मैले त्रिभुवन विमानस्थल सुधारें : रवीन्द्र अधिकारी (भिडियो सहित)

सम्पादकीय नोटः मन्त्रीहरूलाई हामीले सरकारमा गएपछि तपाईंले सुधारका लागि के काम गर्नुभयो?, जनताका पक्षमा के काम गरिरहनुभएको छ? भनेर  सोध्न सुरू गरेका छौं। चौथो शृंखलामा आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी :

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ घन्टा सञ्चालनमा छ भनिए पनि १७ घन्टामात्र चल्थ्यो।

एयर ट्राफिक कन्जक्सनले विमानहरू धेरै समय आकासमै अलमलिनु पर्ने अवस्था थियो। ‘स्लट म्यानेजमेन्ट’ प्रभावकारी थिएन। व्यस्त समयको व्यवस्थापन थिएन। धेरै समय र कम चल्नेका लागि चार्जमा फरक थिएन।

मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि यी समस्या हल गरेको छु।

विमानस्थल अहिले २२ घन्टा चल्छ। व्यस्त समयमा चार्ज बढी र अन्य समयमा कम गरेर विमानस्थल सञ्चालनमा ल्याइएको छ।

आन्तरिक उडानतर्फ बिहान साढे ७ बजेमात्र विमानस्थल खुल्थ्यो। अहिले ५ बजे नै खोल्ने व्यवस्था मिलाएका छौं। र साढे ५ बजेबाट उडान नै सुरु हुन्छ। डोमेस्टिक उडान राती ९ बजेसम्म सारिएको छ। डोमेस्टिक फ्लाइट बिहानदेखि बेलुकासम्म हुने भएपछि अन्तराष्ट्रिय उडानसमेत सहज भएको छ।

आज त्रिभुवन विमानस्थल प्रभावकारी रूपमा सञ्चालित छ। लगेज क्लियरेन्ससमेत आधा घन्टामा हुन्छ। पहिला डेढ घन्टासम्म लाग्थ्यो। सञ्चालन र सरसफाइमा पनि परिवर्तन भएको छ।

त्रिभुवन विमास्थलको स्तरोन्नति रोकिएको भएको थियो। ठेकेदारले छाडेको थियो। अहिले हामी त्यसका सबै काम अगाडि बढाइरहेका छौं। तीन सय मिटरको रन वे विस्तार, पेट्रोल पम्प उत्तरतर्फ सारेर अण्डरग्राउण्ड बनाउने काम भइरहेका छन्।

अर्को टर्मिनल भवन १० पनि महिना भित्र सक्ने गरी काम हुँदैछ।

त्रिभुवन विमानस्थलको मुख्य समस्या धावनमार्गको मर्मत हो। धावनमार्गका कारण जहाज रोकिनु पर्ने र आकाशमै अलमलिनु पर्ने समस्या छ। यो २७ वर्ष अगाडि गरिनुपर्ने काम हो। यो समाधान गर्न सरकारले २० वर्ष अगाडि गर्छु र सरकारले नीति बनाएको देखिन्छ।

तर त्यो जोखिम कसैले लिएन।

हामी आउने बर्खाअगाडि रनवे सुधार गर्दैछौं।

त्यतिबेला चार महिनामा काम गर्ने लक्ष्य राखेका छौं। त्यतिबेला १० घन्टा विमानस्थल बन्द गरेर गरेर काम गर्दैछौं।

अर्कोतिर, भैरहवा अन्तराष्ट्रिय विमानस्थलको निर्माण रोकिने अवस्थामा पुगेको थियो। एसियाली विकास बैंक ऋण नदिने भनेर हिँड्न लागेको थियो। सहायक ठेकेदारको समस्या थियो। ठेकेदार काम गर्न सक्दिनँ भनिरहेको थियो। हामीले ठेकेदारको टिम नै परिवर्तन गरेर एडिबीलाई मनाएर ल्यायौं। छ महिनामा भैरहवाको रनवे बनिसक्छ। एघार महिनापछि भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ।

बन्दैन भन्ने अवस्थामा पुगेको भैरहवा विमानस्थल आयोजना  अगाडि बढेकोले मलाई आफूले गरेका अरू कामभन्दा बढी सन्तुष्टि मिलेको छ।

