एक हजार ८३ प्रतिनिधि चयन

logoकाठमाडौं । नवौं महाधिवेशनको तयारीबारे जानकारी गराउन आज नेकपा (एमाले)ले चौथो नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा १ हजार ८३ प्रतिनिधि चयन भैसकेको जानकारी गराइएको थियो ।

नवौं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तथा पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पहिलो चरणको प्रतिनिधि चयन सौहार्दपूर्ण प्रतिस्पर्धा तथा कतै सर्वसम्मत्तीले भैसकेको जानकार गराइएको थियो । उपनिर्वाचन भएका केही अञ्चल र जिल्ला, केन्द्रीय विभाग, जनसंगठन बाहेकका क्षेत्रमा प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ ।

‘प्रतिनिधि चयनमा पार्टी सदस्यहरुले देखाउनुभएको उत्साह तथा समझदारीले पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न मद्दत पुगेको हामीले महसुस गरेका छौं’– मूल व्यवस्थापन कमिटीद्धारा वितरित विज्ञप्तीमा भनिएको छ–‘पार्टी केन्द्रीय कार्यालयमा प्राप्त जानकारीअनुसार धेरै स्थानमा प्रतिस्पर्धामा रहेका प्रतिनिधिहरुले आपसी समझदारीमा सर्वसम्मतिमा आप्mना प्रतिनिधि चयन गरेका छन्, केही स्थानमा लोकतान्त्रिक विधिअनुरुप मतदान गरेर प्रतिनिधि निर्वाचित हुनुभएको छ ।’

हालसम्म सेती, उपत्यका र भारत प्रवास बाहेकका १४ अञ्चल समन्वय कमिटी÷विशेष समन्वय कमिटीबाट प्रतिनिधि चयन भएको छन् ।
जस अनुसार हालसम्म मेचीबाट– ५५, कोशी– १४७, सगरमाथा– ५४, जनकपुर– २३, नारायणी– ९७, वागमती – ७४,
गण्डकी– १२६, धौलागिरी– ४७, लुम्बिनी– १९०, राप्ती– ४३, भेरी– ९१, कर्णाली– ४४, महाकाली– ६१, सम्पर्क समन्वय विशेष कमिटी– ३१ प्रतिनिधि चुनिएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, जुम्ला, धनुषा, सप्तरी र काठमाडौं उपत्यकाअन्तर्गत रहेका पेसागत बुद्धिजीवी, मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीहरुको प्रतिनिधि चयन भोलि असार १० गते हुने एमालेले जनाएको छ ।
त्यस्तै जनसङ्गठनहरू र केन्द्रीय विभागको निर्वाचन पनि भोलि नै हुने एमालेले जनाएको छ ।
महाधिवेशनमा प्रस्तुत गर्ने मूल राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदन अध्ययनका लागि कार्यकर्ता विचमा लिएको जनाएको छ ।

प्रतिनिधिको स्वास्थमा विशेष ध्यान दिइने

महाधिवेशनमा आएका १ हजार ८ सय प्रतिनिधिको स्वास्थ्यमा विशेष ध्यान दिनेगरी स्वास्थ्य उप समितिले तयारी गरेको छ ।
उपसमितिका संयोजक योगेश भट्राईले पत्रकार सम्मेलनमा स्वास्थ्य योजना प्रस्तुत गर्दै २ सय सम्मका स्वास्थ्यकर्मी परिचालन गर्न तयारी गरेको बताउनुभयो ।
उहाँले प्रतिनिधिको उपचारका लागि विशिष्ट श्रेणीका चिकित्सक देखि नर्सहरु समेत परिचालन हुने बताउनुभयो ।

‘पार्टीको स्वास्थ्य उपसमितिले नवौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा निःशुल्क आँखा शिविर र चश्मा प्रदान, निःशुल्क दन्त शिविर, मधुमेह, उच्च रक्तचाप र मृगौला परीक्षण तथा अङ्गदान घोषणा लगायतका योजनाहरू बनाएको छ’– वक्तव्यमा भनिएको छ ।

‘एकताको कायम गर्छौ’–खनालं

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशन एकता र अग्रगतीको हुने हुने बताउनुभयो ।
‘जति प्रतिनिधि निर्वाचित हुनुभएको छ उहाँहरु सवैले एकता कायम गरेर जानुपर्छ भन्नुभएको छ,’ खनालले भन्नुभयो–‘जव हामी एउटै विचार लिएर अगाडि बढिरहेका छौं भने नेतृत्वमा पनि एकता नहुने कुरै छैन ।’
कार्यक्रममा सचिव विष्णु पौडेल, सचिवालय सचिव शंकर पोखरेल, पोलिट्व्यूरो सदस्यहरु केशव बडाल, प्रदिप ज्ञवाली, पृथ्वीसुव्वा गुरूङ, विष्णु रिमाल लगायतका नेताहरूको उपस्थिति थियो ।