Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छुः पर्यटन मन्त्री

Interviews

वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छुः पर्यटन मन्त्री

By Kabiraj Adhikari

November 11, 2018

२५ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी अनुभवका हिसाबले नयाँ मन्त्री हुन् । मन्त्री बन्नुअघिसम्म उनी युवा पुस्ताका आश लाग्दा नेता मानिन्थे ।

मन्त्री बनिसकेपछि युवा नेता अधिकारीको छवि बजारमा खासै राम्रो छैन । उनले राम्रो काम गर्न नसकेको गुनासो बजारमा बढेको छ । चीनबाट ल्याइएका विमानहरु उडाउन नसकेकोदेखि प्रभावकारी रुपमा काम गर्न नसकेकोसम्म आरोप खेपिरहेका मन्त्री अधिकारीचाहिँ अहिलेसम्म आफ्नो कामप्रति ढुक्क एवं बिन्दास देखिएका छन् ।

अन्तरवार्ताका क्रममा मन्त्री अधिकारीले मन्त्रालयबाट राम्रो काम गर्न खोज्दा आफूमाथि प्रहार भइरहेको दाबी गरे । यस्तो प्रहार मिडिया र आफ्ना समकालीनहरुले समेत गरिरहेको भन्दै उनले सरकारले गरेका राम्रा कामको बचाउ गर्न नेकपाका नेता कार्यकर्तासँग आग्रह गरे ।

अहिलेसम्म केके काम गर्नुभयो त ? अनलाइनखबरको प्रश्नमा मन्त्री अधिकारीले भने – ‘मैले साना मसिना काम भन्दिनँ ।’

चिनियाँ वाइडबढी विमान खरिद प्रकरणमा अघिल्लो सरकारका पालामा अनियमितता भएको हुन सक्ने भन्दै मन्त्री अधिकारीले छानविन हुनुपर्ने बताए । अनलाइनखबरसँगको विशेष कुराकानीमा उनले भने– ‘यसमा मेरो यदि अलिकति पनि संलग्नता कसैले छानविनका क्रममा भेटेछ भने दाबाका साथ भन्छु जिन्दगीभरि राजनीतिक सन्यास लिन्छु ।’

पर्यटन मन्त्रालयका कामका सन्दर्भमा मन्त्री अधिकारीसँग अनलाइनखबरले गरेको कुराकानीः

तपाई मन्त्री बन्दा यो सरकारसँग जस्तै तपाईसँग पनि व्यक्तिगत रुपमै पनि धेरैले अपेक्षा गरेका थिए । तर मिडिया र सोसल मिडियामा विवादमा परिरहनुभयो नि, किन ? तपाईलाई खुइल्याउन खोजिएको हो वा काम गर्ने ढंग नै नपुगेको हो ?

मैले यो मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि स्वभाविक रुपमा यो मन्त्रालय धेरै संवेदनशील र विभिन्न बेलामा विवादमा पनि आइरहने मन्त्रालय भएकाले त्यस्ता प्रवृत्तिले केही न केही गर्छन् भन्ने मलाई लागेकै हो । यसमा धेरैका स्वार्थ गाँसिने र स्वार्थ पूरा नहुनेहरुले अनेक खालका विवाद सिर्जना गर्ने, यो स्वाभाविक छ ।

अर्को कुरा चाहिँ म यहाँ आइसकेपछि कामहरु अघि बढाएँ । कुनै पनि पेण्डिङमा नराखी योजना बनाएर काम थालेँ । एक्सनमा गएपछि केही क्रिया–प्रतिक्रिया हुन्छन् । त्यसमा नकरात्मक मात्र हाल्न खोज्ने र अगाडिको यात्रामा अवरोध गर्न खोज्ने प्रवृत्ति नै सबैभन्दा बढी देखिँदो रहेछ ।

नत्रभने मैले गरिरहेका कामले परिणाममात्रै दिएका छन् । त्यसले सकारात्मक मात्र परिणाम निकालेको छ । सकारात्मक कामको परिणामको भन्दा त्यसबाट फाइदा नहुने स्वार्थ समूहको नकारात्मक कुराले कतिपय मान्छेलाई चाँडो छुन्छ । यसलाई म अन्यथा ठान्दिनँ । क्रियाको प्रतिक्रिया हुनु स्वाभाविक हो । काममा जाँदा प्रश्न उठ्नु स्वभाविक हो । तर, ती प्रश्नहरु कस्ता हुन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । आधारभूत प्रश्न छन् भने सम्वोधन गर्ने हो, गलत नियतबाट उठेका प्रश्नलाई वास्ता नगरी काममा अघि बढ्ने हो ।

तपाईको जवाफ त ठिकै होला, तर तपाईका शुभेच्छुकहरु छन्, जसले तपाई विवादमा नआइदिए हुन्थ्यो भन्ने सोच्छन् । तर, तपाई बारम्बर विवादमा आउनुहुन्छ किन ?