त्रिभुवन विमानस्थलको स्तरोउन्नति र रनवे सुधार तथा भैरहवा विमानस्थल निर्माण भएपछि देशकै मनोबल बढ्छ। २०२० अघि नै हामी त्रिभुवन विमानस्थल २४ घण्टा चल्ने बनाउँछौं। भैरहवा विमानस्थल पनि  सञ्चालनमा भएपछि त्यसले हाम्रो मनोबल बढाउँछ।

पोखरा अन्तराष्ट्रिय विमास्थल पनि अगाडि बढेको छ। प्रगति राम्रो छ।

अन्तर्राष्ट्रिय उडानमा नेपाली यात्रु र विदेशी यात्रुमा असमानता थियो। ब्यागेज खोल्ने, चोर्ने र हवाइ दुर्घटनामा पर्दा क्षतिपूर्तिस्वरूप पाउने रकम ८ गुणा कम थियो।

आज नेपाली यात्रु अन्तर्राष्ट्रिय यात्रुसरह भएका छन्। मोन्ट्रियल कन्भेन्सन २० वर्षअघि पारित गर्नुपर्थ्यो तर व्यवस्था भएको थिएन। हामीले कन्भेन्सन पारित गरेर आइकाओमा पठाएका छौं।

नेपालमा अन्तर्राष्ट्रिय विमान आउने एउटा मात्र बाटो सिमरा थियो। हामीले चार वटा बाटा थप गरेका छौं। अध्ययन भएर कार्यान्वन्वय दिशामा अगाडि बढेको छ। सिमराबाट मात्र आउँदाभन्दा अब भैरहवा, जनकपुर, महेन्द्रनगर आउँदा बढी सजिलो हुनेछ। खासगरी निजगढ, पोखरा र भैरहवा विमानस्थललाइ सजिलो हुनेछ। महेन्द्रनगरबाट आउँदा नेपालको बाटो प्रयोग हुने भएकाले जुनसकै बाटो जहाँ जान आउँदा पनि जहाजबाट नेपालको आकाशमा हिमाल हेर्दै उड्छन्। त्यो ऐतिहासिक उपलब्धी हो।

सबै प्रदेशको राजधानीमा हवाइ सेवा पुगेको थियो। तर कर्णालीको राजधानी सुर्खेत जोडिएको थिएन। म मन्त्री भएपछि सुर्खेतमा नियमित सेवा सञ्चालन गरियो। राजविराज एयरपोर्ट कालोपत्रे गरेर टर्मिनल सञ्चालनम ल्याएर जहाज चलाउन सुरु गर्‍यौँ। अहिले नियमित उडान भैराखेको छ।

धनगढी विमानस्थल रात्रीकालीन उडान गर्न सक्ने भएको छ। भैरहवा, नेपालगञ्ज विराटनगर, जनकपुर र चन्द्रगढीमा ४० सिटमाथिको ठूला जहाज जान थालेका छन्। सबै विमानस्थल स्तरोन्नति गर्ने काम अगाडि बढाएका छौं। मंसिरसम्ममा चन्द्रगढीमा रात्री विमान सञ्चालनमा आउनेछ। माघबाट हामी जनकपुरमा पनि रात्री उडान गर्नेछौं।

कर्णालीमा चार्टर जहाजमात्रै जाने ठाउँमा नियमित उडान हुने अवस्था बनाएका छौँ।

साथै सम्भाव्यता उडान र परीक्षण उडानहरू पनि गरिराखेका छौं। यसबीचमा नचाहिने असान्दर्भिक विमानस्थलमा भने काम गरेका छैनौं।

जहाज जान सक्ने कर्णालीका दुर्गम क्षेत्रका एयरपोर्टलाई योग्य बनाउने प्रयास पनि गरिरहेका छौं।

अर्को कुरा नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी विमान भित्र्याएको छ। अन्तर्राष्ट्रिय सेवा विस्तारका लागि टिकट पूर्ण रूपमा अटोमेसनमा लगिएको छ। अब टिकटमा कसैले लुट्न सक्दैन। टिकट सहुलियत रूपमा दिन पूर्णत: रोक लगाइएको छ।

अन्तराष्ट्रिय उडान ठिक समयमा हुने बनाएका छौं। आन्तरिक उडानमा जहाज कम भएकाले समस्या छ। चिनिँया जहाज उडाइयो। फेरि बिग्रियो। अब हामी त्यस्तो अवस्था अन्त्य गर्न मर्मत गर्ने सिस्टर अर्गनाइजेश बनाउने तयारीमा छौं। जसले निजी र सरकारी जहाजको मर्मत गर्नेछ।

