पढ्न पाइन्छ भने हामी घर पनि छाड्न तयार छौं, आमाबाबु पनि छाड्न तयार छौं, देशका लागि ज्यान दिन तयार छौं’, राणाशासन विरुद्धका सुरुवाती दिनमा सहाना प्रधानले गरेको प्रतिबद्धता थियो यो । १९८४ असार २७ गते काठमाडौंको असनमा जन्मिनुभएकी प्रधानले ८७ वर्षको संघर्षमय जीवनबाट २०७१ असोज ६ गते ११.५ बजे विदा लिनुभयो । १०४ वर्षे क्रूर राणाशासन र ३० वर्षे पञ्चायती शासन तथा राजा ज्ञानेन्द्रको शाही शासनमाथि सधैं विजय प्राप्त गर्नुभएकी सहानाले मस्तिष्क पक्षाघात र छातीको संक्रमणको रोगसँग लड्दालड्दैै यस संसारबाट बिदा लिनुभएको छ ।
नेपालमा जन्मे पनि आफ्नो बाल्यकाल बर्मामा बिताउनुभएकी प्रधानले प्रारम्भिक शिक्षा बर्मेली स्कुलमै प्राप्त गर्नुभयो । त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । अमेरिका र जापानको लडाइँको प्रभाव बर्मामा पनि पर्यो । मान्छेको टाउकोमाथि हमेशा तरवार झुन्डिएको हुन्थ्यो, हवाइजहाज आउँछ बम खसाल्छ, साइरन बज्छ, भागदौड सुरु हुन्छ । यस्तै थियो उहाँको बाल्यकाल बितेको बर्माको दिनचर्या । त्यसैले सहानाको परिवार नेपाल फिर्ता भयो । तर नेपालमा राणाशासन थियो । राणाहरूले छोरीहरूलाई पढ्ने अनुमति दिएका थिएनन् । सहाना, साधना लगायत ४ जना केटीहरूले पढ्न पाउनुपर्छ भन्दै राणाका विरुद्ध आन्दोलन गर्नुभयो, जेल जानुभयो, अनशन बसे र राणाहरूलाई झुक्याएर केटीहरूले पनि पढ्न पाउने माग पुरामात्र गराउनु भएन, उहाँहरूले प्रवेशिका परीक्षा उत्तीर्ण पनि गर्नुभयो । राणा शासनको विरुद्ध महिलाहरूले पढ्ने अधिकार स्थापित गर्ने अग्रणी हुनुुहुन्थ्यो सहाना ।
नेकपा माले र नेकपा माक्र्सवादीको एकता -२०४७) हुनुभन्दा अघि मेरो बुबा माक्र्सवादी पार्टीमा हुनुहुन्थ्यो । म भने अखिल पाँचौंको केन्द्रीय सदस्य थिएँ । मैले सहानाको बारेमा सानो बच्चादेखि नै सुन्दै आएको हो । पञ्चायतकालमा एकपटक उहाँ हाम्रो गाउँमा पनि आउनुभएको थियो । मैले नजिकबाट उहाँलाई त्यहाँ नै देखेको हुँ । २०३२ सालको आन्दोलनमा त्रिवि कीर्तिर्पुरबाट सहाना र केदारभक्त माथेमा लगायत शिक्षकहरूलाई निष्काशन गरेको इतिहास पनि पढेको थिएँ ।
जब २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको अध्यक्षको रूपमा सहाना बाहिर आउनुभयो र त्यो आन्दोलनले सफलता प्राप्त गर्यो, सहानाले कमैले नाप्नै नसक्ने उचाइ प्राप्त गर्नुभयो । र मेरा लागि भने नेकपा एमालेको नेता, २०५४ मा नेकपा मालेको अध्यक्ष एमालेको नेता अनेमसंघको अध्यक्षका रूपमा उहाँसँग बढी परिचित हुने अवसर मिल्यो । वास्तवमा सहाना राजनीतिका धेरै खुरापात, घात-अन्तरघातलाई सजिलै पिउन सक्ने, आफ्नो स्वाभिमान र क्षमतामा विश्वास गर्ने एकजना नेता हुनुहुन्थ्यो भन्दा अत्युक्ति हुँदैन । हेर्दा अलि अन्तरमुखी स्वभावजस्तो र घमन्डी लाग्ने तर जति उहाँसँग छलफल र संगत गर्दै गयो, उति नै मूल्यको राजनीति, उच्च प्राज्ञिक, दृढ मनोबल भएकी नेताको रूपमा मैले पाएको छु । राजनीतिमा आएको विकृति, सिद्धान्तहरूको ह्रास, नैतिकताको पतन, वैयक्तिक स्वार्थ नै सर्वाेपरी ठान्ने प्रवृत्तिले बढावा पाइरहेको बेला सहाना एउटा संघर्षशील निष्ठावान नेता हुनुहुन्थ्यो । नेपालको वाम लोकतान्त्रिक आन्दोलनको शिखर हुन सफल प्रधानलाई वर्तमानले कति सम्मान गर्यो, त्यो छलफलको विषय हो, तर इतिहासले उच्च मूल्यांकन गर्नेछ ।
