समेत रहेका अधिकारीले सवारी चालकको बोलीचाली, बानि व्यवहारमा सुधार गर्नको लागि प्रशिक्षण आवश्यक भएको धारणा राखे ।

रोजगारीलाई शिक्षा संग जोड्नुपर्ने खाचो औल्याउदै सभासद अधिकारीले यातायात मजदुरको तालिम सञ्चालनको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सरकारले माध्यमिक तहको शिक्षालाई निशुल्क र अनिवार्य गरेको परिप्रेक्षमा नयाँ सवारी चालक अनुमति पत्र लिदा कक्षा १० वा सो सरहको तालिम लिनुपर्ने मापदण्डलाई अव्यवहारिक भन्न नमिल्ने चर्चा गर्दै अधिकारीले लाइसेन्स प्राप्तीको प्रक्रियामा इन्स्टीच्युटले व्यवहारिक तालिमको कोर्ष बनाएर कक्षा १० सरहको मान्यता दिनु पर्ने विचार व्यक्त गरे । सवारी चालक अनुमति पत्र लिनेले अक्षर, संकेत, चिन्ह बुझ्न पर्ने उल्लेख गर्दै सभासद अधिकारीले सिप आफ्नै लागि भएकोले मेहनत गरेर सिक्नु पर्ने सुझाव दिए । उनले सेवा सुविधा र अवसरबार कसैले रोक्न खोजे आन्दोलन गर्नु पर्ने भए पनि सिप बढाउने कुरालाई अवसरको रुपमा लिन यातायात मजदुरलाई आग्रह गरे ।

सार्वजनिक यातायात सञ्चालन नियमावली २०७१ ले सवारी चालक अनुमति पत्र लिदा कक्षा १० पास गरेको हुनु पर्ने मापदण्ड प्रस्ताव गरेको विषयमा यातायात मजदुरहरुले विरोध गर्दै आएका छन् । सभासद अधिकारीले नयाँ सवारी अनुमति पत्र लिदा कक्षा १० पास गरेको मापदण्ड जायज हुन सक्ने भए पनि पुरानालाई नविकरण गर्दा कक्षा १० पास गरेको शैक्षिक प्रमाण पत्र खोज्नु न्यायोचित नभएको बताए । त्यस विषयमा सरोकारवाला संग बसेर कार्यशाला गरेर राय लिने जानकारी दिदै सभासद अधिकारीले यातायात मजदुर संग न्यूनतम सहमति नभई नियमावली जारी नगर्ने आश्वासन दिए । सडक तथा सवारी साधनको अवस्था, पैदल यात्रु, छाडा चौपायाको कारणले समेत सवारी दुर्घटना हुने भएको उल्लेख गर्दै अधिकारीले दुर्घटनाको सबै दोष सवारी चालकलाई थोपरेर सरकारी निकाय उम्कन नपाउने बताए । उनले सवारी चालकलाई अनुशासीत, दक्ष बनाउने काम सरकारको भएको टिप्पणी गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भिम ज्वाला राईले यातायात मजदुरले जानी जानी सवारी दुर्घटना नगराउने बताए । सवारी साधन अनुमति पत्र लिदा तथा नविकरण गर्दा कक्षा १० पास अनिवार्य गरे ९५ प्रतिशत यातायात मजदुर पेशाबाट विस्थापित हुने जानकारी दिदै महासचिव राईले आनीवानी, नैतिक शिक्षा र ड्राइभिङ्ग पाठ्यक्रमको तालिम नै यातायात मजदुरको शैक्षिक प्रमाणपत्र भएको तर्क गरे । यातायात मजदुरलाई कडा कानुन बनाएर दण्डीत गर्न खोजेकोमा आपत्ति प्रकट गर्दै राईले यातायात व्यवस्था विभागले दुर्घटना गराए सवारी चालकलाई दश लाख जरिवाना र पाच वर्ष कैदको प्रस्तावलाई यातायात स्वतन्त्र मजदुर संगठनले प्रतिवाद गरेको जानकारी दिए । संगठनका गण्डकी अञ्चल अध्यक्ष विष्णु बहादुर खत्री क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)राष्ट्रिय समिति सदस्य तथा गण्डकी धौलागिरी अध्यक्ष मिना गुरुङ, संगठनका उपाध्यक्ष कृष्ण बहादुर पाण्डे, सचिव कमल प्रसाद पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रममा संगठनका महासचिव भिम ज्वाला राई, पुर्व महासचिव रुद्र बहादुर खत्री, बाग्मती अञ्चल अध्यक्ष तथा शिक्षा विभागका सदस्य नवराज घिमिरेले आधारभुत ज्ञान, यूनियन व्यवस्थापन, जिफन्ट र संगठन विचको समन्वय, संगठन निर्माण रणनिति, दुर्घटना र राज्यको नितिबारे प्रशिक्षण दिएका थिए ।

यो लेख बिग न्युज मा  प्रकाशित छ