यो मन्त्रालयअन्तर्गत केही कामहरु यस्ता छन् र कतिपय यस्ता स्वार्थ समूहहरु छन्, जसलाई नचिरीकन सुशासन कायम हुन सक्दैन । जसलाई क्रस नगरी परिणाम निकाल्नै सकिन्न । जसलाई पन्छाएर अगाडि नबढी यो मन्त्रालयले अग्रगति हासिल गर्न सक्दैन । समग्रमा आर्थिक विकास र प्रगतिको जुन मुख्य अभियान सम्माननीय प्रधानमन्त्रीज्यूको हो, त्यसमा पर्यटन क्षेत्रबाट हुनुपर्ने योगदान हुन सक्दैन ।

त्यसैले गर्दा काम गर्न खोज्यो कि विवाद त ल्याउँछन् नै । कि त केही पनि नगरी बस्नुपर्यो । वरपर सर्प बिच्छी बाघ भालु छन् भने कि त पूजा गरेर बस्नुपर्यो । होइन भने आफ्नो उद्देश्य हासिल गर्नको निमित्त त्यसलाई तोडेर जानुको विकल्प छैन ।

त्यो स्वार्थ समूह भनेको चाहिँ कस्तो हो ? सर्प, बिच्छी र बाघभालु को हुन् ?

त्यो त राष्ट्रिय अन्तर्राष्ट्रिय जालो नै हुन्छ । त्यसको प्रभाव सबैतिर छ । त्यो स्वार्थ समूहले आफ्नो अनुकुल काम भएन भने सबै अवयवहरुलाई प्रयोग गर्छ । त्यस क्रममा मिडिया पनि प्रयोग हुन्छ । त्यसको नेक्सस कति ठाउँमा छ त आफैं खोज्न सक्नुहुन्छ ।

उसले आफ्नो स्वार्थमा धक्का लाग्ने गरी सरकारले काम गर्यो  भने सबै शक्ति लगाएर बदनाम गराउन खोज्छ । मैले यो कुरा राम्ररी बुझेको छु । त्यसैले बदनाम गराउन खोज्ने त्यो स्वार्थ समूहसँग सम्झौता गर्नेभन्दा कामबाट परिणाम निकाल्ने बाटो रोजेको हुँ । यस्तो गर्दा स्वार्थ समूहले आफू अनुकुल नभएपछि बदनाम गराउने अनेक माध्यम प्रयोग गर्छन् । विभिन्न तरिकाबाट खेद्ने काम हुन्छ । कतिपयलाई हो कि जस्तो पनि बनाइन्छ । तर, यस्ता कुराबाट डराउनु हुँदैन ।

कुनचाहिँ काम गर्दा तपाईलाई बढी खेदियो ?

सबैभन्दा पहिलो चाहिँ मैले एयरपोर्ट सुधार गर्ने कुरामा धेरै र ठूलो अवरोध झेल्नुपर्यो । २१/२२ घण्टासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने क्रममा धेरै बदनाम गराउन खोजियो ।

एउटै समयमा जहाज चलाउने प्रचलन थियो, त्यसलाई बिहान, साँझ, पिक आवर, ल्याण्ड आवरमा उडाउने काम भयो । यसरी पूरै एयरपोर्ट व्यवस्थापन हुन थाल्यो । त्यसले गर्दा राम्रो समय उपयोग गरिरहेका मान्छेहरु त्यसको विरुद्धमा गए । उनीहरुले मलाई कसरी बदनाम गराउने भनेर योजना बनाउन थाले ।

वास्तवमा भन्नुहुन्छ भने मैले २१ घण्टा एयरपोर्ट सञ्चालन गर्न खोज्दा त्यसलाई असफल पार्न सर्वत्र मान्छेहरु लागेका थिए । तर, उनीहरुले सकेनन् ।

त्यसको फाइदा कसलाई के हुने रहेछ ?

उनीहरुलाई त्यसबेला बढी फाइदा भइरहेका थियो होला । हुन त समग्रमा अहिले बढी भइरहेको छ नि, तर उनीहरुले यो फाइदा देखेनन् । यो गभर्नेन्सबाट २२ घण्टास्म्म सञ्चालन हुँदाको फाइदा उनीहरुले देखेनन् ।

राति पनि डोमेस्टिक फ्लाइट चल्ने रहेछ नि । उनीहरुले त दिउँसैमा मात्रै प्रयास गरिरहे । बिहान र दिउँसो बाहेक पनि प्लेन चलाउन सकिने रहेछ नि । यो कुरा कुरा कतिपयलाई पच्दो रहेनछ । यात्रुलाई फाइदा भएको कुरा नपच्ने भयो । सबैलाई ८ देखि १२ बजेसम्मै चाहियो । अनि त्यसैमा लडाइँ गरेको छ । मैले त्यो चाहिँ बन्द गराएको हो ।

तर, यसमा मात्र होइन, केही सिलसिलेवार ढंगले नै तपाईमाथि आरोपहरु लागे नि ? ती पनि व्यापारिक स्वार्थकै कारण हुन् त ?

