पर्यटन उद्याेगमा भ्रम फैलाउनेहरू धेरै छन्

– रवीन्द्र अधिकारी, मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

आइकाओले नेपाललाई कालोसूचीबाट हटाइसक्यो । तर ईयू किन अझै चुप लागेर बसेको हो ? हामीले भने ईयूकै एउटा सदस्य राष्ट्र फ्रान्सबाट एयरबस ल्याएका छौं । एयरबस ल्याएकै देशमा हामीले किन उडान गर्न नपाउने ?

२०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीले संविधानसभामा विकास समिति सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् । विकास समितिको सभापतिमा रहँदा उनले गरेका धेरै कामले प्रशंसा पनि पाए । कास्की क्षेत्र नं २ बाट तेस्रो पटक निर्वाचित अधिकारीले राष्ट्रिय गौरवका तीन ओटा आयोजना (निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एवम् भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल)लाई अघि बढाइरहेका छन् । मन्त्री भएलत्तगै भ्रमण वर्ष २०२० को घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने घोषणासाथ तयारी तीव्र पारिएको उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १८ घण्टाबाट २१ घण्टा सञ्चालन अवधि पुर्याइएको छ । यिनै विषय र पर्यटन मन्त्रालयको भावी योजनाका विषयमा क्यापिटलले मन्त्री अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश –

पर्यटक उद्धारमा नक्कली उद्धार हुने र बिमा रकमबाट पर्यटकलाई ठगी गर्ने विषयमा छानबिन समितिले तपार्इंलाई प्रतिवेदन बुझाएको छ । तर कारबाहीको सिफारिस भएको व्यक्ति तथा संस्थाको नाम किन गोप्य राखिएको होला ?
हामीले पर्यटकको नक्कली उद्धार गर्ने विषयलाई संवेदनशील मानेर त्यसको छानबिनका लागि समिति गठन गरेका हौं । पर्यटन उद्योगलाई कमजोर हुन नदिन रेस्क्यू, ट्राभल र अरु काम प्रभावकारी बनाउन पनि उक्त समितिले काम गर्छ । त्यसले नक्कली पर्यटक उद्धारका विषयमा छानबिन गरेर प्रतिवेदन पेस गरिसकेको छ । गलत गर्नेलाई कारबाही गर्न भनेरै प्रतिवेदन बनेको हो । प्रतिवेदनअनुसार गलत गर्नेलाई कारबाही हुन्छ र राम्रो गरेकाहरुलाई संरक्षण पनि गर्छौं ।

प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालय, गृह मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पत्र पठाइसकेका छाैं । ती मन्त्रालयसँग कसरी कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा पटकपटक छलफलसमेत भइसकेको छ । त्यसैले नाम गोप्य होइन, कारबाहीका लागि तयारीमा राखिएको हो ।

विदेशी पर्यटक नेपाल आउँदा बिमा रकम महँगो भयो । पहिला २५ डलरमा हुन्थ्यो भने अहिले ५ सय डलर पुगेको छ । यति धेरै रकम तिरेर को आउँछ नेपालमा ? त्यसैले यस विषयमा पनि अहिले छानबिन हुँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आए पनि त्यो प्रभावकारी देखिएको छैन नि ?
अहिले हामीले २१ घण्टा एयरपोर्ट सञ्चालन गरिरहेका छौं । अहिले राति साढे १२ बजेसम्म विमान अवतरण भइरहेका छन् । कतार एयरवेज सेप्टेम्बर १ देखि नयाँ तालिकामा आउँदै छ । हामीले सुरु गर्नेबित्तिकै सबै काम भइहाल्ने होइन । विमान कम्पनीहरुको तालिका एक वर्षभरिको हुन्छ । त्यही भएर बिस्तारै समय बढ्दै गएको छ । राति साढे १२ पछि नेपाल एयरलाइन्सकै अर्को जहाज उड्दै छ । चार्टर फ्लाइटहरु राति आउन थालेका छन् ।

अहिले दुई बजे पनि जहाज आइरहेका छन् । ती चार्टर फ्लाइट हुन् । चार्टर फ्लाइट दिउँसो आउँदा हाम्रो तालिका नै बिग्रन्थ्यो । तर अहिले त सहज भएको छ । अरु फ्लाइट पनि आउँदै छन् । २१ घण्टा एयरपोर्ट चलाउँदा ५–७ ओटा स्लट खाली भएका छन् । अर्को हामीले सेप्टेम्बर १ बाट बिहान ५ बजेबाटै एयरपोर्ट सञ्चालन गरी ६ बजे आन्तरिकतर्फका उडान सुरु गरिसकेका छौं । यसले धेरै डोमेस्टिक उडान बिहानै हुन्छन् । अहिले अन्तर्राष्ट्रिय उडान कुनै पनि होल्डमा छैनन् । ग्राउन्ड बिग्रिएर कहिलेकाहीँ समस्या आउँछ । सामान्यतया चार मिनेटभन्दा बढी अन्तर्राष्ट्रिय विमान होल्ड हुने गरेका छैनन् । डोमेस्टिक उडान पनि होल्ड हुने क्रम घटेको छ । ट्राफिक म्यानेजमेन्ट राम्रो गरेका छौं । तर यो पर्याप्त भने छैन ।

