Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
नाकाबन्दी खुल्नुको अर्थ

Articles

नाकाबन्दी खुल्नुको अर्थ

By Dhurba Pokharel

February 07, 2016

लामो समयदेखि अवरुद्ध नेपाल–भारतबीचको वीरगन्ज–रक्सौल नाका शुक्रबारदेखि खुलेको र आवागमन सुचारु भएको संकेत आएको छ । नाका खुल्नु स्वागतयोग्य छ । यसलाई सकारात्मक रूपमा हेर्नुपर्छ । तर, विगतमा नाकाबन्दी के र कसका कारणले लागेको थियो, अहिले यो के र कसका कारणले खुल्यो, यो नाकाबन्दी नलगाई नहुने कारण के थियो ? यस्ता प्रश्नमाथि भविष्यमा विमर्श हुँदै गर्ला । तर, अहिले यहाँनिर एउटा प्रश्न टड्कारो रूपमा खडा भएको छ । के यो नाकाबन्दी सुनियोजित तबरले लगाइएको थियो ? यसबाट निर्बाध रूपमा समुद्र या तेस्रो देशसम्म पुग्न पाउने भूपरिवेष्टित राष्ट्र नेपालको पारवहन अधिकार जानाजान थुनिएको रहेछ, कुण्ठित गरिएको रहेछ भन्ने डरलाग्दो पक्ष पनि उद्घाटित गरेको छ । यो नाकाबन्दी एउटा सार्वभौम देशको पारवहन अधिकारमाथिको हमला हो भन्ने पनि यसले संकेत गरेको छ । त्यसैले अहिले नाकाबन्दी खुल्यो भनेर खुसी भइहाल्नुभन्दा पनि त्यसले नेपाल र नेपालीमाथि कति ठूलो षड्यन्त्र गरेको रहेछ भन्नेतर्फ सजग र सचेत रहन हामीलाई घचघच्याएको छ ।

मधेसविरोधी नाकाबन्दी शुक्रबारदेखि स्थानीय बासिन्दा तथा व्यापारीको प्रयासमा वीरगन्ज नाकाको अवरोध त हट्यो, तर त्यहाँ पुन: अवरोध गर्ने प्रयासहरू भइरहेका छन् भन्ने पनि खबर आइरहेका छन् । नेपाल र नेपालीविरुद्ध पुन: नाकाबन्दी लगाउन नेपालीले नै प्रयास गरिरहेका छन् । मधेसी जनताका नाममा नाकाबन्दी लगाउनेहरूले समग्र नेपाल र नेपालीमाथि नाकाबन्दी लगाइरहेका छन् । यो नाकाबन्दी हिमाल, पहाड र राजधानी काठमाडौंविरुद्ध मात्र लक्षित छैन, यो सिंगो मधेसविरुद्ध पनि लक्षित छ । यो नाकाबन्दी नेपाली स्वाधीनता र स्वाभिमानमाथिको नाकाबन्दी पनि हो । यो नाकाबन्दी राजधानी काठमाडौंविरुद्ध मात्र हो भनेर कसैले बुझ्छ भने उसको त्यो गलत बुझाइ हो ।