म भन्दै थिएँ, तपाई यसैमा आउनुभयो । उदाहरणका लागि फेक रेस्क्यु । जब अनुसन्धान र अरु समिति बनाएर काम भयो, अहिले त ९९ प्रतिशत अण्डर कन्ट्रोलमा छ । हामीले कार्यविधि पनि बनायौं ।

पर्यटकलाई अप्ठेरोमा लगेर खानामा गलत कुरा मिसाएर विरामी पार्ने अनि हेलिकोप्टर मगाएर रेस्क्युका नाममा करोडौं कमाउने गिरोहसँगको लडाइ त चानचुने थिएन । यस्तो माफिया गिरोहसँग सम्झौता नगरेपछि उल्टै बदनाम गराउन उनीहरुले सबै बल प्रयोग गर्दा रहेछन् ।

गलत धन्दाबाट धेरैले आफूलाई बलियो बनाएका रहेछन् । उनीहरु त यस्तो कम्मर कसेर लागे कि जसरी पनि कि हामी छैनौं कि मन्त्री छैन भन्नेसम्म भयो । यस्तो काम गरेपछि आरोप त आउने रहेछ । यस्ता गिरोहको प्रभाव सबैखाले मिडियामा पनि हुँदो रहेछ ।

तपाईको मतलब, तपाईविरुद्ध मिडिया पनि प्रयोग भए ?

म तपाईलाई एउटा उदाहरण दिन्छु– नेपाल एयरलाइन्सको वाइडबडी । वाइबडी खरिदको प्रक्रिया तीन वर्षअघिको हो । सबै स्पेसिफिकेशनसहित कस्तो ल्याउने, कसरी किन्ने, भुक्तानी कसरी गर्ने ती सबै म आउनुभन्दा अगाडिका प्रक्रिया थिए ।

ती अगाडिका प्रक्रियामा मन्त्रीको केही भूमिका हुन्न । म आउँदाखेरि जहाज आउने कुराको सुनिश्चिता खोजेँ । हाम्रो पैसा गइसक्यो । पैसा जाने जहाज नआउने ? त्यो अवस्थाचाहिँ हुनुहुँदैन । जहाज ल्याउनुपर्यो , ती प्रक्रियामा कमजोरी भएका छन् भने खोज्नुपर्यो । छानविन गरेर दोषी पाइयो भने कारवाही गर्ने, तर जहाजलाई चाहिँ नरोक्ने भनेको हो ।

अब कतिपय मान्छे भन्छन् यो जहाज एयरबस हटाउने र बोइङ ल्याउने । त्यसले के हुन्छ ? देशको पैसाचाहिँ सबै घाटामात्रै जान्छ । त्यो पैसा त फिर्ता हुँदैन । त्यो अवस्थामा प्लेन ल्याउने र चलाउने बाहेक अरु विकल्प छैन । गल्ती भएको छ भने छानविन गरेर को–को दोषी हुन्, कारवाही गर्ने निकाय छन् । यो प्रक्रियामा जानुपर्छ भन्ने मेरो मान्यता हो ।

यसमा चाहिँ के छ भने एजेण्टहरुको लडाइँ हुँदोरहेछ । अर्को कोही एजेन्ट थियो होला । उसले भनेअनुसार भएन होला । अनि प्रहारको निशाना बनाउने र अन्यौल सिर्जना गर्ने खालका मान्छेहरु पनि छन् ।

अर्को कुरा, नेपाल एयरलाइन्सको अग्रगतिमा आफ्नो भविष्य नदेख्नेहरु छन् । कतिपय जीएसएका होलान्, कतिपय अरु एयरलाइन्सका होलान् । नेपाल एयरलाइन्सको प्रगति देख्न नचाहनेहरु त्यहीँभित्र पनि छन् र बाहिर पनि छन् । नेपाल एयरलाइन्सलाई राम्रो नबनाएसम्म हाम्रो मुलुकको पर्यटनको भविष्य नै छैन भन्ने मेरो मान्यता पर्यो  । त्यसले गर्दा स्वार्थ त टक्राउने नै भयो । यो त एकदम चुनौतिपूर्ण काम हो । अबको एक वर्षमा नेपाल एयरलाइन्सलाई धेरै हिसाबबाट अघि बढाउँछौं ।

नेपाल एयरलाइन्सलाई डोमेस्टिकमा पनि प्रभावकारी बनाउँदैछौं । २६ वटा नयाँ रुट तय भएका छन् । अन्तरराष्ट्रिय उडानका गन्तव्य विस्तार गर्दैछौं । अब हामी चीनतिर जाँदैछौं । जापानतर्फ जाँदैछौं । युरोपियन युनियनको कालोसूची हटाउने प्रक्रियामा छौं । त्यसपछि युरोतर्फ जान्छौं । राम्रो काम गर्न खोज्दा प्रहार हुने रहेछ हेर्नुस् ।

नेपाल एयरलाइन्समा केही न केही गडबडी त भएकै छ भन्ने कुरा त जीएम हुँदाहुँदै कार्यकारी अध्यक्ष ल्याउनुले पनि संकेत गर्दैन र ?

