सूचना तथा सञ्चार र …स्थानीय विकास मन्त्रालयलाई दिएका निर्देशनहरुको कार्यान्वयन प्रगति

व्यबस्थापिका संसद्को बिकास समितिका माननीय सभापति रबिन्द्र अधिकारीको सभापतित्वमा बसेको आजको बैठकमा समितिले सूचना तथा सञ्चार मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई हाल सम्म दिएका निर्देशनहरुको कार्यान्वयनको विद्यमान अवस्था, कार्यान्वयनको सिलसिलामा देखिएका समस्याहरु, चुनौतिहरु र समाधानका लागि गरिएका प्रयासहरुका सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा मातहत निकायहरुसँग छलफल गर्यो । समितिले दिएका निर्देशनहरुको कार्यान्वयनको वस्तुस्थितिको समिक्षा एवं मूल्यांकन समेत गर्दै देहाय वमोजिम निर्णय गरेको छ ।

१. समितिले दिएका निर्देशनहरुको कार्यान्वयनको यथार्थ वस्तुस्थिति तथा भएको कार्य प्रगतिको सम्बन्धमा आवधिकरुपमा समितिमा प्रतिवेदन उपलब्ध गराउन यस अघि विभिन्न मितिमा निर्देशन दिइएकोमा हालसम्म आवधिकरुपले यस्ता प्रतिवेदनहरु समितिलाई प्राप्त हुन नआएको मा समितिको गम्भिर ध्यानाकर्षण भएको छ र यस्ता प्रतिवेदनहरु आवधिकरुपमा (आवश्यक भए निर्देशनहरुको वर्गीकरण समेत गरी) उपलब्ध गराउन समिति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयलाई पुनः निर्देशन गर्दछ ।
२. समितिले हालसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय र मातहत निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था सामान्य सन्तोष जनक नै भए पनि समितिले अपेक्षा गरे बमोजिमको स्तरमा भएको नपाइएको साथै समितिले निर्देशन दिंदा सम्बन्धित पक्षसँग छलफल गरेर मात्र दिने गरेको अवस्थामा दिएका निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्न र निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्न समस्या, चुनौति भए छलफलको क्रममा स्पष्ट रुपमा राख्न माथी उल्लेखित निकायहरुलाई समिति निर्देशन गर्दछ ।
३. समितिले दिएका निर्देशनहरुको प्रभावकारी कार्यान्वयनको लागि संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय तथा सूचना तथा सञ्चार मन्त्रालय र मातहत निकायलाई (विभाग स्तरसम्म) मा Focal Person तोकी कार्यसम्पादन गर्न र Focal Person को नाम समितिलाई उपलब्ध गराउन समेत समिति उल्लेखित निकायलाई निर्देश गर्दछ ।
४. ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पूर्वाधारहरुको विकास, विस्तार गर्न, गुणस्तरीय सेवा प्रवाह सम्बन्धमा अन्तराष्ट्रिय स्तरको मापदण्ड निर्माण गरी सो अनुरुप सेवा प्रवाह गर्न र सूचना प्रविधिको उपयोग पहुँच वृद्धि गर्न ग्रमीण दूर सञ्चार विकास कोष उपयोग गर्नेगरी आवश्यक नीति निर्देशिका बनाइ कार्यान्वयनमा ल्याउन समिति सूचना तथा सञ्चार मन्त्रालय र मतहत निकायलाई निर्देश गर्दछ ।
६. स्थानीय स्तरमा हुने सेवा प्रवाहलाई सहज, सरल एवं प्रभावकारी बनाउन आवश्यक संयन्त्रहरु तत्कालै निर्माण गरी कार्यसञ्चालन गर्न, प्रभावकारी सेवा प्रवाह गर्न मापदण्ड बनाई मापदण्ड पूरा गर्नलाई प्रोत्साहन गर्न प्रोत्साहन कोष खडा गरी कार्यान्वयनमा ल्याउन तथा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गत हुने विकास निर्माणका कामलाई तिव्रता दिन तथा अनुगमन प्रणालिलाई प्रभावकारी बनाउन समिति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पुनः निर्देश गर्दछ ।
७. समग्र दूर सञ्चार क्षेत्रको विकास गर्न तथा विशेष गरी ग्रामीण दूरसञ्चार सेवाको विकास तथा विस्तार गर्ने सन्दर्भमा स्याटेलाइटको प्रयोग सम्बन्धी नेपाल सरकारको नीति÷धारणा समितिलाई उपलब्ध गराइदिने तथा शहरी क्षेत्रमा अव्यवस्थित रुपमा रहेका टेलिभिजन, टेलिफोन, टि.भी. केवलहरु तथा इन्टरनेटका तारहरुलाई व्यवस्थापन गर्न समिति सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गर्दछ ।
८. नगरपालीका घोषणा सम्बन्धमा उपसमितिले पेश गरेको प्रतिवेदन समितिमा छलफल हुनकासाथै आवश्यक कार्यार्थ सम्बन्धित निकायमा पठाउने गरी पास गरियो ।

श्रोत: समितिको सचिवालय