विमानस्थल निर्माणमा अवरोध नगर्ने प्रतिबद्धता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढेकामा अब बिनाअवरोध सम्पन्न गर्न पोखरेली प्रतिबद्ध हुने भएका हुन् । सबैको तर्फबाट भन्दै दुई सभासदले यस्तो प्रतिबद्धता जनाएका हुन् । सभासद रवीन्द्र अधिकारी र शारदा पौडेलले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी विमानस्थलले मुलुकको अर्थतन्त्र बढाउने भएकाले पारदर्शी र जिम्मेवारीसाथ अघि बढ्न आग्रह गरेका छन् ।

एमाले युवा नेता अधिकारीले प्रधानमन्त्री, पर्यटनमन्त्री, अर्थमन्त्री सबैको सहयोगी भूमिका उल्लेख गर्दै भने, ‘प्रतिपक्षी एमाओवादी, लामो समय सशक्त आन्दोलन गर्ने नागरिक समाज, व्यवसायी सबैको भूमिकाले सरकारले विमानस्थल बनाउने निर्णय गर्न सकेको हो ।’ यो नेपालकै गौरव परियोजना भएको बताए । उनले भने, ‘इपिसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलको नेपालको पहिलो परियोजना पनि हो । यसले अरू ठूला आयोजना निर्माणको ढोका खुलेको छ ।’

इपिसी मोडलमा पछि लागत र परियोजना अवधि दुवै नबढ्ने भएकाले बेलैमा निर्माण सम्पन्न हुने विश्वास पोखरेलीको छ । सभासदद्वयले अब चार वर्षमै नागरिक उड्डयन प्राधिकरणले तयारी अन्तर्राष्ट्रिय विमानस्थल पाएर सञ्चालन गर्ने बताए