यसलाई अझ प्रभावकारी बनाउन निमित्त मैले कार्यकारी अध्यक्ष ल्याएको हो । जीएमको अहिले कार्यकारी भूमिका छैन । नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन गरिएको हो । एक वर्षमा सबै कुराहरु कभर गरेर अगाडि जान्छौं । पहिलाकाले गरेनन् भने अहिले हामीले दोष लाएर बस्न मिल्दैन । नेपाल एयरलाइन्समा अब वाइडबडी पनि आएको छ, सबै कुरा राम्रो हुन्छ ।

वाइडबडीमा अनियमितता भएको आशंकामा अख्तियार र संसदीय समितिले पनि छानविन थालेको छ, तपाई अघिल्लो सरकारले गरेको हो भन्नुहुन्छ, त्यसो हो भने छानविनलाई सघाउनु त पर्यो  नि ? अहिले त प्रश्न तपाईहरुमाथि नै उठेको छ होइन र ?

होइन होइन । यसमा तपाईहरु प्रष्ट हुनुस् । यो ३ वर्षअघिको प्रक्रिया हो । वाइडबडीको सन्दर्भमा धेरै पछाडि अर्थात हामी सरकारमा आएको एक महिनापछि आएको जहाज हो यो । एक महिनामा जहाज आउँछ ? एक महिनामा कलम किन्ने प्रक्रिया पुग्दैन नेपालको सरकारी कार्यालयमा । गाडी किन्न एक वर्ष लाग्छ । यसमा हामीलाई चार्ज लगाउनु त बेकारको, वाहियात कुरा हो ।

म भन्न चाहान्छु यसमा अनियमितता देखिँदा खोज्ने, छानविन गर्ने जति पनि संस्था छन्, उनीहरुलाई छानविनमा सघाउँछौं । जे सूचना चाहिन्छ, दिन्छौं । तर, यसको नाममा नेपाल एयरलाइन्सलाई समाप्त पार्ने कामचाहिँ नगरौं । नेपाल एयरलाइन्स प्रभावकारी रुपमा चलाउनुपर्यो  । अनियमतिता गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्यो  ।

त्यो अनियमितता अघिल्लो सरकारले गरेको भन्न खोज्नुभएको हो ?

स्वभाविक रुपमा यो वाइडबडी खरिद गर्ने प्रक्रिया हामी आउनुभन्दा अगाडिकै हो । कसरी भएको थियो भन्ने कुरा छानविन गरौं । एक–एक छानविन गरौं । यो सरकार त यो वाइडबडी खरिद प्रक्रियामा एक प्रतिशत पनि सहभागी छैन ।

यसमा को को छन् ?

त्यो त छानविनबाट आउला । छानविन होस् भनिरहेकै छौं हामीले । म त भन्छु यो सरकार वाइडबडी खरिद प्रक्रियामा जिरो प्रतिशत पनि संलग्न छैन । यदि अलिकति पनि संलग्नता कसैले छानविनका क्रममा भेटेछ भने दाबाका साथ भन्छु जिन्दगीभरि राजनीतिक सन्यास लिन्छु । थोरैमात्र पनि कुनै डर छैन । किनकि जब बिराइँदैन भने डर हुन्न क्या ।

तपाई त नेकपाको अर्को पुस्ताको नेता पनि हो, यही मौकामा सिध्याइदिउँ भनेर लागे कि क्या हो ?

त्यो हुन पनि सक्छ । भित्री, बाहिर सबै लागेका छन् भन्ने यसै देखिन्छ नि । सोसल मिडियाको गु्रपमा कसले त्यसलाई प्रोभोक गरिरहेको छ भन्ने देखिन्छ । इस्युलाई कसले प्रोभोक गराइरहेको छ । सबैभन्दा बढी ममाथिको प्रहार चाहिँ जति भयो, त्यो धेरै काम गरेका कारण भएको हो ।

जस्तो, भैरहवा एयरपोर्ट अल्झेको थियो । एडीबी बाहिरिएको थियो, ठेकेदारले छाड्ने ठाउँमा पुगेको थियो । त्यसलाई हामीले सबै कुरा ट्र्याकमा ल्याएर काम अघि बढायौं । यसो गर्दा कसैलाई त दुःख परेको छ नि फेरि । कसैलाई यही देखाएर कमाइ भइरहेको थियो ।

