आधार शिविरमा ‘ए ङोल्स्यो, ए ङोल्स्यो…’

आश्विन २९, २०७४-‘ए ङोल्स्यो, ए ङोल्स्यो, त्होमरे पोँमिदो, न्हे न्हेसी आयादो, न्हे न्हेसी आयादो…, ङोल्स्यो…., सैं न्होँरी थेँरिमो ।’ लहरै उभिएका सेताम्मे हिमालकै सामुन्ने रंगीचंगी पहिरनमा दुई जोडी युवकयुवती फुत्त निस्किए । गुरुङ भाषाको चर्चित उक्त गीत बजेसँगै उनीहरू नाच्न थाले । ढाका टोपी र भांग्रामा सजिएका युवक र चोलो, प्रो (घलेक), फगी (पटुकी) र ङ्ही (छिटको गुन्यु) मा सजिएका युवती कुम जोडेर नाचेपछि चिसो माहोल गर्मिलो बन्यो ।

 

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरमा गरेको पर्यटन महोत्सवमा गुरुङ युवकयुवतीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन् । ४ हजार १ सय ३० मिटरको उचाइमा रहेको आधार शिविरमा पहिलोपटक महोत्सव भएको हो । यो उचाइमा भएको महोत्सव सम्भवत: पहिलो हो । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने एबीसीमा गुरुङ संस्कृतिको प्रदर्शन गर्न छोम्रोङ, सिनुवालगायत गाउँबाट युवा पुगेका हुन् ।

 

यस क्षेत्रमा ८० प्रतिशत गुरुङ समुदायको बसोबास छ । २ दिन हिँडेरै एबीसी पुगेका उनीहरू १० डिग्री सेल्सियस तापक्रमको पर्वाह नगरी छमछमी नाचे । गीत बज्न थालेपछि महोत्सव उद्घाटन गर्न पुगेका संसद् विकास समिति समिति सभापति रवीन्द्र अधिकारीले मन थाम्न सकेनन्, कम्मर मर्काइहाले ।

 

पछिल्लो समय गुरुङ समुदायमा चर्चित ‘ए ङोल्स्यो…’ गीत मेला, महोत्सवमा निकै बज्ने गर्छ । चाडपर्व, पारिवारिक भेटघाटमा समेत गुरुङ युवकयुवती यहीँ गीतमा नृत्य गर्छन् । गुरुङ भाषाको चलचित्र ‘मैंरिमो’ को गीत कान्तिपुरकर्मी आश गुरुङले लेखेका हुन् । तेजेन्द्र गुरुङको संगीतमा मनोज गुरुङ र तारा श्रीसमगरले स्वर भरेका छन् । गीतमा मामा वा फुपुको छोरा (सोल्टी) ले आफ्नो सोल्टिनीलाई भेट हुँदा बोल्न र भागीभागी नहिँड्न आग्रह गरेका छन् । सोल्टिनीले पनि सोल्टीलाई लुकीलुकी नहिँड्न गीतमा आग्रह गरेकी छन् । युटयुबमा समेत २ लाख बढीले हेरेका छन् ।

 

महोत्सव उद्घाटन कार्यक्रममा कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको काभ्रे गाउँबाट पुगेका युवायुवतीले पनि नृत्य प्रदर्शन गरे । उनीहरूले खड्ग गर्बुजाको ‘डाली पलायो…’ गीतमा नृत्य प्रस्तुत गरेका थिए । उनीहरू पनि ३ दिन हिँडेर एबीसी पुगेका हुन् ।

 

तीन चरणमा गरिने महोत्सवको पहिला चरणको उद्घाटन बुधबार एबीसीमा भएको हो । दोस्रो चरणमा एबीसी पदयात्रा मार्गमा पर्ने छोम्रोङमा ल्होसारको अवसरमा महोत्सव हुनेछ । तेस्रो चरणमा अर्को वर्षको जेठमा घान्द्रुकमा महोत्सव समापन हुनेछ ।