आफैले लठ्ठी हान्दा हात सुन्निएको थियो


स्कुले जीवनबारे नेता रविन्द्र अधिकारी

पहिलो दिन

मैले प्राथमिक शिक्षा लिएको स्कुल घरबाट नजिकै थियो । पहिले त त्यत्तिकै स्कुल गइन्थ्यो । गुरुहरूले स्कुलमा पढाएको हेर्थें । त्यतिबेला कक्षा १ मा भर्ना हुनुपथ्र्यो । एक रूपैयाँ भर्ना शुल्क लाग्थ्यो । हजुरबुवाले मलाई स्कुल लिएर गएर भर्ना गरेको, १ रूपैयाँ तिरेको र सेतो रसिद लिएको याद छ । म श्रीपञ्चमीको दिनदेखि स्कुल गएको हुँ ।

स्कुल जानका लागि भनेर मलाई हजुरबुबाले सानो झोला ल्याइदिनुभएको थियो । सानो झोलामा ठूलो वर्णमालाको किताब राखेर स्कुल गएको थिएँ । मेरो बुबा पनि शिक्षक नै हुनुहुन्थ्यो तर अर्कै स्कुलमा । त्यसैले हजुरबुबाले स्कुलसम्म पुर्याउनुभएको थियो ।

मेरो बुबा शिक्षक, हजुरबुबा पनि पण्डित भएकाले कक्षा १ मा पढाइ हुने कुरा लगभग पहिले नै जानिसकेको थिए । अक्षर पनि धेरै राम्रा लेख्थेँ । स्कुलसँगै पढ्ने तर उमेरले केही जेठो चिरञ्जीवी दाइसँग जान्थेँ ।

मैले स्कुल सुरु गर्दा सायद ४ वर्षको थिएँ । मैले १५ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरेको हुँ । पढाइमा सानैदेखि लगाव थियो । कुनै दिन पनि स्कुल जान्न भन्ने मनमा आएन । रमाइलो गर्दै स्कुल जान्थें । घरबाट पढाइमा कर गर्नुपर्दैनथ्यो । आफ्नो ‘होमवर्क’ गरेर अन्य किताब पढ्थें । बरु घरमा त छिटो सुत्त भन्नुहुन्थ्यो ।

हाम्रो गाउँ त्यस बेला नै शिक्षित थियो । प्रायः सबै घरमा एसएलसी उत्तिर्ण गरेका व्यक्ति थिए । त्यही समयमा पनि छोरीलाई पनि स्कुल पठाउने चलन थियो । एउटा कुरा के थियो भने हाम्रो खेती लगाउने ‘हली दाई’ को छोराहरू स्कुल जाँदैनथे । हामी ४/५ वर्षकै हुँदा यिनीहरू किन जाँदैनन् भन्ने लाग्थ्यो । गए पनि ठूलो भएपछि मात्रै जाने र बिचैमा छोड्ने गर्थें ।

मैले त्यो बेला हली दाईको छोराहरूलाई पनि स्कुल पठाउनुपर्छ भनेर मैले बिद्रोह जस्तै गरेको थिएँ । ‘उनीहरूलाई स्कुल नपठाएसम्म म पनि जाँदिन’ भनेपछि सबै सँगै जान थालेका थिए । त्यो पनि एउटा सम्झन लायक विषय हो । १/२ कक्षामै पढ्दा सबै स्कुल जानुपर्छ भन्ने भावना आएको सम्झँदा अहिले पनि खुसी लाग्छ ।

स्कुलको पूवार्धार
प्राथमिक विद्यालय भएपनि त्यो जमानामै हाम्रो स्कुल एकदम राम्रो थियो । गाउँमा काठ प्रशस्त पाइथ्यो । स्कुलको छाना पनि ढुंगाले बनाएको थियो । त्यसैले हामी बेन्च र डेक्समै बसेरै पढ्थ्यौं । हामी भन्दा अगाडिका विद्यार्थी भने भुँइमा बसेर पढेका थिए रे ।

अहिले पनि त्यो स्कुलको भवन राम्रो नै छ । सरकारी स्कुलमध्ये राम्रोमा पर्दछ । तर, अहिले पनि प्राथमिक विद्यालय नै छ । हामीले पढ्दा तीन कक्षासम्म थियो पछि प्राथमिक विद्यालयहरू कक्षा पाँचसम्म पढाउन थाले । सामुदायिक विद्यालयको जुन किसिमले विकास र स्तरोन्नती हुनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले यस स्कुलमा करिब दुईसय जना विद्यार्थी छन् ।

तीन कक्षा उत्तिर्ण भएपछि करिब घरदेखि आधा घण्टा टाढा रहेको शान्ति उदय माध्यमिक विद्यालयमा पढ्न जानुपर्थ्याे । चार कक्षामा धेरै स्कुलका विद्यार्थी एकै ठाउँमा जम्मा भएर पढ्नुपथ्र्यो । त्यहाँ धेरै ठाउँका विद्यार्थी आए । दुई सेक्सनमा हामी पढ्थ्यौं ।