पोखरा विमानस्थलको काम अघि बढेको छ । टीआइएको स्तरोन्नतिको कामलाई गतिमा अघि बढायौं । २७ वर्षअघि गर्नुपर्ने काम भर्खरै हामीले ठेक्का लगायौं । यो वर्षाअगाडि काम सिध्याउँदैछौं । जब कामहरु फटाफट अघि बढ्न थाले, त्यसपछि ममाथि अनेक बाहानामा आक्रमण भयो ।

तपाई अहिले हेर्नुस् विश्व सम्पदा क्षेत्रहरुको पुननिर्माणमा नमूना काम भएको छ । हामीलाई लोनली प्लानेटले पाँचौं स्थानमा राखेको छ । युनेस्कोले यो ६ महिनाको अवधिमा सबैभन्दा राम्रो पुननिर्माणको काम भएको भनेर प्रोत्साहित गरेको छ । हामीले सबै सम्पदा क्षेत्र खुला गर्यौं ।

यस्तो कुराले के हुँदो रहेछ भने, ओहो यसले त धेरै गर्ने भयो यसलाई कसरी होइन भन्ने बनाउने भन्ने पनि केहीलाई आउँदो रहेछ । कतिपयका स्वार्थमा ठेस लागेपछि उसले पनि हान्दोरहेछ । कोही चाहिँ समकालीन समकक्षीहरुमा अलिकति इस्र्या पनि आउने होला । तर, मैले यी सबै कुरालाई मतलब गरिनँ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत तपाईको कामप्रति असन्तुष्ट भएको भन्ने कुरा पनि आयो नि ?

मैले सम्मानीय प्रधानमन्त्रीको पूर्ण समर्थन र हौसला पाएको छ । पूर्ण उत्साहका साथ, मेहनतका साथ काम गरेको छु, अझै गर्नु, यस्ता अप्ठेराहरु आउँछन् भन्नुभएको छ । अझ राम्रो परिणाम दिनू भन्नुभएको छ । उहाँ हरेक परिणाममा खुसी हुनुहुन्छ । हाउसमा पनि बोल्नुभएको छ र पछाडि पनि भन्नुभएको छ । व्यक्तिगत रुपमा मलाई उहाँले असाध्यै प्रोत्साहन दिनुभएको छ । अरु नेताहरुले पनि मलाई प्रोत्साहित गर्नुभएको छ ।

अरु नेताको कुरा गर्नुभयो, तर बरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ र नागीडाँडा एयरपोर्टका सन्दर्भमा तपाईमाथि प्रश्न उठाउनुभयो नि ?

होइन, कन्भिन्स मैले गरेँ भन्ने लाग्छ । हिजोमात्रै पनि उहाँ कन्भिस हुनुभयो निजगढको सन्दर्भमा । नागीडाँडाको सन्दर्भमा चाहिँ उहाँलाई कसले भन्यो, तर पछि काभ्रेमा गएर सच्याउनुभएको छ । म के ठान्छु भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा मैले जुन स्टेप लिएको छु, त्यो त मलाई धेरैजसो पछि हटाउनमात्रै खोजेको हो नि त ।

हामीले ८ हजार हेक्टरको क्याचमेन्ट एरियाका लागि २५ सय हेक्टर क्लियर गर्ने भनेको हो । त्यसमध्ये ८ सय हेक्टरचाहिँ खाली नै छ । १७ सय हेक्टरमध्ये पनि तीन चार सय हेक्टर अझ घटाएर १३ सय हेक्टर जतिको वन कटान गर्ने हो । त्यो कटान नगरी एयरपोर्ट बन्दै बन्दैन । जो– जो कराए पनि, चिच्याए पनि त्यो गर्नैपर्छ । त्यो हाम्रो आवश्यकता हो ।

निजगढ भनेको गेम चेन्जर प्रोजेक्ट हो । राष्ट्रिय गौरवको आयोजना हो । निजगढमा एयरपोर्ट पनि बन्नुपर्छ, रुख पनि काट्न पाइँदैन भन्ने टाइपका कुरा गरेर चल्दैन । हामीले जंगल फाँडेर अर्कै शहर बनाउन खोजेको पनि होइन ।

माधवकुमार नेपालले तपाईका दुबै स्टेपमाथि आपत्ति जनाउनु पार्टीभित्रको अन्तरविरोधले पनि हो कि ?

होइन, होइन । ममाथि धेरै अट्याक भइसकेपछि उहाँले मध्यमार्गी बाटो बोल्नुभएको होला । विमानस्थल नै बन्न नदिने षडयन्त्र पनि हुन थालेपछि उहाँले त्यो बाटो बोल्नुभएको हो कि ?

तपाईका समकालीन नेताहरु एउटा–एउटा गुटको अँगालामा छन्, सबैको हुन खोज्ने स्वाभावले तपाईको प्रतिरक्षा पार्टी पंक्तिबाट नभएको हो कि ?

