पार्टी एकता : विकल्पहीन विकल्प


uncle

जनताबाट अनुमोदित गठबन्धन

यतिवेला नेपालमा दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीबीचको पार्टी एकता र सरकार निर्माणको सन्दर्भ राष्ट्रिय राजनीतिको चासो र चर्चामा छ । वाम गठबन्धन बनाएर निर्वाचनमा जान जति सजिलो थियो, पार्टी एकता गरेर अघि बढ्न भने त्यति सजिलो पक्कै छैन । त्यसैले पनि यस प्रक्रियाले केही समय लिनु स्वाभाविक हो । हामी वाम गठबन्धन निर्माण गरी स्थायित्व र समृद्धिको नारा लिएर एउटै घोषणापत्रसाथ निर्वाचनमा जनतामाझ गयौँ ।

जनताले त्यस गठबन्धनलाई अनुमोदन पनि गरे । हामीले पार्टी एकता संयोजन समिति पनि निर्माण गर्‍यौँ । त्यो पनि एक हिसाबमा जनताबाट अनुमोदित भयो । जनमत पनि त्यसैअनुरूप प्राप्त भयो । हामीले गएको निर्वाचनमा जनतामाझ लगेको संयुक्त घोषणापत्रअनुरूप मत मागेका हौँ । जनताले पनि त्यसैको अनुमोदन गरेका हुन् । त्यसैले अबको हाम्रो मुख्य दायित्व त्यही घोषणापत्र कार्यान्वयन गर्नु हो । र, यसका लागि हामीले सोही घोषणापत्रका आधारमा सरकार निर्माण गरेर अघि बढ्दै पार्टी एकतासम्म पुग्नु आजको मुख्य आवश्यकता हो ।

केही शंका, केही उपशंका

यही मुख्य आवश्यकताको सेरोफेरोमा उभिँदै गर्दा केही शंका, उपशंका र अन्योलका कुरा पनि सतहमा आइरहेका छन् । तर, जे–जति शंका, उपशंका व्यक्त गरे पनि निर्वाचनमा एउटै घोषणापत्र लिएर गइसकेको हुनाले हाम्रो मुख्य आधार त्यही घोषणापत्र नै हो । यसरी एउटै घोषणापत्र बनाएर निर्वाचनमा गएका दुईटा वामपन्थी दलले अर्कै गठबन्धनको परिकल्पना गर्ने, अर्को कुनै पार्टीले यस्तो वा त्यस्तो ‘अफर’ गर्‍यो भनेर भाषण गर्ने, दुई वाम शक्तिबाहेक अरूलाई नै मिसाएर बहुमत पुर्‍याउनेजस्ता जे–जति शंका, उपशंका र अन्योलपूर्ण विषयहरू बाहिर आइरहेका छन्, जसका तर्फबाट यस्तो गरिएको भए पनि यो राजनीतिक दृष्टिले मात्र गलत होइन, नैतिक दृष्टिले समेत पूर्णतः अनुपयुक्त छ ।

हामीले आज वाम गठबन्धनको संयुक्त सरकारका लागि र भोलि पार्टी एकताका लागि जनादेश पाएका हौँ । त्यसैले हामी सबै यतिखेर सोही दिशामा कटिबद्ध भएर अघि बढ्नु जरुरी छ । त्यसबाहेक एक इन्च पनि दायाँ–बायाँ लाग्नु जनमतको घोर अपमान ठहर्छ । यस्तो गर्ने प्रयास गरियो भने त्यो एउटा अवसरवाद मात्र हुनेछ । त्यसैले पनि यतिखेर गठबन्धनको सरकार र दुई वाम पार्टीबीचको एकताको भविष्यमाथि प्रश्न उठ्ने गरी कुनै अभिव्यक्ति दिनु, त्यस्तो व्यवहार प्रदर्शन गर्नु नेता–कार्यकर्ता कसैका लागि पनि सुहाउने कुरा होइन ।