ट्राफिक म्यानेजमेन्टको कुरा गर्दा अहिलेको सबैभन्दा संवेदनशील धावनमार्ग हो । धावनमार्ग १० वर्षअघि नै बनाउनुपर्ने हो । तर किन बनाइएन ? यसको आयु सकिइसकेको छ । हामीले यस विषयमा योजना बनाएर काम गर्दैछौं ।

नयाँ केही एयरलाइन्सहरुले त फेरि दिउँसोकै समयमा उडान अनुमति पाएका छन् नि ?
दिउँसोको समयमा स्पेस खाली भएको हुनाले थाइलाइन एयरलाई दिउँसोको समयमा अनुमति दिइएको हो । हामी स्पेसमा दोहोरिने गरी कसैलाई अनुमति दिदैनौं ।

विगतमा धेरै मन्त्री, सचिव र डीजीहरुलाई केही हवाई व्यवसायीले प्रभावमा पारेर काम गर्थे । तपाईं पनि प्रभावमा पर्नुभएको त छैन नि ? अहिलेसम्म यस्तो प्रभाव र दबाब कत्तिको आइरहेको छ ?
दबाब हुन्छन् । उनीहरुका आआफ्ना इच्छाआकाङ्क्षा होलान् । एउटा डरलाग्दो कुरा आफ्नो स्वार्थ पूरा भएन भने गलत समाचार प्रकाशित गराउने, भ्रम फैलाउन खोज्नेहरु पर्यटन उद्योगमा प्रशस्त छन् । फेक रेस्क्यूमा पनि गलत धन्दा गर्नेहरुले भ्रम फैलाउन खोजे । त्यो मात्र होइन, अरु विषयहरु पनि छन् । प्रभाव र दबाब नआउने होइनन् । तर ती विषयलाई बेवास्ता गरेर अगाडि बढ्ने कुरामा म विश्वस्त छु ।

नेपाल एयरलाइन्सको जहाज आयो । यसमा पनि मलाई विवादमा ल्याउन खोजियो । यस विषयमा सबैलाई थाहा नै छ । यो मन्त्रीलाई हतोत्साही बनाएर भगाउनुपर्छ भनेर पनि केही व्यक्ति लागे । तर मैले इमानदारीसाथ काम गरेको छु । पर्यटन क्षेत्रमा धेरै ठूलो परिवर्तनको आवश्यकता छ । अहिलेसम्म मैले अघिी बढाएका कुनै पनि काम रोकिएका छैनन्, रोकिन्नन् पनि । म आफ्नै स्पिडमा अघि बढिरहेको छु ।

अन्तर्राष्ट्रिय विमानस्थलका धेरै प्रोजेक्ट अड्किएर बसेका छन् । धावनमार्गमा नै बेलाबेलामा समस्या आइरहेको छ । तपाईंको स्पिडलाई यस्ता कुराले पनि त ब्रेक लगाउलान् नि ?
सन् २०२० अगाडि यो रनवे पूरै पुनर्निर्माण हुन्छ । साथै चौबीसै घण्टा एयरपोर्ट सञ्चालनमा आउँछ । अहिले धावनमार्ग चर्कने समस्या छ, अर्काे वर्षको बर्खाअघि नै त्यो समाधान गरिसक्छौं । त्यसको प्रक्रिया अघि बढाइसकेको छु । दुई महिनापछि त्यो काम सुरु हुन्छ । अहिलेसम्म कसैले पनि कामै नगरी बसेका थिए । जोखिम मोल्न कोही तयार थिएनन् । काम नगर्ने मान्छे पुजिने देश हो यो । काम गर्नेलाई सबैले खेद्ने गर्छन् । म त्यस कुरामा चिन्तित छैन । मलाई जनताले जे जिम्मेवारी दिएका छन्, पार्टीले जे जिम्मेवारी दिएको छ, म त्यो काम इमानदारीसाथ पूरा गर्छु । त्यो केही समयमै सबैलाई थाहा पनि हुन्छ ।

