जबज भजाउने होडबाजी

आजभन्दा ६० वर्षअगाडि जननेता मदन भण्डारी ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका थिए । र, आज उनलाई देशभरि सम्भिmइँदै छ । उनलाई सम्झनुको कारण हो- दुई दशकअगाडि अल्मलिएको नेपाली कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीयजस्तो नवीन विचार दिए । सोभियत समाजवादको असफलतापछि अब माक्र्सवादको सान्दर्भिकता समाप्त भयो भनेर संसारभर हल्ला चलाइरहेका बखत ‘माक्र्सवाद विज्ञान हो । हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ । सोभियत समाजवादको निर्माण र विघटन त घटना हुन् । माक्र्सवादले बरु यसलाई सूक्ष्म ढंगले अध्ययन गर्छ । क्रान्ति न त असफल हुन्छ न त सफल । बरु यो निरन्तर जारी रहन्छ । उनले आजका चुनौतीलाई कसरी सामना गर्ने कुरा नै आजको माक्र्सवाद हो’ भन्दै सगरमाथाको चुचुरोबाट जनताको बहुदलीय जनवादको झन्डा फहराए । माक्र्सवादको सिर्जनात्मक प्रयोग गरे ।

 जनताको बहुदलीय जबजको प्रतिपादनपछिको यो अवधिमा नेपाली समाज र नेपालको राष्ट्रिय राजनीतिमा निकै ठूला उतारचढाव आएका छन् । अन्तर्राष्ट्रिय परिस्थिति पनि निकै बदलिएको छ । यी दुई दशकमा जनताको बहुदलीय जनवाद हरहिसाबले सही र वैज्ञानिक प्रमाणित भएको छ । जबजकै मार्गनिर्देशनमा नेपाली क्रान्तिले नयाँ उचाइ प्राप्त गरेको छ । तर यसबीचमा जनताको बहुदलीय जनवादको जगमा उभिएको र यसैको मार्गनिर्देशनमा अगाडि बढिरहेको नेकपा -एमाले) कतिपय सफलता र उपलब्धिका बाबजुद कमजोर बन्न पुगेको छ । सिद्धान्तले विजय प्राप्त गर्ने तर पार्टीले पराजय बेहोर्ने, यस्तो हुन्छ कि हुँदैन ? यसको वस्तुनिष्ट जवाफ नखोजी नेकपा -एमाले) लाई राष्ट्रिय राजनीतिको केन्द्र भागमा उभ्याउन सकिँदैन ।

 जनताको बहुदलीय जनवाद कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणको सिद्धान्त हो । आन्दोलनको लोकतान्त्रीकरण, राज्यसत्ता सञ्चालनमा लोकतान्त्रीकरण, पार्टी निर्माण र नेतृत्व निर्माणमा लोकतान्त्रीकरण । क्रान्तिको एउटा मात्रै बाटो हिंसा र बन्दुक भन्ने पुरातनवादी सोचलाई बदलेर शान्तिपूर्ण जनआन्दोलनका माध्यमबाट पनि रूपान्तरण सम्भव हुन सक्छ भन्ने साहस कमै नेताले गर्छन् । बल प्रयोगलाई मदन भण्डारीले कहिल्यै अस्वीकार गर्नुभएन तर बल प्रयोग मात्र भन्नु नेपाली कम्युनिस्ट आन्दोलनलाई कहिल्यै जनताको लोकपि्रय आन्दोलन नबनाउनु हो । आन्दोलनका रूप परिस्थितिसापेक्ष हुन्छन् र परिस्थितिलाई ठीक ढंगले बुझ्नु एउटा क्रान्तिकारीको पहिलो जिम्मेवारी हो । नेपालको कम्युनिस्ट आन्दोलन देशभक्तिपूर्ण आन्दोलनसँग अभिन्न रूपमा गाँसिएको छ । मुलुकको स्वाधीनता र स्वतन्त्रता हामीलाई सबैभन्दा प्यारो लाग्छ भनेर उहाँले एउटा निडर देशभक्तका रूपमा आफूलाई उभ्याउनुभयो । महाकाली साझा हो, पानी आधा आधा हो भनेर सडकदेखि सदनसम्म जुन आवाज घन्काउनुभयो त्यसले नै नेकपा एमालेलाई मुलुकको सबैभन्दा प्रभावशाली पार्टी बनायो र मदन भण्डारीलाई जननेता । त्यसकारण मदन भण्डारी एउटा नवीन चिन्तक, लोकतन्त्रवादी र देशभक्त नेता थिए ।  उनका विचारहरूमा यिनै कुरा प्रतिबिम्बित छन् तर दुर्भाग्य आज मदन भण्डारीका खास विचारलाई होइन, उनका नाममा राजनीति गर्न खोज्ने होडबाजी चलिरहेको छ जसले जबजलाई विकृत बनाउने खतरा पैदा भएको छ ।