म दावाका साथ भन्न सक्छु, अहिले अन्तर्राष्ट्रिय उडानमा ८० प्रतिशत समयमा भैराखेका छन्। सेवा पनि प्रभावकारी छ।

जापानसँग एयर सर्भिस एग्रिमेन्ट गरेका छौं। पहिला ओसाकामा मात्र उडान अनुमति थियो। अब हामी टोकियो र अरु ठाउँमा जान सक्नेछौँ। कोरियासँग पनि उडानको लागि कुरा भैराखेको छ।

वाइडबडी ल्याएको युरोपलगायत लामो दूरीमा उडानका लागि हो। जहाज आइसकेका छन्। अब व्यवस्थित बनाउने हाम्रो जिम्मेवारी हो। जापान र कोरियाको स्वीकृत पाएपछि उडान वाइडबडीले गर्नेछ।

अहिले दुबई र बैंकक गइराखेको छ। तर प्रयोग हुन सकेको छैन। तीन महिना भित्र यो अधिकतम् प्रयोग हुने ठाउँमा जान्छ।

नेपालअन्तर्राष्ट्रिय उडानमा महत्वपूर्ण आइकाओको खतराको सूचीमा थियो । खतराको सूचीबाट हटाएर सुधार अवार्ड पाएका छौं।

युरोपियन युनियनले अझै कालो सूचीमा राखेको छ। हाम्रो जहाज जान सक्दैन। हामी त्यसलाइ हटाउन लागेका छौं। अर्को वर्षको मेबाट हटाउने कोशिश भैराखेको छ। वायुसेवा निगमलाई कम्पनीमा लैजानेबारे सोचिराखेका छौं।

निजगढ विमानस्थलको वातावरणीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ। मोडालिटी टुंगो लगायौं। ग्राउण्ड क्लियरेन्सका लागि मुआब्जा वितरण अगाडि बढाएका छौं। साइट अफिस बनेको छ। चार किल्ला तोकिएको छ। टाँगिया वस्तीको व्यवस्थापनको मोडालिटी अन्तिम चरणमा पुगेको छ।

काभ्रेको नागिडाँडा एयरपोर्टलाई अध्ययनमा लगेका छौं। आवश्यक छैन र औचित्य छैन भन्ने चर्चा भयो। हामीले समिति बनाएर अध्ययन गरायौं। औचित्य छ भन्ने रिपोर्ट आयो। फेरि पनि डिटेल अध्ययन गर्न लगाएका छौं। सँगै हामी राष्ट्रिय एयरपोर्ट प्लान पनि बनाइराखेका छौं।

नेपालगञ्ज र जनकपुरबाट भारत उडानको कुरा भैराखेको छ। चीनतर्फ उडानको कुरा भैराखेको छ। हामीले एक बर्षभित्र स्लट पाउने विश्वास गरेका छौं। हाम्रा जहाज चीनतर्फ नजाने उताको मात्र आउने भयो भने सन्तुलत हुँदैन। कूटनीतिक हिसाबले पनि हामीले भनिराखेका छौं।

प्राइभेट जहाज कसले अन्तर्राष्ट्रिय उडान गर्न पाउने कसले नपाउने मापदण्ड बनेको छ। आन्तरिक उडान गरिरहेका बुद्ध, यति, श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्न चाहे पाउने मापदण्ड बनेको छ।

उड्ययन क्षेत्रमा ठूलो परिवर्तन भएको छ।

नागरिक उड्ययनलाई विभाजन गर्दैछौँ। एउटाले अप्रेसन हेर्ने र अर्को मोनिटरिङ गर्ने नियमनकारी छुट्टाछुट्टै बनाउँदै छौँ। अहिले एउटै छ।

पाइलट उत्पादनका लागि फ्लाइङ स्कूलको काम अगाडि बढाएको छु। तालिम केन्द्र कमजोर थियो। अल्झिएको अवस्थामा थियो हामी भवन बनाउँदै छौं। अरु देशका मान्छेलाई पनि तालिम दिनसक्ने गरि बनाइराखेका छौं।

त्यस्तै पर्यटन विश्वविद्यालयको योजना छ। अहिले माउन्टेनियरिङ ऐकेडेमी छ। त्यसमा प्लस टुको कोर्स गराएका छौं। त्यसमा ग्र्याजुएसन हुने अवस्था सुरू भएको छ। अब पोस्ट ग्र्याजुएसनका लागि काम गरिरहेका छौं। टुरिजम र होटल म्यानेजमेन्टको (नाथम) कलेज छ। त्यसलाई हामी विश्वविद्यालय बनाउने तयारी गरेका छौं। किनभने हामीलाई अब शैक्षिक ब्याकअप चाहिएको छ। त्यसले योग्य र दक्ष जनशक्ति निर्माण गर्नेछ।