विमानस्थलकोे स्तरवृद्धि गर्छु । अल्झिएका सबै प्रोजेक्ट अगाडि बढाइरहेको छु । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल म आउनुअघि २७ प्रतिशत मात्र सकिएको थियो । अहिले ५० प्रतिशतभन्दा बढी प्रगति भइसकेको छ । एसियाली विकास बैङ्क (एडीबी) छोडेर हिँड्न थालेको थियो । तर मैले उहाँहरुलाई रोकें । अहिले त्यसको काम तीव्र गतिमा अघि बढिरहेको छ । आगामी बर्खाभित्र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको छ । मन्त्री भएर आएपछि राजविराज एयरपोर्ट सञ्चालनमा ल्याउँछु भन्दा कसैले पत्याएनन् । तर एयरपोर्ट चलाएरै छाडें । अहिले त्यहाँ रेगुलर फ्लाइट छ । सुर्खेतमा ठूलो जहाज जाँदैन भन्ने थियो । तर परीक्षण गर्दा त्यो सफल भयो ।

दुर्गम र जिल्लाका एयरपोर्ट सञ्चालन गर्ने क्रममा बागलुङको एयरपोर्ट सञ्चालन भयो । तर भाडा महँगो अनि यात्रु नहुँदा स्थानीय नगरपालिकाले क्षतिपूर्ति दिनुपर्ने यसरी पनि एयरपोर्ट सञ्चालन सम्भव हुन्छ र ?
बागलुङ एयरपोर्ट सञ्चालनमा छ । त्यहाँको स्थानीय तहले जिम्मेवारी लिएर सञ्चालन गरेको हो । भाडा केही समायोजन पनि भइसकेको छ । क्षतिपूर्तिका विषयमा केही त हामीले पनि गरिदियौं । हामीले दुर्गम क्षेत्रका लागि सहुलियत भाडादर बनाएका छौं । तर स्थानीय तहले त्यस्तो गर्ने कि नगर्ने भन्ने प्रश्न महत्त्वपूर्ण हो । यो उनीहरुले नै बुझ्नुपर्छ ।

पोखरा एयरपोर्ट बेलाबेलामा विवादमा आउँछ । केही महिनाअघि निर्माण रोकियो पनि । क्यानका केही पदाधिकारीले चिनियाँ ठेकेदारसँग पैसा मागेको भन्ने गुनासो बाहिर आएको थियो । काम रोकिएको विषयमा मन्त्रालयले पनि जानकारी गराएन किन ?
पैसा मागेको विषयमा मलाई जानकारी छैन । पोखरा एयरपोर्ट एक वर्ष ऋण र अनेकन समस्याले अल्झिएको थियो । म आइसकेपछि चिनियाँ राजदूत, राजदूतावास, उच्च तहका चिनियाँ अधिकारीहरुसँग धेरै नै छलफल गरी त्यसको व्यवस्थापन गरिएको हो । बीचमा केही समय काम रोकिएको थियो । किनभने उनीहरुलाई पैसा नै आएको थिएन । अहिले बल्ल काम हुन थालेको छ । एक्जिम बैङ्कले पैसा दिन लागेपछि काम तीव्र गतिमा अघि बढिरहेको छ । त्यसले गर्दा एक वर्ष ढिला भएको छ । उनीहरु अहिले १ वर्ष ढिला भयो, समय थप्नुपर्यो भनिरहेका छन् । तर त्यो उनीहरुकै कारणले ढिला भएकाले हामी समय थप्ने पक्षमा छैनौं । ठूला परियोजनाहरुमा अदृश्य किसिमले त्यसलाई अल्झाउने अनेकन प्रयत्न हुन्छन् । त्यो मैले विकास समितिमा हुँदादेखि नै भोगेको र देखेको विषय हो । करिबकरिब हुँदैन भन्ने मेलम्ची आयोजना मेरै कारणले अहिले यो अवस्थामा आइपुगेको पनि हो ।

तर तपाईं विकास समितिमा हुँदा पिच भएको ठमेलभित्रको बाटो तपाईं मन्त्री भएपछि नै भत्किएछ नि ?
अहिले ठमेलको बाटो भत्काएको देखेर म आफैं अचम्भित छु । ढल र नाला बनाउने नाममा सबै सडक भद्रगोल बनाइएको छ । त्यतिबेला पिच भएको बाटो अहिले खाल्डा र हिलो देखिन्छ । म केही समयअघि हेर्न गएको थिएँ । बनाइएका सडक सबै भताभुङ्ग बनाइएको रहेछ । वडा कार्यालयसँग किन भत्काएको भनेर सोध्दा बजेट आयो भत्कायौं भन्ने जवाफ दिए । बजेट आयो भन्दैमा सबै बाटो भत्काएर अलपत्र पार्नु पक्कै राम्रो होइन । मैलै विकास समितिमा रहँदा १५–२० ओटा परियोजना अघि बढाएको थिएँ । तिनको पनि प्रगति भएको छ ।

