मेलम्ची खानेपानी आयोजना सम्बन्धीको प्रगति तथा निर्देशन

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।११।११ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएका  छन ।

समितिको आजको वैठकमा मेलम्ची खानेपानी आयोजना एवं सो आयोजनाबाट प्राप्त हुने खानेपानीको वितरणका लागि काठमाडौं उपत्यकामा भएको पाइपलाइन विस्तारका सम्बन्धमा हालसम्म भएको कार्य प्रगतिको अवस्था, समितिले मिति २०७१।०७।२६ मा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा दिएका निर्देशनहरुको परिपालना एवं कार्यान्वयनको अवस्था साथै विकास समितिले मिति २०७१।०९।०४ मा गरेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमण पश्चात् निर्देशन र सुझाव सहित कार्यान्वयनका लागि पठाइएको प्रतिवेदनको कार्यान्वयनका अवस्थाका सम्बन्धमा सम्बन्धित मन्त्रालयका पदाधिकारी एवं आयोजनाका पदाधिकारीहरुसँग छलफल भयो । साथै छलफल पश्चात समितिले देहाय बमोजिमका निर्णयहरु गर्यो ः – 20150223_103658

१.    मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणको ठेक्का पट्टा २०७०÷०७१ को अन्त्यमा मात्र भएकोले प्रारम्भिक निर्माण कार्यमा ढिलाई हुन गएको प्रमुख रुपमा देखएता पनि समग्र व्यवस्थापनमा रहेका कमी कमजोरीहरु हेडवक्र्स एवं सुरुङ्ग निर्माणको लागि आवश्यक मेशिनरी औजारहरुको समयमा नै व्यवस्थापन हुन नसकेको कारण पनि मूख्य रुपमा देखिएकोले सम्बन्धित निर्माण व्यवसायीलाई आवश्यक पर्ने मेशिनरी सामानहरु सम्झौता बमोजिम समयमा नै व्यवस्थापन गर्न आवश्यक पहल गर्न समिति शहरी विकास मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।
२.    त्यसैगरी मेलम्ची खानेपानी आयोजनाले अपेक्षित गति प्राप्त नगर्नुमा निर्माण व्यवसायीबाट दक्ष जनशक्ति तथा स्रोत एवं साधनको नियमित आपूर्ति नगर्नु देखिएकोले उक्त समस्या समाधान गर्न तत्कालै आवश्यक पहल गर्न समिति शहरी विकास मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।
३.    विकास समितिले मिति २०७१।०९।०४ मा गरेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमण पश्चात् पहिचान गरेका समस्याहरु र निर्देशन सहितको प्रतिवेदनको कार्यान्वयन गर्न समिति शहरी विकास मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।
४.    मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी वितरणको संरचना निर्माणमा तिव्रता दिन, सडकको कम क्षति हुने गरी पाइप विच्छ्याउने कार्य गर्न साथै सडक विभाग एवं अन्य सम्बन्धित पक्षहरुसँग समन्वय गरी कार्य सम्पादन गर्न तथा आवश्यकता अनुसार वैकल्पिक मार्गको पहिचान गरी पाइप विच्छ्याउन तथा भत्काइएका सडकहरु छिटो निर्माण गर्न समेत समिति मेलम्ची खानेपानी आयोजना, सडक विभाग तथा शहरी विकास मन्त्रालयलाई निर्देश गर्दछ ।
५.    समिति शहरी विकास मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्धारित समयभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गराउन, विद्यमान समस्याहरुलाई पहिचान गरी, तत्काल सम्बोधन गर्न, निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसारको कार्य सम्पादन गर्ने गराउने व्यवस्था मिलाउन, निर्माण व्यवसायीलाई जिम्मेबार बनाउन साथै निर्धारित समयभित्रै कार्य सम्पादन गर्न अन्य उपाय खोज्नु पर्ने भए सो समेत खोजी समयमा नै कार्य सम्पादन गर्न गम्भीरतापूर्वक निर्देश गर्दछ । साथै समयभित्रै आयोजना पूरा गर्न यस विकास समितिले गर्नुृ पर्ने सहयोगका सम्बन्धमा यस समितिलाई जानकारी दिन समेत समिति उल्लेखित निकायलाई निर्देश गर्दछ ।
६.    मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिने पूर्व निर्णय कम्पनीसँगको सम्झौता बमोजिम जमानत वापत राखेको वैंक जमानी सहजरुपमा फिर्ता ल्याउने व्यवस्था तत्काल गर्न तथा आयोजना सम्बद्ध भुक्तानी व्यवस्थालाई पारदर्शी बनाउन समिति नेपाल सरकार, शहरी विकास मन्त्रालय, नेपाल राष्ट्र वैंक र मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ  ।

मेलम्ची खानेपानी आयोजनाको थप प्राप्त प्रगति विवरण को लागि यो लिंक यहाँ थिच्नु होला ।

समितिको सचिवालय