सहमति हुन नसके एमाले प्रक्रियाबाट संविधान बनाउने पक्षमा

pokharaसंविधानका अन्तरबस्तुमा पार्टीको दृष्टिकोण जानकारी गराउन नेकपा एमालेले शुक्रबार पोखरामा बृहत कार्यकर्ता भेला गरेको छ । केन्द्रिय कमिटिको आह्वान कास्कीको आयोजनामा संविधान निर्माणमा पार्टिले खेलेको भुमिका र पहलकद्मी बारे कार्यकर्तालाई प्रष्ट पार्न भेलाको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख बक्ता नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद रविन्द्र अधिकारीले माघ ८ मा जारी हुन नसकेपनि संविधान निर्माण प्रक्रिया निरन्तर रुपमा अगाडी बढ्ने बताए । दलहरु विच सहमति हुन नसकेपनि एमालेले प्रक्रियामा लैजान चाहेको जानकारी दिदै उनले जति पटक छलफल गरेर पनि सहमति नभए प्रक्रियामै लैजान पर्ने धारणा राखे ।

सहमतिको चक्रमा कहिले सम्म घुम्ने हो, उनले भने– एमाओवादीले घोषणा पत्र तथा संविधान सभा नियमावलीमा प्रक्रियामा जाने सहमति जनाएकोले अव प्रक्रियाबाट भाग्न मिल्दैन । उनले एनेकपा माओवादी प्रक्रियाबाट भागेर जाने कहि ठाउ नभएको दावी गरे । २०४७ सालको संविधानमा नेकपा एमालेले फरक मत राखेर भए पनि संविधान जारी गरेकोले एमाओवादीलाई असहमतिका वुदा राखेर भएपनि संविधान जारी गर्न सुझाव दिदै उनले संविधान सभाका अध्यक्षलाई सबै अधिकार दिन र नियमावली संसोधन गरेर अझै प्रक्रिया छोट्याउन सकिने बताए ।

उनले सभाध्यक्षलाई बाबुरामलाई जस्तै अधिकार दिनुपर्ने धारणा राखे । एमाले संविधान निर्माण प्रक्रियालाई अगाडी बढाएर मुलुकलाइ निकास दिन चाहेको जानकारी दिदै उनले कुनैपनि जातविशेषको नाममा संघियप्रदेश बन्नेमा सहमति हुन नसक्ने बताए । घर परिवार समाज मिश्रित जाति भैसक्यो, उनले भने–एक जातको राज्य कहिल्यै बन्न सक्दैन । जातिय गन्ध नआउने सबैको स्वामित्व कायम हुने राज्य बनाउनु पर्ने उल्लेख गर्दै नेता अधिकारीले प्रदेशको संख्यामा एमाले लचक हुन तयार रहेको जानकारी दिए । साझा पहिचानका लागि ८ प्रदेशमा जान एमाले तयार छ, उनले भने– एमाले साझा नाम राख्न पनि तयार प्रदेशलाई अधिकार दिन पनि एमाले तयार छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद सितागिरी ओलीले जातिय, धार्मिक, सांस्कृतिक विविधतालाई सम्बोधन हुने गरी प्रदेश बनाउनु पर्ने धारणा राखिन । साझा पहिचानका आधारमा ७ प्रदेश बनाउन एमालेले प्रस्ताव राखेको उनले जानकारी दिइन । संविधान सभाको निर्वाचनमा दोश्रो भए पनि एमाले संविधान निर्माणमा पहिलो भुमिका खेलेको सभासद गिरीले बताइन । नेकपा एमाले जिल्ला कमिटि कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दामोदर वैरागीले पनि बोलेका थिए । कार्यक्रममा जनकलाकार पदमराज ढकालले गित र नारायण प्रसाद बास्तोलाले कविता प्रस्तुत गरेका थिए ।

समाचार स्रोत : श्याम कुँवर पोखरा