विमानस्थलका तीन ओटा राष्ट्रिय गौरवका आयोजनामा क्यानका एकै व्यक्तिलाई आयोजना प्रमुख बनाउनुभएको छ । एउटै व्यक्ति तीन आयोजनको प्रमुख हुँदा पारदर्शिता हुन्छ ?
क्यानको कार्यक्षेत्र विभाजनका कारण यसो भएको हो । म आउनुअघिदेखि नै यस्तो अभ्यास थियो । अहिले यस विषयमा मैले बुझिरहेको छ । तीन आयोजनामा एउटै व्यक्ति आवश्यक छ कि छैन, ती आयोजनाको काम कसरी अघि बढिरहेको छ, कार्यप्रगति कस्तो छ भन्ने विषयमा अध्ययन भइरहेको छ । फरकफरक परियोजनालाई एकएक ओटा प्रमुख तोकिदिने हो कि एउटै व्यक्तिबाट सञ्चालन गर्ने भन्ने विषयमा हामी केही समयभित्रै टुङ्गोेमा पुग्छौं । देखिएका समस्या पनि समाधान हुन्छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रमाणपत्र लिन १४ ओटा देशका महानिर्देशक क्यानडा गएका थिए । तर नेपालबाट चाहिँ किन मन्त्री नै जानुभएको ? क्यान नेतृत्वको प्रभावमा परेर जानुभएको हो भन्ने पनि बाहिर आयो नि ?
म कसैको प्रभावमा परेर गएको होइन । सबैभन्दा पहिला त आइकाओले खतराको सूचीबाट नेपाललाई हटाएपछि प्रेसिडेन्टले मन्त्रीज्यू आउनुपर्यो भनेर बारम्बार भनेका थिए । म मेरै सम्बन्धका कारण गएको हुँ । अर्को महत्त्वपूर्ण कुरा भनेको युरोपियन युनियन (ईयू)का लागि गएको हुँ । मैले त्यहाँ आइकाओको प्रमाणपत्र लिइसकेपछि ईयूले स्वाभाविक हिसाबले सोच्नुपर्ने बाध्यता परेको छ । मैले ईयूलाई लगातार भनिरहेको छु— हामीलाई अहिले ठूलो घाटा भइरहेको छ । युरोपमा जहाज जान पाएका छैनन् । ईयूलाई कालोसूचीबाट हटाउन पहल गरिरहेको छु । यस विषयमा परराष्ट्र मन्त्रालयका सचिवले कुरा गरिरहेका छन्, अहिले चौतर्फी रुपमा उनीहरुलाई दबाब पनि परिरहेको छ । आइकाओका १९३–९४ देश आबद्ध छन् ।

त्यसमातहत ईयूका देश पनि पर्छन् । आइकाओले नेपाललाई कालोसूचीबाट हटाइसक्यो । तर ईयू किन अझै चुप लागेर बसेको हो ? हामीले भने ईयूकै एउटा सदस्य राष्ट्र फ्रान्सबाट एयरबस ल्याएका छौं । एयरबस ल्याएकै देशमा हामीले किन उडान गर्न नपाउने ? अहिले हामीलाई जापानमा उडान गर्न ईयूको कालोसूचीका विषयमा स्पष्टीकरण दिनुपरेको छ । दोहामा पनि स्पष्टीकरण दिएर उडान सुरु गरिसकेका छाैं । यी विषयबारे चर्चा गर्न पनि म क्यानडा गएको हुँ । यसबारे अन्यार्थ लगाउनु उचित छैन ।

नेपाल एयरलाइन्सको नयाँ विमान खरिदमा भ्रष्टाचार भएको भन्ने कुरा उठ्न थाल्यो । कुरा के हो ?
जहाज किन्ने कुरा भएको कहिले ? पैसा पठाएको कहिले ? म आउनुअघि नै जहाजको पैसा गइसकेको थियो । अहिले म आइसकेपछि के गरें, त्यो पो हेर्नुपर्ने हो । म जहाज आउँदै छ भनेपछि जहाज उडाउन आवश्यक तयारीतर्फ लागें । त्यसका लागि योजना बनाएँ । पाइलटको जोहो गरें । नयाँ बजारको खोजी गरें । यहाँ त्यो विमानलाई ल्याएर अलपत्र पार्ने र ड्यामेज बनाउने खेल भएको थियो । तर मैले त्यसो हुन दिइनँ । जहाजलाई चल्न नदिने केही तत्त्व मदेखि रिसाए । म यति मात्र भन्न चाहन्छु, त्यहाँ केही गलत काम भएका छन्, अनियमितता भएका छन् भने तिनको नियन्त्रण गर्ने र कारबाही गर्ने निकाय पनि छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र छन् । त्यसैले यस विषयमा जवाफ दिइराख्नुपर्छ भन्ने मलाई लाग्दैन ।

