समितिको लगानी बोर्ड सँगको छलफल तथा निर्णयहरु

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।११।६ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको  छ ।

समितिको आजको वैठकमा राष्ट्रिय स्तरका प्रमुख तथा ठूला आयोजनाहरुमा देखिएका लगानी सम्वन्धी समस्याहरु समाधान गरि यस्ता आयोजनाहरुको पुर्व निर्धारित समय भित्रै कार्य सम्पन्न गर्न लगानी वोर्डले गरेका प्रयासहरु, हालसम्मको कार्य प्रगतीको अवस्था, वोर्डको क्रियाशिलता तथा भावी कार्यक्रमहरु, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु तथा विकासका अत्यावश्यक पूर्वाधारहरुको विकास निर्माणमा आवश्यक पर्ने लगानी व्यवस्थापनका चुनौतीहरु र समाधानका उपायहरु सम्वन्धमा लगानी वोर्डका पदाधिकारीहरुसँग समितिमा छलफल भयो । छलफल पश्चात समितिले देहाय बमोजिमका निर्णयहरु गर्यो ः –

लगानी बोर्ड सँग विकास समितिको छलफल

लगानी बोर्ड सँग विकास समितिको छलफल

१. पर्याप्त लगानीको यथोचित प्रवन्ध नगरिकन आयोजनाहरुलाई कार्यान्वयनको चरणमा लैंजादा आयोजनाहरुको कार्य सम्पादनमा अपेक्षित गुणस्तरको अभाव हुने, समयमा नै आयोजनाहरु सम्पन्न नहुने अवस्थाले क्रमिकरुपमा लगानी वढ्दै जाने, लगानी बृद्धिका कारण आयोजना सम्पन्न पश्चात सम्वन्धित सेवा उपभोगको मुल्यमा समेत हुने वृद्धिले आम नागरिकले उपभोग गर्ने सेवाको दायरामा संकुचन समेत आउन सक्ने भएको देखिएकोले ः
क. पर्याप्त लगानीको उचित प्रवन्ध गरेर मात्र विकास आयोजनाहरु कार्यान्वयन गर्न,
ख. समयमा नै आयोजनाहरु सम्पन्न नहुने अवस्थाले क्रमिकरुपमा लगानी वढ्दै जाने भएकोले पुर्व निर्धारित समय भित्रै आयोजनाहरु सम्पन्न गर्न, गराउन तथा PDA का प्रावधानहरुलाई समसामयीकरुपमा परिमार्जन गर्दै लैजान,
ग. हचुवाको भरमा गरिने संभाव्यता अध्ययन भन्दा वास्तविकतामा आधारित भएर संभाव्यता अध्ययन गर्न, संभाव्यता अध्ययन गर्दा बहुआयामिक आधारमा यथार्थपरक भएर गर्न, (आयोजना निर्माणमा सम्वद्ध सवै पक्षहरुलाई ध्यान दिई गर्न वास्तविक लागत निकाल्न समेत),विस्तृत अध्ययनको क्रममा सामाजिक लेखा परिक्षण (Public Audit) गरेर PDA तयार गर्न,
घ. हाल कार्यान्वयनमा रहेको राष्ट्रिय महत्वका आयोजनाहरुलाई कुनै पनि हालतमा लगानीको अभाव हुन नदिन तथा निर्धारित समय भित्रै कार्य सम्पादन गर्न आवश्यक पर्ने लगानीको वातावरण श्रृजना गर्न,
ङ. वैदेशिक लगानीलाई आकृर्षित गर्ने साथसाथै वढि भन्दा वढि नागरिक लाभान्वित हुने खालका योजनाहरुको छनौट गर्न तथा आन्तरिक एवं वैदेशिक लगानीको पारदर्शि व्यवस्थापन गर्न गराउन पर्याप्त प्रचार प्रसार र छलफल चलाउन समिति नेपाल सरकार तथा लगानी वोर्डलाई निर्देश गर्दछ ।
२. ठुला आयोजनाहरु अगाडी वढाउन तथा ठुला आयोजना सञ्चालनका लागि आवश्यक पर्ने निर्माण सामाग्रीको उपलव्धता सके सम्म देश भित्रै पुर्वाधारहरुको निर्माण गरि उत्पादन तथा प्रयोग गर्ने अवस्थाको श्रृजना गर्न समेत लगानी वोर्डले ध्यान दिन आवश्यक देखिएको समितिले महसुस गरकोले समितिले त्यस तर्फ लगानी बोर्डको ध्यानाकर्षण गराउँदै यस्ता पुर्वाधारहरुको निर्माणमा विशेष ध्यान दिन समिति लगानी वोर्डलाई निर्देश गर्दछ ।
३. ठुला आयोजनाहरुको कार्यान्वयनका लागि कानूनीरुपमा देखिएका समस्यााहरु, लगानी मैत्री कानून वनाउन विद्यमान कानूनमा गर्न पर्ने सुधारका सम्वन्धमा यस विकास समितिलाई लिखित प्रतिवेदन उपलव्ध गराउन समिति लगानी वोर्डलाई निर्देश गर्दछ ।

श्रोत : समितिको सचिवालय