प्रश्नावली समितिले भोलिदेखि प्रश्न बनाउने

काठमाडौं । संविधानसभामा निर्णयार्थ पेश गर्न प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको पहिलो बैठकले एक उपसमिति बनाएको छ ।

यो कार्यदलले समितिको काम कसरी अगाडि बढाउने र निर्णय प्रकृया के हुने भन्ने कार्यविधि तयार पार्ने छ ।

उपसमितिका संयोजक रमेश लेखक छन् भने सदस्यहरुमा अतहर कमाल मुसलमान, भानुभक्त ढकाल, किरण यादव, दिपक बोहरा, श्रीमाया थकाली र दिलनाथ गिरी छन् ।

समितिको बैठक सुरु हुनासाथ जेष्ठ सदस्यका रुपमा अध्यक्षता गरेका कूलबहादुर गुरुङले कार्यविधि निर्माणका लागि उपसमिति गठनको प्रस्ताव गरेका थिए ।

बैठकले एमाओवादी सहितको विपक्षी गठवन्धनलाई समितिमा सहभागी हुन आग्रह गर्ने निर्णय पनि गरेको छ । समितिको बैठक करिब दस मिनेट मात्र चलेको थियो । समितिको कार्यकाल आजका मितिबाट पाँच दिन हुनेछ । questionire_comittee

समिति आजबाट ५० सदस्यीय भएको छ । जनता दलका हरिचरण शाह विपक्षी गठवन्धन त्यागेर सत्तापक्षीय गठवन्धनमा लागेपछि उनी आजबाट समितिमा थपिएका हुन् ।

समितिका जेष्ठ सदस्य कूलबहादुर गुरुङ नेपालगञ्जबाट फर्कन ढिला भएकाले एक बजेका लागि निर्धारित बैठक ढिला सुरु गरिएको थियो ।

समितिको बैठक सकिनासाथ कार्यविधि बनाउने उपसमितिको बैठक बसेको छ । उपसमितिले भोलिभित्र कार्यविधि बनाउने र भोलि दिउँसो एक बजे बस्ने समितिको बैठकमा कार्यविधि पेश गर्ने जानकारी कांग्रेस सभासद पूर्णबहादुर खड्काले दिए । कार्यविधि बनेपछि मात्र प्रश्नावली बनाउने काम थालिने भएको छ । news vitta बाट