भागवण्डाको राजनीतिले प्राज्ञिक उन्नयन हुन सकेन : सभासद अधिकारी

PU_logoकृपा भण्डारी/पोखरा विभिन्न विश्वविद्यालयहरुमा राजनैतिक आधारमा हुने भागवण्डाका कारण प्राज्ञिक उन्नयन हुन नसकेको सभासद रविन्द्र अधिकारीले बताएका छन् । अनेरास्ववियु पोखरा विश्वविद्यालयको आयोजनामा बेगनासतालमा आयोजित वनभोज तथा पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले विश्वविद्यालयहरुमा गरेको कारबाही व्यवस्थित हुन नसकेकोमा पनि असन्तुष्टी जाहेर गरे ।

पोखरा विश्वविद्यालयको पछिल्लो रिक्तताको प्रसंग जोड्दै अधिकारीले विश्वविद्यालयहरुमा गरिने नियुक्ती योग्यता र क्षमताको आधारमा गर्नुपर्नेमा जोड दिए  नेकपा एमालेका युवा नेता अधिकारीले जोडे, “तर योग्यता र क्षमतामा सम्झौता गर्न भने सकिँदैन ।”उता सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले कास्की जिल्ला सचिव दामोदर बैरागीले भने पोखरा विश्वविद्यालयको नेतृत्व गर्ने अवसर कुनै पनि हालतमा नेकपा एमालेले पाउनु पर्ने जिकिर गरे । तिन कार्यकाल नेपाली काँग्रेस समर्थक र एक कार्यकाल एनेकपा माओवादी समर्थक उपकुलपतिले विश्वविद्यालयको नेतृत्व गरी सकेको प्रसंगलाई गाँस्दै बैरागीले अगाडी भने, “विश्वविद्यालयलाई अनियमितता र भ्रष्टाचारको पर्याय बनाएकाले अब यी दल समर्थक प्राध्यापकहरुले विश्वविद्यालयको नेतृत्व गर्ने नैतिक आधार गुमाइसकेका छन् ।”

कार्यक्रममा पोखरा विश्वविद्यालयमा अध्ययनरत अनेरास्ववियुका विभिन्न कमिटीमा कार्यरत विद्यार्थी नेता कार्यकर्ताहरु, त्यहाँबाट अध्ययन पुरा गरीसकेका पूर्व नेताहरु, प्राध्यापकहरु, कर्मचारीहरु र नेकपा एमालेका विभिन्न जनसंगठनमा नेताहरुको उपस्थिती रहेको थियो । करिब १७० जनाको उपस्थिती रहको सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो गायन, नृत्य तथा साहित्यिक प्रतिभा समेत प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नेपाल प्रगतिशिल प्राध्यापक संगठन पोखरा विश्वविद्यालयका कार्यवाहक अध्यक्ष विवेक पुडासैनी, अनेरास्ववियुका गण्डकी अञ्चल सह इञ्चार्ज नरेश रोकाया, गण्डकी अञ्चल पूर्व सहसचिव दिपक लामिछाने, पोखरा विश्वविद्यालय केन्द्रीय कमिटीका कार्यवाहक अध्यक्ष सुवास मल्ल र पोखरा विश्वविद्यालय कास्की संयोजक नेशन शर्मा लगायतले पनि बोलेका थिए ।

कार्यक्रममा पोखरा विश्वविद्यालय कर्मचारी संघका कार्यवाहक सभापति झलक शर्मा, युवा संघ कास्कीका अध्यक्ष विष्णु पुन, अनेरास्ववियुका राष्ट्रिय परिषद सदस्य सृष्टि रेग्मी, अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी कास्कीका संयोजक अर्जुन अधिकारी लगायतको पनि उपस्थिती थियो ।