बिकास समिति द्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण

व्यवस्थापिका–संसद्, विकास समितिको टोलीले बहुप्रतीक्षित र बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले सिन्धुपाल्चोकको हेलम्बु गाविसको तिम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी त्यहाँका काम कारबाहीबारे जानकारी लिएको हो ।Melamchi

राष्ट्रिय गौरबको आयोजना, काठमाडौं उपत्यकाबासीलाई खानेपानीका साथै सरसफाई र उपत्यकाको हरियालीका लागि समेत उपयोग हुने मुलुककै बहुचर्चित आयोजना मेलम्चीको पानी उपत्यकावासीले अबको दुई वर्षयता प्रयोग गर्न पाउने सम्भावना अत्यन्त कठिन देखिएको छ ।

काठमाडाँै उपत्यकाको खानेपानीको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखेर सन् २००० मा सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको हालसम्मको औसत प्रगति ३५ प्रतिशतको हाराहारीमात्र पुगेको छ । आयोजना कार्यान्वयनको सन्दर्भमा हालसम्म करिब नौ किलोमिटर सुरुङ खनिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसस्थित मेलम्ची खोलामा मुहान बनाएर काठमाडौँको सुन्दरीजलसम्म २६.५ किलोमिटर सुरङमार्फत पानी ल्याउन सन् १९९९ मा अन्तिम रेखाङ्कन गरिएको थियो । त्यसको दुई वर्षपछि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकले १२० मिलियन डलर लगानी गर्ने गरी ऋण स्वीकृत गरेको थियो ।

विगत १४ वर्षमध्ये आयोजनाको सम्भाव्यता अध्ययन, सडक निर्माण, पूर्वाधार निर्माण, मुआब्जाबापतको क्षतिपूर्ति, सामाजिक उत्थानका कार्यक्रम र अरू पूर्वाधार निर्माणका काममा आधा समय खर्चनुपरेको थियो । आयोजनाले यस अवधिमा आयोजनाको मुहानसम्म पुग्न ६६ किमि सडक र क्याम्प निर्माणका साथै क्षतिपूर्ति र मुआब्जाबापत रु ८४ करोड ३५ लाख रकम वितरण गरिएको आयोजनाले जनाएको छ । सामाजिक उत्थान कार्यक्रमका लागि आयोजनाले हालसम्म रु ३६ करोड खर्च गरिसकेको छ ।

अघिल्लो ठेकेदारले सम्झौताअनुसारको काम दिन नसकेकाले ठेक्का तोड्नु परेकाले समेत आयोजना निर्माणमा समय अधिक लम्बिएको बताइन्छ ।

नेपाल सरकार, एसियाली विकास बैंक, जेविक, जाइका, एनडिएफ, ओपेकको अनुदान तथा ऋण सहयोगमा आयोजनाको पुनःसंरचना र वित्तीय व्यवस्था मिलाएर दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने गरी काम आरम्भ भएको थियो ।

मेलम्ची आयोजनालाई तेस्रो चरणसम्म विस्तार गरी मेलम्ची खोला आसपासमा रहेका याङ्ग्री र लार्के खोलाबाट समेत भविष्यमा १७÷१७ करोड लिटरका दरले थपेर ५१ करोड लिटर पानी काठमाडौँमा ल्याउने लक्ष्य रहेको छ ।

पहिलो चरणमा ल्याइन लागेको मेलम्चीको पानीले आगामी सन् २०२० सम्मको उपत्यकाको जनसङ्ख्यालाई धान्ने छ भने तेस्रो आयोजना पूरा भएसँगै उपत्यकाका लागि खानेपानीको दीर्घकालीन समस्या समाधान हुने सरकारले अपेक्षा गरको छ ।

पछिल्लोपटक कोअपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी दी राभेन्ना इटालीले १०९५ दिन अर्थात् अक्टोबर २०१३ मा काम प्रारम्भ गरेर २०१६ सेप्टेम्बर ३० मा सुरुङको काम सक्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतामा सम्पन्न गर्नुपर्ने मिति अगाडि नै ठेकेदारले काम सकेको खण्डमा दैनिक ४० लाखसम्म बोनस पाउने प्रावधान राखिएकाले निर्माण व्यवसायीले तोकिएको समयअगावै आयोजना सम्पन्न गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । तोकिएको समयमा आयोजना सम्पन्न हुन नसकेको खण्डमा ठेकेदारले त्यत्तिनै मूल्य हर्जना तिर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

