सार्क शिखर सम्मेलनका बेलामा निर्माण भएका भौतिक संरचनाको संरक्षण सम्बन्धि समितिको निर्णय

संविधानसभा-व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।८।२३ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा १८ औं सार्क शिखर सम्मेलन आयोजना गर्ने सिलसिलामा निर्माण एवं सुदृढिकरण गरिएका भौतिक संरचनाहरुको संरक्षण, सम्बर्धन गर्दै विस्तार गर्ने सम्बन्धमा समितिको आजको बैठकमा छलफल एवं देहाय बमोजिमको निर्णय भएका छन ।

१ सार्क शिखर सम्मेलनको समयमा स्तरोन्नति, सुदृढिकरण साथै निर्माण गरिएका सडकहरुको अवस्थालाई यथावत राख्न गरिनु पर्ने संरक्षण एवं सम्बर्धनका कार्यहरु तदारुकताका साथ नियमित रुपमा कार्य सम्पादन गर्दै दीर्घकालीन सोच अनुसार सडक विस्तारको कार्य गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिकालाई समन्वय गरी कार्य गर्न र यसको प्रतिवेदन ४÷४ महिनामा यस समितिमा उपलब्ध गराउन समिति निर्देश गर्दछ ।
२ काठमाडौं उपत्यकाभित्र सडक विस्तारको न्यूनतम आधारभूत मापदण्ड, सडक विस्तार सम्बन्धी भावी रणनीति तथा दीर्घकालीन सोच र हालको यथार्थ अवस्था सम्बन्धी जानकारी समितिलाई उपलब्ध गराउन साथै विद्यमान सडकको अवस्था, सडक विस्तारमा भएको प्रगति विवरण÷प्रतिवेदन आवधिक रुपमा महिनामा यस समितिमा उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देश गर्दछ ।
३ सडकको विचमा रोपिएका विरुवाहरु, वगैचाहरु, रेलिङ्ग, सडक बत्तीहरुको संरक्षण गर्दै विस्तार गर्न तथा काठमाडौं उपत्यकाको सौदर्यलाई वृद्धि गर्न, सफा, सुन्दर, हराभरा काठमाडौं उपत्यका निर्माणको लागि गर्नु पर्ने वृक्षारोपण, सरसफाई, मर्मत सम्भारको कार्य नियमित रुपमा गर्न समिति शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा कार्य सम्पादन गर्न समिति काठमाडौं महानगरपालिकालाई निर्देश गर्दछ ।
४ काठमाडौं तथा काठमाडौं उपत्यका बाहिरका क्षेत्रीय सहरहरुमा आन्तर्राष्ट्रिय सम्मेलन गर्नको लागि आवश्यक पर्ने सम्मेलन केन्द्र, भौतिक पूर्वाधार एवं आवश्यक अन्य संरचनाहरुको निर्माण गर्ने कार्यलाई तत्काल अगाडि बढाउन र सो सम्बन्धमा नेपाल सरकारको सोच , रणनीति, कार्यनीति, समेत यस समितिलाई उपलब्ध गराउन समिति शहरी विकास मन्त्रालयलाई निर्देश गर्दछ ।
५ सडक वत्ती, फूल विरुवाको संरक्षण, व्यवस्थित यातायात सञ्चालन लगायतका कार्यहरुमा आवश्यक पर्ने सहयोग गरी सभ्य, सुन्दर काठमाडौं उपत्यका निर्माणको लागि मातहत निकायलाई आवश्यक पर्ने निर्देशन प्रवाह गर्न साथै सूचना प्रविधि समेतको प्रयोग गरी निर्माण गरिएका भौतिक संरचनाहरुलाई सुरक्षा प्रदान गर्न समेत समिति गृह मन्त्रालयलाई निर्देश गर्दछ ।
६ उपत्यकाभित्र रहेका ट्राफिक संकेतहरु, ट्राफिक बत्तीहरुको आवश्यक व्यवस्था गर्न, नियमितरुपमा चेक जाँच गरी ग्उमबतभम रुपमा ट्राफिक बत्तीहरुको व्यवस्था गर्न समेत समिति काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देश गर्दछ ।

श्रोत : विकास समितिको सचिवालय