संस्कृति तर्फपनि हामीले समय तोकेर पुनर्निर्माण भएको छ। स्वयम्भू, हनुमानढोकाको गद्दी बैठक पुनर्निर्माण सकिएको छ। समय तोकेर काम नगरेको भए गद्दी बैठकबाट इन्द्रजात्रा हेर्न पाइने थिएन। पाटन कृष्ण मन्दिर र चाँगुनारायण, मनकामना मन्दिर बनेको छ। सरकारले ४ करोड दिँदा आफैं रकम हालेर १७ करोडमा मनकामना मन्दिर पुननिर्माण भएको छ। करिब ९७ सम्पदा पुन:निर्माण भएको छ।

पर्यटन वर्ष २०२०का लागि सचिवालय बनाएर काम सुरू भएको छ। भारत र चीनको पर्यटन मन्त्रालयस्तरमा बैठक भएर सहमति भएको छ। पर्यटन बोर्डलाई प्रभावकारी बनाएर विदेशी ब्लगरहरूको ग्यादरिङ गराएर प्रचार गरिरहेका छौं। माउन्टनियरिङमा प्रमोसन गरिएको छ। पर्यटक बढेका छन्।

पर्यटकको तथ्याङ्क हेर्न सेटेलाइट अनुसन्धान गरिरहेका छौँ।

हाम्रा लागि पर्यटकको संख्या मात्र महत्वपूर्ण होइन। त्यसले कति अर्थतन्त्रमा योगदान गर्‍यो हेर्नुपर्छ। अहिले तीन प्रतिशत मात्र जिडिपीमा योगदान छ। हाम्रो तथ्यांक छैन। हामीले भ्यालु थप्ने पर्यटक ल्याउनुपर्छ। भुटानमा धेरै पर्यटक भ्यालु एड गर्नेमात्र आउँछन्। तर भुटानमा एकपटक आएपछि फेरि फर्कदैनन्। हामीकहाँ आउने पर्यटक फेरि पनि नेपाल आउँछन्।

हामीले यस्ता खाले पर्यटक नेपालआउनुको कारणमा अध्ययन गर्न जरुरी छ। त्यता हामी लागेका छौँ।

नेपालले होमस्टे प्रभावकारी बनाउनुपर्छ। त्यस अनुसार कार्यविधि बनाइरहेका छौं। होमस्टेले अर्गानिक खाद्यान्न प्रवद्धन गर्छ। रोजगारी श्रृजना गर्छ। दिगो विकासको लक्ष्यमा पनि फाइदा पुग्छ। हामीले अर्गानिक क्षेत्र बनाएर प्रमोशन गर्नुपर्छ।

रिसोर्ट निर्माण, होटल क्षेत्रमा लगानी बढेका छन्। केही दिन अघि मात्र हामीले तीन वटा स्टार होटललाई अनुमति दिएका छौं। होटलको वर्गिकरण गरेका छौं।

सातवटै प्रदेशमा पर्यटक बढाउन लागेका छौं। पशुपतिमा सरसफाइ गरिएको छ। मगन्ते फ्री बनाउन लागेका छौं। त्यहाँ पुनर्निर्माण अगाडि बढेको छ। निर्माण गर्दा पुरातत्वको प्रश्न उठ्ने साथै सँधै निर्माणमात्र गरिरहन पनि नसक्ने अवस्था छ। पशुपति क्षेत्रमा पाँच घन्टा भुल्न सक्ने गरि बगैँचासहितको अभियान अगाडि बढाएका छौं। पशुपतिदेखि एयरपोर्ट ठूलो बगैँचा बनाउने गरी काम अगाडि बढाएका छौं।

ट्रेकिङ र माउन्टनियरिङको उद्धार गलत गर्नेलाई कारबाहीको दायरामा ल्याएका छौं। उद्धारको व्यवस्थापन कार्यविधि बनाएका छौं।

सन् २०२० मा पाइला टेक्दा नटेक्दै हामीले पर्यटनमा नयाँ पाइला टेकिसकेका हुनेछौं।

यो अंश सेतोपटी अनलाईनमा प्रकासित छ |