त्यो त मलाई लाग्दैन । म पार्टी अध्यक्ष केपी ओली र प्रचण्डको नेतृत्वमा छु । मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा काम गरिरहेको छु । मेरा क्याबिनेटका कामका हिसाबले जनता र पार्टीप्रति जवाफदेही हुनुपर्छ । मेरो पूर्ण समर्थन महाधिवेशनदेखि लिएर आजसम्म सहयोग समर्थन अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई हो । यो कुरा सबैलाई थाहा छ ।

पहिला माधव नेपाललाई भयो । त्यसबीचमा झलनाथलाई भयो । अहिले मेरो समर्थन केपी ओलीलाई हो । यसमा लुकाउने कुरा छैन । म कुन कुरामा छु, म कसको साथमा छ भन्ने कुरा त कन्फ्युजननै छैन । तर, म व्यवहारमा सबैलाई सन्तुलनमा राख्नुपर्छ भन्ने मान्छे हुँ ।

सबैका कुरा सुन्नुपर्छ भन्ने मान्छे हुँ । आजमात्र होइन, जहिले पनि म व्यवहारमा सबैलाई मिलाउनुपर्छ भन्ने हुँ । केपी ओलीलाई अध्यक्ष बनाउनुपर्छ भनेर खुल्ला रुपमै बोलेर लागेँ । संसदीय दलको नेता बनाउनुपर्छ भनेर भोकल्ली बोलेको हुँ । नेतामाथि पनि न्याय हुनुपर्छ भनेको हो । त्यो वातावरण बनाएर क्याम्पेन गरेको पनि हो र अरु नेतालाई पनि ब्यालेन्समा लानुपर्छ भनेकै हो ।

बामदेवलाई उपचुनाव लडाउनुपर्छ पनि भन्नुभएको हो ?

होइन, यसमा चाहिँ म फरक । त्यो उहाँको र पार्टीको छनोट हो । यसमा मेरो लबिङ पनि होइन र बिरोध पनि होइन । म यसमा चाहिँ लागिनँ । अर्को कुरा, यसमा मलाई सोच्ने फुर्सद पनि छैन ।

फेरि अघिकै प्रसंगमा जाउँ, निजगढको कुरा हुँदै थियो । एयरपोर्ट सिटीमा कुरा नमिलेको हो, अरु चाहिँ सबै कन्भिन्स भएका हुन् ?

होइन, त्यो गलत कुरा हो । शहर बसाउने भन्दा पनि एयपोर्ट बनाउनुपर्छ । एयरपोर्ट बनाउँदाखेरि रुखहरु काटिन्छन् । कम क्षति गर्ने हो । यो काठमाडौं, भैरहवा र पोखराभन्दा फरक अन्तरराष्ट्रिय एयरपोर्ट हो । यो फराकिलो हुन्छ र यसका पूर्वाधार पनि बलियो हुनुपर्छ ।

त्रिभुवन विमानस्थल ट्रान्जिट होइन, यसमा एयरपोर्टभित्र होटल चाहिँदैन । तर, ट्रान्जिट र हबमा त एयरपोर्ट होटल चाहिन्छ । अरुखालका कार्गोको ठाउँहरु चाहिन्छ । धेरै स्टाफहरु हुन्छन् उनीहरुलाई बस्ने ठाउँ चाहिन्छ । पूर्वाधारहरु धेरै नै चाहिन्छन् ।

नजिकै शहर छैन । त्यसैले एयरपोर्टकै लागि चाहिने आधारभूत पूर्वाधारचाहिँ हामीले त्यहाँ बनाउनैपर्छ । त्योभन्दा बाहेकको शहर चाहिँ जंगल फाँडेर बनाउनु पर्दैन । सिमरा, निजगढी चन्द्रनिगाहपुर जस्ता शहरलाई पूर्वाधारयुक्त बनाउने हो ।

क्याबिनेटकै अर्को वनमन्त्रीले एयरपोर्ट बन्न शुरु नभई रुख काट्न दिन्न भन्नुभएको छ, तपाई हतारमा हुनुहुन्छ यसमा के स्वार्थ हो ?

हिजो उहाँले के भन्नुभयो थाहा छैन । तर, एयरपोर्ट बन्ने प्रक्रिया शुरु नभई त हामी रुख काट्न जाँदै जाँदैनौं । तर, कुरा के छ भने विस्तृत सम्भाव्यता अध्ययनपछि जब हामी यति आवश्यक छ भनेर प्रष्ट हुन्छौं । त्यसपछि हामी रुख काट्न जान्छौं ।

निजगढ सन्दर्भमा पनि तपाईलाई विवादमा ल्याउनुको पछाडि स्वार्थ समूह नै छ कि ?