नाकाबन्दीले उब्जाएका प्रश्न अहिलेको यो नाकाबन्दी किन लगाइयो, कसले लगायो भन्ने प्रश्नको प्रस्ट जवाफ नआईकन यो नाकाबन्दी साँच्चै खुलेको हो कि होइन, नाकाबन्दी खुले पनि यो दिगो रहन्छ कि रहन्न ? यो नाका कतिन्जेल खुला रहने हो र फेरि कहिले बन्द हुने हो जस्ता प्रश्नमाथि बहस गर्नुको अर्थ छैन । यतिखेर जनता जोडदार रूपमा प्रश्न गरिरहेका छन्– के यो नाकाबन्दी सधैँका लागि खुलेको हो ? यो हामी सबैसामु उभिएको एउटा गम्भीर प्रश्न पनि हो । यो नाका आज खुल्ने, अर्को १० या २० दिनपछि फेरि बन्द हुने गर्न थाल्यो भने देशका लागि त्योभन्दा ठूलो दुर्भाग्य अर्को हुनैसक्दैन । कुनै व्यक्ति, दल वा राजनीतिक मोर्चा रिसाउँदा देशविरुद्ध नाकाबन्दी हुने र कोही खुसाउँदा नाकाबन्दी खुल्ने अवस्था सिर्जना हुनु सिंगो देशका लागि गम्भीर दुर्भाग्य हो । नाकाबन्दी कुनै सर्तमा खोल्ने भन्नु नै गलत हो । नाकाबाट वारपार हुन पाउनु हाम्रो मौलिक अधिकार हो । यो वा त्यो पक्षको निर्देशन वा सर्तपछि नाकाको अवरोध हट्यो भनिन्छ भने त्यसको कुनै औचित्य छैन । यो हुनैनहुने र भइसकेको अवस्थामा नि:सर्त खुल्नैपर्ने विषय हो । मधेसी मोर्चा वा भारत, जसले गरिरहेको भए पनि कुनै सर्त वा बन्देज नतेस्र्याई नाका खोल्नैपर्छ ।

प्रधानमन्त्रीको भारत भ्रमण र नाकाबन्दीको साइनो अहिलेको नाकाबन्दी खुल्नुलाई प्रधानमन्त्रीको निकट भविष्यमै हुन लागिरहेको भारत भ्रमणको सन्दर्भसित जोडेर हेर्ने, चर्चा, परिचर्चा गर्ने प्रयास पनि भइरहेका छन् । फागुन ७ गतेदेखि प्रधानमन्त्रीको भारत भ्रमण हुँदै छ । त्यसैको पूर्वतयारीका लागि अर्थमन्त्री यही २४ गते भारत जाँदै हुनुहुन्छ । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणका लागि मात्र बाटो खोल्न खोजिएको हो भन्ने कोणबाट पनि यतिखेर बहसहरू भइरहेका छन् । यदि प्रधानमन्त्रीको भ्रमणका लागि मात्र यो नाकाबन्दी खोलिएको हो भने यसको कुनै औचित्य छैन । भूपरिवेष्टित र भारतको एउटा असल छिमेकी मित्रराष्ट्र नेपालमाथि कुनै पनि नाम वा बहानामा कहिल्यै नाकाबन्दी लाग्नुहुन्नथ्यो । नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा पनि अत्यन्तै राम्रो थियो र छ । तर, अहिलेको नाकाबन्दीले दुई देशबीचको सम्बन्धलाई अत्यन्तै नकारात्मक असर पुर्‍याएको छ । मधेस र अन्य क्षेत्रका नागरिकबीचको सम्बन्धमा पनि यसले एकप्रकारको तिक्तता ल्याएको छ । यस नाकाबन्दीले मधेसीलाई अत्यन्तै कमजोर बनाएको छ । अझ भन्नुपर्दा सिंगो नेपाललाई नै यसले कमजोर बनाएको छ । यसले मधेसका उद्योगधन्दा, कलकारखाना, व्यापार सबै ठप्प पारेको छ । देश कम्तीमा पनि १५ वर्ष पछि धकेलिएको छ । वीरगन्जको व्यापारिक केन्द्रलाई १५–२० वर्ष पछि धकेल्ने, त्यहाँको औद्योगिकीकरणलाई ध्वस्तप्राय: बनाउने, त्यहाँको उद्यमशीलतालाई नष्ट गर्ने, बन्द व्यापारलाई चौपट पार्ने, त्यहाँको कृषि व्यवसायमा गम्भीर अवरोध ल्याउने र त्यहाँको जनजीवनलाई कष्टसाध्य अवस्थामा पुर्‍याएर वीरगन्जलाई मृतप्राय: बनाउने काम मधेस र मधेसीकै नाममा किन र कसबाट भइरहेको छ ? अनि किन हामी यस्तो कृत्यलाई रोक्न सकिरहेका छैनौँ ? यी प्रश्नबारे समग्र नेपाली जनता र विशेषगरी त्यहीँका मधेसी जनताले गम्भीरतापूर्वक मनन गर्नु जरुरी छ ।

