एमालेको विगत, वर्तमान र भविष्य

विगततर्फ फर्किंदा
नेकपा एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा स्थापित पार्टी हो । यो यत्तिकै स्थापित भएको भने पक्कै होइन । विगतको लामो संघर्षमय गौरवपूर्ण इतिहासले यस पार्टीलाई यहाँसम्म पुर्‍याएको हो । नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न आरोह र अवरोह आए, एकता र विभाजनका घडी पनि आए । त्यस्ता आरोह र अवरोहमा कहिले अगाडि र कहिले पछाडि देखिए पनि मुख्य रूपमा भने एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमै रह्यो ।cpnuml

पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी बनिसकेपछि एमालेसामु गम्भीर प्रश्न खडा भएको थियो, के एमाले अब पनि नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नै हो त ? तर, समयक्रमले नै त्यसको जवाफ दियो । दोस्रो संविधानसभा निर्वाचनले एमाले नै मूल प्रवाह हो भन्ने प्रस्ट गर्‍यो । त्यसैले पनि एमालेले आफ्नो धरातलीय यथार्थ के हो भन्ने ठीक ढंगले बुझेर, मनन गरेर मात्र आगामी दिनका लागि पाइला चाल्नुपर्छ । त्यसो गर्न सकेको खण्डमा मात्र पार्टी आफ्नो गन्तव्यमा पुग्न सक्छ । विगतका कैयौँ आन्दोलनमा एमालेले आफूलाई एउटा अब्बल संगठनका रूपमा संघर्षका मोर्चामा उभ्याएको छ । एमाले समयको मागअनुसार जनताको पक्षमा आफूलाई बदल्दै आएको पार्टी हो । यो समयक्रमसँगै कतिपय जडतालाई तोड्दै आरोह र अवरोहलाई चिर्दै अगाडि आएको छ । नेपालका कम्युनिस्ट आन्दोलनमा जजसले जडतालाई समातेर बसे तिनीहरू टाक्सिए । एमालेले जडतालाई छाडेर अघि बढेको हुनाले नै ऊ आज मूल प्रवाहका रूपमा स्थापित हुन सफल भएको हो । यदि एमालेले जडतालाई समातेर बस्थ्यो भने हामी ०४६ को बहुदल ल्याउने आन्दोनलमा किनारामा बसेर हेरिरहेका हुने थियौँ । मदन भण्डारीले जनताको बहुदलीय जनवादको व्याख्यासँगै जनता नै सम्पूर्ण रूपमा निर्णायक शक्ति हुन्, हराए पनि र जिताए पनि जनताभन्दा ठूलो शक्ति अर्को कुनै हुनै सक्दैन, जनताको चाहनाले मात्र कुनै पनि पार्टी अगाडि जाने र पछाडि हट्ने हुन्छ, जबर्जस्ती कोही अघि बढ्न सक्दैन भन्ने पक्षलाई स्थापित गरिदिनुभयो । र, जनताबाट निरन्तर परीक्षण हुने पद्धति स्विकार्नुभयो ।rabindra-adhakari-600x330

संसारका कम्युनिस्ट किन असफल भए भने उनीहरूले कहिल्यै जनताबाट जाँचिनै चाहेनन् । उनीहरू परीक्षणका लागि जनतामाझ जानैपरेन, चुनावमा सहभागी हुनैपरेन । उनीहरूले आफूहरूलाई सधैँभरि सम्पूर्ण रूपमा जनताको ठेकेदारका रूपमा उभ्याए । त्यसैले ढल्दा पनि उनीहरू एकैपटक गल्र्यामगुर्लुम ढले । उनीहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्नु आवश्यक नै ठानेनन् । द्वन्द्वात्मक भौतिकवादको अभ्यास गर्दै गरेनन् । विश्व कम्युनिस्ट आन्दोलनमा देखिएका तिनै कमी–कमजोरी पहिल्याएर मदन भण्डारीले पार्टीलाई रूपान्तरण गर्नुभयो । जसले गर्दा नेपालको लोकतान्त्रिक आन्दोलनमा लोकतन्त्रको मसिहा नेपाली कांग्रेसबाहेक अर्को कुनै पार्टी नै छैन भन्ने परिरहेको समयमा एमाले आफूलाई सोही स्थानमा उभ्याउन सफल भयो र उसले त्यो एकपक्षीय बुझाइलाई नै प्रतिस्थापित गरिदियो । एमालेले लोकतान्त्रिक हिसाबले पनि कांग्रेसलाई प्रतिस्थापित गरिदियो र समाजवाद तथा परिवर्तनका हिसाबले पनि आफूलाई स्थापित गर्न पूर्णत: सफल भयो । त्यसैले नेपालका कम्युनिस्ट आन्दोलनमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको झन्डा बोक्न एमाले सफल भयो । त्यही विगतको गौरवपूर्ण इतिहासले नै एमालेलाई आजको मूल प्रवाहमा ल्याएको हो । माओवादीको उग्रवामपन्थसितको लडाइँमा एकछिन पराजितजस्तो देखिए पनि एमालेले आफूलाई मूल प्रवाहको एक मात्र कम्युनिस्ट पार्टीका रूपमा स्थापित गरेको छ ।