त्यसैले, दुवै वाम पार्टीका नेता–कार्यकर्ताले एकचित्तका साथ वाम गठबन्धनको सरकार निर्माण गर्ने, घोषणापत्र कार्यान्वयन गर्ने र दुई पार्टी एकता गर्ने दिशामा मनसा, वाचा, कर्मणा लाग्नुपर्छ । सरकार र पार्टी नेतृत्वलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सघाउनुपर्छ । पार्टीलाई तलदेखि माथिसम्म एकता प्रक्रियामा लैजान सबैको योगदानको खाँचो छ । तर, त्यस्तो एकता दुई, चार वा ६ महिनामा भत्किने खालको कमजोर हुनु हुँदैन । त्यसैले बलियो एकता नै आजको आवश्यकता हो ।

दुई वाम पार्टीको एकताको विषयमा बहस चलाउँदै गर्दा हामी दुई पार्टीबीच जति धेरै समानता छन्, नमिलेका विषय पनि त्यति नै छन् । पार्टी एकताका क्रममा मिलेका वा समानताका विषयलाई सुव्यवस्थित गर्नु, तिनलाई सैद्धान्तीकरण गर्नु जति आवश्यक छ त्यति नै नमिलेका वा मिलाउन बाँकी विषयलाई आपसी संवाद, बहस र विमर्शबाट मिलाउँदै जानु जरुरी छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा जति पनि वाम पार्टीहरूबीच एकता भए, ती शतप्रतिशत मिलेका छैनन् । शतप्रतिशत त एउटै पार्टीभित्र पनि मिलेको हुँदैन । त्यसैले पनि नमिलेका धेरैजसो विषय महाधिवेशनबाट मात्र टुंगो लाग्न सक्छन् । त्यसभन्दा अघिचाहिँ मिलेका विषयलाई व्यवस्थित गर्दै नमिलेका विषयलाई छलफलको माध्यम बनाउनुपर्छ । दुई पार्टीबीच एकता हुँदै गरेको समयमा एकैपटक शतप्रतिशत मिल्नुपर्छ भन्ने हुँदैन । यस्तो अवस्थामा इतिहासको समीक्षा र भविष्यको योजना तय गर्दै अघि बढ्नुको विकल्प छैन ।

पार्टी एकताको सैद्धान्तिक पाटो

दुई पार्टीबीच एकता हुँदै गर्दा यसको सैद्धान्तिक पाटोबारे बहस हुनु स्वाभाविक हो । यतिखेर एक्काइसौँ शताब्दीको जनवाद कि जनताको बहुदलीय जनवाद वा माओवाद र जनयुद्ध कि बहुदलीय जनवाद भन्ने कोणबाट पनि छलफल र बहस प्रारम्भ भएको छ । स्मरणीय के छ भने आज हामी जहाँ आइपुगेका छौँ, यसका पछाडि जनताको बहुदलीय जनवादकै भूमिका मुख्य छ । आजको राजनीति यही जनताको बहुदलीय जनवादबाटै निर्देशित छ । यथार्थमा हामी बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्छौं । हामी शान्तिपूर्ण रूपमा जनताको मतबाटै समाजवादसम्मको यात्रा तय गर्न चाहन्छौँ ।

हामी संविधानको सर्वोच्चतालाई स्विकार्छौं । कानुनी शासनलाई हामी सर्वोपरि ठान्छौँ । हामी संसद्भित्र सत्तापक्ष र प्रतिपक्षलाई स्विकारेर अघि बढ्छौँ । निर्वाचनमा जाँदाको क्षणमा हार भए पनि हामी त्यसलाई स्विकार्छौं । हामी कुनै पनि अवस्थामा जनताको सर्वोच्चतालाई स्विकार्छौं । संविधानले परिकल्पना गरेको बाटोबाट हामी पछाडि फर्किंदैनौँ । यिनै परिकल्पनासाथ हामी अगाडि बढेका छौँ ।