ठूलो छ, ठूलो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न दिनुहुँदैन भनेर त ठूलो स्वार्थ समूह लागेको छ । तर, मलाई डर छैन । म एकदम प्रष्ट छु । निजगढ एयरपोर्ट बन्नैपर्छ भन्ने धेरै छन् । त्यसैले अब मलाई डर छैन । हिजोचाहिँ म एक्लै हुन्छु कि भन्ने थियो ।

जब केही प्रश्न आयो कि पछि हट्ने चलन छ हाम्रोमा । त्यसको जवाफ दिने कि पछि हट्ने ? मैले जवाफ दिनुपर्छ भनेको हुँ । आफू गलत छु भने पछि हट्नुपर्यो  । आफू सही छु भने अघि बढ्नुपर्छ ।

त्यसकारण म भन्छु निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने खेलहरु छन् । तर, बन्छ । हिजो म विकास समितिको सभापति हुँदा नै यसलाई अघि बढाउन सघाएको हुँ । अरु धेरै आयोजना मैले अघि बढाउन भूमिका खेलेको हुँ । अहिले कार्यन्वयनको जिम्मामा आएको छ, यसबाट पछि हट्ने कुरा छैन ।

मुख्य कुरा यो विमानस्थल बनेको जस यो सरकारलाई जान्छ भन्ने कुरामा कतिपय मान्छेलाई पचेको छैन । म यतिमात्र भन्न सक्छु यसमा जस र अपजस होइन, देशको कुरा हो । सत्तापक्ष प्रतिपक्ष नभनी सबै एक ठाउँमा हुनुपर्छ ।

माधव नेपालको त साथ पाउन सक्नुभएन, सिंगो देशको साथ पाउनुहोला ?

माधव नेपालको पनि साथ छ । सिंगो नेपाल कम्युनिस्ट पार्टीको साथ छ । माधव नेपालले त मलाई ‘खोई आफ्नो पोखरामा मात्रै बनाउने ? निजगढ छिटो बनाउनुपर्यो ’ भन्नुभएको थियो । म त झन् धेरै छिटो अघि बढ्न खोजेको उहाँकै कारणले पनि हो ।

निजगढ विमानस्थलबारे मिडिया पनि दुई धारमा उभिए । बन्नैपर्छ भन्ने र बन्नु त पर्छ, तर जंगल नफाँडी भन्ने लाइनमा बहस भयो । अब तपाई भन्नुस् यो विमानस्थल कहिलेबाट बन्न थाल्छ ?

यो एक महिनाको बीचमा आशय पत्र निस्कन्छ । एक महिनाकै बीचमा साइट क्लियरेन्सको प्रक्रिया मुआब्जा लगायतको काम अघि बढिरहेको छ । हामीले विस्तृत गुरुयोजना पनि गरिरहेका छौं । हामीले विमानस्थल निर्माण गर्ने डेभलपर खोजिरहेका हुन्छौं यसबीचमा । यसमा सबै अवधारण प्रष्ट भएर जान्छ ।

आशयपत्र नै निकाल्न थालेपछि यो विमानस्थल बन्ने पो भयो भनेर यति धेरै बिरोध भएको हो । पहिला बन्छ भन्ने लागेको थिएन कसैले बिरोध गरेनन् । अब बन्ने निश्चित भयो भनेपछि स्वार्थ समूह सल्बलाएर बिरोध भएको हो । अरु एयरपोर्टहरु पनि स्पिडमा अघि बढेपछि लौ अब यो मन्त्रीले काम गर्ने रहेछ भने बिरोधमा सबै शक्ति परिचालित भएको हो ।

तर, अहिलेसम्म लगानीकर्ता नै भेटाइएन भन्ने पनि छ नि ?

किन नहुनु यसमा सबै कुरा छ । अन्तर्राष्ट्रिय लगानीकर्ता पनि छन् । डेभलपर पनि छन् । जीटुजीका कुरा पनि आएका छन् । नत्र हामी आफैं पनि बनाउँछौं । देशले पनि बनाउन सक्छ । तर, त्योभन्दा अघि डेभलपरहरुबाट, लगानीकर्ताहरुबाटै हामी यसलाई अघि बढाउन चाहान्छौं ।

तपाईले धेरै काम गरेका कारणले मेरो बिरोध भयो भन्नुभयो, तपाईले के काम गर्नुभयो त अहिलेसम्म ?