वर्तमानको मूल्यांकन गर्दा
एमालेको इतिहास गौरवपूर्ण छ । तर, इतिहासको गाथा गाएको भरमा सधैँभरि पार्टी चल्न सक्दैन । हिजो हाम्रा अग्रजले राम्रा काम गरेर एउटा इतिहास रचे । आज हामी अर्को इतिहास बनाउने स्थानमा उभिएका छौँ । अब हामीले पनि त्यस्तै राम्रा र असल काम गर्न सक्यौँ भने मात्र भोलिका लागि गौरवलायक इतिहास कोरिने हो । हिजो पञ्चायतविरुद्ध लड्दा पुग्थ्यो । पछिल्लो कालखण्डमा कांग्रेससित मात्र लड्दा हुन्थ्यो । त्यसपछिका दिनमा माओवादीको उग्रवामपन्थसित लड्दा हुन्थ्यो । आज हामीले गरिबीविरुद्ध लड्नुपर्ने समय आएको छ । अव्यवस्था र बेथितिसित पनि हाम्रो आजकै पुस्ताले लड्नुपर्ने भएको छ । भ्रष्टाचारविरुद्ध पनि हामीले नै नलडी नहुने भएको छ । अब हामीले आफैँभित्र हुर्केका गलत सोच र प्रवृत्तिविरुद्ध पनि लड्नुपर्ने भएको छ । हाम्रो देशले प्रगति गर्न नसक्नुका कारणसित हाम्रो आजको लडाइँलाई जोड्न सक्नुपर्छ । अर्थात्, सामाजिक न्यायसहितको जनताको उच्चस्तरीय जीवनमूल्य रहेको विकास र आर्थिक समृद्धि आज हाम्रा लक्ष्य र उद्देश्य बन्नुपर्ने समय आएको छ । हिजोका उद्देश्य परिवर्तन गर्नु थियो, देशमा लोकतन्त्र ल्याउनु थियो, गणतन्त्र ल्याउनु थियो भने आजको उद्देश्य देशमा आर्थिक समृद्धि हासिल गर्नु छ, सामाजिक न्याय र समानतामा आधारित समाज निर्माण गर्नु छ । त्यसैले यदि आज हाम्रा उद्देश्य बदलिएका छन् भने ती उद्देश्य प्राप्त गर्ने साधन पनि बदलिनुपर्छ । हाम्रा ती उद्देश्य प्राप्त गर्ने साधन भनेका पार्टीहरू हुन् । पार्टीका नीति तथा कार्यक्रम तिनै उद्देश्य प्राप्तिको दिशामा केन्द्रित हुनुपर्छ । पार्टी नेता र कार्यकर्ता पनि तिनै उद्देश्य प्राप्तिका लागि समर्पित, तत्पर र प्रशिक्षित हुनु जरुरी छ । त्यसैले हिजो र आज निकै ठूलो अन्तर छ ।

