कर्नालीको विकासका लागि छुट्टै कर्नाली विकास उपसमिति बनाउँछौः सभापति

सबै हुम्लीको पहिलो माग सडक

हुम्लाको विकासका लागि एक सर्वपक्षीय टोलीले संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीलाई भेटी कर्नाली लोकमार्गको बारेमा ध्यानाकर्षण गराएको छ । हुम्लाका सभाषद जीवनबहादुर शाहीको नेतृत्वमा गएको सो टोलीले सिंहदरवारस्थित कार्यालयमा हुम्लाको विकासको ढोका खोल्ने कर्नाली लोकमार्ग कालिकोट खुलालुदेखि हुम्लाको सिमकोटसम्म छिटो बनाउनका लागि पहल गरी दिन अनुरोध गरेको हो । संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले आफ्नो समितिभित्र समग्र कर्नालीको विकासका लागि छुट्टै कर्नाली विकास उपसमिति बनाउन लागेको जानकारी दिए ।Humla news

उनले भने, ‘देशको अरु भागको विकास र कर्नालीको विकासको कुरा गर्दा फरक ढंगले सोच्न जरुरी छ ।’ सडक सञ्जालमा नजोडिएको हुम्लामा सडक प¥याउन नेपाली सेना र सडक विभागलाई आवश्यक छलफल गर्ने दावी गर्दै सभापति अधिकारीले भने, ‘अब यस कामलाई हामी सबैले पहिलो प्राथमिकता दिएर राष्ट्रिय बहसमा ल्याउन चाहन्छौ ।’

उनले आफ्नो समितिले कार्तिकको पहिलो हप्तामा यस विषयलाई छलफलमा ल्याउने प्रतिबद्धता जनाए । ‘हुम्लालाई चाहिएको सडक छ, त्यसको लागि भनेजस्तो काम भए बजेटको पनि अभाव हुने छैन’ अधिकारीले भने, ‘म पनि फिल्ड हेर्न चाहन्छु र आवश्यक परे प्रधानमन्त्रीसँग पनि लबिङ गर्न तयार छु ।’
हुम्लाका सभाषद जीवनबहादुर शाहीले विकासको पहिलो ढोका सडक भएकाले सबै हुम्लीको पहिलो माग सडक भएको बताए ।

उनले भने, ‘यो सडक निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिने भनेको छ, सेनाले पुरै लिन चाहन्छ तर सडक विभागले ११ किमि मात्र दिन चाहेको देखियो ।’ यसखाले समस्यालाई सुल्झाउन संसदको विकास समितिले पहल गर्न आवश्यक रहेको तर्क गर्दै सभाषद शाहीले भने, ‘अन्त विकल्पका लागि कोरिडोर बन्दैछ भने कर्नालीमा बाध्यताको कुरा छ ।’

पूर्व सहायक मन्त्री छक्कबहादुर लामाले सडक विभागले सेनालाई भीरमा मात्र जिम्मा दिन चाहनु र सडकमा ७२ प्रतिशतसम्म घटेर ठेक्का लिनु मुख्य समस्या रहेको बताए । उनले राज्यसँग जोडिने सडक नबन्दासम्म हुम्लीहरुले राज्यसँग नजोडिएको अनुभूति गर्ने पनि बताए । कर्नाली विकास आयोगका सदस्य दीपकबहादुर बुढाले सडक विभागको मापदण्ड र नेपाली सेनाको कमाण्डमा सडक बनाउने र त्यसमा स्थानीय युवाहरु परिचालन
गर्न आवश्यक रहेको तर्क गरे ।

कर्नाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष शिवराज शर्माले हुम्लामा सडक नपुग्दासम्म जति विकासको रकम दिएपनि विकास असंभव हुने दावी गरे । उनले भने, ‘कैलाश मानसरोवरले गर्दा कर्नाली लोकमार्ग बनेमा दैलेखदेखि हिल्सासम्म पर्यटकीय मार्ग हुनेछ
।’

हुम्लाका स्थानीय विकास अधिकारी शिवप्रसाद रिजालले कर्नाली लोकमार्ग नबन्दासम्म राज्यले अर्बौ रुपैया दिएपनि कुनै परिवर्तन नहुने दावी गरे ।
उनले सडक विभागको मापदण्डअनुसार हुम्लामा सडक नपुग्ने ठोकुवा गरे । ‘सडक विभागको चंगुलबाट बच्न जरुरी छ’ रिजालले भने ।

यस्तै संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकाया, सिप नेपाल हुम्लाका प्रमुख अंगबहादुर लामा, लिर्बडका हुम्ला प्रमुख आशाराम गुरुङ, हुम्ला विकास
पहलका संयोजक योगी कायस्थ लगायतले सोही अवसरमा हुम्लाको विकासका लागि सडक पहिलो प्राथमिकतामा परेको बताएका छन् ।

उनीहरुले कर्नाली लोकमार्ग निर्माण नभई हुम्लामा कुनै परिवर्तन नआउने भएकाले राज्यले ध्यान दिने गरी संसदीय विकास समितिलाई आग्रह गरेका थिए । उनीहरुका अनुसार सडक विभाग र नेपाली सेनाबीच देखिएको समायोजन गरी छिटो कार्यान्वयन गर्न आवश्यक छ ।