Rabindra Adhikari
नेपाल मानव विकास प्रतिवेदन, २०१४ मा कर्णालीलाई सबै दृष्टिबाट मुलुककै सबैभन्दा पछाडि परेको क्षेत्र भनिएको छ। भोकमरी, महामारी दुस्साहसपूर्ण माओवादी आक्रमण र सरकारी प्रत्याक्रमण, भौगोलिक विकटताजस्ता भयावह विषय र घटनाका बेलामात्र मुलुकको ध्यान कर्णालीमा जान्छ।
नत्र, उक्त क्षेत्र राज्यले सधैँ उपेक्षा र बेवास्ता गर्ने गरेको छ। भौगोलिकरूपले दुर्गम र विकट भएकाले कर्णाली अर्थात पुरानो जुम्ला राज्य अविकसित भएको मान्दै आइएको भए पनि वास्ताविकता फरक छ। पर्याप्त राजनीतिक चाहना र इच्छाशक्ति भए भौगोलिक कठिनाइ सजिलै हटाउन सकिन्छ।
नत्र अरबका मरुभूमि र हिउँले ढाकिएका डाँडाकाँडा भएको स्विट्जरल्यान्ड, तिब्बतलगायतको प्रगति कसरी हुन सक्थ्यो? कर्णालीमा पुँजी निर्माण हुन सक्दैन, उद्यम र व्यापार छैन, त्यसकारण गरिबी छ भन्ने अर्थशास्त्रीको तर्क होस् वा घोर अशिक्षा, अन्धविश्वास र गरिबीले त्यहाँको समाज मूलप्रवाहमा सरिक हुन नसकेको भन्ने समाजशास्त्रीको तर्क सबैले कर्णाली र त्यहाँका बासिन्दामाथि नै दोष थुपारेको छ। यो आंशिक सत्य भए पनि वास्तविक सत्य यही नै चाहिँ होइन।
ऐतिहासिक थलो
इतिहासमा कर्णाली वैभवशाली सभ्यताको धनी मानिन्छ। के कारणले इतिहासको यो विरासत गुम्यो? ऐतिहासिकरूपले राजनीतिक अर्थतन्त्रलाई आलोचनात्मक विश्लेषण र यस प्रान्तको राज्यसँगको सम्बन्ध नखोतलिकन सच्चाइमा पुग्न सकिँदैन। वि.सं. १८४६ सालपूर्व आत्मनिर्भर र आत्मविश्वास भरिएको कर्णाली किन आज जर्जर अवस्थामा आइपुग्यो? जुम्ला राज्य अर्थात् वर्तमान कर्णाली अञ्चलमाथि गोर्खाली सेनाले विजय त गर्यो तर गोर्खाको विजय र विस्तार अभियानलाई कर्णालीले स्वीकार गरेन। अन्तिम लडाइँमा पराजित जुम्लाका राजा र भारदार तिब्बतको ताक्लाकोटमा शरण लिन पुगेपछि जुम्ला नेतृत्वविहीन भयो। पटकपटकको आक्रमणमा गोर्खालीको पनि धेरै क्षति भएकाले गोर्खाली राज्यको दृष्टिकोण पनि कर्णालीमाथि सकारात्मक बन्नसकेन। कर्णालीको पराजयपछि रिक्त राजनीतिक र सांस्कृतिक नेतृत्व पूरा गर्न केन्द्रले बडाहाकिम र कर्मचारी पठाएर शासन गर्न थाल्यो। यो प्रवृत्ति आजसम्म पनि छ। मुलुकको १४.५ प्रतिशत भूभाग ओगटेको सबैभन्दा ठूलो अञ्चलमा देशको २ प्रतिशतभन्दा कम जनसंख्या बसोबास गर्छन्। विकट भूबनोट, अत्यन्त चिसो हावापानी, कमजोर विकास पूर्वाधार, मानवीय संसाधन र आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पछौटेको परिचय बोकेर बाँच्न कर्णाली अहिले पनि विवश छ।