पर्यटन मन्त्रालयका आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक

१७ साउन, काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक गरेको छ ।
कार्यदिशामा वाषिर्क पर्यटक आवागनलाई आगामी ५ वर्षभित्रै २५ लाख पुर्‍याउनेदेखि निगगढ विमानस्थलको निर्माण आधा सकाउने सम्मका लक्ष्य निर्धारित छन् ।

बिहीबार मन्त्रालयमा विभिन्न प्रदेशमा पर्यटनमन्त्रीहरुसँग भएको अन्तरक्रियामा ५ वर्षभित्र मन्त्रालयले गर्ने कामको खाका सार्वजनिक गरिएको हो । पर्यटनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा सार्वजनिक गरिएको कार्यदिशामा विभिन्न सांस्कतिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्नेदेखि पर्यटन प्रवर्द्धनका लागि चालिने कदमहरु समेटिएका छन् ।

सार्वजनिक गरिएको कार्यायोजनामा १ वर्षभित्रै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइसक्ने उल्लेख छ । त्यसैगरी पोखरा विमानस्थलको निर्माण ३ वर्षभित्र सकेर सञ्चालनमा ल्याउने विषय पनि यसमा समेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेरेको उडान/अवतरणको संख्या तथा पार्किङ क्षमतालाई दोब्बर बनाउने लक्ष्य पनि निर्धारण गरिएको छ । काभ्रको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माण सकेर त्रिभुवन विमानस्थलको ट्राफिक चापलाई ३० प्रतिशतले कम गर्ने अर्को योजना पनि समावेश छ ।

मन्त्रालयले हाल वाषिर्क १० लाख रहेको पर्यटक आगमनको संख्यालाई अबको ५ वर्षभित्रमा २५ लाखमा पुर्‍याउने महत्वकांक्षी कार्यदिशा सार्वजनिक गरेको छ । यसका लागि संघ, प्रदेश र स्थानीय तह मिलेर विभिन्न पूर्वाधारहस्को विकास गर्न प्रस्ताव गरिएको छ ।

५ वर्षे कार्यदिशमामा ३ वर्षभित्रै सबै पुरतात्विक सम्पदाहरुको पुननिर्माण सकाउने लक्ष्य लिइएको छ । यस्तै उत्खनन् र खोज गर्न बाँकी सम्पदाहरुलाई पनि प्राथमिकताका साथ राखेर संरक्षण गर्दै उत्खनन् गर्ने लक्ष्य लिइएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको कार्यपत्र प्रस्तुती हेर्न यहाँ Click गर्नुहोस !

कार्यपत्र १  प्रमुख कार्यक्रमहरु

कार्यपत्र २ भिजिट बर्ष बारे

कार्यपत्र २ पाँच वर्षीय कार्यक्रम

नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि १० र आन्तरिक उडानका लागि १५ वटा विमान रहने अवस्थामा पुर्‍याउने उद्देश्य राखिएको कार्यदिशामा छ । निगमसँग हाल ५ वटा अन्तर्राष्ट्रिय र ८ वटा आन्तरिक उडान भर्ने विमान छन् ।

पशुपति क्षेत्र, जानकी मन्दिर, रारा, खप्तड, स्वर्गद्वारी लगायतका क्षेत्रको पर्यटन गुरुयोजना तयार कार्यान्वनमा लगिने मन्त्रालयले जनाएको छ । पुशपतिलाई चाडपर्वको दिनमा १५ लाख पर्यटकले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाउन प्रवेश तथा प्रांगण क्षेत्र सुधार गर्ने योजना पनि ल्याइएको छ ।

लुम्बिनीको तयार भएको गुरुयोजना कार्यान्वयन गर्ने र तिलौराकोट लगायतका क्षेत्रलाई समेटेर ग्रेटर लुम्बिनीका लागि गुरुयोजना तयार गर्ने विषय पनि कार्ययोजनामा छ ।

यस्तै अन्तर्राष्ट्रिय बौद्ध सर्किटलाई नेपालसँग जोड्ने र जनकपुरलाई भारतसँगको सहकार्यमा रामायण सर्किटमा आवद्ध गर्ने काम पनि ५ वर्षभित्र भइसक्ने दावी मन्त्रालयको छ ।

 

 

प्रत्येक प्रदेशमा सांस्कृतिक सांग्राहलय स्थापना गर्ने, प्रत्येक स्थानीय तहमा हेली प्याड निर्माण गर्ने, प्रदेश र स्थानीय तहसँग मिलेर सय वटा नयाँ पर्यटकीय गन्तब्य विकास गरिसक्ने, एयर स्पोर्टट्ज एक्टिभिटीलाई विस्तार गर्ने, नारायणहिटी संग्राहलयको गुरुयोजना बनाएर त्यहाँभित्र पुरा एक दिन विताउन सकिने किसिमबाट विकास गर्ने, हेलसी र पाथिभारलाई पनि हिन्दु र बौद्ध धर्माबलम्बीको महत्वपूर्ण गन्तब्यका रुपमा विकास गर्ने लगायतका लक्ष्य पनि मन्त्रालयले तय गरेको छ ।

सबै काम गरिसक्दा कुल राष्ट्रिय उत्पादनमा पर्यटन क्षेत्रको योगदानको हिस्सा १० प्रतिशत पुग्ने दावी मन्त्रालयको छ । पर्यटनको प्रवर्द्धनमार्फत ब्यापक रुपमा रोजगारीको सिर्जना गर्ने र स्थानीय क्षेत्रको विकासमा पर्यटनको महत्वलाई नयाँ रुपमा प्रस्तुत गर्ने दावी मन्त्रालयको छ ।

समाचार अनलाईन खवर बाट

श्रोत : सचिवालय