काठमाडौं । न्यूज भित्ताले सञ्चालन गरेको १० उत्कृष्ट सभासद् चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिएका छन् ।
विश्वभरि छरिएर रहेका नेपालीले न्यूज भित्ता अनलाइन मार्फत उत्कृष्ट सभासद् चयनका लागि मतदान गरेका थिए ।
आज राजधानीमा आयोजित एक विशेष समारोहमा विशिष्ट व्यक्तित्वहरु रहेको एक जुरीले उत्कृष्ट १० सभासद्का रुपमा रविन्द्र अधिकारी को नाम सार्वजनिक घोषणा गरेको हो ।
अनलाइन भोटिङको मत परिणाम प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की र वरिष्ठ पत्रकार तथा संचार अनुसन्धानकर्ता विनोद भट्टराई रहेको जुरीले सार्वजनिक गरेको हो । जुरीको साथमा साक्षीका रुपमा नागरिक दैनिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार प्रतीक प्रधान रहेका थिए ।
रविन्द्र अधिकारीको व्यक्तित्वको केही पक्ष
मानिस मानिसबीच किन भेदभाव छ ? हामी स्कूल जान्छौं तर अरु किन जाँदैनन् ? यस्तै कुरा मनमा खेलाउँदा खेलाउँदै राजनीतिप्रति कहिले आकर्षित भए भन्ने रविन्द्रलाई थाहा नै भएन।
राजनीतिमा संगठित हुँदा उनी सिर्फ १२ वर्षका थिए । २०३८ सालमा सात कक्षा पढ्दै गर्दा अनेरास्ववियूका सबैभन्दा कान्छा सदस्य भएका थिए, सबैभन्दा धेरै भोट पाएर । उत्कृष्ट सभासद् चयनको प्रसंगलाई उनले त्यहीँनिर जोडे ‘अहिलेसम्म मैले धेरै मत ल्याएका यस्ता धेरै घटना छन् ।’
लोकप्रियताको मापन मतले नै गर्छ, धेरै मत पाएर अनेक कीर्तिमान बनाएका छन् रविन्द्रले। विद्यार्थी राजनीतिमा पाइने सर्वाेच्च पदहरु हुन्–अनेरास्ववियूको केन्द्रीय अध्यक्ष, त्रिवि कीर्तिपुरको स्ववियू सभापति, पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियू सभापति। यी तीनै पदमा चुनाव जितेका थिए रविन्द्रले।
विद्यार्थी राजनीतिपछि उनी जिल्लाको राजनीतिमा केन्द्रीत भए। एमाले(कास्की)को सदस्य, सचिव हुँदै अध्यक्षमा निर्वाचित भए। उनले कास्की क्षेत्र नम्बर ३ बाट संविधानसभाको दुई पटककै चुनाव जिते।
‘देशको परिस्थिति नै त्यस्तै छ, निष्ठाको राजनीति धर्मराएको छ,’ यस्तो सोंचेर उनको मन कहिलेकाहीँ बिरक्तिन्छ । तर, ‘भागेर जाने ठाउँ पनि छैन’ भन्ने सोंच्छन्। उनी भन्छन्, ‘हामीले नगरे कसले गर्ने ?’
राजनीतिमा नआएको भए यतिखेर कहाँ भेटिनुहुन्थ्यो ? प्रश्नको जवाफ दिन उनलाई समय लागेन, भने, ‘राजनीतिमा नआएको भए सायद साहित्यमा लाग्थेँ, शिक्षक पेशामा हुन्थें होला।’
तर, रविन्द्र पत्रकार पो हुन्थे कि ? असाध्यै राम्रो लेख्छन् रविन्द्र, केही किताब पनि लेखेका छन्, राजनीतिक लेख कति लेखे उनलाई सम्झना छैन।
अर्काे सम्भावना, उनी खेलाडि पो बन्थे की ? फेवातालको आगन पोखराका रविन्द्रलाई पौडीमा औधी रुची छ।
राजनीतिको नशा अचम्मको हुन्छ, उनले पुरानो कुरा सम्झिए ‘स्कूल पढ्दाको कुरा हो, लालसेना बन्ने रहर हुन्थ्यो, हामी त्यस्तै अभ्यास गथर््यौं । त्यही अनुसारको क्याप लगाउँथ्यौं । त्यसो हुँदा पनि कमाण्डर बन्ने बारे कहिल्यै सोचिएन, सिर्फ लालसेना सोंचियो । चार पाँच वर्ष मनमा लालसेना बन्ने सपना घुमिरह्यो ।’
उनले भने, ‘त्यतिखेर पार्टीले लालसेना बनाउने भनेको भए सबैभन्दा पहिला म भर्ना हुन जान्थें होला ।’
लालसेना बन्ने अवसर उनलाई त्यसबेला जुरेन। बरु, सरकारले देशद्रोहीको आरोपमा पटकपटक जेल भने हाल्यो ।
जेल जीवनको स्मरण गर्दा उनले भने ‘मेरो हात सानो थियो, हत्कडी ठूलो थियो। हातभन्दा हतकडी ठूलो थियो, हतकडीबाट हात फुत्त निस्कन्थ्यो। राति हत्कडी खोलेर सुत्थें, बिहान प्रहरीले देख्नु अगाडी नै हत्कडी लगाउँथेँ ।’
‘जीवनमा गरेका केही बिठ्याँइहरुको याद आउँछ ?’ यो प्रश्नमा भने उनी त्यति खुल्न चाहेनन् । उनी बाल्यकालमा शान्त थिए रे, अहिले पनि हम्मेसी हतास हुँदैनन ।
विद्यार्थी राजनीति र संघर्षले भरिपूर्ण उनको रोमांचक जीवनका रोचक प्रसंग अनेक छन्। ०४६ सालमा रामनाथ ढकाल (पूर्व सभासद्) जेलमा थिए, उनको अदालतमा बयान थियो, अदालतले फेरि जेल नै पठाउने फैसला गरयो ।
बाहिर रामनाथलाई कुरेर बसेका रविन्द्रले जुक्ती लगाएर प्रहरीलाई गफमा भुलाए। प्रहरीलाई भुलाएर रविन्द्रको टोलीले रामनाथलाई भगायो । ‘हामी दौडियौं, प्रहरीले समाउन सकेन,’ अहिले सम्झँदा रमाइलो लाग्ने तर त्यसबेलाको परिस्थितिमा ज्यान जानसक्ने घटना सुनाए रविन्द्रले।
उनले अनेक राजनीतिक दस्तावेज तयार पारे, प्रतिवेदनहरु बनाए । तर, त्यो हातले प्रेमपत्र कहिल्यै कोर्यो ? अहँ, उनले कहिल्यै प्रेमपत्र लेखेनन् ।
‘तर धेरै प्रेमपत्रहरु आए, पढ्यो राख्यो । कति त फालियो पनि ।’ तर उनले प्रेम विवाह नै गरे । अनेरास्ववियूकी चर्चित नेतृ थिइन् विद्या भट्टराई। विद्यासँग विहे गरे रविन्द्रले, अहिले उनीहरुका दुई छोरा छन् ।
‘समय दिन नसकेकोमा श्रीमती र छोराहरुले गुनासो गरिरहन्छन, सकेसम्म समय मिलाउने प्रयास गर्छु’ रविन्द्र भन्छन्। तर, रविन्द्रलाई सजिलो छ, पत्नी विद्या पनि राजनीतिक फाँटकै हुन्, राजनीतिक जिम्मेवारीले झन व्यस्त बनेका रविन्द्रको बाध्यता विद्याले बुझ्छिन् ।
साभार : न्यूज भित्ता