मैले नेतृत्व पाउनुपर्छ भनेको छैन : प्रचण्ड

काठमाडौं। प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहालले शुक्रबारबाट संसद्को अवरोध खुल्ने बताएका छन्। बुधबारको संसद बैठक अवरोध गरेर बाहिरिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले चार बुँदे सहमतिको कार्यान्वयनबारे सहमति नजिक पुग्न लागेको भन्दै शुक्रबार सदन सुचारु हुने बताए।

उनले भने, ‘आज नै सदन चल्ने विस्वास थियो तर सरकारको तर्फबाट गृहकार्य नपुगेको भन्ने कुरा आयो। अब शुक्रबार सदन खुल्छ।’ उनले प्रतिपक्षी दलले चारबुँदे सहमति कार्यान्वयन, भन्सारबाट गाडी भित्राउँदा लाग्ने कर छुट लगायत माग राखेपनि सत्तापक्षले गलत प्रचार गरेको आरोप लगाए।

उनले उच्चस्तरिय राजनीतिक संयन्त्रको विवादका कारण सदन अवरुद्ध भएको भन्ने आरोप गलत भएको बताए। तीन दलको बैठकमा कांग्रेस एमालेले नै संयन्त्रको नेतृत्व गर्न प्रस्ताव गरेपनि समग्र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न उच्चस्तरीय राजनीतिक समिति केन्द्रित हुनुपर्ने प्रस्तव गरेको बताए।

‘प्रचण्डले उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक खोज्यो भनेर गलत प्रचार भएको छ।’ उनले भने, ‘मैले पटक पटक भनेको छु संयन्त्रले संविधान निर्माण र शापिन्त प्रक्रियाका विषयमा पनि छलफल गर्न पाउनुपर्छ।’

उनले सदनको अवरोध आफूहरुको रहर नभएकाले विगतका सहमति कार्यान्वयनमा सरकारलाई जिम्मेवार बन्नुपर्ने धारणा राखे।