एमालेमा १ सय २० प्रतिशतको प्रतिस्पर्धा !

नेकपा एमालेको महाधिवेशन आउन एक हप्ता बाँकी रहँदा चुनावी प्रतिस्पर्धामा रहेका दुई समूहले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आकंडा प्रस्तुत गर्न थालेका छन्।

२२ सय महाधिवेशन प्रतिनिधिमध्ये २१ सय जनाको छनोट भइसक्दा नेपाल र ओली दुबै पक्षले आ—आफ्नो समूहले कम्तीमा ६० प्रतिशत मत ल्याउने दाबी गरेका छन्। यसले पार्टी भित्रै १ सय २० प्रतिशतमा प्रतिस्पर्धा रहेको ठट्टा चलेको छ।

एमालेको नवौं महाधिवेशन असार १९ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

काठमाडौंको एक होटलमा बिहीबार अनलाइन पत्रकारहरुसँग कुरा गर्दै माधव नेपाल पक्षले हालसम्म निर्वाचित प्रतिनिधिमध्ये कम्तीमा ६० प्रतिशत आफ्नो पक्षमा रहेका दाबी गरेका थिए।

ओली पक्षको दाबी भने ६० प्रतिशत भन्दा पनि माथिको रहेको छ।

‘केपी ओली ६५ प्रतिशत भन्दा बढी मत ल्याएर अध्यक्ष बन्नुहुनेछ,’ ओली पक्षका सभासद् रविन्द्र अधिकारीले सेतोपाटीसँग भने।

चुनावका दिनसम्म आइपुग्दा ओलीका पक्षका थप माहोल बन्ने उनको दाबी छ।

‘ओलीले ३ सय ५० भन्दा बढी मतको अन्तरले जित्नुहुनेछ, यो लेखेर राख्नुस्’ अधिकारीले भने।

बुधबार पत्रकारसँगको अन्तरक्रियामा नेपाल पक्षीय नेता रघु पन्तले उस्तै आंकडामा प्रस्तुत गरेका थिए।

‘अहिलेसम्मको प्रारम्भिक तथ्यांक अनुसार चुनिएका कुल १८ सय ५७ प्रतिनिधि मध्ये ११ सय १४ अर्थात ६० प्रतिशत भन्दा बढी हाम्रो विचार समूहका, ७ सय २३ अर्थात करिव ३९ प्रतिशत कमरेड केपी ओली समूहका र २० जना तटस्थ प्रतिनिधि छन्।’

पत्रकार माझ नेपाल पक्ष नेताहरुले आफूले बाहिर ल्याएका तथ्यांकमा तीन प्रतिशत भन्दा तलमाथि नहुने दाबी गरेका थिए।

ओली र नेपाल दुबै पक्षले कुन कुन अञ्चलमा आ—आफ्ना कति कति प्रतिनिधि चुनिएका छन् भनेर अञ्चलगत  दाबी प्रस्तुत गरेका छन्।

सभासद् अधिकारीका अनुसार ओली समुहको पक्षमा मेचीमा ६५ प्रतिशत, कोशी ५०, सगरमाथा ६०, जनकपुर ६०, नारायणी ६०, बागमती ५५, धौलागिरी ६०, गण्डकी ८०, लुम्बिनी ७०, राप्ती ६०, भेरी ६०, कर्णाली ५५, महाकाली ५० र सेती ५० प्रतिशत छन्।

जनसंगठनहरुमा आफ्नो पक्षका ६० प्रतिशत चुनिएको उनको दाबी छ।

नेपाल पक्षले भने प्रत्येक अञ्चलमा आफू र ओली पक्षमा कति चुनिएका छन् भन्ने तथ्यांक नै बाँडेको छ।

उनीहरुले तयार पारेको तथ्याङ्कअनुसार, मेचीमा ५८ नेपाल, ५६ ओली, कोशीमा ११४ नेपाल, ४० ओली, सगरमाथा ६३ नेपाल, ओली २६, जनकपुर नेपाल ६६, ओली १२, नारायणी नेपाल ८४, ओली ५७, बाग्मती नेपाल ७८, ओली ५३, उपत्यका नेपाल ६७, ओली ३१, लुम्बिनी नेपाल ९६, ओली ८९, गण्डकी ५५ नेपाल, ओली ७३, धौलागिरी नेपाल २८, ओली १९, राप्ती नेपाल ३१, ओली ३८, भेरी नेपाल ४९, ओली ५१, कर्णाली ३५ नेपाल, ओली १६, सेती नेपाल ६२, ओली ४३, महाकाली नेपाल ३९, ओली २२ छन्।  त्यस्तै जनसंगठन १०५ नेपाल, ६९ ओली, केन्द्रीय विभाग, सम्पर्क मञ्च र प्रवास नेपाल ८४ र ओली २८ रहेको दाबी नेपाल पक्षका नेताहरुले गरेका छन्।

दुबैतिरको गुटमा संलग्न नभएका एमाले महाधिवेशन प्रतिनिधिले सेतोपाटीसँग भने,‘न्युट्रल प्रतिनिधिहरुलाई सकेसम्म आफूतिर तान्ने रणनीतिका साथ यो प्रचारबाजी भएको हो।’

झण्डै २ सय प्रतिनिधिले कसलाई भोट हाल्ने भनेर मनस्थिति नबनाइसकेकाले अहिले आफनो पक्षमा यतिउति प्रतिशत भन्नुको अर्थ नहुने उनले जिकिर गरे ।

‘यी जतातिर ढकल्दै जान्छन् त्यस्तैतिर माहोल बन्दै जाने हो। त्यसैले गर्दा पनि धेरै प्रोपोगान्डा भइरहेको छ ।’

स्रोत : सेतोपाटी