नाकाबन्दी खुलाउने स्थानीय प्रयास शुक्रबारदेखि नाका खुलाउन स्थानीय बासिन्दा र त्यहाँका व्यापारीको सक्रिय र उत्साहपूर्वक सहभागिता देखियो । उहाँहरूको यस प्रयासको हामी सबैले उच्च सम्मान गर्नुपर्छ । जनताका नाममा देश र जनताविरुद्ध नाकाबन्दी लगाएर सिंगो देशलाई नै कंगाल बनाउने जुन खेल खेलिँदै थियो, त्यो एक न एक दिन जनतामाझ नांगिनु नै थियो, जनताको आक्रोशको निसाना बन्नु नै थियो । आखिर त्यही भएको छ । स्थानीयले स्वस्फूर्त रूपमा अन्यायपूर्ण तबरमा बन्द गरिएको नाका खुलाएका छन् । अब यसलाई कुनै पनि बहानामा फेरि बन्द गर्ने वा बन्द हुने अवस्था सिर्जना हुन नदिन सबै सजग र सचेत हुनु जरुरी छ ।

नेपाल–भारत व्यापार सम्बन्धमा प्रभाव नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अत्यन्त पुरानो छ । अहिलेको नाकाबन्दीले त्यो पुरानो व्यापारिक सम्बन्धमा पनि गम्भीर प्रतिकूल असर पारिरहेको छ । यो प्रतिकूलतालाई हामीले समयमै चिर्न सकेनौँ भने नेपाल–भारतबीचको व्यापार सम्बन्ध सुदृढ हुन सक्दैन । यदि त्यस्तो हुन सकेन भने दुई चार वर्ष त हामीले दु:ख पनि पाऔँला, तर त्यसको स्थानमा अन्य विकल्प पनि आउँछन् । यदि त्यो स्थिति आयो भने दुई देशबीचको सम्बन्ध झनै तिक्ततापूर्ण हुने निश्चित छ ।

सत्ता परिवर्तनको खेल नाकाबन्दीसँगै यसैको चेपुवामा पारेर सरकारलाई कमजोर बनाउने र त्यसैको आडमा सरकार परिवर्तन गर्ने खेल पनि खेलिँदै छ भन्ने अर्को हल्ला पनि सुनिँदै छ । यतिखेर सरकार परिवर्तनको खेलमा नेपालका कुनै पनि राजनीतिक दल र नेताहरूले यो नाकाबन्दीको सहारा लिइरहेका छन् भने त्यो दल राजनीतिक दल होइन र त्यो व्यक्ति कुनै पनि कोणबाट नेता भनिन लायक हुँदैन । यस्तो खेलमा लाग्ने व्यक्ति नेपाली मन र मुटुको नेता हुनै सक्दैन, नेपाली जनताको प्रतिनिधित्व गर्ने नेता त झन् ऊ हुँदै होइन । ऊ त केवल सत्ताका लागि मरिहत्ते गर्ने स्वार्थी सत्तालम्पटबाहेक केही होइन भन्ने प्रस्ट हुन्छ । आफूलाई लोकतान्त्रिक पार्टी भनाउने शक्तिहरूले पनि यसमा गम्भीर हुनैपर्छ । अहिलेको नाकाबन्दीसँगै हाम्रो राष्ट्रिय एकता र सद्भाव खलबल्याउने खेल भइरहेको छ । यसलाई कसैले पनि समर्थन गर्ने गल्ती गर्नुहुँदैन ।

