फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी निर्णय

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।१२।२ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएका छन ।

समितिको आजको वैठकमा काठमाण्डौं–तराई÷मधेश (निजगढ) दु्रतमार्ग (Fast Track) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गतिलाई तिव्रता दिई कार्य सम्पादन गर्ने सम्वन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा माननीय पुर्व प्रधानमन्त्रीज्यूहरु, माननीय मन्त्रीहरु, क्षेत्रगत विशेषज्ञहरु, प्राज्ञहरु, एव सम्वद्ध निकायका पदाधिकारीहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग विस्तृत छलफल भयो । साथै छलफल पश्चात समितिले देहाय बमोजिमका निर्णय गर्यो ः

१. काठमाण्डौं–तराई÷मधेश जोड्ने निजगढ दु्रतमार्ग एवं निजगढ (दोश्रो) अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्वन्धमा यी आयोजनाका प्राविधिक पक्षहरुलाई अझ बढि स्पष्टताका साथ पूर्णता प्रदान गर्दै आयोजनाहरु निर्माणको मोडालिटिलाई स्पष्टता दिन, साथै देशको समग्र आर्थिक विकासमा योगदान दिने यस्ता महत्वपूर्ण आयोजनाहरु निर्माण गर्दा वाणिज्य दृष्ट्रिकोण (Commercial view point) बाट मात्रै नहेरी आफ्नैे स्रोत साधनबाट÷स्वदेशी लगानीबाटै पनि सम्पन्न गराउन सकिने तर्फ ध्यान दिन समिति नेपाल सरकारलाई निर्देश गर्दछ ।

२. निजगढ दु्रतमार्गको निर्माण तथा दोश्रो विमानस्थलको निर्माणबाट मुलुकलाई हुन सक्ने आर्थिक तथा सामाजिक प्रभाव तथा प्रतिफल महत्वपुर्ण रहेकोले यी योजना कार्यान्वयनका लागि राष्टिय निर्णय र संकल्प गर्दै निर्धारित समयमा नै कार्य सम्पादन गर्नका लागी प्राविधिक कार्यहरु तत्कालै प्रारम्भ गर्न र कुनै पनि चुनौतीबाट काम रोकिन नदिने वातावरण वनाई यी आयोजनाहरुको कार्य थालनी गर्न समिति नेपाल सरकारलाई निर्देश गर्दछ ।

३. काठमाण्डौं–तराई÷मधेश जोड्ने निजगढ दु्रतमार्ग एवं निजगढ (दोश्रो) अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्वन्धमा विगत लामो समय देखि चर्चा परिचर्चा भैरहेको साथै यी दुवै आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत गरिएता पनि जनअपेक्षित दु्रतस्तरमा कार्य सम्पादन हुन नसकेकोले आगामी २० वर्षमा हाम्रो यातायात प्रणाली कस्तो हुनेछ, आयोजनाहरु छनौटका आधारहरु के के हुन वा हुनेछन् जस्ता कुराहरु लगायत को अभाव देखिएकोले समितिको यो वैठक तत्कालै देशको समग्र यातायात क्षेत्रको विकाश सम्वन्धि सोच, दिर्घकालिन नीति तथा प्राथमिकता निर्धारण गर्न, सोहि अनुसारको कार्ययोजना बनाई कार्यसम्पादन गर्न, गराउन र विकासको प्रमुख आधारकोरुपमा रहेको यातायात सञ्जाल विस्तारको कार्यलाई प्रथामिकता दिन नेपाल सरकारलाई निर्देश गर्दछ ।

४. भौतिक पूर्वाधार विकासका नीतिगत अनुसन्धान तथा विश्लेषणमा तथा सरकारी नीति निर्माणमा सहयोग पुर्याउनका लागि विशेषज्ञहरुको समुह सहितको एक संयन्त्र श्रृजना गर्दा उपयुक्त हुने देखिन्छ । राष्ट्रिय महत्वका समग्र पुर्वाधार विकासको नीति निर्माण, आयोजनको छनौट विश्लेषण, लगानी तथा श्रोत परिचालन, अन्तराष्ट्रियस्तरमा नेटबर्किगं गर्ने, परामर्शदाताहरुको कार्यशर्त बनाउने लगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने कार्यका लागि राष्ट्रिय योजना आयोगमा भौतिक पूर्वाधार क्षेत्रका विज्ञहरु समेत रहने गरि एक नीति विज्ञ समूह Policy Group गठन गरि कार्य सम्पादन गर्ने तर्फ समिति नेपाल सरकारलाई निर्देश गर्दछ ।

५. यस विकास समितिको प्राथमिक चासो राष्ट्रिय गौरवका आयोजनाहरु हुन् । साथै यस्ता आयोजनाहरुको कार्यान्वयनका सन्दर्भमा देखिएका समस्याहरु, चुनौतीहरुलाई सुल्झाउन, समाधान गर्न यस समितिले सरकार÷कार्यपालीकालाई सहयोग गर्दै आईरहेको छ । समितिको वैठकमा देशको समग्र विकासका सन्दर्भमा आधारित भएर छलफल गरिने र तत्पश्चात मात्र निर्देशनहरु दिइने भएकोले निर्देशनहरुको परिपालना भए नभएको विषय समितिको गम्भिर चासोको विषय हुने गर्दछ । साथै निर्देशनहरुको पालनाको अवस्थाको जानकारी समितिलाई सामयिकरुपमा गराउनु पर्ने जिम्मेवारी सन्वन्धित निकायको भएकोले समितिले हाल सम्म दिएका निर्देशनहरुको कार्यवन्यनमा प्रतिवद्ध रहन, कार्य प्रगतिको प्रतिवेदन सामयिकरुपमा समितिलाई उपलव्ध गराउन समिति नेपाल सरकारलाई निर्देश गर्दछ ।

श्रोत : समितिको सचिवालय