नेपालमा भएका जहाज बेच्दैबेच्दै लगेर नेपाल वायुसेवा निगमको बोर्ड मात्र बाँकी रहने अवस्था थियो । बोइङ नल्याउन पनि यहाँ अनेकन प्रयास भएकै हुन् । तर त्यसलाई त्यत्तिकै छाडिदिएको भए हाम्रो पैसा डुब्थ्यो । पर्यटन क्षेत्र पनि धरासयी हुने अवस्था आउने थियो । यहाँ बिगार्नका लागि धेरै खेल हुने गरेका छन् । तर म तिनीहरुलाई बेवास्ता गर्दै आफ्नो काम तीव्रतासाथ अघि बढाउँछु । हाम्रो एभियसन र एयक्राफ्टलाई संसारसामु प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार छिट्टै भित्र्याउँदै छौं । यसले यी क्षेत्रलाई पक्कै पनि प्रतिस्पर्धी बनाउनेछ ।

चिनियाँ जहाज थन्किएर बसेका छन् । चिनियाँहरुले जहाज बनाउन आउँदैनाैं भनिसकेका छन् । तर मन्त्रालयले यस विषयलाई ढाकछोप गरिरहेको छ ? वास्तविकता के हो ?
मैले चिनियाँ जहाजको विषयमा अध्ययन गरिरहेको छु । पहिलो चरणको अध्ययन सिध्याएर दोस्रो चरणको अध्ययन सुरु हुँदै छ । चिनियाँ जहाजका विषयमा तात्त्विक निष्कर्षमा पुग्न त्यस्तै निर्णायक काम गर्नुपर्ने देखेको छु । यद्यपि केही चिनियाँ जहाज चल्दैछन् । तर धेरै समस्या देखिएको पक्कै हो । विद्यमान अवस्था रहिरहँदा चिनियाँ जहाज फुल फेजमा चल्न सक्दैनन् । योचाहिँ सत्य हो ।

पर्यटन वर्ष २०२० घोषणा भइसकेको छ । तर हामीसामु पूर्वाधारको चुनौती छ । समयमै सबै पूर्वधार बनिसक्छ त ?
सन् २०२० सम्म त्रिभुवन विमानस्थल चौबीसै घण्टा सञ्चालनमा आइसक्छ । अर्को भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आइसक्छ । नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार पनि भित्रिन्छ । एयरपोर्टका कारण चार्टर फ्लाइटमा आउनेलाई समस्या हुनेछैन । आन्तरिक गन्तव्यस्थल पनि बढ्नेछन् । २० लाख पर्यटकका लागि पर्याप्त पूर्वधार बनिसक्नेछ । त्यसका लागि अहिलेदेखि नै तीव्रताका साथ हामी लागिपरेका छौं ।

नागीडाँडा एयरपोर्टको काम के हुँदै छ ?
यसका विषयमा ३–४ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन आइसक्छ । त्यसपछि काम द्रुत गतिमा अघि बढ्छ । सन् २०२० मा आधा काम सक्ने गरी काम हुनेछ । २०२० मा सबैभन्दा बढी रोजगार दिने क्षेत्र पर्यटन हुनेछ । त्यतिखेर हामीले एक लाख जनशक्तिलाई राोजगारी दिनेछौं ।

नयाँ रुटका विषयमा भारतसँग कुरा अघि बढ्यो । तर हिमालय रुटका विषयमा खासै प्रगति भएन नि ?
हिमालय रुट लिन हामीले कुुरा अगाडि बढाइरहेका छाैं । हामी चीनमा पनि जहाज उडाउन पाउने गरी छलफल अघि बढिरहेको छ । अहिले उनीहरुका जहाज आउँछन्, तर हाम्रोलाई जान दिएका छैनन् । एक वर्षभित्र नेवानिले चीनमा पनि उडान थाल्छ ।

यो अन्तर्वार्ता क्यापिटल नेपालमा प्रकाशित छ ।

शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गरौंं।
जनताको बहुदलीय जनबादको मार्गदर्शनमा समृद्द नेपाल निर्माण गरौंं।।