संविधान कार्यान्वयनमा एकताको खाँचो अहिलेको संविधान, कांग्रेस, एमाले, एमाओवादीसहितका प्रमुख राजनीतिक शक्तिहरूको समर्थनमा झन्डै ९० प्रतिशत जनप्रतिनिधिको अनुमोदनबाट जारी भएको हो । त्यसैले यसको कार्यान्वयनको जिम्मेवारी पनि हामी सबैको हो । यस जिम्मेवारीबाट कोही पनि पन्छिन मिल्दैन । नयाँ संविधान कार्यान्वयन तहमा जान सक्यो भने मात्र हाम्रो देश विकास निर्माणको नयाँ चरणमा प्रवेश गर्न सक्छ । यसो हुन सक्यो भने मात्र मुलुक समृद्धिको ढोका खुल्न सक्छ । संविधान कार्यान्वयनबाट मात्र देशको सार्वभौमिकता, अखण्डता र स्वाधीनता अक्षुण्ण रहन सक्ने हो । आगामी २४ महिनाभित्र हामी स्थानीय निकायको निर्वाचनमा गइसक्नुपर्छ । प्रदेशहरूको सीमांकन सकेर तिनको निर्वाचन पनि गरिसक्नुपर्छ । संघीय संसद्को पनि निर्वाचन गरिसक्नुपर्छ । संविधानअनुरूप आवश्यक कानुन निर्माण गर्नु छ । निर्वाचन क्षेत्र निर्धारण आयोग बनाएर काम सुरु गर्नुपर्ने छ । विभिन्न आयोग पनि गठन गर्नु छ । प्रदेश प्रमुखहरूको निर्वाचन गरी प्रादेशिक संरचनालाई शक्ति हस्तान्तरण पनि हामीले नै गर्नु छ । यति छोटो अवधिमा हामीले धेरै काम गरिसक्नुपर्ने अवस्था छ । यस्तोमा पनि तेरो र मेरो, मधेसी र पहाडिया, यो जात र ऊ जात, यो पार्टी र ऊ पार्टीको राग अलापेर बसिरह्यौँ भने हामीले विद्यमान संक्रमणको डुंगा पार लगाउन सक्नेछैनौँ । यस्तो भयो भने हामीलाई असफल पार्न खोजिरहेको तत्त्वलाई हामी स्वयंले बल दिइरहेको पुष्टि हुनेछ ।

संविधानमाथिका असन्तुष्टि र संशोधन मधेसले हाम्रो नयाँ संविधानमाथि असन्तुष्टि जनाएर आन्दोलन सुरु गरेको हो भने संविधान संशोधनपछि अब पनि रडाको गरिरहनुको औचित्य छैन । आन्दोलनरत मोर्चाले उठाएबमोजिम संविधानमा संशोधन भइसकेको छ । उहाँहरूले मधेस आन्दोलनका क्रममा जे–जस्ता मुद्दा उठाउनुभएको थियो, संविधान निर्माण र संशोधनका चरणमा तीमध्ये लगभग सबैजसो पूरा भइसकेका छन् । एक नेपाल दुई हुन वा अखण्ड नेपाल विखण्डनमा जान सक्दैन । त्यसबाहेक मधेसको कुन चाहिँ अधिकार कुण्ठित भयो ? उहाँहरूले खोजेको के हो ? उहाँहरू के चाहनुहुन्छ ? आज अधिकारका नाममा सिंगो मधेसलाई नै तहसनहस पार्ने काम भइरहेको छ । यसले मधेस र समग्र देशलाई कहाँ पुर्‍याउँछ ? यस पाटोबाट पनि उहाँहरूले सोच्नु जरुरी छ । संविधान अपरिवर्तनीय विषय होइन । यदि कुनै असन्तुष्टि बाँकी नै रहेछन् भने पनि तिनलाई आगामी दिनमा सम्बोधन गरेर जान नसकिने होइन । मुलुकको सार्वभौमिकता र क्षेत्रीय अखण्डताबाहेकका विषय आवश्यकताअनुसार परिवर्तन हुन सक्छन् । त्यसैले यी सबै सम्भावना जीवित हुँदाहुँदै सिंगो देशविरोधी नाकाबन्दी कुनै पनि अर्थमा स्विकार्न सकिन्न ।

यो लेख नयाँ पत्रिका दैनिकमा प्रकासित छ ।