ककस जाग्यो, आदिवासी ककस बन्यो, दलितको पनि बन्ने

काठमाडौं। अघिल्लो संविधानसभा मृत्युको धेरै रोगमध्ये एउटा रोग मानिएको ‘ककस’ फेरि जागेको छ। आज आदिवासी जनजाति सभासद्हरुले आज एउटा ककस बनाएका छन्। काठमाडौंको पाँचतारे रयाडिसन र एभरेष्ट होटलमा दर्जनौं पटक सभासद्हरुको गोप्य भेला गरिसकेपछि नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा बसेर आज सभासद्हरुले ककस बनाएका हुन्।

स्रोतका अनुसार केही दिनभित्रै दलित सभासद्हरुको ककस बन्दैछ। यसका लागि दलित गैरसरकारी संस्था महासंघ क्रियासील रहेको स्रोतको भनाइ छ। यस बीचमा थारु ककस पनि बनेको छ।

आदिवासी जनजाति ककसको समितिमा कांग्रेसका दिलमान पाख्रिन र बहादुर सिं लामा, एमाओवादीका गणेशमान पुन र श्रीप्रसाद जबेगु, राप्रपाका परशुराम तामाङ, राप्रपा नेपालकी रामदुलारी चौधरी, थरुहट तराई पार्टीकी गंगा चौधरी (सत्गौवा), संघीय समाजवादी पार्टीका अशोक राई, दलित जनजाति पार्टीकी यशोदा लामा, खम्बुवान राष्टिय मोर्चाका रामकुमार राई (आरके खम्बू), संघीय लोकतान्त्रिक राष्टिय मञ्च थरुहटकी रुकमिणी चौधरी र राष्टिय जनमुक्ति पार्टीका शिवलाल थापा छन्।

ककसमा एमालेका भने कोही सभासद छैनन्। शनिबार इन्द्रेणी फुडल्याण्डमा केही एमाले सभासदलाई बोलाइएको र उनीहरुले त्यहिँ नाम दिने बताइएको छ।

आदिवासी ककसकै अन्र्तगत रहने गरी थारु सभासद ककस पनि गठन भएको छ। यसका अगुवा गोपाल दहित छन् भने कांग्रेसका तेजुलाल चौधरी, एमालेका नागेन्द्र चौधरी, एमाओवादीका सन्त थारु, मधेसी जनअधिकार फोरमका योगेन्द्र थारु, राप्रपा नेपालकी रामदुलारी थारु र संघीय लोकतान्त्रिक राष्ट्यि मञ्च थरुहटकी रुकमिणी चौधरी छन्।

ककस निर्माणका लागि अन्तराष्टिय श्रम संगठन (आइ एल ओ) र काठमाडौंमा आदिवासी जनजाति वृत्तमा क्रियाशील इन्टरनेशनल आइडिया नामक गैरसरकारी संस्थाले निकै ठूलो मेहेनत गरेको बुझिएको छ।

ककस निर्माणका लागि आइएलओ ले दुई साता यता सभासद्हरुको बाक्लो भेला गराउँदै आएको थियो। संविधानसभा भवन नजिक सभासद्हरुलाई सुविधा हुने गरी आइएलओ ले इन्द्रेणी फुडल्याण्डमा सभासद् भेला गराउँदै आएको थियो। यस्तो भेला आइएलओले प्रत्यक्ष आफू नदेखिएर विभिन्न संघसंस्थाहरुलाई प्रयोग गरेर आयोजना गराउने गरेको स्रोतको भनाइ छ।

आइएलओ र इन्टरनेशनल आइडियाले नेपाल आदिवासी जनजाति महासंघ सहित अन्य केही संस्थाहरु मार्फत सभासद्हरुको भेला गराउँदै आएको थियो। विभिन्न शीर्षकमा अन्र्तक्रियाका नाममा हुने यस्ता भेलामा इन्टरनेशनल आइडिया र आइएलओ प्रत्यक्ष रुपमा देखिने गरेका छैनन् तर खर्चवर्च उनीहरुले गर्ने गरेका छन्।

सभासद्हरुको यतिन्जेल हुँदै आएको भेलामा साझा अवधारणा तय गर्न समय लागेको बुझिन्छ। ककसले जातीय राज्यको अवधारणा अगाडि सार्ने भएको छ। जातीय राज्यको अवधारणामा सभासदहरुलाई ‘पढाउन’ आइएनजीओहरुको लगानीमा राजधानीका तारे होटलहरुमा भूमिगत भेला गरिँदै आएको थियो।

स्रोतका अनुसार असोज नौ गते अन्नपूर्ण होटलमा आइएलओको लगानीमा एउटा कार्यक्रम गरिँदैछ र सोही कार्यक्रममा ककसको अवधारणा र कार्यक्रम घोषणा गरिने छ।

यस अघि नै मधेसी ककस बनिसकेको छ, जसको नाम मधेसी सभासद क्लब रहेको छ। यसले पनि मिडियालाई नबोलाई भूमिगत गोष्ठि गरिरहेको छ।