हामी विभिन्न चरणबाट गुज्रँदै आजको अवस्थामा आइपुगेका छौँ । खासखास चरणमा जनयुद्धको पनि महत्व थियो । त्यसैगरी जनआन्दोलनलगायत अनेकौँ आन्दोलनको पनि महत्व छ । तर, जुन–जुन युद्ध वा आन्दोलनको आ–आफ्नो स्तरका अर्थ र महत्व भए पनि आजको यथार्थ यही हो कि हामी साँचो अर्थको लोकतन्त्रमा विश्वास गर्छौं । प्रतिस्पर्धात्मक राजनीतिमा जनताको मत लिएर अघि जानु आजको धरातलीय यथार्थ हो । यसलाई जनताको बहुदलीय जनवादले निर्देशित गरेको छ ।

त्यसैले यसबाट छलिएर वा उम्केर टाढा जान सक्ने स्थिति छैन । यस्तो अवस्थामा जुन विचार धरातलीय यथार्थसित नजिक छ, त्यसलाई अंगीकार गर्न गाह्रो मान्नु हुँदैन । समय र परिस्थितिसित मेल नखाने विचार त्याग्न सबै तयार हुनुपर्छ ।

यसो भन्दै गर्दा जुन विचार सही छ, त्यो अमुक समूह वा पार्टीको मात्र विचार हुन सक्दैन । जब कुनै विचार इतिहासमा सही र सत्य साबित हुन्छ त्यसलाई कसैले मेरो वा तेरो विचार भन्न पाउँदैन । त्यो सबैको साझा विचार बन्छ । त्यसमा कसैले आफ्नो स्वामित्व दाबी गर्न मिल्दैन । त्यसैले, समाज रूपान्तरणका लागि यति ठूलो योगदान गर्ने जनताको बहुदलीय जनवादलाई सबैले आत्मसात् गर्नु नै आजको समयको माग हो ।

हाम्रो राजनीतिका कतिपय सन्दर्भमा बहुदलीय प्रतिस्पर्धाले वर्गीयतालाई आत्मसात् गर्दैन भनेर पनि बुझ्ने र बुझाउने गरिएको छ । यथार्थमा राज्यको स्वरूप नै वर्गीय हुन्छ । जब राज्य नै वर्गीय हुन्छ भने त्यतिखेर हामीले श्रमजीवी, काम गरी खाने आधारभूत वर्गकै हितमा काम गर्ने हो । तर, त्यस्तो काम शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाका आधारमा कानुनले निर्देशित गरिएको बाटोबाट हुनुपर्छ, बलजफ्ती गरेर हुँदैन । त्यसैले लोकतन्त्रचाहिँ अवर्गीय हुन्छ, युद्ध, क्रान्ति वा यस्तै कुनै संघर्षचाहिँ वर्गीय हुन्छ सोच नै गलत हो । वर्गीयतालाई वर्ग संघर्षको स्वरूपले मात्र निर्धारण गर्छ । अहिले वर्ग संघर्षको स्वरूप बदलिएको छ ।

हिजो बन्दुक बोकेर लड्दा वा कुनै शान्तिपूर्ण आन्दोलनको मोर्चामा उत्रिँदा वा आज जनताको मतबाट अनुमोदित भएर काम गरिरहँदाको अवस्था सबै वर्ग संघर्षकै स्वरूपमा आएका परिवर्तन हुन् । वर्ग संघर्षको स्वरूपमा आएको परिवर्तनलाई नदेख्ने र नयाँ परिवेशअनुरूप वर्ग संघर्षलाई अघि बढाउन नसक्नेले क्रान्ति वा संघर्षका उपलब्धिलाई संस्थागत गर्न सक्दैनन् । उनीहरू विकास र समृद्धि तथा समाजवादको बाटोबाट अघि जान पनि सक्दैनन् ।

जनयुद्ध हुँदै यहाँसम्म आइपुग्दा हामी लोकतान्त्रिक बाटो हिँडिरहेका छौँ भने यस्तो अवस्थामा अब सिद्धान्तचाहिँ अर्कै बाटोको लिन मिल्दैन । त्यसैले आफू अहिले हिँडिरहेको बाटोलाई नै सैद्धान्तीकृत गरेर अघि बढ्नुको विकल्प हामीमध्ये कसैसित पनि छैन । हिँड्ने एउटा बाटो, लेख्ने अर्कै बाटो गरियो भने त्यो राजनीतिक बेइमानी ठहर्छ । त्यसैले यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाउनु हुँदैन ।

