जनमत संग्रहको निवेदन दर्ता

धर्म निरपेक्ष, राजतन्त्र र संघीयताको टुंगो जनमत संग्रहबाट मात्र गर्नुपर्छ भन्दैआएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभामा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताजस्ता विषयमा जनमत सङ्ग्रह हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको छ ।

पार्टी संसदीय दलका नेता कमल थापा प्रस्तावक, प्रमुख सचेतक दिलनाथ गिरी र संसदीय दलको कार्यालयका सदस्यसचिव सुशीलकुमार श्रेष्ठ समर्थक रहेको निवेदन संविधानसभा सचिवालयमा दर्ता भएको हो ।

निवेदनमा धर्मनिरपेक्षता वा सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, गणतन्त्र वा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र एवम् सङ्घीयतामा जाने वा नजाने भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न संविधानको प्रस्तावना, धारा ३३ क, ग र द १ बमोजिम तथा संविधानसभा नियमावली, २०७० को नियम १५२ अनुरुप जनमत सङ्ग्रह गरियोस् भनिएको छ ।