क्रान्ति र परिवर्तनको संसारभरि एउटै सूत्र हुन्छ भने जडसूत्रलाई मदन भण्डारीले आफ्ना विचारले बदलिदिएका छन् । आदेशले समाजवाद निर्माण हुन सक्दैन । विश्व कम्युनिस्ट आन्दोलनको विगत आधा दशकलाई हेर्ने हो भने एकाधबाहेक कहीँ पनि हिंसात्मक ढंगले क्रान्ति सफल भएनन् । फिलिपिन्स, थाइल्यान्ड, बर्मा, मलेसिया, श्रीलंका, टर्कीजस्ता एसियाली मुलुकमा भएको क्रान्तिको असफलता होस् या पेरु, कोलम्बियालगायत मुलुकका सशस्त्र संघर्षमाथिको दमन र दमनले निर्माण गरेको अधिनायक हिंसात्मक संघर्षका नकारात्मक दृष्टान्त हुन् । जब कि वापमन्थीहरूले लोकतान्त्रिक पद्धतिबाट नै ब्राजिल, भेनेजुयला, बोलिभिया, निकारागुवा, एलसाल्भाडोर, दक्षिण अपि|mकामा सफलता प्राप्त गरेका छन् । के लोकतान्त्रिक र शान्तिपूर्ण बाटोबाट हिँड्दा मात्र सम्पूर्ण रूपमा ठीक ठाउँमा पुग्न सकिन्छ ? सकिन्छ । तर शान्ति र लोकतन्त्रका कुरा गर्दा समाज रूपान्तरण र अग्रगमनलाई भुल्न हुँदैन । पार्टीलाई लोकतान्त्रीकरण गर्दा यसको क्रान्तिकारी सार बिर्सन हुँदैन । र, सँगसँगै क्रान्तिकारी कुरा गरिरहँदा आन्दोलनको लोकतान्त्रीकरण बिर्सेर अधिनायकवादी उग्र वामपन्थी अराजकतामा फस्नु हुँदैन । यी दुवै खराबीबाट बच्न सक्नु नै सच्चा जनताको बहुदलीय जनवादी हुनु हो ।

२०५२ साल अर्थात् आजभन्दा ठीक १५ वर्षअगाडि नेपालमा पहिलो कम्युनिस्ट सरकार बनेर आर्थिक र सामाजिक क्षेत्रमा सुधारका कामहरू गर्दै थियो । त्यतिबेला जनतामा व्यापक आशा जागृत भएको थियो । तर ठीक त्यही बेला राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ, सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन, एमालेको संशोधनवाद सबैभन्दा खतरा हो जस्ता मान्यता बोकेर माओवादी विद्रोहमा होमियो । तर १२ वर्षको लामो लडाइँ, १५ हजारको बलिदान र निकै ठूलठूला क्षतिपछि माओवादी बन्दुकको व्यवस्थापन गर्ने र आफ्ना पूर्ववत् विचारलाई पुनर्विचार गरी लोकतान्त्रिक पद्धति र बाटोमा आएको छ । यसलाई हामीले मदन भण्डारीको जनताको बहुदलीय जनवादको जित पनि भनेका छौं तर सँगसँगै यति ठूलठूला परिवर्तन कम्युनिस्टहरूको नेतृत्वमा भएका छन् तर ती संस्थागत नहुँदै छिन्नभिन्न हुने खतरा पनि उत्तिकै छ । नेपालका कम्युनिस्टहरू आन्दोलन गर्न सक्छन्, चुनाव जित्न पनि सक्छन् तर राष्ट्र र जनताका पक्षमा जब काम गर्नुपर्ने बेला आउँछ अनि आफैंभित्र यदुवंशी लडाइँ हुन्छ, किन ? सौभाग्य भनौं मदन भण्डारी सधैं पार्टी एकता गरेर मात्र अगाडि बढे, उनले पुष्पलालबाट विद्रोह गरेर मुक्तिमोर्चा बनाएबाहेक विभाजन बेहोर्नु परेन तर आज मदन भण्डारी भएको भए के हुन्थ्यो होला ? हुन सक्छ माओवादीलाई हिंसात्मक विद्रोहमा जानुपर्ने नै थिएन या पार्टीहरू विभाजन नै हुने थिएनन् । तर यो एउटा कल्पना मात्र हो । जबसम्म लोकतान्त्रिक संस्कृति नेपाली कम्युनिस्ट आन्दोलनभित्र हुर्कंदैन तबसम्म यस्ता समस्या आइरहनेछन् । आफूले भनेजस्तो भएन भने निर्णय नमान्ने, जसरी पनि जित्नैपर्ने संस्कृतिमा लोकतान्त्रीकरण नगरी नेपाली कम्युनिस्ट आन्दोलन फेरि कुहिरोमा हराएको काग नै हुनेछ ।