जनताको बहुदलीय जनवादमाथिको बहस
जहाँसम्म जनताको बहुदलीय जनवादको प्रश्न छ, यस विषयमा हामीले पार्टीपंक्तिबाट निकै बहस, विमर्श र वादविवाद गरेका छौँ । आज मदन भण्डारी हुनुभएको भए के गर्नुहुन्थ्यो भन्ने प्रश्न पनि यदाकदा सुन्ने गरिन्छ । यदि मदन भण्डारी आज हुनुभएको भएको भए उहाँले झनै नयाँ सिर्जनात्मक ढंगले सोच्नुहुने थियो होला । तर, यस प्रश्नमाथिको बहस हामीले ५० सालअघिको जमिनमाथि उभिएर गर्ने होइन, ७२ सालमा उभिएर गर्नुपर्ने हुन्छ । के २०–२२ वर्षपछि पनि मदन भण्डारीले उस्तै गर्नुहुन्थ्यो त ? साँच्चै भन्ने हो भने मदन भण्डारीले बताएका ठाउँबाट एमाले निकै अगाडि आइसकेको छ । एमालेले त्यसलाई व्यवहारबाटै प्रमाणित गरेर आइसकेको छ । सैद्धान्तिक हिसाबले मदन भण्डारीले प्रमाणित गर्नुभयो भने व्यवहारबाट भने हामीले प्रमाणित गर्‍यौँ । जसले गर्दा एउटा भरपर्दो र विश्वासयोग्य सिद्धान्तका रूपमा विकसित भएको छ, जनताको बहुदलीय जनवाद । अब यतिमै मात्र हामी अड्क्यौँ भने अगाडि जान सकिन्न । आज हामीले समाजका अन्तर्विरोधलाई चिन्नुपर्छ । समाजको पछौटेपनलाई चिन्नुपर्छ । देशका आर्थिक सम्भाव्यताका क्षेत्र पहिचान गर्नुपर्छ । देश निर्माणका लागि आवश्यक जनशक्ति हामी आफैँले निर्माण गर्न सक्नुपर्छ । अनि त्यसलाई परिचालन गर्न सक्ने क्षमता एमालेमा हुनुपर्छ । के हामीले त्यसअनुसार काम गर्न सकेका छौँ त ? अवश्य छैनौँ । किन सकेका छैनौँ त भन्दा हाम्रा ढर्रा र परम्परा तिनै भए । हामीले नयाँ ढंगले गर्नैपर्ने काम पहिचान गर्नै सकेका छैनौँ । हामीले ठीक ढंगले कार्ययोजना बनाएर जनतामाझ गएर काम गर्न सकिरहेका छैनौँ । त्यसैले यहाँनिर के बुझ्नैपर्छ भने सिद्धान्त ठीक भएर मात्र हुँदो रहेनछ । जनताको बहुदलीय जनवादको ओठेभक्तिले मात्र केही हुनेवाला छैन । आजको सन्दर्भमा जबज के हो ? आजको सन्दर्भमा सामन्तवादी अवशेषलाई जबजले कसरी निमिट्यान्न पार्छ ? सामाजिक विभेद र असमानतालाई यसले कसरी सम्बोधन गर्छ ? देशको दु्रततर विकास र आर्थिक समृद्धिमा यसले कस्तो भूमिका खेल्छ ? मुलुकको चौतर्फी विकासमा यसको कस्तो योगदान रहन्छ ? विकास भनेर मात्र हुँदैन । त्यसका लागि जबजले क्षमता कसरी निर्माण गर्छ ? आवश्यक जनशक्ति कसरी तयार पार्छ ? यसको जवाफ हामीले अब खोज्नैपर्छ ।

जनशक्ति पलायनको समस्या
यतिखेर दिनको १५ सयदेखि दुई हजारसम्म युवा जनशक्ति बिदेसिइरहेको छ । अनि हामीचाहिँ देश बनाउँछौँ भनेर भाषण छाँटिरहेका छौँ । यस्तो पाराले कुनै हालतमा देश बन्न सक्दैन । त्यसैले पनि देश निर्माणका लागि आवश्यक राम्रो जनशक्ति हामी कसरी निर्माण गर्दै छौँ ? कुन–कुन क्षेत्रमा के–कस्ता जनशक्ति आवश्यक पर्छ ? त्यस्ता जनशक्ति निर्माण गर्दा हामी हाम्रा क्षमतालाई कसरी परिचालित गर्छौं ? यी सबै प्रश्नको एकीकृत जवाफबाटै देशको आर्थिक विकास हुन सक्छ । पूर्वाधार निर्माण सम्भव हुन्छ । देश र जनताको जीवनस्तरमा परिवर्तन आउन सक्छ । अनि मात्र शिक्षा, स्वास्थ्यजस्ता जनताका नैसर्गिक अधिकार राज्यले प्रत्याभूति गराउन सक्छ ।

अब राजनीति गर्ने भनेको पार्टीको कुनै पद धारण गर्ने, मन्त्री हुने, प्रधानमन्त्री हुने मात्र होइन । अबको सन्दर्भमा पदीय जिम्मेवारी भनेको मुलुकको समृद्धिसित जोडिनुपर्छ । जनताको आर्थिक जीवनसित गाँसिनुपर्छ । जनताको दैनिक जीवन र रोजगारीसित पनि जोडिनुपर्छ । हामी सबैलाई रोजगारी दिन्छौँ भन्ने नाराले मात्र जनतालाई रोजगारी दिन सक्दैन । हामीले उद्यमशीलताको विकास गर्न सकेनौँ । हाम्रो संस्कृति उद्यमशील बन्न सकेन । त्यसैले पनि अबका दिनमा हामीले उद्यमशीलताको विकास गरी धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गर्न सक्नुपरेको छ । त्यसका लागि बाहिरी लगानीसमेत भित्र्याएर देशलाई समृद्धिको गोरेटोतिर लग्न सकिन्छ ।