हामीले कक्षा ४ बाट मात्रै अग्रेंजी कोर्सका रूपमा पढ्नुपथ्र्यो । मैले भने एबीसीडी घरमै सिकेको थिएँ । यता प्रथम भइरहेको म सो स्कुलमा तेस्रो मात्रै भएँ । पछि फेरि फस्ट, सेकेन्ड भएँ । त्यो स्कुलमा कास्कीको तीन गाविस र स्याङ्जाबाट पनि पढ्न आउँथे ।

सजाय
म स्कुलमा राम्रो विद्यार्थी थिए । स्कुल पढ्दा खासै गल्ती गरिन्थेन । होमवर्क पनि सधै जसो गर्थें । सरहरूले राम्रो विद्यार्थीलाई पिट्नु हुन्थेन । गल्ती गर्नेलाई लठ्ठीले हान्ने चलन थियो । प्रायः कक्षाको क्याप्टेनलाई गल्ती गर्नेलाई पिट्न भनिन्थ्यो । एक दिन मैले के गल्ती गरेर हो याद भएन । तर, सरले मलाई नै लठ्ठीले मेरै हातमा हान्न लगाउनुभएको थियो । आफैंले आफ्नो हातमा हान्नभन्दा इमान्दार भएर हान्दा हात सुनिएको थियो । त्यो कहिलै पनि नर्बिसने घटना हो ।

सजायकै कुरा गर्दा मैले आन्दोलनमा पुलिसको कुटाइ बाहेक मान्छेको कुटाइ खाएकै छैन । स्कुलमा पनि खास कसैसँग व्यक्तिगत झगडा भएन ।

शिक्षक
मलाई अक्षर सिकाउने शिक्षक त हजुरबुबा र मेरो आमा नै हुनुहुन्थ्यो । हजुरबुबा पण्डित हुनुहुन्थ्यो भने आमाले कक्षा ८ सम्म पढ्न भएको हो । आमाले पुरानो शिक्षामा पनि अंग्रेजी राम्रोसँग पढ्नुभएको रहेछ । उहाँले कक्षा १० सम्मकै धेरै जसो अंग्रेजी शब्दको अर्थ तथा ‘स्पेलिङ’ भनिदिनुहुन्थ्यो । त्यसले गर्दा पनि मलाई पढ्नुपर्छ र पढाउनुपर्छ भन्ने सिक्न केही गाह्रो भएन ।

स्कुलमा पढ्दा सबैजसो शिक्षकले माया गर्नुहुथ्यो । ईमान्दार र कक्षाको अब्बल विद्यार्थी भएकाले पनि माया पाउँथे । त्यसमा पनि अर्को स्कुलकै भएपनि शिक्षकको छोरा भएकाले माया हुन्थ्यो । त्यतिबेलाको शिक्षक सम्झनुपर्दा गुरूप्रसाद क्रान्तिकारी, कृष्णमुरारी आचार्य, सुशीला आचार्यलगायतलाई म सम्झन्छु ।

त्यसैगरी माथिल्लो कक्षाहरूका शिक्षकहरूलाई बिर्सेको छैन । अहिले पनि सम्पर्क हुन्छ । म पनि शिक्षकहरूलाई एकदमै सम्मान गर्छु । उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ । अहिले पनि मलाई मेरो विद्यार्थीकालको कुरा गर्नुहुन्छ ।

प्रतिस्पर्धी
स्कुल परिवर्तन हुँदा प्रतिस्पर्धी पनि परिवर्तन भए । म कक्षा १ देखि १० सम्म नै कक्षामा सबैभन्दा सानो थिए । पठाइ र अतिरिक्ति क्रियाकलापमा सधै अगाडि नै हुन्थेँ । मेरो प्रतिस्पर्धीहरू उमेरले ठूला थिए । हामी साथीहरूलाई एक आपसमा सम्मान गर्थेउँ । रिजल्ट सुनाउँदाको दिन हामी निकै खुसी हुन्थ्यौं । सानो भएकाले हामीलाई भलिबल, फुटबल खेल्न दिइँदैन्थ्यो ।

परीक्षाको बेलामा त खेल्न पनि पाइन्थेन । पढाइमा प्रतिस्पर्धी साथीसँग पनि राम्रै सम्बन्ध रहन्थ्यो । अहिले पनि मेरो समकक्षी साथीहरूसँग सम्पर्क हुन्छ । स्कुलमा मुख्य प्रतिस्र्धी भनेको अनन्त आचार्य, धर्मराज बराल र म थियौं ।

एसएलसीमा ६८ जना सहभागी भएकोमा हामी चारजना मात्रै उत्तिर्ण भयौं । त्यसमध्ये एकजना साथी अहिले अमेरिकामा भौतिकशास्त्रको प्राध्यापक हुनुहुन्छ, कुनै साथी बैंकको नेतृत्व गरिरहनुभएको छ, कोही कलेज, विश्वविद्यालयमा अध्यापन गराउनुहुन्छ, कोही अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्दै हुनुहुन्छ भने केही व्यापारमा पनि लाग्नुभएको छ ।