जबजका कमजोरीको तुलनामा उपलब्धि धेरै छन् जसले गर्दा आजसम्म यसले नेतृत्व गरेको छ । हामी क्रान्तिपूर्व सरकारमा गएका छौं । अधिकतम प्रगतिशील सुधार भन्ने गरेका छौं । वर्गसंघर्षलाई आधारभूत तहसम्म सञ्चालन गर्ने कुरा हुन्छ तर व्यवहार यथास्थितिमा सम्झौता, लेनदेनमा सम्झौता । शान्तिपूर्ण ढंगले वर्गसंघर्ष सञ्चालन गर्ने कुरालाई पनि आत्मसात् नगर्ने तर जबजका चर्का कुरा गर्ने कुराले हामीलाई कहाँ पुर्‍याउँछ ? पार्टीभित्र सांस्कृतिक रूपान्तरणको प्रश्न होस् या पार्टीभित्र अराजकता, अनुशासनहीनता, नोकरशाहीतन्त्र, अनियमितताजस्ता विकृति र विसंगतिलाई कसरी सम्बोधन गर्ने ? जबज र मदन भण्डारीको नाम र पोस्टर बोकेपछि सात खत माफ हुने संस्कृतिले हामीलाई सोभियत समाजवादको मनोदशामा पुर्‍याउनेछ । हामीकहाँ वर्गीय, जातीय, भाषिक, क्षेत्रीय समस्याहरू छन् त्यहाँ अत्यधिक अन्तरविरोध छ । त्यसलाई हेर्ने बुझ्ने आफ्नै सोचाइ र चिन्तन छ । एउटा मान्छे बाहुन, क्षत्री, गुरुङ, मगर, राई आदि जातिमा विभक्त भएर परिवर्तनको सपना देख्न सक्दैन । जुन जातिको समस्या र उत्पीडन भए पनि नेपाली क्रान्तिको समस्या हो त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने मानसिकता नहुने हो भने जबजले आफ्नो मौलिकता प्रदर्शन गर्न सक्दैन ।

जनताको बहुदलीय जनवाद वैज्ञानिक सिद्धान्त हो भन्ने कुरा कुनै नेता वा समूहको दाबीले मात्रै पुष्टि गर्दैन । बरु जनताको बहुदलीय जनवादीहरूका दाबी नै वस्तुगत तथा वैज्ञानिक छन् कि छैनन् भन्ने कुरा माक्र्सवादको कसौटीमा पुष्टि हुनुपर्छ । जनताको बहुदलीय जनवादको प्रयोग र विकास कुनै पवित्र भावनाले मात्र हुँदैन । जनताको बहुदलीय जनवादको रक्षा र विकास गर्नु भनेको मदन भण्डारीप्रति भक्तिभाव प्रकट गर्नु वा श्रद्धाञ्जली चढाउनु मात्र होइन, बरु नेपाली समाजलाई द्वन्द्वात्मक तथा ऐतिहासिक विधिअनुसार अध्ययन गर्नु हो । हामीले जनताको बहुदलीय जनवादलाई आत्मसात् गरिरहँदा विगतमा धेरै विचलन देखिएका छन् । सत्ताका लागि जस्तोसुकै गठबन्धन पनि स्वीकार गर्न प्रतिगमन आधा सच्चिएको भन्ने तर्कसम्म गर्न पुग्ने कुराले जनताको बहुदलीय जनवादको प्रयोग र विकास कसरी भयो होला अनुमान गर्न सकिन्छ । हामी हाम्रो सिद्धान्तको सहीपनाको कुरा गरिरहँदा हाम्रो सिद्धान्तले वैज्ञानिकता गुमाएको र अनुभववादमा अल्भिmएको देख्न सकिन्छ ।

विचार, संगठन र कार्यशैलीमा निरन्तर समस्या बढिरहेका छन् तर हामी हाम्रो असफलता कुनै व्यक्तिका टाउकामा हालेर उम्कन खोज्छौं । वास्तवमा अब कुनै अमुक नेतालाई दोष दिएर हाम्रो जिम्मेवारी पूरा हुँदैन । निश्चित हो, नेतृत्वले जनताको बहुदलीय जनवादलाई ठीक ढंगले बुझ्न र बुझाउनै खोजेन । तर सिद्धान्त त ठीक थियो यसलाई प्रयोग गर्ने पात्र बेठीक भयो भन्ने रुन्चे कुरा छोडेर वैज्ञानिक जगमा उभिएर यसलाई विकसित र समृद्ध बनाउनु सबै नेकपा -एमाले) का नेता कार्यकर्ताको दायित्व हो ।

(This Article was Published in June 28, 2011 By Kantipur Publications)