नेपालमा माओवादी आन्दोलनको तीव्र विस्तार र तीव्र विघटनले राजनीतिमा हतियार प्रयोग नगरी परिवर्तन हुँदै हुँदैन भन्ने एउटा उग्र सैद्धान्तिक मान्यता आफैँ खण्डित भएको छ । सामाजिक–आर्थिक विकृतिमाथिको असन्तुष्टि उपयोग गरेर जुन रूपमा विद्रोह संगठित गरियो र भूराजनीतिक सन्तुलनका आयामलाई उपयोग गरेर जुन रूपमा माओवादी आन्दोलनले सामरिक शक्ति आर्जन गर्यो, राजनीतिको सफलता त्यत्तिमै निहित हुँदैन भन्ने पनि यसले उजागर गरिदिएको छ । माओवादमा आफ्नो विश्वास भएको बताउने पार्टीहरूको विभाजन, विघटन र राजनीतिक दिशाहीनताले त्यसको संकेत गर्छ । पार्टीहरू विभाजन हुनुमा नेतृत्वको आकांक्षा र व्यक्तिगत मनमुटाव एउटा कारण हुन सक्छ । तर, माओवादी समूहहरूको विभाजन र विघटनपछाडिका कारण उनीहरूको राजनीतिक दिशाहीनता नै हो।
माओवादी समूहको विकास र विघटनका चारवटा आयाम छन् । पहिलो यो कसरी उद्भव भयो र यसले कसरी ठूलो आकार लियो ? त्यसलाई हेर्नुपर्छ । बहुदलीय व्यवस्था स्थापनापछि बहुदलीय व्यवस्थाले जेजस्ता सामाजिक–आर्थिक आकांक्षाको सम्बोधन गर्नुपथ्र्याे त्यो हुन सकेन । दोस्रो, राजनीतिक दलहरू पञ्चायतको प्रतिबन्धित कालमा आदर्शका शिखर र कञ्चन विम्ब बोकर समाजमा स्थापित थिए । तर, बहुदल आएपछि तिनै दलभित्र विकृति हुर्किए । जसले जनविश्वास घट्दै गयो । नेताहरूको चरित्रमा केही दाग लाग्यो । ०४६ को परिवर्तनपछि समाजमा हुनैपर्ने केही परिवर्तन ढिलो भइदिँदा विद्रोहका लागि माओवादीलाई उर्वर जमिन फेला पर्यो । त्यतिवेला कांग्रेसको सर्वसत्तावादी चरित्रलाई चुनौती दिनेगरी हामीले सबैलाई समेट्न सकेनौँ । त्यस व्यवस्थाको शक्ति सन्तुलनमा एउटा हिस्सा राजसंस्था पनि थियो । राजाले बहुदलीय व्यवस्थालाई असफल पार्न चाहेका थिए । राजा कम्युनिस्ट त हुन सक्दैनथे, तर आफ्नो गुमेको अधिकार फर्काउने र बहुदलीय व्यवस्थालाई धराशयी बनाउने प्रयोजनका लागि माओवादी विद्रोह उपयोग गर्ने रणनीतिमा दरबार उभियो र माओवादी त्यसमा उपयोग भयो पनि । माओवादीले आफ्नो बेसिक सैद्धान्तिक धरातलबाट भन्दा बढी समाजमा रहेको अव्यवस्था र प्रजातन्त्रका खराबीमा खेल्न रुचि राख्यो । वेला–वेला राजासँगको कार्यगत एकताका कुरा माओवादी नेताहरूबाट सार्वजनिक भएकै हुन् ।
यदि साँच्चिकै सैद्धान्तिक प्रस्तावनाबाट माओवादी आन्दोलन विकसित भएको भए आज यो दुर्भाग्यको सिकार हुनुपर्ने थिएन । यसको अर्थ उसको विचारको जग बलियो थिएन । जस्तो, माओवादी नेता–कार्यकर्तामा जुन विकृति र विसंगति देखिए, त्यत्रो लडाइँ लडेको पार्टीभित्र यस्तो देखिनुमा उसको सिद्धान्तको धरातल सही थिएन भन्ने नै मुख्य हो । समाजमा हेलाहोचो, थिचोमिचो भएपछि एउटा न एउटाले असन्तुष्टिलाई संगठित गरेर विद्रोहको अगुवाइ गथ्र्याे, त्यो उसले गर्यो । तर, विद्रोहको अगुवाइ गर्नु र सैद्धान्तिक प्रस्तावना सही हुनु बेग्लै हो । विद्रोहका लागि सामाजिक–आर्थिक वातावरण चाहिन्छ, माओवादीले त्यसलाई उपयोग गर्यो, त्यत्ति हो । विद्रोहलाई समृद्धिमा बदल्ने सिद्धान्त ऊसँग थिएन । असन्तुष्टिलाई विद्रोहमा बदल्न सक्यो, तर त्यसलाई कहाँ पुर्याउने भन्नेमा ऊसँग राजनीतिक सैद्धान्तिक प्रस्टता थिएन ।