राजनीतिको लामो आरोह-अवरोहमा सहाना अविचलित हुनुहुन्थ्यो । दुःखमा नआत्तिने र सुखमा नहौसिने उहाँको चरित्र अनुकरणीय लाग्छ । राजनीतिमा घरभित्र र बाहिरबाट आउने अनेक दबाबलाई उहाँले सामना गर्न नसकेको भए यो निश्चल निरन्तर छवि बन्दैनथ्यो होला । त्यसकारण घरपरिवार र आफन्त कहींबाट पनि उहाँ टाढा हुनुहुन्थ्यो । राजनीतिक मूल्य र मान्यतामा कहिल्यै सम्झौता नगर्ने स्वभावकी सहानाका पछिल्ला दिनहरू ज्यादै पीडादायी थिए भन्ने कुरा उहाँलाई पढ्ने जोसुकैले अनुमान गर्न सक्थे । तर उहाँले यस्तो कुरा कहिल्यै कहीं पनि अभिव्यक्त गर्नुभएन । हामीसँग पनि कहिल्यै असन्तुष्टि व्यक्त गर्नुभएन ।
२०१० माघ १० गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएकी कमरेड सहानाले आफ्नो सिंगो जीवन पुष्पलालको राजनीतिक जीवनको अभिन्न सहयात्री र अन्तरंग सहयोगीको रूपमा व्यतित गर्नुभयो । २०३५ साउन ७ मा पुष्पलालको निधनसँगै राजनीतिक क्रियाशीलतालाई झनै तीव्रता दिएर त्यतिबेला पुष्पलाल समूहको नेतृत्व गर्नुभयो । वास्तवमा सहाना पुष्पलालसँग विवाह गर्नुभन्दा पहिला नै राणाशाही विरुद्धको आन्दोलनको नेता भइसक्नुभएको थियो ।
त्यसैले पनि पुष्पलालका कारणले सहाना हुनुभएको हो भन्नु सहानाप्रतिको घोर अवमूल्यन हो । कतिपय मानिसहरू सहानाको संघर्षमय इतिहासका पानाहरू पढ्न अल्छी गर्छन् र पुष्पलालको श्रीमतीको रूपमा मात्र बुझ्छन्, कतिपय मानिसहरू सहानालाई विभिन्न परिवर्तनमा खेलेको राज्यको भूमिकालाई भुल्छन् र महिला नेतृको रूपमा मात्र बुझ्छन्, तब विडम्बना सुरु हुन्छ । वास्तवमा सहाना ७ दशक लामो राजनीतिक आन्दोलनको अग्रणी हुनुहुन्थ्यो । आज हामीले एउटा लामो इतिहासलाई गुमाएका छौं ।
राजकीय पदका हिसाबले उपप्रधानमन्त्री र दुईपटक काठमाडौंबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । प्रधानमन्त्री, मन्त्री, सांसद हुनु त्यति ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा त जीवनभर एउटा निष्ठा र आदर्शको राजनीतिमा अविचलित भएर अगुवाइ गर्नु हो, जुन सहानाले गर्नुभएको छ । सहाना र जीवन संघर्षले भरिएको एउटा खुल्ला किताब हो, जुन नेपालको राजनीतिको अध्ययन गर्ने नयाँ पुस्ताका लागि अझ उपयोगी हुनेछ भन्ने लाग्छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा झन्डै सात दशक लामो योगदान दिनुभएकी सहानाको निधनले नेकपा एमालेले मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनले र मुलुकले नै एक सच्चा देशभक्त क्रान्तिकारी नेता गुमाएको छ । हामीले एउटा असल अभिभावक गुमाएका छौं । नेपाली महिलाले एक प्रेरक व्यक्तित्व गुमाएका छन् । वास्तवमा सहानाको संघर्षशील इतिहासमा सबै पात्रलाई राम्रोसँग उजागर गर्नसके राजनीतिलाई निष्ठा र आदर्श ठानेर हिंड्नेहरूका लागि एउटा ठूलो प्रेरणा हुनेछ ।
अधिकारी एमाले नेता हुन् ।