शैली परिवर्तनको आवश्यकता
अब हाम्रो हिजोको शैली र आजको शैली एकै हुन सम्भव छैन । पार्टीमा लामो समयदेखि काम गर्दै आएका नेता, कार्यकर्ताको एक किसिमको शैली छ । त्यसलाई हामीले सकेसम्म बदल्नुपर्छ । तर, हामी नयाँ पुस्तालाई कस्तो बनाउँदै छौँ वा कस्तो बनाउन खोजिरहेका छौँ, सबैभन्दा महत्त्वपूर्ण सवाल त्यही हो । अब हामीले पुरानो ढर्रा छोडेर नयाँ पुस्ता निर्माण गर्नु अत्यावश्यक छ । हामीले पार्टीमा नयाँ पुस्तालाई क्षमतावान् बनायौँ कि बनाएनौँ ? देश र जनताप्रति समर्पित हुन सक्ने इमानदार पुस्ता बनायौँ कि बनाएनौँ ? जतिवेलासम्म नयाँ पुस्ताको क्षमता, इमानदारी, दक्षता, समर्पण र विश्वसनीयतामाथि समाजले विश्वास गर्न सक्दैन, त्यतिवेलासम्म उसले केही गर्न सक्दैन । त्यसैले पनि हाम्रो नयाँ पुस्ता त्यसरी नै हिँडेको छ कि छैन ? समाजको नजरमा खरो उत्रने सामथ्र्य छ कि छैन नयाँ पुस्तामा ? हाम्रो नयाँ पुस्ता कि त पुराना नेताको अघि–पछि दौडिरहेको छ कि त आफैँ अराजक बन्दै गएको छ । नेतृत्वले जे–जे भन्छ, त्यही–त्यही मानेर टाक्सिएर बसिरहेको छ । अनेक समूह–उपसमूह खडा गर्ने र त्यसैको पछि–पछि दौडिने प्रवृत्ति पनि नयाँ पुस्तामा मौलाएको छ । त्यसैले पनि एमाले अब यही ढर्रा र पारामा चल्न सक्दैन । अब एमालेका नेता, कार्यकता योग्यतम, क्षमतावान्, त्यागी र इमानदार हुनुपर्छ । त्यसैले अब हामीले पुराना नेतालाई सम्मान गर्दै नयाँ पुस्तालाई चाहिँ जिम्मेवारी दिनुपर्छ । आज हामी जबजमाथि बहस गरिरहेका छौँ । तर, हामी स्वयंले चाहिँ त्यसअनुरूप कति जिम्मेवार भूमिका निभाएका छौँ त ? जबजको मार्गदर्शनअनुरूप हामी कति अगाडि बढ्यौँ त ? एकपटक ठन्डा दिमागले हाम्रा नेता, कार्यकर्ता सबैले सोच्ने समय आएको छ ।

नेताको आचरण
पार्टीका नेताको आचरण र इमानदारीबारे बारम्बार प्रश्न उठिरहेको हुन्छ ? आजको सन्दर्भमा हाम्रा नेताले आफ्नो न्यूनतम नैतिक मूल्य र मान्यता के हो भनेर आफैँले बुझ्नुपर्छ । न्यूनतम आचारसंहिता आफैँले निर्माण गर्नुपर्छ, अरू कसैले निर्माण गरिदिएर हुँदैन । आज हाम्रा नेता सुविधामा हुनुहुन्छ, लाभका पदमा हुनुहुन्छ । सम्पूर्ण नेता यो मुलुकका जिम्मेवार नागरिक हुनुहुन्छ । आजको बदलिएको अवस्थाअनुरूप उहाँहरू त्यहाँ हुनु स्वाभाविक हो । तर, त्यो पदमा गइसकेपछि उहाँहरूले कसका लागि काम गर्ने हो ? आफू र आफन्तका लागि मात्र हो ? पार्टी कार्यकर्ताका लागि मात्र हो ? अथवा जनताका लागि हो ? यसको गम्भीर समीक्षा गरी हाम्रा नेताले अब पार्टीभित्रका सामान्य गुट र साँघुरा दायराबाट बाहिर निस्किनुपर्छ । तर, आजको हाम्रो नेतृत्वले आफ्ना स्वार्थ कायमै राख्न, आफ्ना हितलाई खलबल्याउन नदिन देश र जनताको हित बिर्सिरहेको छ । देशलाई विकासको बाटो हिँडाउनुपर्ने दायित्वबाट चुकिरहेको छ । यो नै आजको हाम्रो यथार्थ र गम्भीर चुनौती पनि हो ।
(अधिकारी एमाले केन्द्रीय सदस्य तथा सभासद् हुन्)

नयाँ पत्रिका दैनिकमा प्रकाशित लेख छ |