सामाजिक पृष्ठभूमिबाट माओवादी आन्दोलनको उत्थान भए पनि यसको सामरिक विकास अर्कै तरिकाले भयो । नेपालको सामन्ती राजतन्त्र बहुदलीय प्रजातन्त्रप्रति सन्तुष्ट थिएन । अर्काे नेपालको राजनीतिमा जहिले पनि बाहिरिया प्रभाव रहँदै आएको थियो । नेपालको अस्थिरतामा आफ्नो भविष्य देख्ने बाहिरी शक्ति आफ्ना स्वार्थ पूरा गर्न त्यसलाई साथ दिने बिन्दुमा पुग्यो । विकासका लागि हेलिकोप्टर पनि दिने र त्यसलाई झार्ने बन्दुक पनि दिने यो कुराको प्रभाव पर्यो । माओवादीको हिंसात्मक शक्तिको आयाम त्यही थियो र उसले शक्तिका रूपमा विकास गर्यो । पहिला कांग्रेस–एमाले र त्यसका नेताहरू बिपी, पुष्पलाल पनि प्रवासमा बसेर काम गरेका थिए । त्यसले माओवादीलाई पनि क्रान्तिकै लागि गरिरहेका छन् भन्ने बनाइदियो । तर, त्यो एक प्रकारले उनीहरू प्रयोग भइरहेका थिए भन्ने पछिल्ला घटनाक्रमले देखिन्छ । एसडी मुनिको पुस्तक या अरू धेरै दस्ताबेजले पनि यसलाई उजागर गरेको छ ।
तर, एउटा कुरा माओवादीले आफ्नो शक्ति विस्तार गरिरहँदा त्यहाँ इमानदारी थिएन भन्ने होइन । कार्यकर्तामा इमानदारी, निष्ठा, त्याग, बलिदान सबै थियो । तर, त्यो सबै शक्ति आर्जनमा केन्द्रित थियो र त्यसलाई चलाउने शक्ति अर्कै रहेको अवस्था थियो । सत्ता प्राप्त गर्न साधन जस्तोसुकै होस्, तर सत्ता चाहियो भन्ने ठाउँमा पुग्यो । राजासँग मिलेर दलहरूविरुद्ध प्रहार र भारतसँग मिलेर नेपालका राजनीतिक शक्तिमाथिको प्रहार त्यही उपयोगको राजनीति थियो । जुन सिद्धान्तको जगविहीन थियो । तर, यसले कहाँ पुर्यायो भने माओवादीले अन्य शक्तिको उपयोग होइन, माओवादीलाई अन्य शक्तिले उपयोग गरे ।
माओवादीलाई गाली गर्न इतिहास अध्ययन गरिरहनुपर्दैन बरु भविष्यको निर्देशका लागि माओवादी आन्दोलनको अध्ययन गर्नुपर्ने हुन्छ । यदि नेपालमा फेरि पनि सामाजिक–आर्थिक मुद्दालाई बेवास्ता गर्ने र विकृतिजन्य चरित्र हुर्काउने हो भने कसै न कसैले फेरि विद्रोह गर्छ भन्ने बुझ्नुपर्छ । माओवादीले जसरी बन्दुक उठायो फेरि कसैले विद्रोहको नेतृत्व उसैगरी गर्छु भनेर आयो भने पनि त्यसले पनि माओवादीको अवसानबाट सिक्नुपर्ने हुन्छ । असन्तुष्टिहरूको उपयोग मात्रैले ठीक ठाउँमा पुर्याउँदैनन् भन्ने सिक्नका लागि माओवादी गतिलो उदाहरण हो । विप्लवले जे सोचेर विद्रोहको नेतृत्व गर्ने भन्नुभएको छ त्यो वाहियात कुरा हो । कुनै न कुनै बिन्दुमा पुगेपछि हतियार त बोक्नैपर्छ भन्ने जबर्जस्त मान्यता नेपालको राजनीतिक आन्दोलनमा एउटा विचारका रूपमा आएको थियो । त्यसलाई माओवादी आन्दोलनले पाठ: सिकाइदियो । ए साँच्चै पो हो कि भनेर सैद्धान्तिक हिसाबले बन्दुकको आवश्यकता ठान्नेहरू पनि भ्रमबाट मुक्त भए ।