मैले साना मसिना काम भन्दिनँ । भैरहवा एयरपोर्ट ९ महिनामा सञ्चालन हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगभग २४ सै घण्टा सञ्चालनको व्यवस्थापन गरिएको छ । हामीले डोमेस्टिकलाई राति र अर्ली मर्निङमा पनि चल्ने बनायौं । २६ वटा आन्तरिक विमानस्थलहरुमा जहाज चल्ने बनायौं । हेरिटेज साइटहरु जान सकिने बनायौं । पुननिर्माण तीब्र गतिमा लग्यौं । पर्यटन क्षेत्रको विकृतिलाई हटाउन ठूलो आँट गरियो ।

पर्यटक आगमन ३३ प्रतिशतले बृद्धि हुने अवस्था ल्यायौं । पयर्टकीय गन्तव्यहरु अब काठमाडौं,चितवन र पोखराबाट धेरै बिस्तार भएका छन् । भिजिट नेपाल इयरका कामहरु राम्रोसँग अघि बढेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध सुधार भएको छ । भारतसँग एयर रुट ४ वटा थप प्राप्त गरेकोमा दुईवटामा विवाद आएको छ । त्यो पनि हामी सल्टाउँछौं ।

एयर सर्भिस एग्रिमेन्ट धेरै मुलुकसँग भएको छ । जापान थाइल्याण्डपछि युरोपतर्फ जाँदैछौं । हामीले मन्टेरियल कन्भेन्सनको कुरा गर्दा नेपालीले २० लाख पाउँथ्यो भने विदेशीले डेढ करोडसम्म पाउँथ्यो । नेपालीको जीवनको मूल्य त भेडा बाख्रासरी थियो । हामीले मन्टेरियल कन्भेन्सन मंसिर १५ देखि लागु गराउँदैछौं ।

मलाई लाग्छ जति पनि गर्नुपर्ने काम थिए ती सबै गरेका छौं ।

नयाँ काम के सोच्नुभएको छ ?

सोच्नुपर्ने र गर्नुपर्ने धेरै छ । हामीले अब आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ । बाहिरका लाई बोलाउँदैछौं तर नेपालीहरुमा घुम्ने बानी जुन बढेको छ यसलाई सरकारले सघाउनुपर्छ । आन्तरिक पर्यटन त यति बढेको छ कि, यसबीचका प्रचार प्रसारले सघाएको छ । अहिले त्यहाँ पूर्वाधार छैनन् । अहिले पर्यटक धेरै गए, अब अर्कोपटक पूर्वाधार बन्दै जान्छन् । हामीले आन्तरिक पर्यटन बढाउन भ्रमण बिदा दिनेखालका योजना ल्याउनुपर्छ ।

हिजो विकास समितिको सभापति हुँदा धेरै पूर्वाधार निर्माणमा सरकारलाई निर्देशन दिनुभयो, काम भएनन् भनेर ताकेता पनि गर्नुभयो, आज आफैं त्यहाँ पुग्दा के फरक हुँदोरहेछ ?

हिजो पनि मैले कार्यकारीलाई सहयोग गरेको हो । त्यहाँ जोखिम हुन्थेन, यहाँ जोखिम हुन्छ । त्यहाँ निर्णय गर भन्दा पुग्थ्यो, यहाँ निर्णय गर्दा जवाफदेही हुनुपर्छ । तर, पनि मैले यो मन्त्रालयमा आएर राम्रा काम थालेको छु । हिजो थाति रहेका काम अघि बढेका छन् । रिस्क लिएरै काम हुने हो ।

म मेरो पार्टीका नेता कार्यकर्तालाई भन्छु यो सरकारले प्रभावकारी काम गरिरहेको छ । भर्खर शुरुआत छ, अहिले सबै कुरा भन्ने बेला पनि भएको छैन । अहिले सबैले समर्थन गर्नुपर्छ सरकारलाई । अहिले सिंगो पार्टीले र मुलुकले नै प्रधानमन्त्रीलाई र यो सरकारलाई सहयोग गर्नुपर्छ । अहिले जति पनि काम अघि बढेका छन्, यी दीर्घकालीन रुपमा धेरै सकारात्मक छन् । यसलाई देख्न सक्नुपर्छ ।

तर, पार्टीको सिंगो पंक्ति सरकारका काममा सकारात्मक किन नभएको होला ?

यस्तो भयो, पार्टी संक्रमणको अवस्थामा छ । दुईटा पार्टी एक भएको तर कमिटी प्रणाली व्यवस्थित नभएको अवस्था छ । अर्को कुरा, हाम्रोभित्र संस्कार पनि त्यस्तै आइरहेको छ, जसले गर्यो उसैले डिफेन्स गर्नुपर्ने ।

तर, म के ठान्छु भने काम एकदम प्रभावकारी रुपमा गर्ने हो । आलोचनाबाट बच्नका निम्ति केही काम नगरी बस्नु ठीक हुँदैन । काम गर्दै जाने हो, स्वार्थ बाझिनेहरुले आलोचना गर्छन्, खेद्छन् यस्ता कुराबाट विचलित हुँदैनौं ।

पार्टीले पनि अब योजना ल्याउँछ । पार्टीले सबै एकीकरणका प्रक्रिया पूरा गरेपछि योजना ल्याउँछ । हामी कामबाटै विरोधीका आक्रमणलाई जवाफ दिन्छौँ ।

यो अन्तर्वार्ता अनलाईन खवरमा प्रकासित छ |