नेतृत्वको प्रश्न

दुई ठूला कम्युनिस्ट पार्टीहरू एक हुँदै गरेको समयमा विभिन्न विषय वा पक्षमा बहस हुने गरेको देखिन्छ । यस क्रममा एकीकृत पार्टीको सिद्धान्त, संगठन, पार्टी सदस्य, संगठनात्मक संरचना, नेतृत्वजस्ता विभिन्न विषयमाथि चर्चा हुन सक्छन् । तर, कम्युनिस्ट पार्टीको नेतृत्व तदर्थ हुँदैन । कम्युनिस्ट पार्टीको नेतृत्व सामूहिक रूपमै जानुपर्छ । त्यसैले यतिखेर हामीले सरकारलाई पनि प्रभावकारी बनाउँदै स्थायित्व दिने अनि पार्टी र आन्दोलनलाई पनि संस्थागत ढंगले विकास गर्दै स्थायित्व दिने बाटोमा फुकीफुकी पाइला चाल्नुपर्ने स्थिति छ । दुई ठूला पार्टीबीच एकता हुँदै गर्दा ‘पावर सेयरिङ’ को विषयमा बहस हुनु स्वाभाविक हो ।

तर, नेतृत्वको विषयमा बहस गर्दैगर्दा हामीले पार्टीको संस्थागत विकास, सरकारको स्थायित्व र मुलुकको समृद्धि र विकासको विषयमा पनि उत्तिकै ध्यान दिनुपर्छ । पावर सेयरिङकै विषयमा पनि महाधिवेशनअघि संयुक्त नेतृत्व बाटोबाट जान सकिन्छ भने महाधिवेशनपछि त्यसैले निर्देशित गरेको बाटोबाट मिलाएर जान सकिन्छ । हामीले नेतृत्वको प्रश्नलाई मात्र प्रमुख ठान्न थाल्यौँ, सरकार सञ्चालनलाई मात्र प्रमुख मान्यौँ र अमुक–अमुुक मान्छेको भूमिका वा स्थानलाई मात्र प्रमुख देख्न थाल्यौँ भने त्यो पार्टी एकतामाथिकै विश्वासघात ठहरिनेछ । त्यसैले यसतर्फ हामी सबै सचेत हुनु आवश्यक छ ।

पार्टीहरूबीच एकता हुँदै गर्दा त्यसको प्रभाव, त्यसबारे आममान्छेको सोचाइ आदि पक्षलाई पनि हामीले ध्यान दिनुपर्छ । यस कोणबाट हेर्दा यसपटक स्वाभाविक रूपमा दुइटै वामपन्थी पार्टी मिलेको हुनाले नै अहिलेको जनमत प्राप्त भएको हो । गठबन्धनलाई यसरी अपार जनमत दिँदै गर्दा आमनागरिकले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको भूमिकामा देख्न चाहेका छन् भने माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई केपी ओलीकै समभूमिकामा हेर्न चाहेका छन् ।

त्यसैले यही स्पिरिटअनुसार सबै जानुपर्छ । यस क्रममा कतिपय तत्वले आफ्नो स्वार्थ सिद्ध गराउन नेतृत्वलाई ‘डिभाइड’ गराउने, आफ्नो स्वार्थका लागि खेल्ने परिस्थिति पनि निर्माण हुन सक्छ । तर, यो भयो भने एकता हुन्छ, नभए एकता हुँदैन भन्ने वा यो नभए अर्कै गठबन्धन बन्छ भन्ने नैतिक अधिकार कसैलाई छैन । पार्टी एकता कसरी गर्ने भन्ने विषयमा बहस हुन सक्छ, तर गर्ने कि नगर्ने भन्ने पाटोचाहिँ छलफल र बहसको विषय बन्नै सक्दैन ।

Source:nayapatrika.com

कम्युनिस्ट पार्टीले सरकारमा आलोपालो खाने भनियो भने भुल हुनेछ : रवीन्द्र अधिकारी [भिडियो वार्ता]

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image