जनताको परिवर्तनको चाहना, भूराजनीतिक उपयोग र दरबारको प्रजातन्त्रविरोधी आकांक्षा तीनवटा केस्राको सम्मिश्रण नेपालको माओवादी आन्दोलन हो । यसप्रकारको प्रयोगको आन्दोलनबाट तीनै पक्षको नाश भएको छ । दरबारको हिजो प्रजातन्त्रप्रति असन्तुष्टि थियो, तर माओवादी विद्रोहलाई रणनीतिक उपयोग गर्दा उसको नाशै भइसकेको छ । उसले अस्तित्व नै गुमायो । उसले अर्काे आकारमा प्रयास गर्न सक्छ । दरबार छैन, तर धर्म र अनेकन् नाममा त्यसले त्यो प्रयास गरिरहेको देखिन्छ । उसको उद्देश्य यो प्रक्रियालाई असफल पार्ने नै हुनेछ ।
बाहिरियाहरू नेपालमा राम्रो होस् भन्ने अझै चाहँदैनन् । माओवादीको अहिलेको विभाजन र वैद्यसँग पनि चन्दको अलगावलाई अस्थिरताको त्यही चक्रका रूपमा उपयोग गर्न त्यो शक्ति तम्सेको हुन सक्ने देखिन्छ । जनताको बलिदानी भावना भने जहाँको तहीँ भए पनि यस्तो निश्चित आग्रह, द्वेष र महत्त्वकांक्षाबाट मात्रै हुने कुनै गतिविधिले सफलता पाउँदैन र लाग्नेले उपलब्धि हासिल गर्न सक्दैन । अन्तत: एक–दुई हजारले आफ्नो हैसियत बदल्नेबाहेक यसबाट केही प्राप्त हुँदैन । जनता र देशको नाममा आफ्ना निजी स्वार्थ पूरा गर्ने र त्यसलाई परिवर्तन साबित गर्ने कोसिस आज पनि भइरहेको छ । कुनै पनि आधारबाट यो खालको चरित्र परिवर्तनकारी थियो भनेर पुष्टि गर्न सकिँदैन ।
परिवर्तनको साँच्चै आयाम भनेको उत्पादन सम्बन्ध बदल्न उत्पादक शक्तिको विकासमा जोड दिनु हो । त्यसमा कुनै चासो छैन । जतिवेलासम्म उत्पादक शक्तिको विकास हुँदैन त्यसवेलासम्म समाजको चरित्र बदलिँदैन । राजनीति फेरिन्छ, शासन गर्ने व्यक्ति र दल फेरिन्छन्, जनता जहाँको त्यहीँ हुन्छन् । उत्पादन सम्बन्धदेखि दल चलाउने पद्धति, सोच सबै सामन्ती छन् । एमालेले सामाजिक–आर्थिक रूपान्तरणको कार्यदिशा त्यस हिसाबले बनायो । एमाओवादीले त्यसको अनुसरण गर्न खोज्यो, तर उसले त्यसलाई उत्पादन ब्रिगेड भन्न थाल्यो ।
सामाजिक–आर्थिक रूपान्तरण एमाले र एमाओवादीले एउटै भनेका होलान्, तर ब्रिगेडबाटै प्राप्त गर्ने असैद्धान्तिक बाटोमा ऊ गयो । जुन चीनदेखि संसारभर असफल भयो । यो चिनियाँ सांस्कृतिक क्रान्तिको मोडेल हो, उहिल्यै असफल भएर चीनले आफूलाई बदल्यो । यहाँ त्यही असफल प्रयोग एमाओवादीले गर्न खोजिरहेको छ । उत्पादन ब्रिगेड र समूहबाट हुँदैन । पोलिसीमा गाइडेड हुन्छ, तर उत्पादन ब्यारेकबाट हुँदैन । आर्थिक विकासको फाउन्डेसन ५० जना जम्मा हुने र घर बनाई नसकुन्जेल नछाड्ने भन्ने कुरा जस्तो हुँदैन । यसका बहुआयाम हुन्छन् । निर्देशित तवरले आर्थिक विकास हुँदैन । यसमा माओवादी सिद्धान्त नै दोषी छ ।