पढ्ने लगाव र अतिरिक्त क्रियाकलाप
स्कुल हुँदै म कोर्सका किताबकासाथै अतिरिक्त विभिन्न दार्शनिक पुस्तक जस्तै चम्किला लाल सितरा, जुनको आकाशमा, रातो तारा, मुना मदन, महाभारत, रामायण, माक्र्सबादी पुस्तकलगायत पढ्थें । त्यसैगरी मोदनाथ प्रसित, प्रदीप नेपाल, शम्भु थापालगायत बामपन्थीका रचनाहरू खुब पढ्थेँ । हामीले गाउँमा देउसी भैलो खेलेर पुस्तकालय बनाएका थियौं ।

स्कुल पढ्दा सांस्कृतिक कार्यक्रम, नाटक, अरू अतिरिक्ति क्रियाकपाल गथ्र्यौं त्यसमा म पनि सहभागी हुन्थें । साथीहरूलाई पनि सहभागी हुन अनुरोध गर्थें । म कक्षा सात पढ्दादेखि नै राजनीतिमा लागेको थिए । स्कुलमा अखिलको सदस्य हुँदै अध्यक्षसम्म भएको थिएँ भने जिल्ला सदस्य पनि भएँ । हामीले प्रायः स्कुलमा अतिरिक्त कार्यक्रम अखिलको नेतृत्वमा गराउँथ्यौं ।

त्यसैगरी गीत, कविता, निवन्ध लेखनमा म सँधैजसो प्रथम हुन्थें । म क्षेत्रीय तथा जिल्ला स्तरीय प्रतिस्पर्धामा पनि पुरस्कार जित्थें । म रेडियो नियमित सुन्थें । त्यो समयमा धेरै देशको राष्ट्रपति र प्रधानमन्त्रीको नाम याद थियो । जुन अहिले छैन ।

विश्वभरका समस्या, देशका राजधानी, अमेरिका र रुसको विवादबारे सरहरूसँग बसेर छलफल गथें । आफ्नो तर्क राख्थें । भारत, पाकिस्तान, बंगलादेश, मध्यपूर्वको विवादबारे पनि छलफल र बहस हुन्थ्यो । मुख्य कुरा त पुस्तक पढ्ने बानी एकदम राम्रो थियो । जसले अहिलेसम्म पनि काम गरिराखेको छ । पढ्ने कुरा जे भेट्यो त्यही पढिन्थ्यो ।

सात कक्षा पढ्दा अर्को बिद्रोह
हामी स्कुल पढ्दा छुवातछुतविरुद्धको एउटा गीत चर्चित थियो–

‘मानिस छुतअछुतो हुन्छ म मान्दै मान्दिन,
जाती र पाती छुट्याउने रितलाइ मान्दै मान्दिन ।’

म कक्षा सातमा पढ्दा हो । हाम्रो स्कुलमा माथि पानी आउँदैन्थ्यो । स्कुलमा घैंटोमा पानी राखेर विद्यार्थीलाई खुवाउने चलन थियो । जहाँ दलित विद्यार्थीलाई अलगै पाले दाईले पानी खान दिनुहुन्थ्यो । छुनै नदिने । त्यस्तो भएपछि त्यो गीतको प्रभाव पनि भनौ या त्यस्तो जागरण । अनि मेरै नेतृत्वमा सबैलाई आफै खान नदिने हो भने कसैले पनि पानी नै नखाने भनेर विद्रोह ग¥यौं ।

त्यतिबेला ठूलो आन्दोलन नै भयो स्कुलमा । त्यसपछि मलाई ‘पण्डितको छोरा भएर यस्तो गर्ने भनेर कतिपयले बर्वाद ग¥यो’ भन्न थाले । कतिपयले अरूले छुने हो भने हामीले खाँदैनौं भन्ने पनि निस्किए । यसरी दुई पक्ष भए । अन्ततः हामीले जित्यौं । एकदमै धर्ममा विश्वास गर्ने र ब्रतवन्ध गरेकाहरूलाई छुट्टै घैंटोको व्यवस्था भयो । अनी दुई वटा घैंटोमा पानी खाने व्यवस्था भयो । जसले गर्दा मलाई सामाजिक कार्यमा लाग्न प्रोत्साहित ग¥यो । त्यसपछि म पढाइसँगै अन्य गतिविधिमा पनि सहभागी हुन थालें ।

स्कुलसँग गाढा सम्बन्ध
म राजनीतिक कार्यक्रममा व्यस्त हुँदा हुँदै पनि म स्कुलको वार्षिक उत्सवमा सँधै पुग्ने गर्छु । सोही क्षेत्रको जनप्रतिनिधिको नाताले स्कुलको भौतिक पूर्वाधार, गुणस्तर सुधार, हाम्रो पालामा बनाएको पुस्तकालयलाई स्तरोन्नती गरेर अगाडि बढाएका छौं । स्कुलले सँधै मलाई सम्झने गर्छ ।

(अशोक पोडेलँंगको कुराकानीमा आधारित)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image