सुरुङ खन्ने कामलाई तीव्रता दिन ठेकेदार कम्पनीले छ स्थानबाट काम गरिरहेको छ । आयोजनालाई अघि बढाउने सिलसिलामा भौगोलिक अवस्था, सुरुङका ठाउँठाउँमा पानी चुहिने समस्या, स्थानीयको अवरोध, बन्द, हड्ताल र ठेकदारद्वारा ठेक्का तोड्ने प्रवृत्ति एवम् उपचारको सहज उपलब्धतामा कठिनाइले पनि प्रभाव पारेको आयोजनाको तर्क रहेको छ । मुख्यतयाः काम थालनीमै ढिलाइ हुनु र काम गर्ने सिलसिलामा आउने चुनौतीले कामलाई तीव्रता दिने मार्गमा ढिलाइ हुन गएको ठेकेदार कम्पनीको बुझाइ रहेको छ ।

अहिले दिनको सरदर रूपमा ३१ मिटरसम्म सुरुङ खनिँदै आएको छ । सुरुङ निर्माणमा बीच–बीचमा भेटिएको कमलो भूभागले पनि केही अड्चन पु¥याएको आयोजनाको भनाइ रहेको छ । त्यसो त अप्ठ्यारो भौगोलिक अवस्था, प्वाल पर्ने र विस्फोटन गर्ने प्रभावकारी उपकरण तथा विस्फोटक पदार्थ, दक्ष कामदार र भाषाको समस्याले समेत आयोजना निर्माणमा ढिलाइ भएको गुनासो गरिएको छ ।

आयोजनालाई अघि बढाउने पाटोमा पानी प्रशोधन केन्द्र निर्माणका लागि २१ मार्च २०१६ मा काम पूरा गर्ने गरी एमएस भा टिच वावाङ लि प्रतिभा इन्डस्ट्रिज लि जेभीले रु चार अर्ब २० करोडमा ठेक्का लिएर काम गरिरहेको छ ।

सुरुङ निर्माणमा अहिलेको गतिले निरन्तरता पाउन सकेमा तोकिएको मितिमा आयोजना सम्पन्न गर्न सकिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनमा सरदर ३१ मिटर सुरुङमा प्रगति भएको छ, यो आयोजनाको समग्र कामको मूल्याङ्कन हेर्ने हो भने ३५ प्रतिशत काम भएको छ, अहिलेसम्म रु १२ अर्ब खर्च भइसकेको छ, अरू रु १२ अर्ब जति खर्च लाग्छ जस्तो छ ।

आयोजनाको स्थलगत अध्ययनपछि संसद् मातहतको विकास समितिका सभापति रवीन्द्र अधिकारीले काठमाडाँैवासी, सरकार र संसद्ले सबैभन्दा चासोका साथ हेरिरहेको मेलम्ची खानेपानी आयोजना मुलुककै सबैभन्दा महत्वपूर्ण आयोजना भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “जुन मात्रामा प्रगति हासिल भएको छ भन्ने भनाइ थियो, त्यो भने पाउन सकिएको छैन, स्थानीयबाट समस्या खडा गरिएको छैन, अब अहिलेको कामलाई ५० प्रतिशतले अघि बढाउने हो भने छिटो सफलता मिल्छ, जसरी काम अघि बढिरहेको छ, २०७३ सम्ममा खानेपानी काठमाडौँमा आउने विश्वास भएको छ । ” विकास समितिका सभापति अधिकारीको नेतृत्वमा रहेको सांसदहरूको टोलीले आयोजनाको मुहान, सुरुङ निर्माण कार्यको स्थलगत निरीक्षण गर्नुका साथै आवश्यक निर्देशनसमेत दिएको थियो ।

त्यसो त आयोजना स्वयम् र ठेकेदार कम्पनीले पनि तोकिएको समयसीमाभित्र जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहे पनि ०७३ वैशाखभित्र मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकाभित्र पु¥याउन निकै चुनौतीपूर्ण र कठिनाइ रहेको स्वीकार गरेका छन् ।