जुनसुकै समूहमा रहेका माओवादी हुन् उनीहरू सबैको अहिलेको निष्कर्ष माओवादी आन्दोलनको विघटन भयो भन्ने नै छ । विसर्जन स्वीकार गरेरै विप्लवजी अब म बाल्छु भनेर आउनुभएको छ । प्रचण्डको समस्या न परिवर्तनलाई आत्मसात् गरेर नयाँ ढंगले जान सक्नुभयो, न पुरानो बाटो नै फर्कन लायक छ । न हाँसको चाल न बकुल्लाको चाल भनेझैँ हुनुहुन्छ उहाँ । प्रचण्डको जाने अर्काे ठाउँ छैन । उहाँ परिवर्तनलाई आत्मसात् गर्न जति ढिलाइ गर्दै हुनुहुन्छ त्यति नै कमजोर हुनुहुनेछ । संविधान निर्माण, शान्तिप्रक्रियाका बाँकी काम छाडेर अझै पुरानो धङधङीमा हुनुहुन्छ । कुन बाटो हिँड्दै छु भन्ने उहाँलाई नै थाहा छैन । उहाँभन्दा बढी धङधङीमा वैद्यजी र अझ त्योभन्दा पनि बढी धङधङीमा विप्लवजी हुनुहुन्छ ।
हाम्रो मान्यता यो हो भन्ने स्पष्ट ‘मुभ’ प्रचण्डको छैन । उहाँले बुझ्नुपर्ने कुरा के हो भने माओवादी स्टाइलले आजको समाजको अगुवाइ हुन सक्दैन । आजको सामाजिक चरित्रसँग उहाँहरूको विचार र कार्यशैली मेल खाँदैन । आजको समाजमा आन्तरिक चरित्र डेमोक्रेटिक हुनैपर्छ । भाषण गरेर मात्रै हुँदैन ‘इन्क्लुसिभ’ हुनैपर्छ । तर, एउटा व्यक्तिमा पावर खिचिएको पद्धति उहाँहरूको छ । सामाजिक–आर्थिक रूपमा समाजलाई बदल्ने स्पष्ट कार्ययोजना, व्यवहार केही छैन उहाँहरूसँग । उहाँहरूका भाषणहरू सबैभन्दा क्रान्तिकारी होलान् । अरूलाई नानाभाँतीका गाली र पुराना शक्ति भन्ने र आफूलाई नयाँ शक्ति भन्ने घोषणा होलान् । तर, त्यो भाषणबाट मात्रै पार लाग्दैन । परिवर्तनकारी भनेर माओवादीलाई कसले पत्याइदिन्छ ? पार्टी कमिटी ऋणमा डुबेको छ भन्ने कुरा आउँछ । नेताका छोराको बिहे आइसीको माला लगाएर भएको तस्बिर पनि सँगसँगै आउँछ । भन्नलाई भनिएको छ– नेताको व्यक्तिगत जीवन नै हुँदैन, सबै पार्टीकरण गरिएको हुन्छ । जब समाजले यस्तो देख्छ र पार्टीभित्रै यस्तो छ, त्यो पार्टीलाई परिवर्तनकारी भनेर कसले पत्याउँछ ? आफूभित्रै त्यस्तो व्यवहारमा गोलमाल छ, सिद्धान्तमा अस्पष्टता छ, त्यसले परिवर्तन गर्छ भनेर अब कसैले पत्याउँदैन ।
अब सिद्धान्तका अक्षरमा हेरेर मान्छेले पार्टीसँग व्यवहार गर्दैनन् । शब्दबाट नयाँ जार्गनहरू खडा गरेर अबको राजनीति चल्दैन भन्ने अझै प्रचण्डजीले बुझ्नुभएको छैन । उहाँ अझै भन्नुहुन्छ– कांग्रेस एमाले पुराना र हामी नयाँ परिवर्तनकारी शक्ति । उहाँहरू कस्तो परिवर्तनकारी भन्ने कुरा व्यवहारबाटै जनताले बुझिसकेका छन् ।
समग्रमा माओवादीको भविष्य अन्धकारमा छ । पहिलो, उसले आफूलाई करेक्सन गरेर माओवादको बाटो छोडेर बृहत् वामपन्थी एकतामा आउनुपर्छ । यसबाट समाजवादी कम्युनिस्ट पार्टी निर्माण गर्न सकिन्छ । एमाले समाजिक मूल्यहरूसँग स्थापित पार्टी भएकाले त्यसको नेतृत्व एमालेले गर्न सक्छ । दोस्रो, आफूलाई नढाँटी, ढोङ प्रस्तुत नगरी राजनीतिक जमिनमा हिँडेर केही समय रहन सक्छ, नत्र उसको विघटन अवश्यम्भावी छ ।
(अधिकारी एमाले केन्द्रीय सदस्य हुन्) यो लेख नयाँ पत्रिका दैनिकमा प्रकाशित छ |