सहमतिमै संविधान जारी हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलबीच अधितकम सहमति जुटाएर भए पनि समयमै संविधान जारी गरिने बताउनुभएको छ ।

संयुक्त विद्यार्थी सङ्गठनले निर्धारित मितिमै संविधान जारी गर्नुपर्ने दबाब अभियान अन्तर्गत मंगलबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगी बुझाएको ध्यानाकर्षणपत्र लिँदै उहाँले माघ ८ भित्र वा त्यसभन्दा अगाडि नै संविधान जारी गर्न सहमतिको प्रयास भइरहेको बताउनुभयो ।

नेता ओलीले भन्नुभयो, “सङ्घीयता र शासकीय स्वरूपका विषयमा सकारात्मक सहमति भइरहेको छ, जति सक्दो थोरै प्रदेश बनाएर जानुपर्छ, माघ ८ भन्दा अगाडि नै विवादित विषयमा टुङ्गो लाग्छ ।”

विद्यार्थी सङ्गठनका तर्फबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष किशोरविक्रम मल्ल, नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछाने र अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष रमेश मल्लले समयमै संविधान जारी गराउनका लागि विद्यार्थी सङ्गठनले दबाबमूलक आन्दोलन जारी राख्ने बताउनुभयो ।

समयमै संविधान निर्माण गर्नुपर्ने, सवारी भाडावृद्वि वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्नेलगायत माग ध्यानाकर्षणपत्रमा उल्लेख छ । विद्यार्थी सङ्गठनले सोमबार समयमै संविधान जारी गर्नुपर्ने माग राखी सभाध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।